पृथ्वीनारायण शाहको योगदान र उनीमाथि भइरहेका प्रहारहरु – Nepal Press
सन्दर्भ : पृथ्वी जयन्ती

पृथ्वीनारायण शाहको योगदान र उनीमाथि भइरहेका प्रहारहरु

पृथ्वीनारायण शाह (वि.सं. १७७९-१८३१) सामान्य राजामात्रै थिएनन्, नेपाल एकीकरणका महान नेता पनि थिए । इतिहासमा उनले राजाको मात्रै भूमिका खेलेका छैनन् कि राष्ट्रको निर्माण गरेका छन् । आजको नेपाल जुन स्थितिमा विद्यमान छ, यसको निर्माणमा निर्णयात्मक युद्ध पृथ्वीनारायण शाहले लडेका थिए । उनको मृत्युपछि पनि एकीकरणको लागि लडाइँहरु लडिए । ती एकीकरणका लागि गरिएका निरन्तरका पहलहरु थिए । विश्वमा धेरै राष्ट्रहरु छन् । ती राष्ट्रहरुको विस्तार वा निर्माण गर्ने नेताहरुलाई राष्ट्र निर्माताको रुपमा सम्झने गरिन्छ । राष्ट्र निर्माताका रुपमा फ्रान्सका नेपोलियन बोनापार्ट, इटालीका जुसेप गरिबाल्डी, अमेरिकाका जर्ज वासिङ्टन, जर्मनीका विस्मार्क जस्तै नेपालमा पृथ्वीनारायण शाह रहेका छन् ।

कुनै पनि व्यक्ति निश्चित उमेरसम्म बाँच्छ । उमेर पुगेपछि ऊ मर्छ । उसले गर्न सक्ने योगदान जति हो, त्यतिमात्रै गर्न सक्छ । आफ्नो ५२ वर्षकै उमेरमा मृत्युवरण गरेका पृथ्वीनारायण शाहले नेपालको आजसम्मको इतिहासमा सबैभन्दा माथिल्लो उचाइ कायम राखेका छन् । पृथ्वीनारायण शाहले राष्ट्रको निर्माणमात्रै गरेनन् कि साम्राज्यवादका विरुद्ध लड्न सक्ने तागत नेपालसँग पनि छ भन्ने सन्देश ब्रिटिसहरुलाई दिए । यदि उनले एकीकरण अभियान नथालेको भए नेपाललाई ब्रिटिसहरुले उपनिवेश बनाउने थिए । ६ सयभन्दा बढी राजारजौटा भएको विशाल भारतलाई ब्रिटिसहरुले उपनिवेश बनाइसकेको अवस्था थियो ।

नेपालमा पनि बाइसे र चौबीसे सानातिना राजारजौटाहरुले राज्य गरिरहेका थिए । उनीहरु भूगोलले साना र निकै कमजोर रहेका थिए । त्यो अवस्थामा अंंग्रेजहरुसित लडेर ती राज्यहरुले आफ्नो रक्षा गर्न सक्ने स्थिति थिएन । त्यसको एउटामात्रै उपाय थियो, सानातिना राज्यहरुमाथि हमला गर्ने, विशाल नेपालको निर्माण गर्ने र ब्रिटिसहरुसँग लड्न शक्तिको सञ्चय गर्ने । २० वर्षको नौजवान युवाले नेपाल एकीकरण गर्नमात्रै होइन, साम्राज्यवादविरुद्ध लड्न पनि शक्ति केन्द्रीकरण गर्न खोजे । उनी सफल पनि भए । पृथ्वीनारायण शाह इतिहासकै असाधारण क्षमता भएका, रणकौशल, कूटनीतिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रुपले सफल राजा हुन् ।

पृथ्वीनारायण शाहले राष्ट्रको निर्माणमात्रै गरेनन् कि साम्राज्यवादका विरुद्ध लड्न सक्ने तागत नेपालसँग पनि छ भन्ने सन्देश ब्रिटिसहरुलाई दिए । यदि उनले एकीकरण अभियान नथालेको भए नेपाललाई ब्रिटिसहरुले उपनिवेश बनाउने थिए ।

पृथ्वीनारायण गोरखाका राजा नरभूपाल शाहका छोरा भएकाले मोजमस्ती गर्ने, रमाउने, राष्ट्रको सम्पत्तिलाई आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने २०-२२ वर्षे उमेर थियो । तर, उनले त्यसो गरेनन् । इतिहासमा पृथ्वीनारायण शाहमात्रै यस्ता राजा हुन्, जसलाई मोजमस्ती के हो भनेर सोच्ने फुर्सदसमेत भएन । उनका बुबा नरभूपाल खासै योग्यता भएका राजाका रुपमा इतिहासमा देखिंदैनन् । तर, नरभूपालका छोरा पृथ्वीनारायण शाहले महान सपना देखे र त्यो सपनालाई साकार पार्न सधैंजसो लडाइँको मैदानमा उत्रिए ।

एउटा नौजवान केटाले उच्चस्तरको रणकौशल प्रयोग गरेर नेपालको एकीकरण गर्नु अहिले आएर पृथ्वीनारायण शाहका विरुद्ध विषवमन गरिरहेका साम्राज्यवादका चाकरहरुले बुझ्न सक्ने कुरा होइन । नेपाल समुद्रले घेरिएको देश होइन । यहाँ हातहतियार ओसार्न पानीजहाजहरु प्रयोग भएका थिएनन् । आधुनिक युद्धपोत र हतियारहरु थिएनन् । थियो त केबल नेपाल एकीकरण गर्ने महान सपना, उच्चस्तरको साहस र युद्ध मैदानमा होमिन तयार सिपाहीहरु । त्यसैले एकीकरणपछिको झण्डै दुई सय वर्षको इतिहासमा उनले जुन उचाइ चुमेका छन्, नेपाली इतिहासको आकाशमा पृथ्वीनारायण जत्तिको उचाइ भएको अर्काे कुनै व्यक्ति देखिएको छैन । बरु जातीय र क्षेत्रीय राज्य बनाएर नेपाललाई टुक्राउन खोज्ने साम्राज्यवादका चाकरहरुले उनका विरुद्धमा विषवमन गरिरहेका छन् । त्यही कारण नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर भएको छ, खतरामा परेको छ ।

नेपाल एकीकरणको लागि विभिन्न जातजातिहरुको योगदान रहेको छ । पृथ्वीनारायण शाहले चिट्ठी पठाएकै भरमा आत्मसमर्पण गर्ने राज्यहरुको पनि योगदान मान्नुपर्दछ कि उनीहरुले एकीकरण अभियानलाई आत्मसमर्पण गरेर साथ दिए । पृथ्वीनारायण शाहकै पालामा उनका सेनाले पूर्वको टिस्टा नदीमा साँध लगाएका थिए । यद्यपि पश्चिम खण्डमा भने बहादुर शाहको नेतृत्वमा एकीकरण अभियान सम्पन्न भएको थियो । नेपालको एकीकरण तथा देशको रक्षाको लागि हजारौं वीर योद्धाहरुले रगत बगाएका छन् । बहादुर शाह, भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा, शेख जरबर, अमरसिंह राना, शिवरामसिंह बस्न्यात, झागल गुरुङ, सेठे राई, मन गन्धर्व, रामकृष्ण कुँवर, अभिमानसिंह बस्न्यात, कालु पाण्डे, बिसे नगर्ची, मणिराम लामा, प्यूवर लामा, वंशु गुरुङलगायतले एकीकरण अभियानमा भाग लिएको कुरा इतिहासविद् रमेश ढुंगेलले आफ्नो आलेखमा उतारेका छन् ।

२० वर्षको नौजवान युवाले नेपाल एकीकरण गर्नमात्रै होइन, साम्राज्यवादविरुद्ध लड्न पनि शक्ति केन्द्रीकरण गर्न खोजे । उनी सफल पनि भए । पृथ्वीनारायण शाह इतिहासकै असाधारण क्षमता भएका, रणकौशल, कूटनीतिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रुपले सफल राजा हुन् ।

आज पृथ्वीनारायण शाहमाथि कैयौं प्रहार भइरहेको छ । उनी निरंकुश थिए, साम्राज्यवादी थिए, उनले नेपालमा रहेका आदिवासी जनजातिमाथि थिचोमिचो र दमन गरे, कीर्तिपुरका नेवारहरुका १७ धार्नी नाक काटिदिए भनेर हल्ला फिँजाइएको छ । यीभन्दा धेरै गम्भीर प्रहारहरु पनि भएका छन् । ऐतिहासिक र पुरात्वात्विक महत्व राख्ने उनका सालिकहरु ढलाइएका वा तोडफोड गरिएका छन् । उनलाई युद्ध अपराधीको रुपमा प्रचार गरिएको छ । उनका विरुद्धमा कैयौं लेख तथा पुस्तकहरु लेखिएका छन् । त्यसो गर्नु पृथ्वीनारायण शाहको मात्रै होइन, नेपालको इतिहासमाथिकै प्रहार र अपमान हो । एकीकरण अभियानका वेलामा पृथ्वीनारायण शाहमा केही कमिकमजोरीहरु थिए होलान् । तर, ती कमजोरीहरु उनको महान अभियानका सामु अढाई सय वर्षपछि उत्पात मच्याएर उल्लेख गर्नुपर्ने विषय होइनन् । साधारण कमजोरीका रुपमा मूल्यांकन गर्ने विषय हुन् ।

एकीकरणको वेला उनले आक्रमण वा बलमात्रै प्रयोग गरेका छैनन्, बिहेबारी, नाता सम्बन्ध, कूटनीतिक सम्बन्ध र नाकाबन्दीको पनि प्रयोग गरेका छन् । यसले बुझ्न सकिन्छ कि उनी कति धेरै चतुर र दूरदर्शी थिए भन्ने कुरा । विजयपछि उनले गोरखाबाट काठमाडौंमा राजधानी ल्याए । यसबाट सबैभन्दा बढी कसैलाई फाइदा भएको थियो भने काठमाडौंका रैथाने नेवारलगायतका जातिहरुलाई भएको थियो । उनीहरुको व्यापार, व्यवसाय, घरजग्गाको कारोबार जस्ता आर्थिक कारोबारहरु भए । काठमाडौं पहिलेको उपत्यकाको मात्रै होइन, विशाल नेपालको राजधानी बनेको छ । देशको एकीकरण इतिहासमा मात्रै होइन, अहिले पनि सही सावित भएको छ । नेपाल एकीकरणको फाइदा सबैभन्दा बढी काठमाडौंकै जनताले लिएका छन् । यहाँ नेवार बाहुल्यता भएको हुनाले उनीहरु फाइदा लिने समूहको अग्रपंक्तिमा छन् । आज नेवार समुदायका केही मान्छेहरुबाट पृथ्वीनारायण शाह र नेपालको इतिहासमाथि हमला भएको छ । यो निकै दुःखलाग्दो विषय हो ।

बाइसे–चौबीसेमध्ये धेरै राजाहरु हिन्दू हुनु र धेरैजसोको सम्पर्क भाषाको रुपमा नेपाली भएको कारण पनि नेपाल एकीकरणपछि नेपाली जनताले अप्ठ्यारो महसुस गर्नु परेन । सबै जातजातिको साझा फूलबारीको रुपमा नेपाल राष्ट्र रहेको छ । नेपाल एकीकरण भएका कारणले कुनै एक जातिले अर्काे जातिमाथि आक्रमण, हमला, थिचोमिचो भएको छैन । दलितहरुमाथि भएको थिचोमिचो एकीकरणभन्दा अगाडि नै कथित उच्च जातिहरुबाट हुँदै आएको थियो । त्यो आजसम्म पनि विभिन्न स्वरुपमा विद्यमान रहेको छ । देशका शासकहरुले जनतामाथि गरेको शोषण, दमनलाई एक जातिले अर्काे जातिमाथिको शोषण दमनको रुपमा अर्थ्याउनु सही हुन सक्दैन । आजभन्दा अढाई सय वर्षअगाडि मानव अधिकार, मौलिक हक जस्ता विषयहरु उत्पत्ति नै भएका थिएनन् ।

आज पृथ्वीनारायण शाहमाथि कैयौं प्रहार भइरहेको छ । उनी निरंकुश थिए, साम्राज्यवादी थिए, उनले नेपालमा रहेका आदिवासी जनजातिमाथि थिचोमिचो र दमन गरे, कीर्तिपुरका नेवारहरुका १७ धार्नी नाक काटिदिए भनेर हल्ला फिँजाइएको छ । यीभन्दा धेरै गम्भीर प्रहारहरु पनि भएका छन् ।

इतिहासविद् रमेश ढुंगेलका अनुसार काठमाडौं विजयपछि पृथ्वीनारायण शाहले गोरखाबाट आफ्नो झण्डा ल्याएनन्, काठमाडौंका राजाहरुले प्रयोग गरेको चन्द्रसूर्य अंकित झण्डा नै प्रयोग गरेका थिए । उनले गोरखाको राज्य भनेनन्, नेवार भाषासित सम्बन्धित नेपाल नाम राखे । काठमाडौंमा ऐतिहासिक कालदेखि हुँदै आएका सबै चालचलन, रीतिथिति, पूजाआजा, संस्कृतिहरुलाई उनले स्वीकार गरेकामात्रै होइनन् कि धारणसमेत गरेका हुन् भनेर रमेश ढुंगेललगायतका इतिहासविद्हरुले आफ्ना लेखहरु प्रकाशित गरेका छन् । यी सारा तथ्यहरुलाई स्वार्थ समूहले विकृत पारेको छ ।

पृथ्वीनारायण शाहभन्दा पहिले सदियौंदेखि रहेका काठमाडौंका संस्कृति, शिक्षा, देवस्थल, मठमन्दिर, कलाकौशल, पाटीपौवा आदिलाई शाहले कहिल्यै दमन वा संहार गरेका छैनन् । शाहकालका कुनै पनि राजाहरुबाट त्यस्तो भएको छैन । बरु संरक्षणमा पूरापूर ध्यान दिएको पाइन्छ । काठमाडौंमै शासन गर्ने शासकहरुबाट तिनीहरुको संहार हुन्थ्यो भने काठमाडौं कला, सम्पदा र सांस्कृतिक धरोहरको शहर बन्ने थिएन । उहिल्यै नष्ट हुने थियो । अफगानिस्तानमा तालिवानीहरुले विश्वकै पुरातात्विक महत्वका बुद्ध मूर्तिहरुलाई यो शताब्दीको सुरुमा बमले उडाइदिएका थिए । काठमाडौंमा पुरातात्विक महत्वका वस्तुहरुमाथि आक्रमण गर्ने कार्य कल्पना पनि गरिएको थिएन । राजनीतिक रुपमा राजाशासनको विषयमा विमति हुन सक्छ । तर, राजाहरुले सधैंभरि काठमाडौंको संस्कार र संस्कृतिलाई संरक्षण गर्ने काम गरेका छन् । विभिन्न धार्मिक संस्कार, संस्कृति र पर्वहरुमा राजाहरु आफैं सरिक हुँदै आएको पाइन्छ ।

नेपालको एकीकरण भएको साढे दुई सय वर्ष पुगिसकेको छ । संसारमा एकीकरण भएर पनि धेरै देशहरु टुक्रिएका छन्, छिन्नभिन्न भएका छन् । कैयौं देशहरु विश्वको मानचित्रबाट अलप भएका छन् । नेपालले पनि इतिहासमा केही झड्का व्यहोरेको छ । अंग्रेजसँगको युद्धबाट पराजित भएपछि सुगौली सन्धिबाट धेरै जमीन गुमायो । जंगबहादुर राणाले अंग्रेजसितबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिएपछि नेपाल बढेको भूगोलमा रहेको छ । सुगौली सन्धिबाट धेरै जमिन गुमाउन परे पनि नेपाल टुक्रिएको छैन, क्षतविक्षत भएको छैन । नेपाल कुनै पनि साम्राज्यवादी मुलुकको प्रत्यक्ष उपनिवेश बनेको छैन । यो हाम्रो इतिहासप्रति गर्व गर्नुपर्ने विषय हो । इतिहास, भूगोल, संस्कार, संस्कृति, परम्परा, कौशल, रीतिथिति, पुर्खाको बलिदान हामीले गौरव गर्नुपर्ने विषय हुन् ।

यी सबै पक्षहरुमाथि अहिले निर्मम प्रहार भइरहेको छ । विदेशी एजेन्ट, विदेशी स्वार्थमा खोलिएका एनजीओ, आईएनजीओ र देशद्रोही समूहबाट नेपालको एकीकरण, राष्ट्रिय एकता तथा सार्वभौमसत्तामाथि प्रहार भइरहेको छ । मूलतः २०६३ सालको जनआन्दोलनपछि साम्राज्यवादीहरुका नोकर, चाकरहरुबाट त्यसरी प्रहार भइरहँदा नेपालका इतिहासकार, भूगोलविद्, संस्कृतिविद् आदिले उनीहरुको प्रहार रोक्न पर्याप्त जोडबल गरेको देखिएको थिएन । पछिल्ला दिनहरुमा इतिहासकारहरु जागेका छन् । उनीहरुले पृथ्वीनारायण शाह र नेपालको एकीकरणका वास्तविकता, ऐतिहासिक आवश्यकता र यथार्थलाई नेपाली जनतासामु ल्याउने काम गरिरहेका छन् । पृथ्वी जयन्ती मनाउन विगत वर्षहरुदेखि राज्यलाई व्यापक दबाब दिने काम भइरहेको छ । यस प्रकारका कामहरुलाई हामीले प्रशंसा गर्नुपर्दछ ।

हामीले नेपालको एकीकरण हुनुलाई त्यतिवेलाको आवश्यकतासित तुलना गरेर हेर्नुपर्दछ । नेपालको एकीकरण प्रगतिशील र एक युगान्तकारी घटना हो । त्यसयता त्यसप्रकारका युगान्तकारी घटनाहरु घटेकै छैनन् ।

नेपाल एकीकरण हुनुभन्दा झण्डै ३० वर्ष अघिसम्म अहिलेको अमेरिका बेलायतको उपनिवेश रहेको थियो । पृथ्वीनारायण शाहको मृत्यु भएको ४३ वर्षपछि कार्ल मार्क्स जन्मिएका थिए भने त्यसको २ वर्षपछि एंगेल्स । उनीहरुले समाजको वैज्ञानिक ढंगले विवेचना गरेका छन् । जसलाई कम्युनिष्टहरुले ऐतिहासिक भौतिकवाद भन्ने गरेका छन् । ऐतिहासिक भौतिकवादी दृष्टिकोणले पनि नेपालको एकीकरण सही थियो र आवश्यक थियो । एंगेल्सले दास युगपछि सामन्तवादी युगको विवेचना गरेका छन् । सामन्तवादी युग भनेको मुख्य गरेर राजाहरुले शासन गर्ने युग हो । त्यतिवेला कैयौं राज्यहरुका बीचमा ठूल्ठूला युद्धहरु हुने गर्दथे । युद्धहरुबाटै राष्ट्रहरुको निर्माण हुने गर्दथ्यो । नेपाल पनि त्यसरी नै कैयौं लडाइँ र युद्धहरुबाट निर्माण भएको हो । नेपालको एकीकरण ऐतिहासिक आवश्यकता रहेको थियो भन्ने कुरा ऐतिहासिक विवेचनाबाट पनि पुष्टि हुन्छ । हामीले नेपालको एकीकरण हुनुलाई त्यतिवेलाको आवश्यकतासित तुलना गरेर हेर्नुपर्दछ । नेपालको एकीकरण प्रगतिशील र एक युगान्तकारी घटना हो । त्यसयता त्यसप्रकारका युगान्तकारी घटनाहरु घटेकै छैनन् ।

नेपालमा २०६५ सालमा गणतन्त्रको स्थापना भएको छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको देशमा गणतन्त्रको घोषणा भएको हो । बाहिरबाट ल्याएर राज्य खडा गरेर यहाँ गणतन्त्र आएको होइन । इतिहासको पाङ्ग्रा आफ्नै तरिकाले अगाडि गुड्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका कारण उनका सन्तान, दरसन्तानहरुले नेपाली जनतामाथि सयौं वर्षसमम निरंकुश शासन थोपर्नु मानव इतिहास तथा विश्वका शासनमा भइरहेका परिवर्तन र गतिसित मेल खाएन । संसारबाट निरंकुश राजाहरु समाप्त हुँदै गएका थिए । नेपालमा पनि निरंकुशता लाद्न खोज्ने अन्तिम राजा ज्ञानेन्द्रलाई नेपाली जनताले आन्दोलनमार्फत् राजगद्दीबाट मिल्काइसकेका छन् । निरंकुश र प्रजातन्त्रको अपहरण गर्ने ज्ञानेन्द्रको शासनलाई समाप्त पारेको कारणले उनका पुर्खा तथा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेको योगदानको अवमूल्यन गरिनु देशको इतिहास र राष्ट्रमाथिको गद्दारी हो ।

पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता जोगाउनु सम्पूर्ण नेपालीको मुख्य दायित्व हो, अभिभारा हो । २५० वर्ष पहिले यो देशको भूमिबाट पृथ्वीनारायण शाहले साम्राज्यवादीहरुको हस्तक्षेपविरुद्ध लडाइँ लडेका थिए भने आज हामी पनि विदेशी थिचोमिचोका विरुद्धमा लडिरहेका छौं । पृथ्वी जयन्तीको सन्दर्भमा पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको एकीकरण, उनले गरेका योगदान, त्यसको जगमा निर्माण भएको नेपाल राष्ट्र र यसको युगौंयुग पछिसम्म रहने महत्वको बारेमा देशव्यापी रुपमा छलफल, अन्तरक्रियाहरु, गोष्ठीहरु आयोजना गरिनुपर्दछ र आम जनतालाई बुझाउनुपर्दछ । पृथ्वीनारायण शाहका विरुद्धमा भइरहेका हमलाहरुलाई परास्त गरेर देशको सार्वभौमसत्ताको जगेर्ना, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकता प्रदर्शन गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *