अबदेखि मौद्रिक नीति साउनको पहिलो हप्ताभित्र सार्वजनिक गरिने, यस्ताे छ नयाँ कार्यविधि – Nepal Press

अबदेखि मौद्रिक नीति साउनको पहिलो हप्ताभित्र सार्वजनिक गरिने, यस्ताे छ नयाँ कार्यविधि

काठमाडौं । अबदेखि हरेका आर्थिक वर्षको पहिलो हप्ता नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन गर्दै मौद्रिक नीति सार्वजनिक हुने मिति तोकेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक हुने मिति साउनको पहिलो सातासम्मलाई निर्धारण गरेको हो । केन्द्रीय बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति र त्यसकोको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समयसीमा पनि निर्धारण गरेको छ ।

वार्षिक मौद्रिक नीति बनाउँदा जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा गर्दा हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग्नुपर्नेछ ।

प्राप्त सुझाव मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिनपछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गर्नुपर्नेछ ।

छलफल सम्पन्न भए पछि मौद्रिक नीतिको मस्यौदामाथि व्यवस्थापन समितिमा छलफल हुनेछ । संचालक समितिबाट पारित भएपछि वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *