तस्करलाई सघाएको आरोप लागेका एसपीमाथि प्रहरी प्रधान कार्यालयले थाल्यो छानबिन – Nepal Press

तस्करलाई सघाएको आरोप लागेका एसपीमाथि प्रहरी प्रधान कार्यालयले थाल्यो छानबिन

रुपन्देही । तस्करलाई सघाएको आरोप लागेका पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

छानबिनका लागि उनलाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले जानकारी दिएका छन् ।

कँडेलले तस्करलाई सघाएको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो। कँडेल २०७८ चैतमा नवलपरासीमा सरुवा भएका थिए ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजनाथ गुप्ताले एक भारतीयलाई करोडौँ रकम ठगेको विषयमा कँडेलले सहयोग गरेको आरोप लागेको छ ।

गुप्ताकै योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो ।

तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको, गाउँपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शङ्कास्पद रहेको निष्कर्ष निकालेका थिए ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागूऔषध मुद्दामा सजायको माग दाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *