ज्येष्ठ सदस्य ‘बेपत्ता’ भएपछि सुदूरपश्चिममा बहुमत सांसदले गरे बैठक बाेलाउन लिखित माग – Nepal Press

ज्येष्ठ सदस्य ‘बेपत्ता’ भएपछि सुदूरपश्चिममा बहुमत सांसदले गरे बैठक बाेलाउन लिखित माग

कैलाली । सुदूरपश्चिम प्रदेशका बहुमत प्रदेश सभा सदस्यहरूले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न माग गरेका छन् । आज प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेश सभा सदस्यहरूले संसद बैठक आह्वान गर्न माग गरेका हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा २९ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश सभा सचिवालयमा ध्यानाकर्षण पत्र दर्ता गरिएको हो ।

आज बिहान ११ बजे बैठक बस्ने भन्दै हिजो साँझ बैठक स्थगित गरिएको थियो । आज दिनभर बैठक बस्न सकेन । प्रदेश सभामा ज्येष्ठ सदस्य शिवराज भट्ट बैठक अनिश्चित समय सम्मका लागि स्थगित गरेर सम्पर्कविहीन भएपछि सत्तारुढ दलका २९ जनाले तत्काल बैठक बोलाउन आह्वान गरेका छन् ।

आज बुझाइएको ध्यानाकर्षण पत्रमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले हस्ताक्षर गरेका छन् ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुवै उम्मेदवारले बहुमत पाउन सकेनन् ।

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुवै पटक २३ मत पाएका थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनका सांसदहरूले तत्काल बैठक बोलाएर सभामुख निर्वाचन प्रक्रियालाई अघि बढाउनु पर्ने माग गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “ज्येष्ठ सदस्य ‘बेपत्ता’ भएपछि सुदूरपश्चिममा बहुमत सांसदले गरे बैठक बाेलाउन लिखित माग

  1. कस्तो फटाहा जेष्ठ साँसद ! फेरि काँग्रेस आफूलाई प्रजातन्त्रवादी भन्छ । विना सूचना र कारण गायव हुनेको सँसद पद नै गायव गरिनुपर्छ । साँसद फटाहा हुनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर