पंकज चौधरी पुर्पक्षका लागि कारागार चलान – Nepal Press

पंकज चौधरी पुर्पक्षका लागि कारागार चलान

जनकपुरधाम । दाइजोकै निहुँमा श्रीमतीमाथि घरेलु हिंसा गरी घर निकाला गरेका महोत्तरीको रामगोपालपुर ५ का डा. पंकज चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

महोत्तरीकै औरही नगरपालिका १ माइत भएकी नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा श्रीमान डा. पंकजविरुद्ध दाईजो र घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत महोत्तरीले डा. पंकजलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

इजलास नम्वर २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिए ।

अदालतको आदेश लगत्तै प्रहरीले उनलाई कारागार पठाएको छ । नेहाले घरमै पुगेर धर्ना बसेपछि डा. पंकजलाई मंसिर २७ गते साँझ महोत्तरी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

डा. पंकजका बुवा, आमा र परिवारका अन्य सदस्यमाथि पनि मुद्दा छ । तर उनका अन्य सबै सदस्य फरार छन् । घरमा ताला लगाएर उनीहरु सम्पर्क विहिन बनेपछि पक्राउ पर्न नसकेको प्रहरीको भनाई छ ।

नेहाको डा. पंकजसँग २५ फागुन २०७८ मा विवाह भएको थियो । नेहाका परिवारले विवाहमा नगद र सुनचाँदी दाइजो गरी करिब करोड रुपैयाँभन्दा बढी खर्च गरेका थिए । तर पनि दाइजो नपुगेको भन्दै उनलाई दबाब दिँदै यातना दिन थालेपछि घटना उग्ररुप लिएको छ ।

डा. चौधरीले भने नेहासँग डिभोर्सका लागि अदालतमा मुद्दा हालेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *