‘हिप्पीलाई नेपाल छिर्न राजा महेन्द्रले कसरी अनुमति दिए, अचम्म लाग्छ’ – Nepal Press

‘हिप्पीलाई नेपाल छिर्न राजा महेन्द्रले कसरी अनुमति दिए, अचम्म लाग्छ’

प्राज्ञ अभि सुवेदी भन्छन् : उनीहरु अशिक्षित थिएनन् । बडा विद्वान थिए । ब्रिलियन्ट मान्छेहरु थिए । आफूसँग भएको सबै छाडेर हिँडेका थिए

काठमाडौं । २०२५ सालदेखि २०५७ सालसम्मको अन्तराल । अर्थात् ३२ वर्ष ।

प्राध्यापक तथा लेखक अभि सुवेदीको दृश्यबाट मरुहिटी, झोछेंको गल्लीमा भेटिने हिप्पीहरु ओझेल परिसकेका थिए वा स्वयम्भूको डाँडामा चर्को स्वरमा म्युजिक कन्सर्ट गर्ने, अनौठा पहिरनमा टाँठिने हिप्पीहरुसँगको भौतिक सत्संग छुटेको वर्षौं भइसकेको थियो । गाँजाका धूवाँहरुमा रुमल्लिएर बिन्दास जीवनको उत्कर्षमा रमाउने हिप्पीहरुको हुल ३२ वर्षको अन्तरालमा अभिको आँखाले सायदै देख्न पाएका थिए ।

२०५७ सालको एक दिन । अभिद्वारा दीक्षित शेखर खरेल उनी सानुन्ने आएर भने, ‘सर, म तपाईंको डकुमेन्ट्री बनाउन चाहन्छु ।’

शेखर स्वयं लण्डनमा मोटरसाइकल दुर्घटनामा परेर घाइते थिए । उनको तिघ्रा भाँचिएको थियो । उता मुद्दा चल्दै थियो, शेखर नेपाल फिरेका थिए । नेपालमै रहँदा शेखरले मुद्दा जिते । क्षतिपूर्तिवापत केही रकम प्राप्त गरे । त्यही रकमबाट अभिको डकुमेन्ट्री बनाउन कस्सिए ।

अभिकै भाषामा भन्दा, ‘शेखरको आफ्नै कथा मार्मिक थियो ।’

डकुमेन्ट्रीको प्रस्ताव ल्याएपछि अभिले सोधे, ‘केमा बनाउने त डकुमेन्ट्री ?’

‘हिप्पीको विषयमा ।’

‘लौ, म यस विषयमा कुरा गर्न चाहन्नँ, मान्छेले हिप्पी रहेछ भन्लान् ।’

अभिले रमाइलोका लागि भनिदिएका थिए शेखरलाई । स्वभावले बिन्दास, मनमौजी अभिलाई अरुले के भन्ला भनेर केको पिरलो ! पूर्वी पहाडको लिम्बूवानमा हुर्किएका अभिलाई ख्यालठट्टा गर्नमा कसैले सक्दैन । ख्यालठट्टामै गम्भीरता भर्नमा कसैले भ्याउँदैन ।

शेखरलाई अभिले डुलाउन थाले । हिप्पीहरु डुल्ने, घुम्ने, बस्ने ठाउँतिर लगे ।

केही पीडा होस् । तर, त्यो सृजनशील होस् । त्यही वेला केही युवाहरु अकस्मात आए । कहाँबाट आए थाहा छैन । उमेर उस्तै छ । नयाँ प्रकारका लुगा लगाएका छन् । महिला पुरुष छन् । बिन्दास छन् । पर्फमेन्स छ । एसिड म्युजिकमाथि स्वयम्भूमा रातिराति थर्काएका छन् । म त झ्याम्मै त्यता गएँ नि ! डोमेस्टिक हिप्पी भएँ ।

शेखरलाई झोंछे पुर्‍याए । जहाँ हिप्पीहरु बडो दुःखले बस्थे । मरुहिटी लगे । झोंछेमा एक घर थियो हिप्पीहरु बस्ने । उक्त घरको भित्तैभरि एसिड केक, एसिड म्युजिक लेखिएका थिए । अभिको अनुमान छ, ‘उनीहरुले एसिड शब्द बढी नै प्रयोग गर्नुमा एक त एसिड ड्रग हो । अर्को एसिड भन्नाले चर्को अर्थ पनि लाग्छ ।’

झो‌छेंको हिप्पी बस्ने घरको साहूलाई पनि चिन्थे अभि । अभि पुग्नसाथ भने, ‘ओहो, हेर्दाहेर्दै बूढो भइसक्नुभयो ।’

संयोग पनि कस्तो ! अभि र शेखर पुग्ने दिन नै त्यो पुरानो घर भत्काउन लागिएको रहेछ । कामदार ल्याएर भत्काउने सुरसार गरिएको रहेछ । नयाँ बिल्डिङ ठडाउने तयारीमा रहेछन् घरभेटी ।

अभिले अनुरोध गरे, ‘लौन साहूजी, खिच्न दिनुस् ।’
घरभेटीले कामदारलाई रोके । शेखरलाई फुटेजहरु लिन दिए । उनीहरु हिप्पी बस्ने घरको माथिल्लो तलामा गए । त्यहाँ पनि एसिड लेखिएका अक्षरहरु तजोताजा थिए । सँगै दोस्रो पुस्ताका हिप्पीहरुले पनि अघिल्लो पुस्ताको नक्कल गरेर पेन्टिङ बनाएका रहेछन् । सँगै लेखेका रहेछन्, ‘हाउ टु बी अ हिप्पी !’

दोस्रो पुस्ताको पनि उपस्थिति सम्झँदै अभि सुनाउँछन्, ‘त्यसलाई म मेटा हिप्पी कन्ससनेस भन्ने थिएँ । त्यसको कारण भनेको कमेन्ट्री गर्ने मान्छे भयो नि त ! यसो गर्नु, उसो गर्नु भनेर दशवटा सूत्र भित्तामा राखेका छन् ।’

उक्त घर अभिहरु फिरेको भोलिपल्ट भत्कियो ।

शेखरले डकुमेन्ट्री बनाए । फेरि लामो समयपछि अभि त्यही घरमा पुगे । पुराना सम्झनाहरु संगालेको घर भत्किएर अग्लो बिल्डङ बनिसकेको रहेछ ।

क्रिस्टोफ र फियोनाको प्रेमको साक्षी अभि

अहिले पनि वेलावेला अभि झोंछे, वसन्तपुर, मरुहिटीतिर पुगिरहन्छन् । एक्लै जान्छन् । घुम्छन् । नोस्टाल्जिक हुन्छन् । ती ठाउँहरुमा पुग्दा अभिसित ती हिप्पी साथीहरु त हुन्नन् । तर, नोस्टलजिया हुन्छन् । अर्को थप चिज हुन्छ, त्यो हो लस्ट वर्ल्ड ! अर्थात् विलुप्त भएको संसार ।

अभि सुनाउँछन्, ‘त्यो एउटा यस्तो संसार थियो, अहिले विलुप्त भएर गयो भन्ने महसुस हुन्छ । सँगै ती मान्छेका चित्रहरु सरसर्ती रिल झैं फनफन घुमेर आइदिन्छन् ।’

ती मान्छेका चित्रहरुमध्ये एकजनासँग त अभिको अहिले पनि संवाद हुन्छ ।

अभिका एकजना साथी थिए, क्रिस्टोफ । ऊ कवि पनि थियो/हो । काठमाडौंबाटै ‘फ्लो’ नामक पत्रिका चलाएका थिए । जसमा अभिले सहयोग गरे । चैतन्य उपाध्यायलाई नेपाली कविहरुको कविता अनुवाद गर्न लगाए । उनी स्वयंले एक लेख लेखे ।

पछि मार्क लिक्टीले हिप्पीमाथिको एक पुस्तकमा अभिका कुराहरु पनि लेखे । उनै मार्कले क्रिस्टोफका कविताहरु भेटाएर अभिलाई पठाइदिए । साथै मार्कले भने, ‘अभि, तिमीले क्रिस्टोफकी गर्लफ्रेण्ड फियोनाबारे धेरैपटक कुरा गरेको थियौ । मैले फियोनालाई भेटें ।’

करिब तीन वर्ष जति अगाडिको प्रसंगमात्रै हो यो । अमेरिकाबाट मार्कले थप भने, ‘मैले फियोनालाई तिमीबारे सोधें । तर, ऊ कुनै कुरा पनि सम्झन चाहँदिन ।’

अभि सुनाउँछन्, ‘नेपालमा आउँदा क्रिस्टोफ र फियोना प्रेममा थिए । पछि फिरेपछि उनीहरु छुटेछन् । दुवैले विवाह गरेछन् । क्रिस्टोफकी छोरीलाई पनि फियोनाले भेटिछ । फियोनाकी छोरीको पनि विवाह भएछ । भनेपछि त समय कहाँ कहाँ पुगेछ नि !’

मार्कसँग ठेगाना मागेर फियोनालाई चिठी लेखेपछि अभिले सबै कुरा थाहा पाए । चिठीमा फियोनाले सबै लेखेर पठाएकी थिई ।

‘अहिले मेरो समयको चिनेको साथी उनीमात्रै हुन् । पछि मार्कले अर्को खबर पनि पठाएको थियो, तिम्रो साथी आइराकोहेन मर्‍यो भनेर । आइराकोहेन ढोकाटोलमा बस्थे’, अभि सुनाउँछन्, ‘अहिले फियोना वन्डरफुल छिन् । उनी पेन्टर पनि रहिछन् । तर, एकदमै स्लो संवाद गर्छिन् मसित ।’

हिप्पीहरुलाई थाहा थियो, अहिले भइरहेको जिन्दगीले काम दिँदैन । अर्को जीवन खोज्नुपर्छ । तर, के कसरी खोज्ने, क्लियर थिएनन् । खालि यो मूल्य र मान्यताप्रति चाहिँ उनीहरुको विमति थियो । अलग बाटो जाऔं भन्ने थियो । यो सबै भत्काइदिउँ भन्ने थियो । तर, भत्काएर रिप्लेस गर्नु त राजनीतिक निर्णय हो । त्यो उनीहरुसँग थिएन ।

ट्राटस्काइड क्रान्तिको विधिवत विघटन

सन् १९६८ मा पेरिस क्रान्ति भयो ।

अभि सानैदेखि समाजमा केही भयानक परिवर्तन आओस् भन्ने चाहन्थे । विराटनगरबाट अंग्रेजी पढ्न त्रिचन्द्र कलेज आएका थिए । तर, यता अंग्रेजी पढाइ नभएपछि धरान फिरे ।

पञ्चायतकाल थियो । धरानमा वामपन्थी आन्दोलनमा सरिकहरु थुप्रा थिए । सँगै अभि पनि वामपन्थी हुनुपर्छ भनेर लागे । उनलाई ट्राटस्कीले खुबै प्रभावित पा¥यो । लियोन ट्राटस्कीलाई बीपी कोइरालाको लेखबाट पत्तो पाएका थिए ।

ट्राटस्कीको विचार पढेर अभि आफैं एउटा समूह बनाउनतिर लागे, ट्राटस्काइड ग्रुप । १६ जना थिए समूहमा । आन्दोलन गर्नुपर्छ भनेर कम्युनिष्टहरुसँग सो समूह मिल्यो ।

विद्यार्थीको चुनावमा पनि भाग लिए । जनरल सेक्रेटरीमा उठेका अभिले जिते पनि । ट्राटस्काइड क्रान्ति गर्न हिँडेका अभिहरुको भेट मजदुर युनियनका इन्द्रबहादुर थापासँग भेट भयो । सल्लाह मागे । इन्द्रबहादुरले भने, ‘होस गर्नु । क्रान्ति जब सुरु हुन्छ, कता जान्छ भन्न सकिन्न ।’

धरानमा अनेक तोडफोड भयो । अभिका शिक्षक आनन्ददेव भट्ट चोकमा आएर भाषण दिँदा पक्राउ परे । अभिले हल्ला सुने, ‘अभि र आनन्ददेवलाई सरकारले गोली ठोक्दैछ ।’

अभि सुनाउँछन्, ‘त्यसपछि मलाई सुलोचना लिम्बू दिदीले लुकाउनुभयो । हामी तीनजना थियौं । भाग्यौं । रातभर चारकोसे झाडी हुँदै भागेर भारतको वीरपुर पुग्यौं ।’

वीरपुर पुग्दा आगो फुसफुस बलिरहेको थियो । आगोको कोइलाको बास्ना अझै पनि अभिको नाकबाट हटेको छैन । वीरपुरमा बिहान चिया पिए । चिया पिउँदै गर्दा अभिको कानमा कवि मन्जुल फुसफुसाए, ‘अभि, हामी त राजनीतिज्ञ होइन । हामी त कवि पो त !’

मन्जुल त्यसवेला क्रान्तिमा सामेल थिएनन् । तर, सांस्कृतिक समूहमा थिए ।

अचेल पनि अभिसँग भेट हुँदा मन्जुल जिस्किन्छन्, ‘म त अभिको कानमा फुसफुसाएँछु ।’

अभि हाँस्दै भन्छन्, ‘वीरपुरमा मन्जुल फुसफुसाएपछि हामीले ट्राटस्काइड क्रान्तिको त्यहीं नै विधिवत विघटन ग¥यौं ।’

त्यहाँबाट अभिहरु फिरे ।

ट्राटस्काइड क्रान्तिले खाली दिमाग अनि हिप्पी

वीरपुरबाट फर्कंदा बाटोमा प्रहरीले पक्राउ गर्‍यो । पिटपाट गर्‍यो । अभिलाई समातेपछि धरानमा जुलुस पनि निकालियो । अभिलाई भने पुलिस अफिसमा लगियो । त्यसवेला अञ्चल प्रहरीमा एक लामा थरका प्रहरी अधिकृत थिए । उनले भने, ‘हेर भाइ, तँ पढ्ने मान्छे होस्, मलाई थाहा छ । धरानले कहिल्यै नेता निकाल्दैन, यो टिपेर राख । तँ पढ्ने मान्छे होस् । आइस्, आन्दोलन गरिस् । अब खुरुखुरु पढ ।’

वरिपरिका पुलिसहरुलाई लामाले बाहिर पठाए । अभिलाई एक्लै राखेर भने, ‘भाइ, म पनि सुवासचन्द्र बोसको युवा सैन्य सदस्य थिएँ । म पनि लडेको हुँ ।’

अनि लामाले ‘जतन गरेर लैजानू’ भनेर अभिलाई विराटनगर पठाए ।

अभि सुनाउँछन्, ‘अर्को कागज आएपछि भोलिपल्टै उनीहरुले धरान ल्याए । छाडिदिए । अनि काठमाडौं हान्निएँ । काठमाडौं आउँदै गर्दा दिमाग पूरै खाली थियो । बाँकी केही थिएन । ट्राटस्की, क्रान्ति सबै वीरपुरमै विसर्जन गरिसकेको थिएँ । दिमाग त्यसरी पनि खाली हुँदोरहेछ ।’

तैपनि अभि कविता लेख्थे । समीक्षा लेख्थे ।

काठमाडौं आउनेवेला उनलाई आमाले भनेकी थिइन्, ‘पहिलाको कुरा छाडिस् । अब नयाँ कुरामात्रै लिनू ।’

तर, खाली भएको दिमाग केले भर्ने ?

अभिलाई त आर्ट चाहिन्थ्यो । म्युजिक चाहिन्थ्यो । केही न केही आँधी चाहिन्थ्यो ।

अभि भन्छन्, ‘केही पीडा होस् । तर, त्यो सृजनशील होस् । त्यही वेला केही युवाहरु अकस्मात आए । कहाँबाट आए थाहा छैन । उमेर उस्तै छ । नयाँ प्रकारका लुगा लगाएका छन् । महिला पुरुष छन् । बिन्दास छन् । पर्फमेन्स छ । एसिड म्युजिकमाथि स्वयम्भूमा रातिराति थर्काएका छन् । म त झ्याम्मै त्यता गएँ नि ! डोमेस्टिक हिप्पी भएँ ।’

केही नेतागिरी गर्नेहरु भन्थे, ‘हिप्पी आएर युवाहरुमा नकारात्मक प्रभाव पार्‍यो । समाजमा यसले नकारात्मक प्रभाव पार्नेछ ।’

एक बुढाले भनेछन्, ‘त्यो हिप्पीनी केटीहरु त हाम्रा केटाहरु राम्रो भएकाले, बीउबिजन राम्रो भएकाले सन्तान पाउन आएका हुन् ।’ मार्क लिक्टीको पुस्तक ‘फारआउट’मा यो प्रसंग पनि उल्लेख गरेका छन् आफ्नो पुस्तकमा ।

अभि सुस्तसुस्त सुनाउँदै जान्छन्, ‘यस्ता थरिथरिका रेस्पोन्स थिए । म रेगुलर विश्वविद्यालय जान्थें । यता ट्राटस्कीलाई विसर्जन गरेपछिको खाली दिमाग चाहिँ उनीहरुले भरिदिए ।’

सबैभन्दा बढी क्रिस्टोफसँग नजिक भए अभि ।

पछि क्रिस्टोफले चिठी लेखे, ‘प्रिय अभि, मसँग फियोनालाई ट्रेनबाट स्कटल्याण्ड पुर्‍याउन पैसा थिएन । त्यसैले हामीले एउटा मोटरसाइल चोर्‍यौं । अनि मैले फियोनालाई उसको परिवारसम्म पुर्‍याएँ ।’

उनीहरु एसिड म्युजिक भन्थे । उनीहरुको बाँच्ने, हाँस्ने, खेल्ने आफ्नै तौरतरिका छ ।

अभिको विश्लेषण छ, उनीहरु अशिक्षित थिएनन् । बडा विद्वान थिए । ब्रिलियन्ट मान्छेहरु थिए । आफूसँग भएको सबै छाडेर हिँडेका थिए । सबै चलाख थिएनन् । कत्ति हिप्पी त एकदमै सोझा थिए ।

अभि सुनाउँछन्, ‘उनीहरुलाई थाहा थियो, अहिले भइरहेको जिन्दगीले काम दिँदैन । अर्को जीवन खोज्नुपर्छ । तर, के कसरी खोज्ने, क्लियर थिएनन् । खालि यो मूल्य र मान्यताप्रति चाहिँ उनीहरुको विमति थियो । अलग बाटो जाऔं भन्ने थियो । यो सबै भत्काइदिउँ भन्ने थियो । तर, भत्काएर रिप्लेस गर्नु त राजनीतिक निर्णय हो । त्यो उनीहरुसँग थिएन ।’

अभि स्वयंलाई पनि प्राज्ञिक बनाउन हिप्पीहरुको आफ्नै देन छ । यसबारे उनी भन्छन्, ‘प्राज्ञिक त यसै बनिहाल्थें । तर, कस्तो खालको प्राज्ञिक बन्ने ? पास त गर्थें । अझै राम्रो नम्बर ल्याउँथें । त्यो समय उता लगाएँ । त्यो ज्ञान कति महत्वपूर्ण रहेछ भन्ने कुरा त म हुँदै पुस्तापुस्ताका विद्यार्थीमा गयो नि त ! मेरा विशेष क्लोज विद्यार्थीहरु सीधै फर्मुला टाइपका छैनन् । अहिले पनि स्पिरिट क्याचर जस्ता छन् । जो जो क्लोज छन्, केही न केही तोड्दै जाने खालका छन् ।’

‘हामीलाई ह्याप्पीनेस देऊ’

अभिले पेरिस रिभोलुसनका नाराहरु संकलन गरेका थिए । नारामध्ये एउटा डरलाग्दो नारा थियो, ‘हामीलाई ह्याप्पीनेस देऊ !’

ह्याप्पीनेस त दिने, तर कसले दिने ? सरकारले त दिँदैन । ह्याप्पीनेसको माग पनि विद्रोह त हो । तर, कोसँगको विद्रोह हो ? भावनात्मक कुरा हो । चेतना र सृजनाको उपज हो ह्याप्पीनेसको माग ।

ह्याप्पीनेसको मागको एकै सार थियो, ‘त्यसवेला भइरहेको सामाजिक-राजनीतिक परिस्थितिसँग विमति ।’

अभिको मत छ, त्यसवेलाको राजनीतिक प्रणालीमाथिको विमति र वैश्विक चेतनाको खोजीमा उनीहरु पूर्व आए । दक्षिण एसिया आए । यहाँ आएर साधुसँग बसे । बंगालका गायकहरुसँग गीत गाए । पाकिस्तानका सुफीहरुसँग संगत गरे ।

अभिको भनाइ छ, ‘उनीहरु वैश्विक चेतना खोज्न यता आए । विश्वव्यापी रुपमा कहाँ छौं भनेर खोज्न दक्षिण एसिया आए । पश्चिम पूँजीको बजार थियो । पूँजीले बजार खोज्छ । तर, हाम्रो चेतनाले पूँजीको बजार किन्ने संस्कारमात्रै रहेछ भनेर खुलासा गरिदियो । पूँजीवादको परिभाषा माओ त्सेतुङले दिए । तर, कम्युनिष्टको परिभाषाभित्र रहेरमात्रै परिभाषित गरिदिए । पूँजीवादलाई तोडिदेऊ भने । तर, त्यसले सबै बुझिएन नि त ! त्यसैले पूँजीवादलाई बुझ्न पनि उनीहरु यता आए ।’

अभिको भनाइ छ, उनीहरुको पुस्ताले भेटेको हिप्पी र त्यसको सौन्दर्य सुनौला थिए ।

नेपालमा महेन्द्रको ठूलो राजनीतिक निरंकुशता थियो । यहाँ ती मान्छेहरु आउन थालेपछि महेन्द्रले तुरुन्त बन्द गर्न सक्थे । तर, गरेनन् । हिप्पीलाई सबैभन्दा उदार भएर सहज वातावरण कुनै मुलुकले दियो भने नेपालले नै दियो । महेन्द्र किन यति उदार भए अचम्म लाग्छ । यो ठूलो रहस्य हो ।

वेस्टल्याण्ड र हिप्पी महिला

एक हिप्पी महिलासँग अभिको ब्रिटिस काउन्सिलमा भेट भयो । अभि टीएस इलियटको कविता ‘वोस्टल्याण्ड’ को रिफ्रेसन्सहरु खोज्न पुगेका थिए । त्यसैवेला एउटी हिप्पी महिला झकझक हिँड्दै आइन् ।

पछि अभिले उनीमाथि कविता नै लेखेका छन्, ‘हिप्पी वुमन’ शीर्षकमा ।

ती महिलासँग अभि साथी भए । घुमघाम गरे । तिनले अंग्रेजीमा एमए गरेकी रहिछन् । तिनैले ‘वेस्टल्याण्ड’माथि यसरी विस्तारमा व्याख्या र विश्लेषण गरिन् कि अभिको प्राध्यापन पेशामा जीवनभर त्यो व्याख्या कामयाबी रह्यो ।

अभिको निष्कर्ष छ, ‘हिप्पीइजम वे अफ लाइफ हो । जीवन जिउने तरिका हो । त्यो हिजो पनि थियो र आज पनि छ ।’

हिप्पीहरु कतिसम्म मानवीय थिए, त्यो अभिलाई मात्रै थाहा छ । उनीहरु कुनै सम्बन्ध बनेपछि लरतरमा कसैलाई छाडेर जाँदैन थिए । सम्बन्धलाई जोगाइराख्थे । उनीहरुमा फ्रस्टेसन थियो । त्यसलाई क्रान्तिकारिताको फ्रस्टेसन नामांकन गर्छन् अभि ।

‘तिम्रो यो बाटोमा म हिँड्न सक्दिनँ भन्नु साहस हो नि ठूलो ! त्यति भन्न उनीहरुले कति दुःख गरेका छन् । उनीहरु जे भए पनि रुँदैन थिए । बरु हाकाहाकी भन्थे, मसँग पैसा थिएन । तर, बोर्डर क्रस गरेर आयौं’, अभि भन्छन् ।

राजा महेन्द्रको उदारता

हिप्पीहरुले यात्राका क्रममा जताततै दुःख पाए । भारतमा होस् या पाकिस्तानमा वा अफगानिस्तानमा । कतै लुटिए त कतै यौन दुर्व्यवहारको शिकार भए । कतै भोकै बसे त कतै रातारात अनिँदो हिँडे । उनीहरुको सबै मुलुक र त्यहाँका मान्छेप्रति गुनासो थियो । तर, नेपालप्रति उनीहरुको सदासयता र प्रेम थियो । अहिले आइरहेको हिप्पी लिट्रेचरमा पनि खुलेर लेखिएका छन् नेपालबारे । अभिलाई पनि यो चाहिँ बडो अचम्म लाग्छ ।

अभि सुनाउँछन्, ‘नेपालमा महेन्द्रको ठूलो राजनीतिक निरंकुशता थियो । यहाँ ती मान्छेहरु आउन थालेपछि महेन्द्रले तुरुन्त बन्द गर्न सक्थे । तर, गरेनन् । हिप्पीलाई सबैभन्दा उदार भएर सहज वातावरण कुनै मुलुकले दियो भने नेपालले नै दियो । महेन्द्र किन यति उदार भए अचम्म लाग्छ । यो ठूलो रहस्य हो ।’

पछि अमेरिकाको तत्कालीन उपराष्ट्रपति नै नेपाल आए । अनि महेन्द्रले हिप्पीहरुलाई देश छाड्न लगाए । यदि यहाँ रहने हो भने राम्रो लुगा लगाउनुपर्ने, हेयरकट छोटो हुनुपर्नेलगायत सर्त थियो ।

आफ्नो मुलुक जान केही सर्तहरु पूरा गर्नुपर्थ्यो । सरकारले नै आदेश दिइसकेपछि राम्रो लुगा लगाएर सिंहदरबार छिरेर बयान दिनुपर्थ्यो । तर, अभिको साथी क्रिस्टोफको कमिज पनि थिए । अभि विद्यार्थी नै थिए ।

तैपनि अभिको एउटा टाइ र कोट भेटियो कोठामा । क्रिस्टोफले कपाल काटे । कोट र टाइ लगाए । सिंहदरबारभित्र पसे ।

बाहिर अभि कुरिरहेका थिए । क्रिस्टोफ रिसाउँदै आए । अभिले सोधे, ‘किन रिसाएको ?’

क्रिस्टोफले झोकिँदै भने, ‘तिनीहरुले स्वीकारे । अमेरिकामा मेरो साथीहरुसँग ७० हजार वटा बन्दुक छ । तिनीहरु सबैलाई हानिदिन्छु ।’

यसपछि क्रिस्टोफहरुलाई बिदाइ गर्न अभि बस स्टेसन नै पुगे । क्रिस्टोफहरु वीरगञ्जको बस चढेर बाइबाइ गर्दै गए ।

अभि अतितमा पुग्छन्, ‘जब उनीहरु बसमा स्वाट्टै गए, म ग्वाँग्वाँ रोएँ । जुनवेला म शून्य भएर उनीहरुलाई भेटेको थिएँ । त्यस्तै त भइनँ । तर, मन हुँडलिएर आयो । त्यसदिन झण्डै शून्य हुने स्थिति आएको ।’

०००

अहिले त ती हिप्पी र हिप्पी सँगसँगै अभि हिँड्ने ठमेल, झोछें, मरुहिटीमा अग्लाअग्ला बिल्डिङ ठडिएका छन् । पुराना घरहरु भत्काइएर बनाइएका अग्ला बिल्डिङले अभिका स्मृतिहरुलाई चाहिँ छेक्न सक्दैन । वेलावेला जान्छन् ।

अहिले हिँड्दा सोच्छन्, ‘पहिला म मोर्डनिस्ट थिएँ । अहिले रोमान्टिक हुन्छु त्यो बाटोमा हिँड्दा । नोस्टालजिया मोर्डनिजममा परिणत भइदियो ।’

अनि सम्झनाहरु भनेको चाहिँ के रहेछ ?

अभिको जवाफ छ, ‘सम्झनाहरु भनेको त मान्छेले मनमा गहिरोसँग दुई चिजलाई राख्दोरहेछ । देखेको चिजलाई यस्तो थियो भनेर सोच्दो रहेछ । अनि देखिएको चिजले बोकेको कन्सेप्टलाई पनि सम्झनामा राख्दोरहेछ ।’

(सन् १९६० र १९७० को दशकमा चलेको हिप्पी युगलाई तत्कालीन समाजले सकारात्मक रुपमा कहिल्यै लिएन । दुई दशक चलेको हिप्पी युगलाई अन्त्य गर्न अमेरिकी राज्यसत्ता आफैं लागेको थियो । तर, लामो समयको कालखण्डपछि मात्रै हिप्पीबारे प्राज्ञिक ग्रन्थ तयार हुन थालेको हो । सन् २०१७ मा बेलायतको मेन्चेस्टर युनिभर्सिटी प्रेसले ल्याएको पुस्तक ‘दि हिप्पी ट्रेलरः अ हिस्ट्री’ मा लेखकहरु सरिफ जेमी र ब्रायर आयरल्याण्डले प्राज्ञिक मन्थन गरेका छन् । बेलायती विश्वविद्यालयबाट आएको यो पुस्तकभन्दा धेरै अगाडिबाट प्राध्यापक डाक्टर अभि सुवेदीले धेरै अगाडिबाट प्राज्ञिक र साहित्यिक रुपमा कुनै न कुनै रुपमा हिप्पीलाई स्थान दिइरहेका छन् । हिप्पीसँग जोडिएका नेपाली र विदेशीहरुले बनाएका सामग्रीहरुमा आउने एक अनिवार्य सन्दर्भ व्यक्तित्व हुन् सुवेदी ।)


प्रतिक्रिया

One thought on “‘हिप्पीलाई नेपाल छिर्न राजा महेन्द्रले कसरी अनुमति दिए, अचम्म लाग्छ’

  1. पृष्ठभूमिको हल्ला पट्यार लाग्दो । यति राम्रो अन्तरवार्तालाइ स्तरीय बनाउन यस्ता हल्लालाइ नियन्त्रण गर्नु राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर