सुन पसलका साहूको ठगी खेल : कालिगडलाई ३ करोड जरिबानासहित पुर्यायो जेल ( भिडिओ)
विराटनगर । सुनसरी इटहरी २० का गोपाल भनिने लालबहादुर विश्वकर्मा अहिले झुम्का कारागारमा छन् । उनी इटहरी १२ मा रहेको सिंहदेवी ज्वेलर्समा कालिगडको रूपमा कार्यरत थिए ।
आफू काम गर्ने ज्वेलर्सका सञ्चालकको अवैध धन्दाका कारण लालबहादुर जेल जानुपरेपछि उनका परिवार बिचल्ली परेका छन् ।
ज्वेलर्स सञ्चालक दीपक गजमेर सुन पसलको नाममा गैरकानूनी रूपमा आर्थिक कारोबार गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । इजाजतविना बचत कारोबार गर्दै आएका गजमेरले बढी ब्याजको लोभ देखाएर सुनसरी तरहरा क्षेत्रका सर्वसाधारणबाट पैसा संकलन गर्दै आएका थिए ।
सहकारी र फाइनान्स कम्पनीजस्तै पासबुक नै बनाएर बचत गरेका दीपकले पैसा नफर्काएपछि उनीविरुद्ध २७५ जनाले प्रहरीमा उजुरी दिए । पीडितको उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ७४ सालमा सुन पसलमा छापा मारेको थियो । त्यसताका दीपकले गरेको पैसाको कारोबार अवैध ठहरियो । ठगी धन्दाको घानमा लालबहादुरसमेत परे ।
दीपकका बुबा कृष्णबहादुर विश्वकर्मा ज्वेलर्समा हुँदा बचतकर्ताले ल्याएको रकम समात्ने र पासबुकमा पैसा बुझेको भरपाईस्वरूप सही गर्ने काम लालबहादुरले गर्थे । उनले भरपाई गरेको रकम १० लाख बराबरको रहेको बताइएको छ ।
त्यही प्रमाणका आधारमा लालबहादुरलाई सुनसरी अदालतकी न्यायाधीश निर्मला योङयाको इजलासले एक वर्ष ६ महिना कैद र तीन करोड १४ लाख ११ हजार रूपैयाँ जरिबाना तोकेको छ ।
प्रहरीले दीपकसहित उनका बाबु कृष्णबहादुर विश्वकर्मा, दिदी सीता विश्वकर्मा र ज्वेलर्समा काम गर्ने लालबहादुरलाई पक्राउ गरेको छ । दीपकका भाइ कमल पनि फरार छन् । ७४ सालमा ३० दिन हिरासतमा बसेर धरौटीमा रिहा भएका लालबहादुर ७८ पुस १९ मा सुनसरी जिल्ला अदालतको फैसलाले जेल चलान भएका हुन् ।
न्यायाधीश योङयाको फैसलामा १८ करोड ८४ लाख ६६ हजार ८८९ रूपैयाँ रकम तिर्न देखिएको ठहरसहित पाँचजनालाई दामासाही जरिबाना तोकेको छ । प्रतिवादी सबै बराबर दोषी नदेखिए पनि दामासाही हिसाबमा सजाय तथा जरिबाना तोकिएपछि लालबहादुरको परिवार विक्षिप्त बनेका छन् ।
‘प्रस्तुत मुद्दामा प्रतिवादीहरू दीपक विश्वकर्मा (गजमेर), सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माबाट अभियोगपत्रसाथ संलग्न बिगो तालिकामा उल्लेख भएबमोजिम देहायमा उल्लिखित जाहेरीवाला सुक्मित गुरुङसमेत २७५ जनालाई क्षतिपूर्तिबापत ठगीको बिगो १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ दामासाहीले भराइदिने,’ जिल्ला अदालत सुनसरीको आदेशमा भनिएको छ ।
‘प्रस्तुत मुद्दा अन्तिम भएपछि उक्त अनुसारको बिगो रकम भराइ पाउँ भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६५ को उपदफा (३) बमोजिम निज जाहेरवालासमेतले दरखास्त दिएमा सोही दफा १६५ बमोजिमका प्रक्रिया पूरा गरी निज जाहेरवालासमेतलाई उक्त अनुसारको बिगो रकम भराइदिनू ’, फैसलामा उल्लेख छ ।
‘खाँदै नखाएको विष लाग्यो । बनिबुतो गरेर पाल्नुपर्ने ज्यान जेल जानुपर्यो । त्यत्रो जरिबाना कहाँबाट ल्याउने अझ’, पीडितकी श्रीमती दीलकुमारी विश्वकर्माले गुनासो गरिन् ।
मालिकको गलत कामको सिकार निरीह मजदुर बन्नुपरेको भन्दै अहिले नागरिक अभियन्ताले ‘लालबहादुर विश्वकर्मा बचाऊ अभियान’ थालेका छन् । उनीहरूले दिनहुँजसो दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । नागरिक समाजको अगुवाइमा इटहरीमा दवाव मुलक कार्यक्रम समेत सञ्चालन भएको छ ।
यस्तो छ सुनसरी जिल्ला अदालतको फैसला