ज्वेलर्सका साहूको ठगीले जेल पुगेका लालबहादुरलाई इटहरीका मेयरको ढाडस
विराटनगर । इटहरीका मेयर हेमकर्ण पौडेलले लालबहादुर विश्वकर्माको परिवारलाई सहयोग गर्ने बताएका छन् । ज्वेलर्स सञ्चालकको अवैध धन्दामा फसेका कालिगड लालबहादुरको घरमै पुगेर मेयर पौडेलले सहयोग गर्ने बताएका हुन् ।
लालबहादुरलाई अदालतले एक वर्ष ६ महिना जेल र ३ करोड १४ लाख ११ हजार जरिवाना तोकेको छ । यो विषयमा नेपाल प्रेसले शुक्रवार नै समाचार लेखेको थियो ।
शनिवार पीडितको घरमा पुगेका मेयर पौडेलले निर्दोषले सजाय भोग्न नहुने भन्दै परिवारलाई सक्दो सहयोग गर्ने बताए ।
देशमा तीन तहको अदालत रहेकाले न्याय पाउने सम्भावना जीवित रहेको भन्दै परिवारका सदस्यलाई नआत्तिन आग्रह गरेका छन् ।
मेयर पौडेललाई पीडितकी श्रीमती दिलकुमारीले खाँदै नखाएको विष लागेकाले परिवारमा बिचल्ली भएको बताइन् ।
उनले भनिन्, ‘बनी बुतो गरेर पाल्नुपर्ने ज्यान जेल जानुपर्यो । त्यत्रो जरिवाना कहाँबाट ल्याउने ?’
यो पनि- सुन पसलका साहूको ठगी खेल : कालिगडलाई ३ करोड जरिबानासहित पुर्यायो जेल (भिडिओ)
दीपक विश्वकर्मा गजमेरले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका रूपमा काम गर्ने लालबहादुरलाई फसाइएको भन्दै न्यायका लागि नागरिक समाजले अभियान चलाएको छ ।
दीपक गजमेर विश्वकर्मा र उनका परिवारले सुन पसलको साथै सिंहदेवी ज्वेलर्सले उचित ब्याज सहित मुनाफा दिने भन्दै प्रलोभन देखाई स्थानीय २७५ जनाबाट १८ करोड बढी रकम ठगी गरेको थियो ।
सुनसरी जिल्ला अदालतको फैसला विरुद्ध लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिएका छन् । उनी भने अहिले झुम्का कारागारमा छन् ।