अनि मैले जन्मदिने आमालाई पनि बिर्सिएँ
बन्जी हानेको भिडियो हेर्दा लाग्थ्यो, मान्छेले कुन आँटले त्यति सानो डोरीबाट हाम फाल्छन् ? व्यवसायिक हिसाबले संचालन गरिएकाले डोरी चुँडिने भय त मनमा थिएन । तर, हाम फाल्न भने ठूलै मुटु चाहिन्छ भन्ने लागिरहन्थ्यो । मजस्ती सानो मुटु भएकीले त्यसरी हाम फाल्न सक्छु जस्तो नै लागेको थिएन ।
दुई सय २८ मिटर माथिबाट खुट्टामा डोरी बाँधेर हाम फाल्नुपर्ने । अनि त्यसैलाई रमाइलोे मान्नुपर्ने । अहो ! सोच्दैमा पनि डर लाग्ने । आमालाई बन्जी हान्न जाने बारे बताउँदा उहाँको सातो गएको थियो । आमाले भन्नुभयो, ‘त्यो डोरी चुँडिएर खोलामा झरियो भने ? हुँदैन, नजा ।’
‘लाखौंमा एउटा डोरी चुडिन्छ भनेको सुनेको, मेरै पालोमा चुँडियो भने……..?’ मनमा त्रास यस्तो आयो कि भित्रभित्रै त्राहिमाम् भएँ ।
तैपनि सबैले त गरिरहेका छन् भने म किन डराउने ? लाखौंमध्ये एकमा पर्छु भने पनि परुँ । तर, जसरी पनि जान्छु भन्ने निधो गरेँ । हामी छ जनाको समूह बनाएर गत भदाैमा पर्वत जिल्लाको कुस्मातिर हान्नियौं । जहाँ विश्वको दोस्रो अग्लो बन्जी द क्लिफ नेपाल छ ।
काठमाडौंबाट दुईजना, चितवनबाट दुईजना र बुटवलबाट दुईजना थियौं । भदाैकाे पहिलाे साता काठमाडौंबाट रात्रि बस चढेर कुस्मातिर लाग्यौं । बिहान ६ बजे हामीलाई बसले कुस्मा झारिदियो । त्यसपछि हामी काठमाडौंबाट गएका दुई जना द क्लिफतर्फ लाग्यौं । बाँकी साथिहरु पोखरामा रहे । उनीहरुलाई कुस्मा आउन सामय लाग्ने भएकाले त्यतै रहेका थिए ।
कुस्मा बजारकै एउटा होटलमा चिया र खाजा खाजा खाँदै साथीहरुलाई कुर्र्ने निधो गर्यौं । तर, साथीहरु आइपुग्न ढिला हुने भयो । काठमाडौंबाट गएकी साथी प्रतीक्षा र म क्लिफमै पुगेर बन्जी हान्न फारम भर्नतिर लाग्यौं ।
तर, त्यहाँ त धेरै मान्छे बन्जी हान्न तम्तयार रहेका रहेछन् । कोहीकोही हानिरहेका थिए । बन्जी हानिरहेकाहरुलाई हेर्दा मनमा कौतुहलता र उत्सुकता पलाएर आयो । चाँडो गएर हान्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो । अरुले सहज रुपमा अप्ठ्यारो लागेको काम गरिरहेको देख्दा मनमा आँट आउँदोरहेछ । हाम फालिहाल्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।
करीब सात घण्टाको अन्तरालपछि पोखरामा छुटेका साथीहरु पनि आइपुगे । झनै आत्मविस्वास पलाएर आयो । हामीले फारम भ¥यौं । तर, एक समस्या आइपर्यो, ४५ केजीभन्दा कम र ८० किलोभन्दा माथिका मान्छेले बन्जी हान्न नमिल्ने रहेछ । एक साथीको तौल नै नपुग्ने रहेछ !
साथीको तौल ४४ किलो रहेछ । तर, ४५ किलोभन्दा एक ग्राम कम तौल भएको मान्छेले पनि बन्जी हान्न नपाउने रहेछ । यसपछि हामीले उसलाई टन्न खुवाएर तौल बढाउनतिर लाग्यौं । केरा, खाजा र अनेक खानेकुरा आएपछि उसको तौला ४५ केजी पुग्यो । हामी बन्जी हान्नका लागि जति उत्साहित थियौं, तौल बढेपछि ऊ दोब्बर उत्साहित भयो । त्यसपछि बन्जीका लागि पुलबाट बन्जी पोइन्टतिर लाग्यौं ।
बन्जी कसरी गर्ने, कसरी सुरक्षित रहनेबारे बन्जीका क्रु मेम्बरहरुले ब्रिफिङ गरे । ध्यान दिनुपर्ने कुराहरु सम्झाए । त्यसपछि पहिलो साथीको अनि मेरो पालो आयो ।
मलाई हामफाल्ने ठाउँमा पुग्दासम्म पनि डर लागेको थिएन । तर जब बन्जी गराउने दाईले अगाडी पुगेपछि थोरै खुट्टा अगाडी–पछाडी सार्न भने, मुटुले ठाउँ छोड्यो । मलाई बन्जीका कुरा गर्दा त्यति डर लागेको थिएन, जब म बन्जी हान्न तम्तयार भएर उभिएँ । तर हिम्मत गरेर डरलाई मनमै दबाएर राखेँ । बन्जी गराउने दाइले भने, वा, टु, थ्री….. ।
जब हाम फालेँ, तल पुगेर डोरीमा नझट्किउन्जेलसम्म म होसविहीन भएँ । मानौं चार सेकेण्डका लागि म मरेँ । अनि केही सेकेण्डपछि फेरि बाँचेँ । हाम फालेर तल पुग्दासम्मको क्षण मलाई केही पनि याद छैन । त्यस क्षण मैले आफूलाई संसारमै सबैभन्दा बढी माया गरेको क्षण थियो ।
मैले न मेरा नजिकका साथीलाई सम्झिएँ । न जन्म दिने आमालाई सम्झिएँ । मलाई त भगवानलाई सम्झिने फुर्सद पनि भएन ।
तल पुगेर पहिलो पटक डोरि झट्कालिएपछि मेरो होस खुल्यो । बल्ल म होसमा आएँ । आँखा खोलेँ, तल खोला वरिपरि हरियाली, स्विङ गरेका एक जोडी मेरै छेउसम्म आइपुगेको थिए । सबै कुरा महसुस भएपछि बल्ल मैले बन्जीको अनुभव लिन थालेँ ।
तीन पटक डोरी झट्कालिएपछि मैले खुट्टामा बाँधिएको डोरीसँगैको रातो अर्को डोरि तानेर मेरो खुट्टाहरु सोझ्याएँ । अनि हातमा बाँधिएको क्यामेरामा आफ्नो अनुभवहरु बताउँदै रमाइलो लिन थालेँ । सुरुमा लागेको डर त्यसबेलासम्म रमाइलोमा परिणत भइसकेको थियो ।
मलाई तलबाट माथि तान्ने अर्को डोरि म भए ठाउँसम्म आइपुग्यो । मैले त्यसलाई कसिलो गरी मेरो कम्मरमा भएको डोरीमा अल्झाएँ । अनि दुई हात फिँजाएर म माथि आउन तयार छु भन्ने संकेत गरेँ ।
मेरै पालोमा डोरी चुडिएला सोचेकी मैले सकुशल बन्जी गरेँ ।
सबैजानाले बन्जी गरिसकेपछि हामी घुम्नका लागि पुल पारि गयौं । द क्लिफको रिसोर्ट भएतिर त्यहाँ केहि फोटो खिच्यौं । खाना खान हामीलाई निकै ढिला भइसकेको थियो । त्यसपछि हामी द क्लिफ नजिकैको एक होटेलमा आफ्नो–आफ्नो बन्जी अनुभव सुनाउँदै खाना खायौं ।
०००