अमृता प्रितम, म तिमीलाई फेरि भेट्नेछु !
म कविभन्दा ज्यादा कविताको पारखी हुँ । नयाँ-नयाँ कविताहरुले दिने तरंगले सधैं झंक्रित हुन्छु । गुगल, युट्युब वा सामाजिक सञ्जालतिर बरालिँदा नयाँ र फरक स्वादको कविताहरु नै खोजिरहेको हुन्छु ।
यही खोजीमा मैले भेटाएको हो अमृता प्रितमको कविता, ‘म तिमीलाई फेरि भेट्नेछु ।’
यो कविताले हृदयमा यसरी छोएर गयो कि एउटै कविता कतिपटक पढें, यकिन छैन । युट्युबमा कतिपटक सुनें, हिसाब गरीसाध्य छैन । अमृताको अमृतजस्तो एकै कविताले मात्रै पुगेन । अन्य कविताहरु पनि खोज्न थालें । अनि पढ्न र सुन्न थालें ।
मलाई मन परेका उनका कविताहरु अनुवाद गर्न थालें । अनुदित कविताहरु आफैंसित मात्रै राख्न मन लागेन । सामाजिक सञ्जालमा पनि शेयर गर्न थालें ।
थाहा छैन, मलाई उनका कविताहरुले किन भित्रैसम्म छोएर जान्छन् । मेरो आफ्नो निजी अनुभूतिहरुलाई प्यारले सुमसुम्याएर जान्छन् । उनको कविताले हिँड्ने हजारौं माइलको बाटो आफ्नै जस्तो लाग्छ । उनको कविताले बोक्ने भावहरु आफ्नै मनबाट उर्लिएको झैं हुन्छ ।
उनका प्रेम कविता होस् या अन्य कविता, मलाई कुनै मन्त्रजस्तो लाग्न थाल्यो । अरुलाई पनि पढ्न सहज होस् भनेर अनुवाद गर्न थालेको, थाहै नपाई किताब बन्न सक्ने संख्यामा कविताहरु तयार भएछन् ।
उनका प्रेम कविता होस् या अन्य कविता, मलाई कुनै मन्त्रजस्तो लाग्न थाल्यो । अरुलाई पनि पढ्न सहज होस् भनेर अनुवाद गर्न थालेको, थाहै नपाई किताब बन्न सक्ने संख्यामा कविताहरु तयार भएछन् ।
कविता एकातिर भयो, मलाई उनको निजी जीवनले पनि उस्तै छुन्छ । मनपरेको सृजनासँगै सर्जक पनि उत्तिकै प्यारो भएर जाँदोरहेछ । मेरा लागि कविता र अमृता उत्तिकै प्रिय भइदिए । उनले बाँचेको कठिन तथा चुनौतीपूर्ण जीवन मेरै जीवनको एक हिस्साजस्तो लाग्यो । समाजको संरचनामा त्यसवेला यसरी जुधिन्, मानौं त्यो लडाइँ अहिले मेरो पुस्ताले लडिरहेको छ ।
सानैमा मातृत्व गुमाएकी उनको १६ वर्षमै विवाह भयो । जीवन जसोतसो चल्दै थियो । एक मोडमा पुगेपछि शाहिर लुधियानवीसँग जोडिइन् । प्रेमको लय राम्रै चलिरहेको वेला साहिरको जीवनमा अर्कै महिलाको आगमन भयो । पुस्तकको कभरको क्रममा अमृताको जीवनमा इमरोज जोडिए । उनका जीवनका सबै कथा विम्ब र प्रतीकमा उनका कवितामा भेटिन्छ । प्रायः कविताहरु अमृताकै जीवनको मुखपत्र जस्ता हुन् ।
कविताको आत्मामा आफ्नो जीवनको रंग दिएकी अमृताको कविता यति गहिरा छन् कि एकपटक पसेपछि निस्किनै गाह्रो पर्छ । प्रेममा मात्रै होइन, अन्य विषयमा समेत उनी कति भावुक र संवेदनशील थिइन्, उनका कविताले भन्छन् ।
कविता र जीवनबीच धेरै समानता हुन्छन् अनि धेरै भिन्नता पनि । अमृताको कवितासँग मेरो जीवनका केही न केही कुरा त अवश्य पनि मिल्न सक्छन् । कविता होस् या गीत, त्यहाँ हामी आफूलाई राखेर नै हेर्छौं । अनि गीत वा कविताहरु आफ्नै लागि लेखिए झैं लाग्छ ।
कविताको आत्मामा आफ्नो जीवनको रंग दिएकी अमृताको कविता यति गहिरा छन् कि एकपटक पसेपछि निस्किनै गाह्रो पर्छ । प्रेममा मात्रै होइन, अन्य विषयमा समेत उनी कति भावुक र संवेदनशील थिइन्, उनका कविताले भन्छन् ।
अमृताका कविताहरुले मसित गहिरो तर, सुस्तरी संवाद गर्छन् । त्यही संवादले नै मलाई अनुवादसम्म पुर्यायो । मैले सोचेकै थिएन, कुनै दिन अनुवादक पनि बन्छु । अमृताको कविताले नै मलाई अनुवादक पनि बनायो ।
अमृता केही होइनन् । तर, धेरै थोक हुन् । एक प्रेमिका हुन्, एक छोरी हुन् र एक विद्रोही कवि हुन् । स्वतन्त्र र स्वच्छन्द तरीकाले आफ्ना विचार, भाव वा आफ्नो जीवनमा घटेका घटना, जोडिएका पात्रबारे निस्फिक्री तवरले छर्लंग पारेर लेख्ने कवि हुन् । उनले ढोंग गरिनन् । जस्तो जीवन बाँचिन्, त्यस्तै लेखिन् ।
उनको लेखनी होस् या जीवन जिउने तरीका । दुवैमा एक अविछिन्न विद्रोह देख्छु । स्वच्छन्दता देख्छु । स्वतन्त्रता देख्छु । ती सबैथोक मेरा लागि सबैभन्दा प्रिय चिज हुन् अमृताको सवालमा । दुइटा चरित्र भएका कवि लेखक म स्वयंले भोगेर हिँडेकी छु । तर, अमृता जे थिइन्, वास्तवमा त्यही देखिएकी थिइन् ।
उनका कवितामा सत्यता भेटिन्छ । उनी यथार्थ वक्ता हुन् । समय, समाज र परिस्थितिले भोगाएका कुराहरु उनले स्पस्ट पोखिन् । कुनै ढाकछोप छैन त्यहाँ । हरेक भाव र विचारको अन्तिम बिन्दुसम्म पुगेर सत्य पोखेकी छन् । जसरी फलामलाई आफैं पोलिनुपर्छ, पिटिनुपर्छ । अनि एउटा गतिलो हतियार बन्छ । अमृता त्यही फलाम हुन् । जो तरबार बनिन् ।
(कवि तथा अनुवादक रिमा केसीसँग गरिएको कुराकानीमा आधरित । केसीद्वारा अनुदित ‘अमृता प्रितमका छानिएका कविता’ इंडिगो इंक पब्लिकेसनले बजारमा ल्याएको छ ।)