पश्चिम तराईका थारु समुदायको घरघरमा भित्रियो माघी
रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका तराईका ६ जिल्लामा थारु समुदायको बाक्लो बसाई छ । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी भित्रिएसँगै थारु गाउँहरू अहिले माघीमय भएका छन् ।
पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारु अगुवा बताउँछन् । यो पर्वमा थारु समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् ।
पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका थारु बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारु समुदायमा सबै घर लिपपोत गरेर आफन्तहरू बोलाइसकिएको छ भने विभिन्न परिकारहरू घरघरमा तयार गरिएको छ । यो समुदायमा माघीलाई नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने भएकाले थारु बस्तीमा चहलपहल बढाएको हो ।
माघी पर्व नजिकिएसँगै थारु बस्तीमा केही दिनअघिबाट चहलपहल बढेको छ । माघी पर्वलाई भव्य रूपमा मनाउने थारु समुदायका हरेक व्यक्तिले यसको तयारीमा जुटेका छन् ।
‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दै छौँ,’ रुपन्देहीको मोतीपुरकी दीपक चौधरीले भने । एक महिनाअघिदेखि नै माघीको तयारी सुरु हुने थारु समुदायमा खानाका परिकार पकाउन काठ, दाउरा अनादि चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने काम गरिन्छ ।
माघीमा मिठो मसिनो खाने, नाचगान गरी रमाउने चलन छ । ‘माघी पर्वसँगै थारु समुदायमा विधिवत रूपमा विवाह, अंश वण्डालगायतका कार्यको थालनी हुन्छ,’ थारु अगुवा हरिशरण चौधरीले भने, ‘यस दिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिकरी, माछामासु, तरुलजस्ता परिकार खाने र खुवाउने चलन छ ।’
बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको थारु अगुवा चन्द्रबहादुर चौधरीले बताए । घर बाहिर गएका र विदेश कमाउन गएकाहरु पनि धेरै माघी मनाउन घर फर्किएका छन् । सबैतिर माघीको तयारी चलिरहेको कपिलवस्तुको मोतीपुरका सन्तकुमार चौधरीले बताए ।
‘गाउँमा साथीहरू मिलेर रमाइलो गर्छौँ,’ उनले भने, ‘माघीको रौनकले विगतका पीडा भुलाइदिन्छ, थारु पर्व उल्लासमय बनाउन लागिपरेका छौँ ।’ माघ महिनामा थारु समुदायमा घर फुट्ने, अरूको घरमा कमैया बस्ने÷नबस्ने, जग्गा अधिया लगाउने÷नलगाउने, बडघर बस्ने÷नबस्ने, चौकीदार हेरफेरजस्ता महत्त्वपूर्ण योजना बनाउँछन् ।
पुसको अन्तिम दिन थारु समुदायमा रातभरि आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ । माघ १ गते बिहानै भाले बासेको समय करीब बिहानै २ बजे बजेदेखि नजिकै रहेको खोला, नदीमा नुहाएर आफूभन्दा ठूलासँग आशीर्वादसमेत लिने चलन छ ।
माघी पर्वमा एकापसमा साथीभाइसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारु महोत्सवसमेत आयोजना गर्न थालिएको छ ।
यो पर्वलाई विशेष बनाउन अहिले थारु बाहुल्य विभिन्न गाउँपालिकामा माघी महोत्सव हुने भएका छन् । अहिले जिल्लाका गाउँदेखि सहरबजारमा थारु संस्कृति झल्कने नृत्य तथा खाने परिकार राखी माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् ।
अहिले गाउँबस्तीमा मघौटा सामा (सामान) जुटाइसकिएको छ । प्रायः गाउँघरमा बेलुका थारु गीत गाउने, आगो ताप्ने, माघीका लागि मासुको जोहो गर्ने, बर्घर, महटाँवा चुन्नेलगायतका सरसल्लाह गर्ने कामसमेत भइरहेको थारु कल्याण कारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए ।
सधैँ खेतीपाती र ज्याला मजदुरीकै कारण चाडपर्वबाहेक अन्य समयमा थारु समुदाय दिनभर सुनसानजस्तै देखिने गरे पनि माघीले उत्साह थप्ने गरेको अध्यक्ष चौधरी बताउँछन् । ‘अन्य समयमा गाउँघरमा बालबालिका र वृद्धवृद्धाबाहेक अरू भेटिँदैनन् तर माघीका लागि थारु समुदायले हप्ता दिनअघिदेखि नै तयारी सुरु गरिरहेका छन्,माघी थारु समुदायको विशेष पर्व हो । यसले उत्साह थप्छ, अध्यक्ष चौधरीले भने’ उनले भने ।
माघेसङ्क्रान्तिका अवसरमा माघ १ गतेका दिन नजिकको जलाशय, नदी, पोखरी, तलाउलगायतका स्थानमा गएर नुहाउने र महटाँवाको हातबाट चामलको सेतो टीका ग्रहण गरेर दिदीबहिनीका लागि निसराउ (चामल, नुन, मास) छुट्याउँछन् । यसरी छुट्याएको निसराउ दिदीबहिनीलाई आफ्नो दक्षअनुसार दान दक्षिणा दिने चलन छ ।
थारु समुदायले माघीलाई पर्वका रूपमा मात्रै होइन, माघ १ गते नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन् । वर्ष दिन मरी मरी काम गर्ने र माघीमा गाउँले आफन्त सबैले मिलेर खानपिन गरी मघौटा नाच नाचेर रमाइलो गर्ने परम्परा रहेको थारु कल्याणकारी सभापति सतिश चौधरी बताउँछन् ।
थारु अगुवाहरूका अनुसार माघीका अवसरमा घरबाहिर रहेका मानिस घरमा जम्मा भएर वर्षभरि गर्ने योजना बनाउनेदेखि नयाँ घर बनाउने, परिवार छुट्टिने, जिम्दारको खेतबारी अधियाँ लगाउने कामदेखि गाउँको अगुवा महटाँवा, बडघर चुन्ने कामसमेत गर्ने गरिन्छ ।
२०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएपछि थारुहरूले माघीलाई मुक्तिका रूपमा पनि मनाउने चलन रहेको छ । “माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो पर्वका रूपमा मनाउँछौँ, वर्षभरि जो जहाँ भए पनि माघी मनाउन भने घर फर्कने गर्छन्”, रुपन्देहीका थारु अगुवा खुसीराम चौधरीले भने । माघीका अवसरमा थारु संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारु बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा थारु समुदायमा जिता मार्ने (सामूहिक रूपमा सुँगुर, बङ्गुर मारेर खाने) गरिन्छ ।
तराईमा अहिले धेरै मिश्रित समुदाय बस्न थालेको छ । बसाई सरेर आएका अन्य समुदायले पनि यो पर्व उस्तै रमाइलोगर मनाउन थालेका छन् । माघुसंक्रान्तीका रूपमा अन्य समुदायले मनाउने यो पर्व अहिले तराईमा सबैले मनाउन थालेका छन् । प्रदेशका पहाडी जिल्लामा पनि यो पर्वलाई माघे संक्रान्ति पर्वका रूपमा मनाइन्छ । प्रदेश सरकारले यो पर्वलाई विशेष मनाउन संघीय सरकारले माघ १ लाई बिदा दिएकोमा यहाँ २ गतेलाई थपेर दुई दिन बिदा हुने गर्दछ । सरकार आफैले पनि माघ २ गते माघी दिवस मनाउने गरेको छ ।