भारतीय कवि अमृता प्रितमका तीन कविता
इच्छापत्र
आफ्नो पूरा होसहवासमा
लेखिरहेको छु म आज
इच्छापत्र आफ्नै !
म मरेपछि,
खंग्राल्नु मेरा कोठा
खोतल्नु हरेक चिज
घरभरि विना ताल्चाका
मेरा सामान छरिएका छन् !
दिनु मेरा सपना,
ती तमाम स्त्रीहरूलाई
जो चुलो-चौकादेखि ओछ्यानसम्म खुम्चिएका छन्
आफ्नै दुनियाँमा हराएका छन् तिनीहरू
जो वर्षौं पहिले भुलिसकेका छन् सपना देख्न !
बाँडिदिनु मेरा हाँसोका खित्काहरू,
वृद्धाश्रमका ती वृद्धहरूमा
जसका सन्तानहरू
अमेरिकाका जगमगाउँदा शहरमा हराएका छन् !
टेबलमाथि हेर्नु,
मेरा केही रङ्गहरू होलान्
ती रङ्गहरूले
रङ्गाइदिनु विधुवाको साडी
जसको श्रीमानको रगतले सिमाना रङ्गिएको छ
झण्डामा लतपटिएर ऊ हिजो राति सुतेको छ !
आँसु मेरो दिनु
ती तमाम शायरहरूलाई
जसको हरेक थोपाहरूबाट हुनेछ गजलको जन्म
यो मेरो वचन भयो !
मेरो मान, मेरो पवित्रता
त्यो वेश्याको नाममा गरिदिनु
जो बेच्छे आफ्नो शरीर
छोरी पढाउनलाई !
यो देशका एक-एक युवालाई समातेर
लगाइदिनु इन्जेक्सन मेरो आक्रोशको
जसको जरुरत पर्नेछ क्रान्तिका ती दिनहरूमा !
पागलपन मेरो,
पर्नेछन् हिस्सामा ती सुफीहरूको
जो निस्किएका छन्
सबै छोडी ईश्वरको खोजीमा !
बस् !
बाँकी बच्यो
मेरो ईर्ष्या
मेरो लालच
मेरो क्रोध
मेरो झूट
मेरो स्वार्थ
यसो गर्नु
यसलाई म सँगै जलाइदिनू ।
०००
सिगरेट
यो आगोको कुरा हो
तिमीले यही कुरा सुनायौ
यो जिन्दगीको त्यही सिगरेट हो
जुन तिमीले कुनै दिन सल्काएका थियौ
झिल्को तिमीले बालेका थियौ
यो दिल सधैं जलिरह्यो
समयले कलम समातेर
केही हिसाब लेखिरह्यो
चौध मिनेट भएको छ
यसको खाता हेर
चौध वर्ष नै हो
यो कलमलाई सोध
मेरो यो शरीरमा
तिम्रो श्वास चलिरह्यो
धर्ती साक्षी छ
धूँवा निस्किरह्यो
उमेरको सिगरेट जलिसक्यो
मेरो प्रेमको सुगन्ध
केही तिम्रो स्वासमा
केही हावामा मिलिसक्यो
हेर यो आखिरी ठुटो हो
औंलाहरुबाट छोडिदेउ
कतै मेरो प्रेमको आँचले
तिम्रा औंला नछोउन्
जिन्दगीको अब पीर छैन
यो आगोलाई सम्हाल
तिम्रा हात सकुशल रहून्
अब अर्को सिगरेट जलाउ !!
०००
म तिमीलाई फेरि भेट्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
सायद तिम्रा कल्पनाहरुको
प्रेरणा बनेर
तिम्रो क्यानभासमा ओर्लिनेछु
या तिम्रो क्यानभासमा
एउटा रहस्यमय रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
या सूर्यको तेज बनेर
तिम्रो रङ्गमा घुलिरहनेछु
या रङ्गहरुको अँगालोमा बसेर
तिम्रो क्यानभासमा फैलिनेछु
थाहा छैन कहाँ कुन तरीकाले
तर, तिमीलाई पक्कै भेट्नेछु
या एउटा चस्मा बनेर
जसरी झरनाबाट पानी उड्छ
म पानीको थोपा बनेर
तिम्रो शरीरमा बिलाउनेछु
अनि एउटा शीतल अनुभूति बनेर
तिम्रो छातीमा टाँसिनेछु
म अरु केही जान्दिनँ
तर, यतिमात्र जान्दछु कि
समयले जे गर्नेछ
यो जन्म मेरो साथ चल्नेछ
यो शरीर सकिएपछि
सबै कुरा सकिन्छन्
तर, यादका धागाहरु
ब्रह्माण्डका पलहरु जस्तै हुन्छन्
म तिनै पलहरुलाई छान्नेछु
तिनै धागोहरुलाई समेट्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु ।
०००
प्रसिद्ध भारतीय कवि अमृता प्रितमका यी कविता रीमा केसीले हिन्दीबाट नेपालीमा अनुवाद गरेका हुन् ।