सुनकोशी गाउँपालिकाका सबै विद्यालय र सरकारी कार्यालयमा इ–हाजिरी – Nepal Press

सुनकोशी गाउँपालिकाका सबै विद्यालय र सरकारी कार्यालयमा इ–हाजिरी

राजश्वलाई पारदर्शी बनाउन इ–बिलिङ

सिन्धुपाल्चोक ।सुनकोशी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयहरूको सेवा प्रवाह लाई चुस्त बनाउने उद्देश्यले फेस रिडएबल इ हाजिर मेशिन जडान गरेको छ ।

विद्यालय र मातहतका कार्यालयहरूमा कर्मचारीहरू नियमित उपस्थिति नहुने,उपस्थिति भएपनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि गाउँपालिकाले विद्यालय र अन्य कार्यालयहरूमा यस्तो हाजिरी मेशिन जडान गरेको हो ।

पहिलो चरणमा गाउँपालिका भित्र रहेका ११ माध्यमिक विद्यालय, १० स्वास्थ्य चौकी,सात वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा फेस रिडएबल इ–हाजिरी मेशिन जडान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिका मातहतका विद्यालय र कार्यालयहरूमा सुशासन र सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले पहिलो चरणमा २९ कार्यालयमा यस्तो मेशिन जडान गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

दोस्रो चरणमा गाउँपालिका भित्रका आधारभूत विद्यालयमा समेत यस्तो मेशिन जडान गरिने अध्यक्ष तिमिल्सिनाले बताए । हामी क्रमशः गाउँपालिका भित्रका अन्य कार्यालयहरूमा समेत यस्तो मेशिन जडान गर्ने योजनामा छौ अध्यक्ष तिमिल्सिनाले भने ।

सामुदायिक विद्यालयहरूमा जडान गरिएको फेस रिडएबल इ हाजिरी मेशिन को कनेक्सन गाउँपालिकाको शिक्षा शाखामा हुने र शिक्षा शाखा मार्फत सबै विद्यालयहरूमा शिक्षकहरू आए ,नआएको हेर्न सक्ने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । स्वास्थ्य कार्यालयहरूमा जडान गरिएको इ मेशिनको कनेक्सन स्वास्थ्य शाखा मा हुने छ ।

वडा कार्यालय र गाउँपालिकामा जडान गरिएको फेस रिडएबल इ हाजिरी को कनेक्सन प्रमुख प्रशासकीय अधिकृतको कक्षमा हुने र यही बाट वडा र गाउँपालिका भित्रका कर्मचारीहरूको दैनिक उपस्थिति थाहा पाउन सक्ने व्यवस्था गरिएको अधिकृत दुलालले जानकारी दिए । गाउँपालिकाले केही समय पछि रय हाजिरीलाई नै शिक्षक र कर्मचारीहरूको आधिकारिक हाजिरीको रूपमा अभिलेख राखिने योजना बनाएको छ ।

वडा कार्यालयमा इ बिलिङ प्रणाली

स्थानीयबाट दैनिक रूपमा संकलन भएको कर लाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाले माघ महिना देखि सातै वडा कार्यालय र गाउँपालिकामा इ बिलिङ प्रणाली जडान गरेको छ ।

वडा कार्यालयहरू मार्फत संकलन हुने सिफारिस,मालपोत दस्तुर लगायत अन्य आय सम्बन्धी सबै विवरण अब इ प्रणाली मार्फत जम्मा हुने भएपछि वडा र गाउँपालिका कार्यालय मार्फत संकलन हुने आम्दानी केन्द्रीकृत रूपमा एकै स्थानबाट जानकारी प्राप्त हुने र यसबाट पारदर्शिता समेत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर