महावली एमाले र जनादेश क्रान्ति
नुवाकोट र तनहुँमाथिका असफल आक्रमणको पीडाले रन्थनिएर पिता नरभूपाल शाहको मृत्यु भएपछि निराशहताश अवस्थामा पुगेको गोर्खालाई पृथ्वीनारायण शाहले एक विजेता शक्तिका रुपमा स्थापित गरेको इतिहाससँग मिल्दोजुल्दो छ- महावली एमालेले गएका तीन दशकमा निराशहताश अवस्थाको मातृभूमि नेपाल जुरुक्कै उठाएको जिउँदो इतिहास । नेकपा एमालेको उदयअघिको नेपाल दरवार, दिल्ली र कांग्रेसबीचको फुटबल थियो । जनताको कमजोर एकता र कमजोर चेतनाबाट अनुचित लाभ उठाउँदै ती शक्ति केन्द्रहरुले देशलाई आफ्नो मुट्ठीमा लिएका थिए । लोकतन्त्रलाई जनताको जीविकासँग जोडिनुहुन्न र जनताको चिसो चुलोसम्म पुग्नुहुन्न भन्नेमा उनीहबीच अघोषित एकता र सहमति थियो । राजनीति उनीहरुको आपसी द्वन्द्व, मेलमिलाप, शान र अभिमान प्रदर्शन गर्ने मञ्चमात्र थियो । जनताको दलन र देशको दोहन उनीहरुको मक्सद थियो । यही अभीष्टलाई उनीहरु कहिले भद्दा ढंगले त कहिले कलापूर्ण ढंगले पूरा गर्थे ।
राजनीतिमा चुनौती पाउनु सौभाग्य हो भने त्यसको सामना गर्न नसक्नु पतनशीलता हो । महावली एमालेले पनि एकपछि अनेक चुनौतीको सामना गर्दै आयो । उत्कर्षकालको पञ्चायतको ओठतालु सुक्ने गरी जनताको शक्तिको पहिलो बिगुल फुक्ने शक्ति महावली एमाले नै थियो । उत्कर्षकालको राजतन्त्रको निदहरामको विषय महावली एमाले नै बन्यो । २०४८ सालतिर विजय उन्मादले मात्तिएको कांग्रेस र २०६४ सालतिर विजय उन्मादले भूईं टेक्न छोडेको माओवादीलाई चेत खुलाउने गरी कुस्ती खेल्ने महावली एमाले नै थियो । महावली एमालेले नै जननेता मदन भण्डारी र मनमोहन अधिकारीको अवशानले गर्दा केही समय नेतृत्व अभावको महासंकट भएर गुज्रनुपर्यो । दुई-दुई पटक पार्टीको विभाजन र लगत्तै भएका चुनावको सामना गरी पुनर्जीवन प्राप्तिको महायुद्ध पनि महावली एमालेले नै जित्न सक्यो । पार्टीका महासचिव, अध्यक्ष भैसकेका, पार्टीको तर्फबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीको सम्मानित ओहोदामा पुगेका हस्तीहरुबाटको लगातार दशकौं लामो शक्ति ऐँठन र गद्दारीको दोहोरो मर्म र दर्दहरु झेल्न पनि महावली एमालेले मात्र पर्यो ।
यो फेहरिस्त एमालेको विज्ञापन होइन । यो सबै एमालेको भाग्य कमजोर वा खराब भएकाले भएको पनि होइन । नेपाल राष्ट्र बलियो बनाउन र नेपाली जनतालाई सर्वाेच्च र सार्वभौम बनाउन एक नेतृत्वदायी शक्तिले यत्तिको कष्ट उठाउनु इतिहासको माग थियो । नेपाली जनताको तेजस्वी शस्त्र बल र ओजस्वी शास्त्र बल आजको विश्वलाई चिनाउनु थियो । जनताका जोरिपारीहरु निश्चय पनि कमजोर थिएनन् । जननेता मदन भण्डारी, जनप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी र राजनेता केपी शर्मा ओलीप्रेरित एमालेले युगदेखि युगसम्म निरन्तर कष्टहरु उठाएर त्यो युगीन दायित्व पूरा गर्यो, जनताको काखमा रहेर, जनताको साथ लिएर ।
महावली एमालेले नै जननेता मदन भण्डारी र मनमोहन अधिकारीको अवशानले गर्दा केही समय नेतृत्व अभावको महासंकट भएर गुज्रनुपर्यो । दुई-दुई पटक पार्टीको विभाजन र लगत्तै भएका चुनावको सामना गरी पुनर्जीवन प्राप्तिको महायुद्ध पनि महावली एमालेले नै जित्न सक्यो ।
नेपाल गौरवपूर्ण इतिहास भएको मुहानदेखिको मजबुत देश हो । नेपाल त्यस्तो देश हो, जसले विसं १८२४ मा आजका बेलायत, अमेरिका र भारत एउटै देश छँदा कप्तान किनलकको नेतृत्वमा आएको उनीहरुको एकीकृत बललाई धोबी चुटाइका साथ चुटेर सिन्धुलीगढी युद्ध जितेको थियो । यस हिसाबले महाशक्ति अमेरिका, बेलायत र भारतलाई प्रकारान्तरले हराएको कीर्तिमान नेपालको नाममा छ । नेपालको इतिहासमा सिन्धुलीगढी युद्ध र गत मंसिर ४ गतेको चुनाव मातृभूमि नेपाल सिध्याउने साजिसहरु असफल भएका महत्वपूर्ण ऐतिहासिक घटनाहरु हुन् ।
यो चुनाव सरदर चुनाव थिएन । यो त नेपाल र भारतबीचको छद्म युद्ध थियो । नेपाली जनताको स्वाभीमानको मेरुदण्ड भाँच्नु यस छद्म युद्धमा भारतीय रुचि थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पालित, पोषित, प्रेरित र परिचालित कांग्रेस नेतृत्वको विघटित गठबन्धनको अर्जुनदृष्टि नेपालको भूमिबाट एमालेलाई उखेल्नु थियो । ‘चुनावपछि एमालेलाई टर्च बालेर खोज्ने’ एमालेविरुद्ध खडा गरिएको शिखण्डीको उद्घोष थियो । एमालेविरुद्धका बञ्चरीबिँडहरु एमालेले प्रत्यक्षतर्फ एक सीट पनि नजितोस् र समानुपातिकतर्फ थ्रेसहोल्ड पनि नकटाओस् ठान्थे । लिम्पियाधुराको ह्रस्व ‘लि’ र ओलीको दीर्घ ‘ली’ उच्चारण गर्नेको हालत एमालेको जस्तो हुन्छ भन्ने देखाएर भारत युगयुगसम्म नेपाली जनतालाई तर्साउन हात धोएर लागेको थियो । किनकि लोकतन्त्रको आवरणमा लैनचौरतन्त्र सुदृढ पार्ने तत्कालीन सत्तारुढ गठबन्धनको इरादा थियो ।
जनताको धाप, छाप, विश्वास र आशीर्वादले एमाले जोगियो । जनताको अनुकम्पाले गर्दा गद्दारहरुको गद्दारी र गठबन्धनको चक्रब्यूह भेदन गर्न एमाले सफल भयो । बरु कृष्ण र अर्जुन चक्रब्यूहमा परेको अभिमन्यूको रक्षा गर्न असफल रहे । तर, नेपालमा जागेका जनताले विश्व ओइरिँदा पनि एमालेलाई बचाएरै छाडे । एमाले हार्दा अन्य दल वा गठबन्धनका पनि सुख र खुशीहरु खोसिँदा रहेछन् भन्ने नजीर स्थापित भयो । महावली एमाले २०४६ सालयताको नेपालको मूल चिनारी बनेको छ । एमाले छ, त्यसैले त कांग्रेसको बेचैनी बढेको छ । एमाले छ, त्यसैले त नेपालसँग स्वाभीमानको मेरुदण्ड छ । एमाले छ, त्यसैले त मातृभूमि नेपाल सुरक्षित छ । एमाले छ, त्यसैले त जनतामा आशा र उत्साह छ । एमालेलाई घेराबन्दी पार्नु नेपाललाई घेराबन्दीमा पार्नु हो । एमालेको गति रोक्नु देशको गति रोक्नु हो । एमालेसँग अकारण दूरी बढाउनु गृहनिमार्णबाट भाग्नु हो । मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुने एमालेको निष्ठा र तपोबलको प्रतापले ऊसँग सहकार्य गर्न पाउँदा अन्य राजनीतिक शक्तिहरु हाँन्ने राँगा जस्ता हुन्छन् भने टाढिनेबित्तिकै हरुवा गोरु जस्ता बिजोगका प्रतिमूर्ति बन्ने गर्दछन् । एमालेको साथ लाग्ने र काँध चढ्ने राष्ट्रिय हिरो हुन्छ । एमालेसँग निहुँ खोज्ने भासिँदै जान्छ र जिरो हुन्छ ।
जननेता मदन भण्डारी, जनप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी र राजनेता केपी शर्मा ओलीप्रेरित एमालेले युगदेखि युगसम्म निरन्तर कष्टहरु उठाएर त्यो युगीन दायित्व पूरा गर्यो, जनताको काखमा रहेर, जनताको साथ लिएर ।
एमालेको उदय नभएकाले नै विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको संघर्षमय जीवन निरंकुशतासामु रक्षात्मक र पराजित अवस्थामै बित्यो । जब एमालेको शक्ति बढ्यो २०४६ सालमा पञ्चायती तख्ता पल्टियो । एमालेको काँध चढ्न पाएपछि कांग्रेसका त्रयनेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको छविले राजा वीरेन्द्रलाई छायाँमा पारेको थियो । मनमोहन अधिकारीलाई कांग्रेसका नेतात्रय सिंह, भट्टराई र कोइरालाले समेत ईर्ष्या गर्ने गरी देशको लोकप्रिय प्रधानमन्त्री बन्ने अवसर सृजना गर्ने एमाले शक्ति थियो । २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने कांग्रेसी प्रपञ्चलाई विफल तुल्याइदिने एमाले नै थियो ।
२०६५ सालमा पछारिएको कांग्रेसभित्रको कोइराला खेमाको खुशीयाली २०७० सालमा फर्काउने गरी सुशील कोइराला २२ महिना प्रधानमन्त्री बनाउने एमाले नै थियो । एमालेमाथि कृतघ्न हुनेको हरिबिजोग हुने गरेको छ । कृष्णप्रसाद भट्टराईले २०४८ सालको चुनावमा व्यहोरेको चुनावी हार, २०५१ सालमा गिरिजाप्रसाद कोइराला सरकारको पतन, सेनापतिकाण्डमा गएर प्रचण्ड सरकारले पाएको मारमुंग्री र २०७२ सालयता कोइराला खेमाले गुमाएको पार्टी सत्ता र राज्य सत्ताबाटको पकड एमालेलाई प्रत्यक्ष वा परोक्ष रुपमा गरेका अटेरी र अपमानका परिणति थिए । एमालेबाट पलायन भएका र गद्दारी गरेकाले पनि बाटो पाएका छैनन् । सीपी र वामदेवपछि माधव र झलनाथको हस्तिनापुरीको राज जस्तो विगतदेखि र चपरीमुनिको बास जस्तो वर्तमानसम्म जिउँदोजाग्दा दृष्टान्तहरु हुन् ।
सोभियत संघको विघटनपछि समाजवादी क्रान्तिको ढोका बन्द छ । सबै महादेशका कम्युनिष्टहरुको लय प्रतिस्पर्धाको राजनीतिमा पनि सन्तोषजनक छैन । जनताको साथ लिएर, जनताको काखमा रहेर जनताको बलमा नेपालमा बहुदलीय जनवादी क्रान्ति अर्थात् जनादेश क्रान्ति भने निरन्तर उकालोमा छ । अनेकौं फरेब, तिगडम, प्रताडना, आश, त्रास, भ्रम, जाल, निन्दा, प्रशंसा, दण्ड र फण्डका तगाराहरुलाई पन्छाउँदै बहुदलीय जनवादीहरुले लोकतन्त्र, देशभक्ति, सामाजिक न्याय, शान्ति, विकास र समृद्धिको झण्डा शानका साथ फहराइरहेका छन् । एमालेलाई भीरको डिलमा पुगाउने षड्यन्त्र गर्ने जति उल्टै हरानमा छन्- कसरी एमाले जनताको दिलमा जरा गाडेर बस्न सक्यो भनेर ।
नेकपा एमाले विचारको राजनीति गर्छ । नीति, नेतृत्व, नियत, नैतिकता, नियम र निर्णयमा एकरुपता भएको मुलुकको एकमात्र पार्टी एमाले हो । एमाले रुपी कस्तुरीमा भएको विशेष चिज भनेकै जनताको बहुदलीय जनवाद हो । मार्क्सवादको नवीनत्तम व्याख्या नै जनताको बहुदलीय जनवाद हो । यसले कम्युष्टिहरुलाई जडभगत र संशोधनवादी, विसर्जनवादी र अधिनायकवादी, असहिष्णु र आत्मकेन्द्रित हुनबाट जोगाउँछ । एमाले यस्तो पार्टी हो, जो जननेता मदन भण्डारीले बसालेको बलियो जगमा उभिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पालित, पोषित, प्रेरित र परिचालित कांग्रेस नेतृत्वको विघटित गठबन्धनको अर्जुनदृष्टि नेपालको भूमिबाट एमालेलाई उखेल्नु थियो । ‘चुनावपछि एमालेलाई टर्च बालेर खोज्ने’ एमालेविरुद्ध खडा गरिएको शिखण्डीको उद्घोष थियो । एमालेविरुद्धका बञ्चरीबिँडहरु एमालेले प्रत्यक्षतर्फ एक सीट पनि नजितोस् र समानुपातिकतर्फ थ्रेसहोल्ड पनि नकटाओस् ठान्थे ।
पार्टी, नेता र कार्यकर्तालाई सैद्धान्तिक रुपमा जनताको परीक्षणको विषय बनाउने संसारको एकमात्र कम्युनिष्ट पार्टी एमाले हो । असल र योग्य नेताको धनकुवेर पार्टी पनि एमाले नै हो । सत्ता कब्जाको प्रयास असफल भएपछि मात्र लोकतन्त्रको बाँसुरी फुकेको होइन, एमालेलाई लोकतन्त्रप्रति अटल निष्ठा छ । देशभक्ति र राष्ट्रियतालाई लोकतन्त्रविरुद्धको तरबार बनाउने मण्डले राष्ट्रवाद र लोकतन्त्रलाई लैनचौरतन्त्रको गुलामी, मलामी र सलामीमा सीमित बनाउने गद्दार लोकतन्त्रवादी एमाले घृणा गर्छ । देशभक्त भएर पनि लोकतन्त्रवादी हुन सकिन्छ र लोकतन्त्रवादी भएर देशभक्त हुन सकिन्छ । यो एमालेले आफ्ना प्रतिद्वन्द्वीहरुलाई सिकाएको व्यवहारसिद्ध पाठ हो ।
सहकार्य नगरेर असहिष्णु हुने र स्वाभीमान गुमाएर विरोधी कित्ताका राजनीतिक दल र तिनका नेताको पाउ मल्ने दोहोरो गल्ती गर्ने भड्काव र बहकावसँग एमालेले टक्कर लिँदै आएको छ । एमाले सामाजिक न्याय र अग्रगामी रुपान्तरणको अखण्ड ज्योति हो । गति र ग्रहणशीलता, जुझारु चरित्र र सहिष्णुता, जनताको सुखदुःख र शासकीय सुझबुझ एमालेले कायम राखेका बहुआयामिक सन्तुलनहरु हुन् । कसैलाई पनि इमानदारीपूर्वक काँध थाप्नु, कृतघ्न हुने र गद्दारी गर्नेका करङ धुल्याउन सक्नु महावली एमालेको प्रमुख चिनारी हो । एमालेको यही तप, सत, साधना र निष्ठा नै जनादेश क्रान्तिको सुगन्ध र सार हो ।
हात्तीको शिकार गर्ने सिंहको शरीरभरि निलडाम हुन्छ । शिकार सिंहले गर्छ । तर, मासु कब्जा अल्छी कबिला वा हुँडारको झुण्डले गर्छ । जंगली राजमा त एक सिंह पनि यसरी अन्यायमा परेको हुन्छ । जनताको राजमा एमाले सधैं अन्यायमा पर्नेछैन । एक होइन अनेक, एक पटक होइन अनेक पटक चुनौतीहरुको मुकाबिला गर्नुपर्दा एमाले पनि अस्तव्यस्त भयो होला र अनेकौं कमजोरी रहे होलान् । तर पनि एमाले एक मेहनती माझी हो भने उसका प्रतिद्वन्द्वीहरु बाढीले बगाएर ल्याएका माछा छोप्ने भाग्यमानी बटुवामात्र हुन् । अवसरले सधैं सबैलाई साथ नदिन सक्छ र निष्ठा सधैंभर एमालेलाई भारी नपर्न सक्छ ।