राष्ट्रिय प्रजातन्त्र पार्टी : सिनो बोकेर कस्तुरीको प्रचार – Nepal Press

राष्ट्रिय प्रजातन्त्र पार्टी : सिनो बोकेर कस्तुरीको प्रचार

राजनीतिक परिवर्तनहरुले देशलाई अगाडि बढाउने गर्दछन् । तर, लिङदेन र मिश्र पछाडि धकेल्ने दुस्साहस गरिरहेका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी २०७९ मंसिर ४ गतेको निर्वाचनबाट १४ सीटसहित संसदमा उपस्थित भएको छ । लामो समय कमल थापाको नेतृत्वमा रहेको पार्टीलाई गत वर्ष भएको महाधिवेशनपछि राजेन्द्र लिङदेनले नेतृत्व गरेका छन् । एमालेसँगको तालमेलबाट २०७४ को निर्वाचनमा १ सीट जितेको राप्रपाले २०७९ मा ठूलो फड्को मारेको छ । राजेन्द्र लिङदेन तिनै नेता हुन्, जसले पार्टीमा निरन्तर एकछत्र हालीमुहाली गर्दै आएका कमल थापालाई महाधिवेशनमा हराए । उनले नेपाली कांग्रेसको महाधिवेशनमा आएर भ्रष्टाचार, कुशासन बढेको र जनताले नेतालाई चोर भन्छन् भनेर भाषण गरेपछि थप चर्चामा आएका थिए ।

पार्टी एक सीटबाट १४ सीटमा पुगेपछि लिङदेनको चर्चा झनै चुलिएको छ भने उनमा जोश, जाँगर बेग्लै देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र उनको जोश, जाँगर, ऊर्जा सबै चिज १५ वर्षअगाडि सत्ताच्युत भएको राजतन्त्र फर्काउन खर्च गरेको देखिन्छ । समाजमा यदाकदा राणा शासन ठीक थियो भन्ने पनि भेटिन्छन् । त्यसपछि पञ्चायत ठीक थियो भन्नेहरु पनि भेटिन्छन् । राप्रपाका मान्छेहरुले राजतन्त्र ठीक थियो भनिरहेका छन् । उनीहरुले देश र जनताको लागि योगदान गरेको व्यक्ति सार्वभौम संसदको बहुमत प्राप्त गरेर राष्ट्र प्रमुख हुने व्यवस्थालाई अस्वीकार गरेर कुनै कुलघरानामा जन्मिएकै आधारमा राष्ट्र प्रमुख हुने व्यवस्था ल्याउने अभियानमा लागिरहेको देखिन्छ ।

देशमा संघीयता ल्याइएपछि सत्ता राजनीतिमा देखिएको भद्रगोल, भ्रष्टाचार, कुशासन आदि कारणले धेरै राजा हुनुभन्दा एउटै राजा हुनु ठीक हो भनेर राजतन्त्रका पक्षमा जनमत सिर्जना गर्न खोजेको देखिन्छ । राजतन्त्र ल्याउन पृथ्वीनारायण शाह, वीरेन्द्र जस्ता लोकप्रिय राजाहरु, जुन अहिले यस धर्तीमा छैनन्, तिनीहरुको प्रचार गर्ने गरिन्छ । राजतन्त्रको पक्षमा जे भनेर जनमत सिर्जना गर्न सकिन्छ, राप्रपा र त्यसका नेताहरुले त्यही गरिरहेका छन् । आजको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जसरी उदय भइरहेको छ, त्यसको धरातल, कारण र खराब परिणामहरुका बारेमा गम्भीर प्रकारले छलफल हुन आवश्यक भएको छ ।

राप्रपाका मान्छेहरुले राजतन्त्र ठीक थियो भनिरहेका छन् । उनीहरुले देश र जनताको लागि योगदान गरेको व्यक्ति सार्वभौम संसदको बहुमत प्राप्त गरेर राष्ट्र प्रमुख हुने व्यवस्थालाई अस्वीकार गरेर कुनै कुलघरानामा जन्मिएकै आधारमा राष्ट्र प्रमुख हुने व्यवस्था ल्याउने अभियानमा लागिरहेको देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको धरातल

राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्वपञ्चहरूको अग्रसरतामा निर्माण भएको हो । पञ्चहरू तिनै हुन्, जसले राजतन्त्रको छत्रछायाँमा २०१७ देखि २०४६ सालसम्म शासनसत्तामा बसेर हालीमुहाली गरेका थिए । जनताको स्वतन्त्रता, सार्वभौमसत्ता र प्रजातन्त्रको लागि लड्ने हजारौं नेता–कार्यकर्ता र जनतालाई बन्दुकको शासनबाट दमन गरेको समूह नै राप्रपाको मूल जरो हो । देशको राजनीतिमा २०४६ सालपछि पञ्चायती व्यवस्था र २०६५ सालपछि राजतन्त्र अतितको विषय भइसकेका छन् । तीस वर्ष लामो पञ्चायती व्यवस्था ढलेपछि राजनीतिक रुपमा पञ्चहरुको औचित्य समाप्त भयो । तिनीहरुले नयाँ जुक्ति निकाले, बहुदलीय व्यवस्थामा नयाँ पार्टी खोल्ने । राजनीतिमा कुनै न कुनै रुपमा आफ्नो प्रभाव कायम राख्न पञ्चहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्माण गरे । कैयौं पटक टुटफुट भएको पार्टीमा सबै पञ्चशासकहरु एकजुट भएका छन् । पञ्चायत र राजतन्त्र ढले पनि त्यो व्यवस्थालाई मानेका र काम गरेका धेरै मान्छेहरू देशमा जीवित छन् । तिनीहरूले आफ्नो मत त्यहाँ प्रकट गर्नु कुनै ठूलो कुरा होइन । पञ्चायत देख्दै नदेखेका व्यक्तिहरू पञ्चायती व्यवस्थाका हिमायतीहरूको पछि लाग्नु विचित्रको अवस्था हो । आखिर तिनीहरुलाई राप्रपाको हावा किन लागिरहेको छ ? हामीले त्यसबारेमा गहिरो अध्ययन गर्नुपर्दछ ।

देशमा सक्रिय र संवैधानिक राजतन्त्र भएको समयमा राजा मान्ने पार्टी हुनु अनौठो थिएन । जनताको लामो, कठिन र विशाल संघर्षबाट फालिएको राजतन्त्र फर्काउनुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी जसरी लागिरहेको छ, त्यो चाहिं विचित्र हो । इतिहासको गतिलाई पछाडि फर्काउने प्रयत्न किन भइरहेको छ भने देशमा राजतन्त्र र पञ्चायतको भूत आजका दिनसम्म पनि कायम रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको दर्शन, सिद्धान्त, राजनीति, कार्यक्रम सबथोक नेपाली जनताले उखेलेर फालिसकेको राजतन्त्र र हिन्दू धर्म हो । हिन्दू धर्म र राजतन्त्रबाहेक उसको कुनै दर्शन छैन, सिद्धान्त छैन, नीति छैन, कार्यक्रम छैन । राप्रपाले देशमा हिन्दू धर्मको अहंकार प्रदर्शन गरिरहेको छ । क्रिश्चियत साम्राज्यवादमार्फत् भइरहेका धर्म परिवर्तन र हिन्दू अहंकार दुवै देशको लागि खतरनाक गतिविधिहरु हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै आन्दोलन, संघर्ष, बलिदानबाट उदाएको पार्टी होइन । जनताले मिल्काइसकेको पञ्चायतका अस्तुहरु जम्मा गरेर बनाएको पार्टी हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको छ, राजतन्त्रको उत्थानमा राजाहरुका आफ्नै संघर्ष र बलिदानको इतिहास छ । राजतन्त्रको पतन हुनुमा पनि राजाहरुका आफ्नै गैरजिम्मेवारीपन, अहंकार, बदमासीहरु छन् । नेपालमा राजतन्त्रको युग समाप्त भइसकेको छ ।

राजतन्त्र कोही कसैले ल्याएर गद्दीमा राखेको शासन व्यवस्था होइन । राजाहरुले शासन गर्ने ऐतिहासिक युगहरु थिए । सयौं वर्ष अगाडि राजतन्त्रको युग थियो । नेपालमा सयौं वर्ष राजाहरुले शासन गरेको इतिहास छ । पृथ्वीनारायण शाहले पनि ठूल्ठूला युद्धको नेतृत्व गरेर, गोरखा राज्यलाई विस्तार गरेर विशाल नेपालको राजा भएका हुन् । देशको इतिहासमा शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह बन्न पुगे । राप्रपाले राजा ज्ञानेन्द्र र उनका छोरा पारस शाहलाई राजाको रुपमा बोकेर हिंडिरहेको छ । राजाहरु जनतासँगको संघर्षबाट हार खाएर किनारा लागिसकेको अवस्थामा राजतन्त्रको माग गर्नु राजनीतिक मजाकबाहेक केही होइन । यदि राजतन्त्रको उत्थानको सन्दर्भ हेर्ने हो भने राजाहरु आफैं संघर्षबाट उदाउने गर्दथे । अहिले ज्ञानेन्द्रले नेपाली जनताका विरुद्धमा संघर्ष गरेर राजगद्दीमा बस्ने कुनै सम्भावना छैन । राप्रपा जस्ता शक्तिहरुले काँधमा बोकेर राजगद्दीमा बसालिहाल्छन् कि भनेर ज्ञानेन्द्रले सोचेका भए उनले हावाको महल खडा गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मान्छेहरूले राजतन्त्रको मात्रै कुरा गरेको छैन कि हिन्दू धर्मको माध्यमबाट सामाजिक सम्बन्धलाई बढाउँदै लगेका छन् । गणतन्त्रपछि नेपालमा त्रिीस्चियन साम्राज्यवादको योजनामा धर्म परिवर्तन अकल्पनीय ढंगले बढेको छ । धर्म निकै संवेदनशील विषय हो । राप्रपाले हिन्दू धर्मको रक्षालाई आफ्नो मुख्य मुद्दा बनाएको छ । त्यसलाई धेरै मान्छेले समर्थन गरेको देखिन्छ । हिन्दू धर्म खतरामा पर्दै गएको र धर्म बचाउने नाममा देशमा धार्मिक कट्टरता बढ्दै गएको छ ।

पञ्चायत देख्दै नदेखेका व्यक्तिहरू पञ्चायती व्यवस्थाका हिमायतीहरूको पछि लाग्नु विचित्रको अवस्था हो । आखिर तिनीहरुलाई राप्रपाको हावा किन लागिरहेको छ ? हामीले त्यसबारेमा गहिरो अध्ययन गर्नुपर्दछ ।

बुझ्नुपर्ने यहाँनेर हो कि देशमा जति धेरै धर्म परिवर्तन हुँदै जान्छ, राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्म बचाउने राजनीति सफल हुँदै जान सक्छ । यदि राप्रपाको प्रभाव रोक्ने हो भने धर्म परिवर्तनलाई कडाइपूर्वक रोक्नुपर्छ । धर्म परिवर्तन कडाइपूर्वक रोक्ने हो भने राप्रपाको धर्मको नाममा राजनीति गर्ने बाटो क्रमशः बन्द हुँदै जान्छ । सनातन धर्मको नाममा गरिएको राजनीतिमार्फत् हिन्दू राष्ट्र र राजतन्त्र फर्काउने काममा भारतका हिन्दूवादी संगठनहरुले पनि ठूलो जोडबल गरिरहेका छन् । तिनीहरु पनि धार्मिक अहंकारका सामाजिक विष हुन् ।

कुशासनले टाट पल्टिएको राप्रपाको आदर्श राजतन्त्र

राजतन्त्रले तीव्र रुपमा जनसमर्थन गुमाउन थालेको २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डपछि हो । दरबार हत्याकाण्डभन्दा अगाडि नेपाली जनतामा राजतन्त्रप्रति विश्वास देखिन्थ्यो । कम्युनिष्टहरुले गणतन्त्रको नारा लगाउने गरे पनि नेपाली कांग्रेसले आफ्नो विधानमै संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था मान्ने पार्टीको रुपमा आफूलाई उभ्याएको थियो । राप्रपा, नेपाल सद्भावना पार्टीले पनि राजतन्त्र मान्ने गर्दथे । दरबार हत्याकाण्डबाट राजा वीरेन्द्रको वंश सखाप भएपछि राजतन्त्रप्रतिको समर्थन घट्दै गयो र गणतन्त्रको आवाज व्यापक बन्दै गयो । दरबार हत्याकाण्ड अहिलेसम्म रहस्यकै गर्भभित्र रहेको छ ।

वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाह सत्तामा आए पनि उनले राजतन्त्रप्रति गुम्दै गएको विश्वास फर्काउन सकेनन् । अस्थिरताको बहाना बनाई २०५९ असोज १८ मा संसद विघटन गरेर पूर्वपञ्चहरुमार्फत् शासन गर्न थालेपछि उनी झनै अलोकप्रिय भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै नेताहरुले राजाको सक्रिय शासनमा भाग लिएका थिए । राजा ज्ञानेन्द्र त्यहीं रोकिएनन् । उनले २०६१ माघ १९ गते मुलुकलाई सैनिक शासन बोकाए । पञ्चायतकालका प्रधानमन्त्रीहरु तुलसी गिरी, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दले ज्ञानेन्द्र शासनकालमा पालैपालो सरकारको नेतृत्व गरेका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा पञ्चायतको भूत व्युँतिएको थियो । जनताबाट निर्वाचित संसदलाई बर्खास्त गरेर पञ्चायतका भूतहरुमार्फत् शासन सञ्चालन गर्न खोज्नु राजा ज्ञानेन्द्रको मूर्खता थियो । त्यही मूर्खताले राजा ज्ञानेन्द्रलाई बदनाममात्रै गराएन, आन्दोलनकारी दलहरुलाई राजतन्त्रको जरो उखेल्न सजिलो भयो ।

ज्ञानेन्द्रको सैनिक शासनका विरुद्धमा देशमा ठूलो विद्रोह सुरु भयो । राजा ज्ञानेन्द्रलाई साथ दिएका पूर्वपञ्चहरुको साथले कुनै काम गरेन । राप्रपा र त्यसका नेताहरु पञ्चायतकालमै बदनाम भएका थिए भने राजाको शासनकालमा झनै बदनाम भए । त्यसले २०६३ बैशाख ११ गते ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई ढाल्यो । राजा ज्ञानेन्द्र, गृहमन्त्री कमल थापालगायत राजा ज्ञानेन्द्रका अन्य सारथिहरुले जनआन्दोलन दबाउन नेतृत्व गरेका कारण कारबाही गर्नुपर्ने सिफारिससहित रायमाझी आयोगको प्रतिवेदन तयार भएको थियो । २०६२/६३ को जनविद्रोहले ज्ञानेन्द्रको प्रत्यक्ष शासनमात्रै बढारेन, २४० वर्षभन्दा पुरानो राजतन्त्र समाप्त भएर देशमा गणतन्त्रको स्थापना भयो । आफ्नै कुशासनले जनसमर्थन गुमाउँदै गएको राजतन्त्र २०६५ सालमा टाट पल्टियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु यी सारा घटनाहरुबाट बेखबर छैनन् ।

पञ्चायती व्यवस्थाका भूतहरुलाई अगाडि सारेर राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनको अभ्यास गरिसकेका हुन् । शासन व्यवस्था गुमाएको राजशाही दरबारले राष्ट्रिय प्रजातन्त्र पार्टीमार्फत् आफ्नो गुमेको स्वर्ग फर्काउने जुन प्रयत्न गरिरहेको छ, त्यो जनताको सार्वभौमसत्ता र बलिदानीपूर्ण संघर्षमाथिको भद्दा मजाकमात्रै हो । जनताको शक्तिमाथि भद्दा मजाक गर्ने कार्यले ज्ञानेन्द्रको शान्तिपूर्ण व्यक्तिगत जीवनमाथि पनि राजनीतिक तनाव, अशान्ति जस्ता संकट पैदा गर्नेछ । राजा ज्ञानेन्द्रले जसरी आफूप्रति जनताको समर्थन बढेको भ्रम पालिरहेका छन्, यदि गणतन्त्रवादी शक्तिहरु ज्ञानेन्द्रको बदमासी र चलखेलका विरुद्धमा एकजुट हुने हो भने बचेखुचेको अस्तित्व पनि समाप्त भएर जानेछ ।

जनताको लामो, कठिन र विशाल संघर्षबाट फालिएको राजतन्त्र फर्काउनुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी जसरी लागिरहेको छ, त्यो चाहिं विचित्र हो । इतिहासको गतिलाई पछाडि फर्काउने प्रयत्न किन भइरहेको छ भने देशमा राजतन्त्र र पञ्चायतको भूत आजका दिनसम्म पनि कायम रहेको छ ।

लिङदेन, मिश्र र जनआन्दोलनका दोषीहरुको नौटंकी

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सधैं भन्ने गर्दछन्, भ्रष्टाचार गरेर खानु, आमाको रगत खानुसरह मानेर काम गर्नेछु । झट्ट हेर्दा यो भ्रष्टाचारविरोधी भनाइ जस्तो देखिए पनि यथार्थमा जनतामाथि गरिएको ब्ल्याकमेल हो । राजेन्द्र लिङदेन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अरु नेताहरुले पैसाको खोलो बगाएर चुनाव जितेर आएका छन् । विक्रम पाण्डे नेपालका ठूला ठेकेदार हुन् । उनले पनि त्यही प्रकारले पैसाको खोलो बगाएरै चुनाव जितेर आएका छन् ।

चुनावमा राजेन्द्र लिङदेन र विक्रम पाण्डेहरुले खर्च गरेको पैसा कहाँबाट आयो ? उनीहरुले त्यसको चित्तबुझ्दो हिसाबकिताब सार्वजनिक गरेका छैनन् । तिनीहरुले निर्वाचन आयोगमा बुझाएको खर्चले चुनावमा जीत हासिल भयो भनेर पत्याउने कुनै आधारहरु छैनन् । चुनावमा पैसाको खोलो बगाइनु भ्रष्टाचार गर्नु हो भन्ने कुरा खुलमखुला छ भने लिङदेनको नक्कली भनाइको कुनै अर्थ छैन भन्ने यथार्थ हो । जुन नेता भ्रष्ट चुनावको मुहानबाट उदाएको छ, उसैले भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छु भनेर जनतालाई ढाँटिरहेको छ ।

उपाध्यक्ष रवीन्द्र मिश्र आफ्नो फेरिएको विचारप्रति निकै दृढ देखिन्छन् । वैकल्पिक राजनीतिको वकालत गर्ने मिश्र राप्रपा जस्तो प्रतिगामी, पुरातनवादी पार्टीमा जानु आश्चर्यको विषय थियो । मिश्रले राजनीतिलाई अगाडि लैजाने होइन कि पछाडि फर्काउने शक्तिमा आफूलाई विलय गराए । रवीन्द्र मिश्रको लागि राजनीति भनेको पछाडितिर हिँड्नु हो । दुनियाँमा राजनीतिले देशलाई अगाडि लैजान्छ । दुनियाँमा भएका राजनीतिक परिवर्तनहरुले देशलाई अगाडि बढाउने गर्दछन् । इतिहासको पांग्रालाई पछाडि धकेल्न सकिंदैन । तर, लिङदेन र मिश्र त्यही दुस्साहस गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा २०४६ र २०६३ सालको जनआन्दोलन दबाउन मुख्य भूमिका निर्वाह गरेका व्यक्तिहरु रहेका छन् । जनआन्दोलन दबाउन भूमिका खेल्नेहरुलाई कारबाहीको दायरामा ल्याएको भए अहिले तिनीहरु जेल सजाय काटिरहेका हुने थिए । देशमा सुशासनको नारा दिने नेताहरु दुई वटा जनआन्दोलन दबाउन भूमिका खेलेका व्यक्तिहरु हुन् । तिनीहरुलाई सुशासनको नारा दिने नैतिक अधिकारसमेत छैन । राजनीतिक अपराध गरेका व्यक्तिहरुले सञ्चालन गरेको पार्टीले देशमा सुशासन ल्याउँदैन, कुशासन र भ्रष्टाचारलाई बढाउँछ । जनआन्दोलन दबाउने कार्यमा संलग्नहरुले पार्टी खोलेर तिनीहरुले प्रजातन्त्र, सुशासन, मौलिक अधिकार, सामाजिक न्यायको नारा बाँडिरहेका छन् ।

मल्लिक र रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको कारण जनआन्दोलनहरु दबाउन भूमिका खेलेका व्यक्तिहरु निर्दाेष सावित हुन सक्दैनन् । २०४६ र २०६३ को जनआन्दोलन दबाउन भूमिका खेलेका पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, कमल थापालगायत दर्जनाैं व्यक्तिहरु राष्ट्रिय प्रजातन्त्र पार्टी वा राप्रपा नेपालमा आबद्ध भएका छन् । यदि नेपाली जनतालाई न्याय र सुशासनको प्रत्याभूति गराउने हो भने तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्दथ्यो र जेल हालिनुपर्दथ्यो । न्यायिक कारबाहीबाट जेल जानुपर्ने व्यक्तिहरुले पार्टी चलाएर नेपाली जनतालाई प्रजातन्त्र, मौलिक अधिकार, कानूनी शासनको पाठ पढाउनु नेपाली जनताका महान जनआन्दोलनहरुको अपमान हो ।

राजाहरु जनतासँगको संघर्षबाट हार खाएर किनारा लागिसकेको अवस्थामा राजतन्त्रको माग गर्नु राजनीतिक मजाकबाहेक केही होइन । यदि राजतन्त्रको उत्थानको सन्दर्भ हेर्ने हो भने राजाहरु आफैं संघर्षबाट उदाउने गर्दथे । अहिले ज्ञानेन्द्रले नेपाली जनताका विरुद्धमा संघर्ष गरेर राजगद्दीमा बस्ने कुनै सम्भावना छैन ।

धार्मिक/सामाजिक विध्वंसको सन्त्रास

राजनीतिक पार्टीले राजनीतिक दर्शन, सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू धर्मलाई अगाडि सारेर राजनीति गरिरहेको छ । धर्म राजनीति गर्ने विषय नै होइन । हिन्दू धर्म मान्न मान्छेहरु पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारीजस्ता धार्मिक स्थानहरुमा जाने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा जाने होइन । राजनीतिले देश र समाजमा परिवर्तनको बाहकको रुपमा काम गरेको हुन्छ भने धर्म मान्छेको व्यक्तिगत आस्थाको विषय हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म र राजनीतिलाई जसरी एकै ठाउँ राख्ने प्रयत्न गरेको छ, उसको सबैभन्दा खतरनाक पक्ष त्यही हो । देशको शासन प्रणाली, व्यवस्थापिका तथा न्याय प्रणालीलाई धार्मिक प्रभावमा राख्न प्रयत्न हुनेछ । देशलाई हिन्दू राष्ट्र बनाइएमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै क्षेत्रमा धार्मिक प्रभाव बढ्दै जानेछ । यसले देशको शासन, कानूनहरुको निर्माण र न्याय सम्पादनमा गम्भीर संकट पैदा गर्नेछ ।

धर्मलाई राजनीतिको रंग दिने कार्यले देशमा साम्प्रदायिक भावना भड्काउने सम्भावना अधिक हुने गर्दछ । कसको धर्म ठूलो भन्ने जनमत निर्माण हुन जान्छ । हिन्दू धर्मका कैयौं अगुवाहरुले ८१ प्रतिशत हिन्दूको अहंकार व्यक्त गरिरहेका देखिन्छन् । धर्महरु जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा छोडिदिनु पर्दछ । धर्म परिवर्तन, घृणा, निन्दा जस्ता गतिविधिहरुलाई कडाइपूर्वक नियन्त्रण गरिनुपर्दछ । नेपालको संविधानले धर्म परिवर्तन, घृणा, निन्दा जस्ता गतिविधिहरुलाई दण्डनीय अपराध मानेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका धेरै मुद्दाहरु पूर्ण रुपमा खारेजयोग्य रहेका छन् । राजनीतिलाई जात, धर्म, वर्ण जस्ता दलदलमा फसाउने होइन, त्यहाँबाट बाहिर निकालेर दर्शन, सिद्धान्त, विचार, नीति, कार्यक्रम, योजना जस्ता देश र जनताको विकासका विषयमा केन्द्रित गर्नुपर्दछ । राप्रपाले अहिले धार्मिक अतिवाद र राजतन्त्र जस्ता सिनो बोकेर कस्तुरीको प्रचार गरिरहेको छ । देशलाई पूरै भ्रामक, नक्कली, प्रतिगामी दिशामा लैजाने जुन प्रयत्नहरु भइरहेका छन् । सम्पूर्ण गणतन्त्रवादी, अग्रगामी शक्तिहरुले देशको नेतृत्व गरेर अगाडि बढ्नुपर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *