राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती भन्छन्- पहिला सहकारी बचाऔं अनि सुशासनको कुरा गरौंला (भिडिओ)
सहकारीका समस्या समाधान गर्न १५ अर्बको सफ्ट लोन मागिरहेका छौं
काठमाडौं । पछिल्लो समय केही सहकारीहरु समस्यामा देखिएका छन् । केही निक्षेप फिर्तासमेत गर्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारी विभागका अनुसार काठमाडौं केन्द्रित अधिकांंश सहकारीमा समस्या देखिएको छ । सहकारीमा देखिएको समस्याले सहकारी अभियानमै प्रश्न उब्जाएको छ । अभियानको नारा लिएर हिँड्नेले आफ्नै सहकारी अभियानलाई सुशासनमा राख्न सकेनन् भन्ने आरोप पनि छ । अभियानको विषय आउनेबित्तिकै सम्झिने नाम हो राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय महासंघ, सहकारी बोर्ड, विभाग र राष्ट्रिय सहकारी बैंक ।
सहकारीमा देखिएको समस्या, अभियानको भूमिका, समाधानको पहललगायतका विषयमा केन्द्रित रहेर राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष केबी उप्रेतीसँग नेपाल प्रेसकर्मी एलिजा उप्रेतीले गरेको कुराकानीको सम्पादित अंशः
– पछिल्लो समय सहकारीहरुको विश्वास किन संकटमा परिरहेको छ ?
सहकारीमा मात्र होइन, बैंक तथा वित्तीय संस्थामा पनि विश्वास कम छ ।
– केही सहकारीहरु त १० हजार निक्षेपसमेत फिर्ता गर्न नसक्ने अवस्थामा छन् । तर, बैंकहरु त निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छैनन् नि ?
केही-केही ठाउँमा बैंकले पनि निक्षेप फिर्ता दिन नसकेको कुरा मिडियामा आएको छ । फलानोको चेक साटेन रे ! भनेर खबर पनि आएको छ । केही एटीएममा पनि पैसा नभएको अवस्था छ । त्यस्तै सहकारीहरु पनि खासगरी डिपोजिट लिएर ८०-९० प्रतिशत लगानी गर्छन् । मिडियामा केही सहकारीले पैसा दिन सकेनन् भन्ने खबर आएपछि समस्या नै नपरेको सहकारीमा पनि पैसा झिक्न लाइन लाग्छ । १०-२० प्रतिशत तरलता राखेको सहकारीमा सबै एकैपटक निक्षेप झिक्न जाँदा समस्या आउँछ । ४-५ वर्षको लागि भएको लगानी त तुरुन्तै फिर्ता आउँदैन नि ! एकैपटक फिर्ता गर्न नसके पनि विस्तारै रोटेसनमा सहकारीले बचत फिर्ता गरिरहेकै छन् ।
एकचोटि न एकचोटि वित्तीय समस्या संसारभर नै आएको छ । अहिले नेपालमा पनि आएको छ । यसलाई समाधान गर्न लागिरहेका छौं । राष्ट्रिय सहकारी महासंघले वित्तीय सहकारीको समस्या समाधान गर्न भनेर एउटा संयन्त्र बनाएको छ । त्यसको संयोजक नै म हो । हामीले केही सफ्ट लोन मागिरहेका छौं ।
१०-२० प्रतिशत तरलता राखेको सहकारीमा सबै एकैपटक निक्षेप झिक्न जाँदा समस्या आउँछ । ४-५ वर्षको लागि भएको लगानी त तुरुन्तै फिर्ता आउँदैन नि ! एकैपटक फिर्ता गर्न नसके पनि विस्तारै रोटेसनमा सहकारीले बचत फिर्ता गरिरहेकै छन् ।
५ अर्ब हामीले व्यवस्था गर्छौं । जसमा २ अर्ब राष्ट्रिय सहकारी बैंकले, १ अर्ब नेफ्स्कुनले हाल्छ र २ अर्ब अन्य सहकारी संघसंस्थाबाट हाल्छन् र ५ अर्ब पुग्छ । राज्यले १० अर्ब हालोस् भन्ने हो । अनि १५ अर्ब भएपछि राष्ट्रिय सहकारी बैंकले रकम परिचालन हुने एउटा मापदण्ड बनाउँछ । मापदण्डमा छिर्ने जतिलाई लोन दिन्छौं । जसले गर्दा अहिले जस्तो पैसा फिर्तै दिन नसक्ने समस्या हुँदैन ।
एक वर्षअघिको बैंकको निक्षेप र कर्जाको ब्याजदरको तुलनामा अहिले निकै बढिसकेको छ । समस्या सबै सहकारीकै कारणले मात्र आएको होइन । बैंकहरुले ब्याज नबढाएको भए सहकारीले किन ब्याज बढाउनुपर्थ्यो ।
– बैंकहरुले ब्याजदर बढाउँदा सहकारी समस्यामा परे भन्ने तपाईंको आसय हो ?
हो, बैंकहरुले ब्याजदर बढाएपछि सहकारीलाई पनि बढाउन दबाब पर्यो । जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भयो र समस्या आयो । बैंकहरुले ऋण रोकेपछि ऋण चाहिएकाहरु सबै सहकारीमा आए । अर्कोतर्फ बैंकहरुले कर्जाकै ब्याजदर १८ प्रतिशत पुर्याए । तर, सहकारीमा अझै पनि कर्जाको ब्याजदर १६ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाको अस्वस्थ प्रतिस्पर्धाको असर सहकारीमा देखियो ।
– तर, सहकारी विभाग सहकारीका सञ्चालकले भएको जति बचत घरजग्गामा लगाउँदा समस्या भयो भनिरहेको छ नि ?
त्यो पनि केही केहीको केसमा हो । सबैको केसमा त्यस्तो भएको छैन । ४९ प्रतिशतसम्म ऋण सञ्चालकले लिन पाइने सहकारीको कार्यविधि नै छ । महान जनता भन्दाभन्दै कतिपय त्यसभित्र फटाहा, बदमास, बलात्कारी पनि हुन्छन् नि ! हो, राम्रा सहकारीको भीडमा केही नराम्रा सहकारी हुन्छन् । पहिलो, सहकारी कसरी बचाउने भन्ने विषयमा सदस्यको हात हुन्छ । सदस्यहरुमा समस्या परेको वेला सहयोग गरौं भन्ने भावना हुनुपर्छ । संस्थालाई बचाएपछि निश्चित समयपछि बल्ल सुशासनको कुरा गर्नुपर्छ । सञ्चालकले पेश्की लिएको, सञ्चालकले बढी लोन लिएको, केही अनियमितताको कुरा हुनसक्छ । बढी लोन लिएको, तरलता नराखेको होला भने त्यो संस्था बचाइसकेपछि हेर्ने हो ।
– तर, एक-दुई सहकारीकै कारण समग्र सहकारी अभियानमै धक्का लाग्नसक्छ । यस्तो वेला सहकारीलाई सुरुदेखि नै सुशासनमा बाँध्नुपर्ने होइन र ?
पहिले समग्र सहकारी जोगाउने नै हो । दोस्रो स्टेप भनेको सुशासन हो । सहकारी बैंकले पनि स्तरीकरण कार्यक्रम अघि बढाएको छ । यति निक्षेपको यति ब्याज दिनुपर्छ । शेयरको यति गुणा निक्षेप संकलन गर्न पाइन्छ । यहाँभन्दा माथि हुनुहुँदैन जस्ता विषयमा बोलिरहेका छौं । राज्य र अभियान मिलेर सुशासनमा जाने कुरा दोस्रो चरणमा हो । अहिले वित्तीय संकटको वेला कसरी जोगाउने भन्ने नै हुनुपर्छ ।
बैंकहरुले ब्याजदर बढाएपछि सहकारीलाई पनि बढाउन दबाब पर्यो । जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भयो र समस्या आयो । बैंकहरुले ऋण रोकेपछि ऋण चाहिएकाहरु सबै सहकारीमा आए ।
– तपाईंहरु जतिवेला पनि सहकारी अभियान विशुद्ध हुनुपर्छ भनेर भाषण गर्नुहुन्छ । अहिले यो अभियानमा जतिको राजनीतिकरण मेनस्ट्रिमको राजनीति गर्नेहरुले पनि गर्दैनन् भन्ने छ । यसलाई मान्नुहुन्छ नि ?
नेपालीहरु अहिले धेरै राजनीतिमा चासो राख्ने भए । अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पेशा व्यवसाय गर्छन्, कुन राजनीतिक हो मतलब हुँदैन । यहाँ त पत्रकारदेखि हरेक पेशा-व्यवसायसम्म राजनीति देखिएको छ । राजनीतिमा प्रतिस्पर्धा गर्न पाइन्छ । तर, जुन संस्थामा आइन्छ त्यहाँ भित्र राजनीति गर्न पाइँदैन । मेरो मान्छेलाई ल्याउँ, थप सेवा सुविधिा दिउँ भन्ने गर्नुहुँदैन । कुनै पनि संस्थामा आएपछि राजनीतिको पूर्वाग्रह नलिइकन काम गर्नुपर्छ ।
– बाहिर राजनीति हावी भएपछि त्यसको सेन्टिमेन्ट संस्थासम्म आइपुग्दैन र ?
सेन्टिमेन्ट संस्थासम्म ल्याउनु भएन । बाहिर हावी हुनु नपर्ने हो । तर, हाबी भए पनि संस्थासम्म ल्याउनुहुँदैन । बैंकमा पनि सर्वपक्षीय छ । एउटामात्र पार्टीको सञ्चालक छैन ।
– सहकारीमा देखिएको तरलता समस्या समाधान गर्न सफ्ट लोनको कुरा गर्नुभयो । यो प्रक्रियामै नगएको अवस्थामा तत्काल सहकारीहरुको तरलता व्यवस्थापन कसरी हुन्छ ?
सदस्यहरुको भेला गरेर उहाँहरुलाई देशको यस्तो परिस्थिति भयो भनेर एकपटक सहयोग माग्ने हो । तरलता व्यवस्थापनको लागि कर्जा लगेको सञ्चालकको पैसा पहिला असुल्नुपर्छ । त्यसपछि अन्यको कर्जा असुलीमा टाइट गर्नुपर्छ । जबरजस्ती गरे भने घरजग्गा रोक्का गर्नेदेखि प्रशासनको सहयोगसम्म लिने काम हुन्छ ।
– सहकारीमा देखिएको समस्यामा बढी दोषी को हो ?
यसमा सबै दोषी छन् । संस्था चलाउनेको पहिलो कमजोरी हो भने त्यसमा अभियानको र नियामकको पनि दोष देखिन्छ ।
– समस्या भएको सूचनाका आधारमा नियामकले सुधार गर्न किन सकिरहेको छैन ? त्यसमा तपाईंहरुले पनि भूमिका खेल्न सक्नुहुन्थ्यो होला नि ?
नियामकले सक्छ । तर, राष्ट्रिय सहकारी बैंकलाई त्यो अधिकार छैन । हामीले सम्झाउन र बुझाउन सक्छौ ।
– सहकारीहरुले पनि ब्याजदर बढाउन पाउनुपर्यो भनेर आवाज उठाइरहेका छन् । तपाईंहरुले पनि लबिङ गरिरहनु भएको छ । तर, किन ब्याजदर बढाउने विषयमा सहकारी विभाग तयार भएन ?
अहिले ब्याजदरमा लगाउँदै आएको स्थायी क्यापिङ हटाएर स्वचालित बनाउनुपर्छ भन्ने हाम्रो माग हो । यसका लागि क्याबिनेटमा लानुपर्छ । त्यसकारण त्यतिञ्जेलसम्म ब्याजदर पुनरावलोकनमात्र गरौं भनेको हो । मन्त्री नभई हुँदैन भन्ने विभागको कुरा छ । मन्त्रिमण्डल विस्तार भएपछि ब्याजदर स्वचालित बनाउन लबिङ गर्छौं ।
– तपाईं पुनः राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा निर्वाचित हुनुभयो । पहिलो कार्यकालमा तपाईंले के गर्नुभयो र अब समग्र सहकारी अभियानले तपाईंबाट के अपेक्षा गर्ने ?
बैंक भन्ने बित्तिकै शेयर, निक्षेप र कारोबार वृद्धि गर्ने भन्ने बुझिन्छ । अब प्रविधिलाई अधिकतम प्रयोग गर्ने, सदस्यको हित तथा प्रवर्द्धन गर्ने काम गरिन्छ । सहकारीकै ऐन ल्याउने, चेक क्लियरिङका कुरा, सहकारीको समस्यालाई लबिङ गरेर समाधानतर्फ लाग्नुपर्नेछ । यसमा प्रभावकारी ढंगबाट अघि बढ्ने योजना लिएको छु ।
सहकारी कसरी बचाउने भन्ने विषयमा सदस्यको हात हुन्छ । सदस्यहरुमा समस्या परेको वेला सहयोग गरौं भन्ने भावना हुनुपर्छ । संस्थालाई बचाएपछि निश्चित समयपछि बल्ल सुशासनको कुरा गर्नुपर्छ ।
– राष्ट्रिय सहकारी बैंकमा २० हजार प्लस सहकारीलाई सदस्य बनाउने तपाईंको योजना पूरा गर्न सबैभन्दा पहिले के गर्दै हुनुहुन्छ ?
अब सदस्यहरुलाई कम शुल्क लिएर भए पनि राष्ट्रिय सहकारी बैंकमा आवद्ध गराउँछु । पहिला सदस्य बन्न १० हजार रुपैयाँ तिर्नुपर्थ्यो । अब १ हजार रुपैयाँ तिरे पुग्ने भएको छ । सहकारीहरु दर्ता गरेर सदस्य नभइकन बसेका छन् । अब हामीले सहकारी बैंकको शाखा विस्तार गरेर भए पनि सदस्यता बढाउँछौं । जुन ठाउँमा शाखा विस्तार भएको छैन, त्यसमा कसरी सदस्यता विस्तार गर्ने भन्ने पनि हुन्छ । शाखा विस्तार गरे पनि दिगो हुने गरी अर्थात नाफामा जाने गरी खोल्नुपर्यो । अबको ४ वर्षे कार्यकालमा २० हजार प्लस सहकारी संस्था राष्ट्रिय सहकारी बैंकमा आवद्ध गराउँछु । कुल सहकारीको ७५ प्रतिशत आवद्ध गराइसक्छौं ।
– शत प्रतिशत सहकारीहरु बैंकमा आवद्ध हुन सक्ने अवस्था छैन ?
सदस्यता बनाउनेमात्र ठूलो कुरा होइन । केही मनाङमा, कोही मुस्ताङमा होलान् । कोही दर्तामात्र हुन्छन् । कोही कृषिको मलका लागि मात्र दर्ता भएका हुन्छन् । मलको अनुदान पाए भने मात्र दर्ता गराउँछन् । अहिले सञ्चालनमा २५ हजारभन्दा बढी सहकारी छैनन् । शत प्रतिशत नै सदस्यता हुन हामी आफैं मजबुत हुनुपर्छ ।
– राष्ट्रिय सहकारी बैंकलाई सहकारीहरुको पनि बैंक बनाउन आवाज उठेको थियो । नेपाल राष्ट्र बैंकले पनि यो विषयमा ड्राफ्ट बनाएको थियो । पछि तपाईंहरु मान्नु भएनछ । किन नचाहेको हो ?
सहकारीहरुको बैंक त बनेकै छ नि ! हामी स्वीकृति दिने निकाय होइन । हामीले अनिवार्य नगराई स्वेइच्छाले हाम्रो सेवा, सुविधा र कामको आधारले गर्ने हो । त्यसकारणले पनि अधिकतमलाई सहकारी बैंकमा छुट्नुहुँदैन भन्ने हो । हामीले सदस्य बन्नुपर्छ, आफ्नै लागि हो भन्ने महसुस गराउनुपर्दछ । धेरै सहकारीहरुका बीच पूर्ण बैंकिङको काम गर्न राष्ट्र बैंकसँग सहकार्य गरेर के के गर्न सकिन्छ हेरेर अघि बढाउँछौं । यिनीहरुलाई कारोबार गराउने, ऋण दिने, तालिम दिने जस्ता कामहरु क्रमशः अघि बढ्छ ।
अबको ४ वर्षे कार्यकालमा २० हजार प्लस सहकारी संस्था राष्ट्रिय सहकारी बैंकमा आवद्ध गराउँछु । कुल सहकारीको ७५ प्रतिशत आवद्ध गराइसक्छौं ।
– तपाईंहरुको संस्थामा कर्मचारीभन्दा ज्यादा सञ्चालक हावी भए र सोचेअनुसार प्रगति भएन भन्ने पनि सुनिन्छ, के हो वास्तविकता ?
त्यस्तो होइन । हामीले सबै कर्मचारीलाई जवाफदेही बनाएका छौं । हाम्रो काम कर्तव्य अधिकारभन्दा बाहिर गएर गरेका छैनौं । नीति निर्माण र सहजीकरण हाम्रो भूमिका हो । निर्णय प्रक्रिया सबै कर्मचारीलाई छोडिदिएका छौं ।
– तपाईंहरुले सदस्य सहकारीलाई कमिसन खाएरमात्र कर्जा दिनुहुन्छ भन्ने आरोप लगाइएको छ । यसबारे के भन्नुहुन्छ ?
त्यस्तो केस तपाईंसमक्ष मात्र पनि आएको छ भने मलाई भन्नुस् म ठाउँको ठाउँ कारबाही गर्छु । लोन प्रवाहको तीन-चार तह हुन्छ, कसलाई कमिसन दिएर साध्य हुन्छ र !
– तपाईंहरुको संस्थाको तरलता अहिले करिब २० प्रतिशत देखिएको छ, तपाईंहरु त संस्थालाई ऋण प्रवाह गर्नुहुन्छ, त्यतिले कसरी व्यवस्थापन हुन्छ ?
हामी न्यूनतममै छौं । विस्तारै बढाउने प्रयास हुन्छ । योभन्दा घट्दैन ।
– तपाईंहरुले तीन वर्षदेखि शेयरधनीलाई १५ प्रतिशत लाभांश दिइरहनुभएको छ । यसले त तपाईंहरुले धेरै प्रगति गर्न नसकेको देखिन्छ नि ?
हामीले दिएको लाभांश अधिकतम हो । हामी तीन वर्षदेखि स्थिर अवस्थामा छौं । केन्द्रीय निकायहरुमा यति लाभांश कसैले पनि दिँदैनन् । त्यही भएर हामीले शेयर रोक्का गरेका छौं । अहिले हामीले एक हजारभन्दा बढी शेयर लिन नपाउने व्यवस्था गरेका छौं । समग्र सहकारीको समस्या जस्तो यसमा समस्या छैन ।
Yes, Yes !!