सुदूरपश्चिममा आज सभामुखको मनोनयन, अझै छैन उम्मेदवारको टुङ्गो – Nepal Press

सुदूरपश्चिममा आज सभामुखको मनोनयन, अझै छैन उम्मेदवारको टुङ्गो

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिले सम्म माओवादीले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गर्न सकेको छैन ।

सुदूरपश्चिममा माओवादीबाट आधा दर्जन नेता सभामुखको आकाङ्क्षी थिए । अन्तिम समयमा अक्कर रावल र भीम भण्डारी मध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय हुन सकेको छैन । रावल अछामबाट र भण्डारी बझाङबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । रावल प्रदेश सभामा दोस्रो पटक निर्वाचित हुन् । यस अघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका उनी अहिले सभामुखको लबिङमा छन् ।

अघिल्लो पटक बझाङबाट एक मात्र महिला सांसद देवकी मल्ल निर्वाचित भएकी थिइन् । उनले कुनै पनि पद पाइनन् । एक मात्र महिला निर्वाचित हुँदा पनि कुनै पद नदिएर बझाङलाई विभेद गरेको आरोप लागिरहेका बेला भण्डारीलाई सभामुख दिएर त्यो आरोप मेटाउने दाउमा पनि माओवादी रहेको बताइन्छ । तर, अहिले यस विषयमा कुनै निर्णय नभएको माओवादी प्रदेश इन्चार्ज खगराज भट्टले जानकारी दिएका छन् ।

आकाङ्क्षीहरू धेरै हुनुहुन्छ उम्मेदवारबारे निर्णय भएको छैन १० बजे सम्म तपाइहरूले उम्मेदवारको नाम थाहा पाउनुहुन्छ उनले भने ।

हिजो पनि यस विषयमा पार्टी नेतृत्वसँग माओवादी केन्द्रले छलफल गरेको थियो । आज पनि बिहान छलफल गरेर टुङ्गो लगाउने माओवादी स्रोतको दाबी छ ।

प्रदेश सभा सचिवालयले प्रकाशित गरेको तालिका अनुसार आज १०ः३० देखी २ः३० सम्म सभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव दर्ता हुने छ । सोही दिन उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुने छ ।

आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर