कर्णालीमा एमालेबाट को बन्लान् सभामुख ? – Nepal Press

कर्णालीमा एमालेबाट को बन्लान् सभामुख ?

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रलाई मुख्यमन्त्री भाग परेपछि नेकपा एमालेबाट बन्ने सभामुखबारे चर्चा सुरु भएको छ । मुख्यमन्त्री दाबी गरेको एमालेलाई सभामुख भागमा परेको हो । जसअनुसार एमालेले अहिलेसम्म सभामुखको बारेमा कुनै निर्णय गरेको छैन ।

यद्यपि एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह, जीतबहादुर मल्ललगायतका नेताहरु सभामुख बन्ने चर्चा छ । अध्यक्ष शाहले आफू सभामुखका लागि उपयुक्त पात्र नभएको बताउँदै आएका छन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्यसमेत रहेका शाहले अहिले सभामुखको भूमिका निर्वाह गरिरहेकाले पार्टी केन्द्रले शाहलाई नै सभामुख बनाउन सक्ने कतिपयको आँकलन छ । तर, सभामुख बनेपछि पार्टीमा निष्क्रिय हुनुपर्ने भएकाले शाहले अहिलेसम्म मनस्थिति नबनाएको एमालेकै नेताहरुको भनाइ छ ।

सोही विषयलाई लिएर मंगलबार दिउँसो १ बजे एमाले संसदीय दलको बैठक बोलाइएको छ । उक्त बैठकमा पार्टी केन्द्रले कर्णालीलाई अन्याय गरेको विषयमा पनि छलफल हुने सांसद जीतबहादुर मल्लले बताए ।

उनका अनुसार सो बैठकमा सभामुखको विषयमा पनि कुरा उठ्नेछ । त्यसपछि मात्रै सभामुखको बारेमा जानकारी हुने मल्लको भनाइ छ ।

प्रदेशसभा सचिवालयले भने माघ १ गतेका लागि सभामुख र उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

एमाले स्रोतका अनुसार समानुपातिक कोटाबाट सांसद बनेकी सुर्खेतकी नन्दा गुरुङ पनि सभामुख बन्ने चर्चा छ ।

यामलाल कँडेलले मुख्यमन्त्री नपाउने भएपछि कँडेलले गुरुङलाई नै अगाडि सार्न सक्ने आँकलन गरिएको छ । २०७४ मा नेकपा माओवादी केन्द्रबाट सुर्खेतले उपसभामुख पाएको थियो । माओवादी नेतृ पुष्पा घर्ती (विष्ट) उपसभामुख बनेकी थिइन् ।

यद्यपि अहिले माओवादीले कसलाई उपसभामुख बनाउँछ भन्नेबारेमा कुनै छलफल गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर