प्रदेश १ सरकारमा माओवादी सहभागी हुने, प्रचण्डका ज्वाइँ आचार्य र दुर्गा चापागाईं मन्त्री बन्दै – Nepal Press

प्रदेश १ सरकारमा माओवादी सहभागी हुने, प्रचण्डका ज्वाइँ आचार्य र दुर्गा चापागाईं मन्त्री बन्दै

विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा शुक्रबार सहभागी हुने भएको छ । बिहीबार विराटनगरमा बसेको इन्चार्ज, सह-इन्चार्जसहित प्रदेश पदाधिकारीको बैठकले माओवादी केन्द्र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई सर्मथन गरेपछि आलोपालो मुख्यमन्त्रीको मागसहित माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन । सत्ता साझेदार दलका शीर्ष नेताहरुका बीचमा पद बाँडफाँट हुँदा प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर, माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङवोले भने आलोपालो नेतृत्वको सहमति नभएसम्म सरकारमा नजाने बताएपछि प्रदेश १ मा एमाले राप्रपा जसपाका सम्मिलित ३ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ ।

माओवादीले भोलि सरकारमा सहभगी हुँदा कम्तीमा तीनवटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ । मुख्यमन्त्री हिक्मत कार्कीेले भने तत्काल दुईवटा मन्त्रालय लिन प्रस्ताव गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार माओवादीलाई मुख्यमन्त्री कार्कीले पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरेका छन् । तर माओवादीले प्रदेशसभा सदस्य व्यवस्थापनका लागि भए पनि कम्तीमा ३ वटा मन्त्रालय माग गरेको छ ।

दिनभरि बसेको वैठकले सरकारमा जाने प्रदेशसभा सदस्यहको औपचारीक निर्णय गर्न सकेको छैन । औपचारीक निर्णय गर्न सकस भएपछि अन्तिम निर्णय लिने अधिकार प्रदेश इन्चार्ज राम कार्की पार्थ, प्रदेश अध्यक्ष हर्क नेम्वांङ मिक्सो र संसदीय दलका नेता इन्द्रबहादुर आङवाेलाई दिएको छ ।

बैठकले ७ जनाको नाम सिफारिस गरेको छ । बैठकमा सहभागी स्थायी कमिटी सदस्य तथा लेखा आयोग अध्यक्ष पेशल खतिवडाले जानकारी दिए । सिफारिस भएकाहरुमा पहिलो नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईं, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा रहेका छन् ।

सिफारिस भएकामध्ये तेह्रथुमका दुर्गा र मोरङका जीवन आचार्य सरकारमा जाने श्रोतले बताएको छ । लिम्बूवानका दुर्गा र कोचिलाका जीवनको नाम फाइनल भएको भए पनि तत्कालीन किराँत प्रदेशबाट सहभागीहरुको भने नाम फाइनल हुन सकेको छैन ।

आचार्यलाई जुनियर भएको भन्दै मन्त्री बनाउन नहुने बैठकका अधिकांश सहभागीहरुले बताएका थिए । तर, केन्द्रले नै आचार्यलाई मन्त्री बनाउन भनेपछि उनी पनि मन्त्री हुने माओवादीले जनाएको छ । आचार्य प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर