पूर्वराजदूत आचार्यको डायरी: निमन्त्रणापत्र नबोक्दा प्रवेश निषेध, उत्तर कोरियामा नेपाली भाषामा स्वागत – Nepal Press
पुस्तक चर्चा

पूर्वराजदूत आचार्यको डायरी: निमन्त्रणापत्र नबोक्दा प्रवेश निषेध, उत्तर कोरियामा नेपाली भाषामा स्वागत

काठमाडौं । २०५५ कात्र्तिक १ देखि २०५९ माघ १५ सम्म चीनका लागि नेपाली राजदूत भएका राजेश्वर आचार्यको पहिलो र अहिलेसम्मको अन्तिम कूटनीतिक अनुभव त्यही हो । आफ्नो एक्लो कूटनीतिक अनुभवको धेरै राम्रोसँग मिहिन नोटस्हरु केलाएर, दैनिकजसो भएका कामकुराहरुको एक-एक जानकारी राखेर आचार्यले व्यक्तिगत दस्तावेज बलियो बनाएका छन् । करिब पाँच वर्षको कूटनीतिक अनुभवको तथ्य, तथ्यांक, तर्कसहितको नयाँ पुस्तक आचार्यले यही हप्ता सार्वजनिक गरेका छन् ।

कुनै कर्पोरेट प्रकाशन गृहले नछापेर श्रीमती कमला आचार्यले प्रकाशन गरेको पुस्तक भएकोले पुस्तकको चर्चा बजारमा त्यत्ति छैन । तर, पुस्तकमा पूर्वकूटनीतिज्ञ आचार्यले धेरै रोचक कुराहरु ल्याएका छन् । चीनका लागि राजदूत भएर कुनै पनि नेपाली कूटनीतिज्ञले ल्याएको चीन केन्द्रित कूटनीतिक अनुभवको यो नै पहिलो पुस्तक हो । आचार्यले राजा वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्म र गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द्रलाई प्रधानमन्त्रीको रुपमा पाउँदा चीनको लागि राजदूतको अनुभव लिएका थिए ।

आचार्यले चीनमा राजदूत हुँदाका केही रोचक अनुभवहरु पुस्तकमा समेटेका छन् । नेपाल चीनलाई जनवादी गणतन्त्र चीनको रुपमा मान्यता दिने २२औं अग्रणी देश भएको भन्दै आचार्यले नेपाल-चीन जोड्ने धेरै कुरा भएको पुस्तकमा लेखेका छन् ।

निमन्त्रणापत्र नबोक्दा राजदूतलाई समेत प्रवेश निषेध

सन् १९९९ अक्टोबरको एक कृषि तथा सहकारी सम्मेलनको लागि मन्त्री चक्रप्रसाद बास्तोला चीन पुगेका थिए । ग्रेट हल अफ दि पिपुलको अर्को भागमा भएको कार्यक्रममा बास्कोटासँगै आचार्यलाई पनि निम्तो गरिएको थियो । तर, उनले निमन्त्रणा कार्ड बोक्न बिर्सिए । उनलाई गार्डले राजदूत भन्ने जान्दाजान्दै पनि प्रवेश गर्न दिएनन् । यही प्रसंगमा आचार्यले लेखेका छन्, ‘मेरो सवारी चालक चिनियाँ नै थिए । उनले त्यहाँ खटिएका गार्डसँग उहाँ राजदूत हो कार्यक्रममा सहभागी हुन आउनुभएको हो भनेर जानकारी गराए । तर, गार्डले मलाई भित्र जान दिन असमर्थ रहेको बताए । उनीहरुको त्यो सिस्टम देखेर मलाई एक प्रकारको आनन्द महसुस भयो ।’

नेपाल र चीनबाट स्वीकृत पारवहन सम्झौता मस्यौदा नेपाल पुगेर अलपत्र

आचार्यले नेपालले प्रस्ताव गरेर चिनियाँ पक्षबाट संशोधन गरेर सन् २००१ अप्रिल २९ मा पारवहन सम्झौता काठमाडौं पुगेपछि अलपत्र भएको दिक्दारी लेखेका छन् । उनी लेख्छन्, ‘मस्यौदा हामीले तुरुन्तै काठमाडाैं पठायौं । त्यसका लागि माथिदेखि तलसम्मका सरोकारवाला निकायसँग पटकपटक ताकेता गर्दा पनि नेपाली पक्षकै कारणले किन को कुन्नि उक्त पारवहन सम्झौता हुन सकेन । त्यसले गर्दा नेपालले चीनसँग पारवहन सम्झौता गर्न थप डेढ दशकभन्दा बढी समय कुर्नुपर्‍यो ।’

राजदूत आचार्यको पालामा मुल्तबीमा रहेको नेपाल चीन पारवहन सम्झौता केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा भएको थियो ।

‘त्यहाँ राति व्यक्ति सुत्छ । तर, सरकार सुत्दैन । चीनको सरकारी संयन्त्र २४ सै घण्टा जागा, सचेत र सतर्क रहन्छ । त्यहाँका अभिलेख राख्ने परिपाटी पनि चुस्त हुँदोरहेछ । विदेशी राजदूत वा नियोगहरुले फोनमा भनेका वा पार्टीहरुमा भेट्दा भनेका कुराहरुको पनि अभिलेख राखिँदो रहेछ ।’

उत्तर कोरियामा नेपाली भाषामा स्वागत

सन २००० नोभेम्बर २१ देखि २५ सम्म ओहोदाको प्रमाणपत्र बुझाउन आचार्य उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका थिए । उत्तर कोरियाको विमानस्थलमा ओर्लिनासाथ उनलाई नेपाली भाषामा स्वागत गरियो । त्यही प्रसंग ल्याउँदै उनी लेख्छन्, ‘एक जना युवा महामहिम राजदूतज्यूलाई प्योङयाङमा स्वागत छ भन्दै आइपुगे । मैले उनलाई नेपाली हो भनेर सोधें । उनले आफू कोरियाली भएको र काठमाडौंमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बसेर नेपाली विभागमा अध्ययन गरेकाले नेपाली बोल्न र लेख्न सिकेको जवाफ दिए ।’ ती व्यक्तिको नाम बेक भएको र उनी नेपालस्थित उत्तर कोरियाली दूतावासमा दुई वर्ष बसेकोसमेत आचार्यले लेखेका छन् ।

चिनियाँ कूटनीति : सजिलो काम नेपालको दूतावासबाट, असजिलो बेइजिङबाट

सन् २००१ को फरवरी अन्तिम साता चीन भ्रमणमा रहेका राजा वीरेन्द्रको यात्राको क्रममा चिनियाँको कूटनीतिबारेमा आचार्यले रोचक व्याख्या गरेका छन् । फरवरी २ मा हुने बोआयो फोरम फर एसियामा राजालाई सम्बोधन गराउन काठमाडौंबाट गरेको प्रयत्न असहज भएपछि आफूसँग चिनियाँ उपविदेशमन्त्रीले विदेश मन्त्रालयमा बोलाएर कुरा गरेको प्रसंग ल्याउँदै आचार्य लेख्छन्, ‘चिनियाँहरु सजिलो कुरा नेपालस्थित आफ्नै दूतावासमार्फत गर्थे, अप्ठेरो कुरा हामीलाई लगाउँथे ।’

चीनमा जनता सुत्छन्, राज्य सुत्दैन

आचार्यले चीनमा राज्य कसरी २४ घण्टा चुस्त दुरुस्त रहन्छ भन्नेबारेमा रोचक कुरा लेखेका छन् । उनी लेख्छन्, ‘चीनमा रहँदा मैले अनुभव गरेको अर्को कुरा के भने त्यहाँ राति व्यक्ति सुत्छ । तर, सरकार सुत्दैन । चीनको सरकारी संयन्त्र २४ सै घण्टा जागा, सचेत र सतर्क रहन्छ । त्यहाँका अभिलेख राख्ने परिपाटी पनि चुस्त हुँदोरहेछ । विदेशी राजदूत वा नियोगहरुले फोनमा भनेका वा पार्टीहरुमा भेट्दा भनेका कुराहरुको पनि अभिलेख राखिँदो रहेछ ।’

चीन-भारत सीमा बैठक लिपुलेक-कालापानी क्षेत्रमा गर्न भारतीय प्रस्ताव

लिपुलेक कालापानी क्षेत्र नेपाल र भारतको मात्रै नभएर भारत र चीनको पनि संवादमा आएको विषय भएको आचार्यले लेखेका छन् । सन् २००० जनवरी १ मा चिनियाँ विदेश मन्त्रालयको एसियन डिपार्टमेन्टका उपमहानिर्देशक सुन काओ सिङले एक कार्यक्रममा भेट हुँदा आचार्यलाई यस्तो भनेका थिए । त्यो प्रसंग ल्याँदै आचार्यले लेखेका छन्, ‘सीमा समस्याका बारेमा छलफल गर्न भारत जाँदा उनीहरुले लिपुलेक कालापानी क्षेत्रमा गएर छलफल गर्ने प्रस्ताव गरेको कुरा जानकारी गराउनुभयो । तर, त्यो प्रस्ताव चीनले अस्वीकार गरेको उहाँको भनाइ थियो ।’

सिक्किमको बारेमा नेपालको धारणा माग

चीनका तत्कालीन उपविदेशमन्त्री वाङ यी जो केही समय अगाडिसम्म चीनका विदेशमन्त्री थिए, उनैले आचार्यलाई सिक्किमको बारेमा नेपालको धारणा माग गरेको उनले लेखेका छन् । सिक्किमलाई नेपालले भारतको अभिन्न अंग मान्ने जवाफ आचार्यले वाङ यीलाई दिएका थिए । प्रश्नको पृष्ठभूमि खोतल्दै आचार्य लेख्छन्, ‘एक पटक नेपाली दूतावासमा आयोजित रात्रिभोजमा वाङ यीले सिक्किमप्रति नेपालको धारणा के हो भनेर सोधे ।’ सन् २००३ मा आएरमात्रै चीनले सिक्किमलाई भारतको अंग मानेको हो । त्यो अगाडिसम्म चीनले सिक्किमलाई स्वन्तत्र देशकै मान्यता दिएको थियो ।

राजकीय भ्रमणमा प्रयोग हुने सांस्कृतिक कूटनीति

राजदूत आचार्यले चिनियाँहरुले स-सानो कुरामा समेत ख्याल गरेर काम गर्ने उदाहरण दिएका छन् । जस्तै नेपालका राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्मानमा दिइएको रात्रिभोजमा ऐश्वर्यले रचना गरेका गीत र राजा ज्ञानेन्द्रको राजकीय भ्रमणमा उनैले रचेको गीत ‘हे युवा हे युवा’ पृष्ठभूमिमा बजाइएको आचार्यले लेखेका छन् । यस्तै परराष्ट्रमन्त्री चक्रपप्रसाद बास्तोलाको भ्रमण हुँदा सन् २००० अगस्ट २१ मा हान्जाओको रात्रिभोजमा बीपी र माओका तस्बिरहरु हलमा राखिएको प्रसंग ल्याएका छन् । त्यही हलमा बीपी र माओले भेटेको ऐतिहासिकता जोडेर त्यसो गरिएको आचार्यले लेखेका छन् ।

आचार्यले आफ्नो राजदूतको कार्यकालमा नेपाली पक्षबाट हुने उच्चस्तरीय चीन भ्रमणमा बेइजिङस्थित भारतीय दूतावासबाट चासो आउने लेखेका छन् । सन् १९९९ डिसेम्बर पहिलो साता प्रधानसेनापति प्रज्ज्वलशमशेर राणा र सन् १९९९ सेप्टेम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणमा त्यस्तो भएको उनले लेखेका छन् ।

मेलम्चीमा लगानी डुबाएका चिनियाँ व्यापारीले हात मिलाएनन्

सन् १९९९ मार्च १६ मा बंगलादेशको राष्ट्रिय दिवसको अवसरमा रिसेप्सन पार्टी थियो । पार्टीमा सहभागी एक चिनियाँ व्यापारीले देखिनेगरी आचार्यसँग हात मिलाउन मानेनन् । उनी बिच्किएर अलग भए । आचार्यलाई छल्दै परपर पुगे । ती व्यापारीसँगै पुगेर यस्तो किन भनेर आचार्यले प्रश्न गरेको प्रसंग ल्याउँदै उनी लेख्छन्, ‘नेपाल मित्र राष्ट्र भएकाले लगानी गर्न गए तापनि निर्णय प्रक्रिया झन्झटिलो र ढिलो हुने हुँदा आफूले नोक्सानी व्यहोरेको बताउँदै भेट्ने इच्छा नगरेको प्रस्ट पारे ।’

चीनमा हुने नेपाली उच्चस्तरीय भ्रमणमा भारतीय दूतावासको चासो

आचार्यले आफ्नो राजदूतको कार्यकालमा नेपाली पक्षबाट हुने उच्चस्तरीय चीन भ्रमणमा बेइजिङस्थित भारतीय दूतावासबाट चासो आउने लेखेका छन् । सन् १९९९ डिसेम्बर पहिलो साता प्रधानसेनापति प्रज्ज्वलशमशेर राणा र सन् १९९९ सेप्टेम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणमा त्यस्तो भएको उनले लेखेका छन् ।

आचार्यले लेखेका छन्, ‘हाम्रा प्रधानसेनापति र पूर्वप्रधानमन्त्रीको चीन भ्रमणका बारेमा चीनस्थित भारतीय दूतावासले चासो देखाउन थाल्यो । भारतीय दूतावासका सैनिक सहचारी तथा कूटनीतिज्ञहरुले हाम्रो दूतावासका समकक्षीसँग वेग्लावेग्लै भेटेर तिब्बतसँग नेपालले थप नाका किन खोल्नु प¥यो ? सेना प्रमुखको भ्रमणमा के के कुरा भए ? पूर्वप्रधानमन्त्रीको भ्रमणमा के कुरा भए ? भनेर अस्वाभाविक रुपमा सोधखोज गर्न थाले ।’

कर्मचारी भर्तीको शैलीले चुहिने नेपाली कूटनीतिक गोपनियता

आचार्यले आफू राजदूत हुँदा सामान्य कर्मचारी भर्ना गर्न पनि नेपालका मेनपावरबाट अरबी देशले मान्छे लगे जस्तै गर्नुपरेको दुःखेसो गरेका छन् । चीनको ‘डिप्लोम्याटिक सर्भिस व्युरो’बाट कार्यालय सहयोगीदेखि सवारी चालकसम्म नियुक्ति गर्नुपर्ने तनाव भएको र त्यसकै कारणले सूचना चुहिने डर भएको लेखेका छन् । उनी लेख्छन्, ‘कूटनीतिमा गोपनीयताको अत्यन्त महत्व हुन्छ । राजदूत जतिवेला जहाँ पनि जानुपर्ने हुन्छ । गोप्य रुपले पनि भेटघाट गर्नुपर्ने हुन्छ । तर, त्यहाँ हामीले नेपालीमै लेख्दा बोल्दा पनि नेपाली भाषा जानेका व्यक्ति हुन सक्छन् ।’

एक पटक नेपाली दूतावासका चिनियाँ सवारी चालकले कार्यालय समयमै बियर खाएर बोतल फाल्दा क्यानडाको दूतावासका मिनिस्टरलाई लागेको तथा चिनियाँ दोभासे सेक्रेटरीले अनावश्यक फाइदा लिन खोजेको भन्दै त्यस्ता पदमा नेपाली नै राख्न आचार्यले सुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर