भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव – Nepal Press

भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

काठमाडौं । सन् २०२२ को पिएमजिसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाइएको छ। भायानेट डिआरएसको आइएसपी पार्टनर, प्रायोजक र समर्थक हो।

कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डिआरएसका टोली सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरेका हुन्।

कार्यक्रममा डिआरएसले पिएमजिसी ग्लोबल च्याम्पियनसिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनीहरूको ग्लोबल पिएमजिसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाका बारेमा बताए।

उनीहरूले नेपालको इन्टनेट कनेक्टिभिटीले नेपाली इस्पोर्ट उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न अनुमति दिने अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि लामो यात्रा गरेको उल्लेख गरे।

डिआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण नै भायानेटको इन्टरनेट उनीहरूको पहिलो रोजाइमा परेको पनि बताए।

भायानेटका सिइओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताइन्।

उक्त कार्यक्रममा बोहराले कम्पनीले नेपालको इस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

नेपालको लोकप्रिय पबजी टोलीहरूमध्ये एक डिआरएस गेमिङले जनवरी ८ मा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरूमध्ये उपविजेता बनेर इतिहास रचेको थियो।

टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका थिए। डिआरएसको ऐतिहासिक जितले नेपाल र नेपालीका लागि गेमिङको सम्भावना देखाउने बताइएको छ।

विकासशील देशको सीमितताहरूको बावजुद इन्टरनेट प्रविधिमा भइरहेको तिब्र गतिको सुधारका कारण आफ्नो सपना पछ्याउन इच्छुक गेमरहरूलाई प्रशस्त सम्भावना रहेको भायानेटको भनाइ छ।

नेपालको इन्टरनेट र आइपिटिभी सेवा प्रदायकमध्ये एक भायानेट सन् १९९९ मा स्थापना भएको हो। स्थापनाकालदेखि नै भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्दै आएको कम्पनीले सन् २०११ मा सामान्यतया एफटिटिएएच भनेर चिनिएको फाइबर अप्टिक्स इन्टरनेटलाई पहिलो पटक नेपालमा ल्याएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर