रिटायर्ड हुने कुरै छैन, लेखनबाहेक अर्थोक केही छैन
काठमाडौं ।
तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
तिमीभित्रभित्रै मेरा जूनतारा छन्
ईर्ष्यालु आँखा बगाउँछन् छहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमी तारे भीर, म त लहरा
झण्डै साढे तीन दशकअघिको त्यो समय । जतिवेला ‘तिमी तारे भीर’ गीतको यी पंक्तिहरु कवि श्रवण मुकारुङले लेखेका थिए । जो पछिल्लो पुस्ताका दर्शक/स्रोतामाझ उत्तिकै लोकप्रिय छ ।
त्यो यस्तो समय थियो, मुकारुङ असाध्यै रोमान्टिक र स्वप्नशील थिए । लेखकीय दुनियाँमा प्रतिबद्ध हुँदै थिए । एकखाले लेखकीय पागलपनमा प्रवेश गरेका थिए । २२-२३ वर्षका थिए ।
रेडियोमा बजिसकेका थिए । प्रतिभावान गीतकार र उदाउँदो कविको रुपमा आफ्नो छवि बनाइसकेका थिए । त्यसैवेला संगीतकार शान्तिराम राईसँग उनको भेट भयो । किराँत राई यायोख्खाले नाचघरमा आयोजना गरेको कार्यक्रममा मुकारुङले आफ्नै गीत गाए, ‘जानु छ साथी मायाको देशमा, कुन फूल लिएर जाऊँ !’
बाजामा गायक शम्भु राई र स्वर्गीय प्रवीण गुरुङले साथ दिएका थिए । सो कार्यक्रममै संगीतकार राईले चाम्लिङ भाषामा लोकगीत गाएका थिए । त्यही मुकारुङ र राईको परिचय भयो । दोस्ती सुरु भयो । दुवै मिलेर केही गीतहरु बनाए ।
एक दिन निर्देशक नवीन सुब्बा मुकारुङ र राईकहाँ आएर भने, ‘धरानकी एकजना बहिनी हुनुहुन्छ पवित्रा सुब्बा । आवाज राम्रो छ । उहाँलाई एउटा गीत दिनुस् न ।’
त्यसवेलासम्म मुकारुङले पवित्राको नाम सुनेका थिएनन् । तैपनि ‘तिमी तारे भीर’ गीत उनै पवित्रालाई दिए । पवित्राले ‘शैली’ नामक एल्बममा गीत समावेश गरिन् ।
ठूल्ठूला दार्शनिक, वैज्ञानिक, चिन्तकहरुले आविस्कार गरेको चिजलाई पनि ठीक ठाउँमा पुर्याउन र अमरत्वमा पुर्याउने काम कविताकै हो । स्वयं कवि पनि साधनाको अनन्ततिर गयो भने वैज्ञानिक र दार्शनिकभन्दा कम हुँदैन । बुद्धका वाणीहरु जब कविताको भाषामा आयो, अनि संसारले बुद्धलाई चिने । गणितको सूत्र कण्ठ गर्न पनि कविताको लय चाहिन्थ्यो हामीलाई ।
त्यसवेला मुकारुङ ऊर्जाशीलमात्रै थिएनन्, फरक सिग्नेचर हुनुपर्छ भनेर लेखिरहेका थिए । अरुको जस्तो हुनुहुन्न, नितान्त फरक हुनुपर्छ भनेर लेखिरहेका थिए । आफ्नो नाम नहुँदा पनि मुकारुङ को हो भन्ने चिनून् भनेर लेखिरहेका थिए ।
आधुनिक गीतले बजार खाइरहेको थियो । एउटा गीतमा पाँच दशवटा माया, आँसु, धोका शब्द हुन्थे । मुकारुङ भन्छन्, ‘त्योभन्दा फरक ढंगले कसरी लेख्ने त ? त्यसका लागि लहरा, तारे भीर प्रतीक प्रयोग गरें ।’
मुकारुङ गायिका पवित्राबारे थप्छन्, ‘पवित्राजीको आवाज बडो मिस्ट्रिरियस हो । आध्यात्मिक फिल गराउने आवाज हो । कता हो कता पुर्याउने आवाज हो उहाँको । उहाँले त्यो आवाजलाई निरन्तर रुपमा चाहिँ अगाडि बढाउनुभएन । तर, उहाँको एकदमै जादुमयी आवाज हो ।’
पहिचानको संकटबाट मुक्त
मुकारुङसँग २४–२५ वर्षकै उमेरमा लेखिएको मास्टर कविताहरुको थुप्रो छ । पछि उमेरले म्याच्युर्ड हुँदै जाँदा लेखिएका मास्टरपिस कविताहरुको पनि थुप्रो छ । आफ्नै सृजना कर्मको आधारमा मुकारुङलाई लाग्छ, लेखकहरुको दुइटा फेज हुन्छन् ।
एउटा फेज हुन्छ, जतिवेला कविसँग भएको असामान्य प्रतिभा अभिव्यक्त हुने गर्छ । कविले त्यही प्रतिभालाई व्यवस्थापन गरेर समाजलाई दिन्छ । दोस्रो फेज हुन्छ, जहाँ भावनाको उपल्लो अभिव्यक्तिका लागि एक कविले साधना गर्छ ।
मुकारुङलाई लाग्छ, उनको पछिल्लो फेज चाहिँ अलि पाको र परिपक्व हुँदै गएको छ । यो फेजमा चिन्तनको प्रक्रियातिर ध्यान दिन थालेका छन् । आफूलाई परिस्कारमा लैजान थालेका छन् । पहिला कविता स्वाट्टै लेखे पुग्थ्यो । अचेल एउटा कवितालाई दश-बाह्र पटक केरमेट गर्छन् र पनि उनलाई चित्त बुझ्दैन ।
मुकारुङ आफूलाई भाग्यमानी कवि पनि ठान्छन् ।
भाग्यमानीको पछाडि उनको तर्क छ, ‘मैले प्रारम्भिककालमै लेखेका रचनाहरु अहिले पनि स्मरण गरिदिनुहुन्छ पाठकहरुले । गीतहरु त झनै पहिचानको रुपमै छ । निबन्ध लेखेको छु । नाटक लेखेको छु । तर, दूरदूरान्तरतिर कतै गएँ भने मलाई कसैले चिन्दैनन् । ‘बीसे नगर्चीको बयान’ भन्दा चिन्दैनन् । त्यस्ता ठाउँमा जाँदा ‘माथिमाथि सैलुंगेमा’गीतमा नाचेका मान्छेहरु भेटिन्छन् । त्यसो हुँदा मलाई पहिचानको संकट पर्दैन ।’
उनलाई लाग्छ, इमानदारीपूर्वक र समर्पणको उचाइबाट कर्म गरियो भने सृजनाहरुले अलि लामो यात्रा गर्छन् ।
अझै लेख्न सकिएन जस्तो लाग्छ । मसँग सम्भावना छ । तर, यस्तो के भयो लेख्नै सकिएन लाग्छ । अझै एउटा हल्लाउने रचना लेखुँ लाग्छ । हामी कवि लेखकको सृजनाको स्रोत, आयु र हामीलाई लाग्ने अन्तिम रोग नै त्यही हो । यति लेखिसकें, पुग्यो भन्ने हुँदैन । एउटा लेखकले आफूलाई सधैं तल देखिरहेको हुन्छ । आफूलाई पूर्ण देखेको दिन त्यो लेखक रहँदैन ।
सर्पको खुट्टा सर्पले देख्छ, राम्रो कविलाई राम्रो कविले चिन्छ
२०४२ सालतिर काठमाडौं छिर्दा मुकारुङसँग ठूल्ठूला सपना थिएनन् । अध्ययन गर्न आएका थिए । साथै जीविका चलाउने सानोतिनो जागिरको खोजीमा काठमाडौं खाल्डो छिरेका थिए । जसले उनलाई आफ्नो रुचिको विषयतिर लागिरहन उत्प्रेरणा मिलोस् ।
लेखनको नशा उनलाई भोजपुरमै चढेको थियो । हाईस्कुलमै अग्रज साहित्यकारका सृजनालाई छिचोलेका थिए । विजय मल्लको नाटकमा त बाल कलाकार भएरै अभिनय गरेका थिए । पुरस्कृत पनि हुँदै आएका थिए । दश कक्षामै पढ्दा एक नाटक लेखेका थिए, ‘अस्तित्व’ । नाटक लिएर भोजपुरको सदरमुकाम पुगेर दुई शो हाउसफुल प्रदर्शनी गरेका थिए । नाटक प्रदर्शनीले पनि उनलाई थप नशा चढाएको थियो ।
काठमाडौं छिरेपछि त कविता र गीतमा मात्रै समय दिए । स्थायी जागिरको खोजीमा लागेनन् ।
मुकारुङ भन्छन्, ‘म विस्तारै रहर र बाध्यतालाई जोडेर बनेको कवि हुँ ।’
कविता-गीत यात्राकै क्रममा उनको कवि मोहन कोइरालासँग भेट भयो वाल्मीकि क्याम्पसमा । कोइराला त्यसवेला एकेडेमीमा सदस्य थिए । क्याम्पसमा चिफ गेस्ट भएर आउँदा मुकारुङले पनि ‘मेरी आमा’ शीर्षकको कविता वाचन गरे ।
मुकारुङ सम्भन्छन्, ‘सर्पको खुट्टा सर्पले देख्छ भने झैं उहाँले मलाई नोटिस्ड गर्नुभएछ ।’
वाल्मीकि क्याम्पसको कार्यक्रमको भोलिपल्ट मुकारुङको भेट कोइरालासित भयो कालिकास्थानमा । मैतीदेवीको कोठाबाट आरआर क्याम्पस हिँडेका उनको सर्वनाम थिएटर छेउको भर्याङमा भेट भयो । मुकारुङले नमस्कार गरे । कोइरालाले नमस्कार फर्काए ।
‘घर कहाँ हो ?’
‘भोजपुर ।’
‘जागिर खाइँदैछ कि ?’
‘छैन दाइ, त्यतिकै छु ।’
‘पाए खाने हो ?’
मुकारुङ काठमाडौं छिरेको ६ वर्षदेखि त्यसैको खोजीमा थिए । जागिर पाए नखाने भन्ने नै थिएन ।
कोइरालाले थपे, ‘आइतबार एकेडेमीमा आउनू ।’
मुकारुङ सम्झन्छन्, ‘शुक्रबार भेटेको थिएँ । आइतबारसम्मको दुई दिन क्रस गर्न कम्ता गाह्रो भएन । आइतबार दशै बजे पुगें । दाइ अलि ढिला गरी आउनुभयो । त्यही दिन मलाई करारमा राख्नुभयो सहयोगीको रुपमा ।’
कोइरालासँग तीन वर्ष जति सहकार्य गरे मुकारुङले । यदाकदा कोइरालालाई अलि जटिल कविता लेख्ने कवि भन्ने पनि गरिन्छ । बढी प्रयोगवादी कवि पनि भनिन्छ । उनका कविता जटिल नै थिए र ?
मुकारुङको विश्लेषण छ-
‘सुरुमा मलाई पनि त्यस्तै लागेको थियो । भूपि शेरचन, हरिभक्त कटुवालको कविता पढेर आएको, एक्कासि उहाँका कविता पढ्दा सरप्राइज जस्तो हुन्छ । उहाँको कविता लामो, कता कता गइरहेको जस्तो हुन्छ । तर, त्यहाँ भयानक मेलोडी हुन्छ । अरुको जस्तो मुक्तकीय टाइपको हुँदैन । असाध्यै खुलेर लेखिएको हुन्छ । टिएस इलियटहरु पढेपछि त सहज भइगयो नि !
उहाँका कविता नबुझिने होइन । जटिल चाहिँ हो संरचनाको हिसाबले । जटिल कुरा पनि फुकाएपछि सजिलै हुन्छ । फुकाउन चाहिँ जान्नुप¥यो । कविताहरुमा एडिपस, सिसिफस राखिएको हुन्छ । वैरागी काइँलाको कवितामा लिम्बू मिथ हुन्छ । मिथ बुझेपछि त सहज भयो नि ! सिसिफसको मिथ केलाएपछि कविता त सजिलो भयो नि !
मोहन कोइराला काल्पनिकी कवि हो । उहाँका कविताहरु नयाँ समाज, नयाँ युग, स्वतन्त्रता, मुक्ति, न्यायको पक्षमा हुन्छन् । हामीलाई चाहिएको त त्यही हो । हामीले आज लेखेका कुराहरु उहाँका कवितामा पाउँछौं । ‘सारंगी’, ‘सिमसारका राजदूत’ जस्ता इको पोयट्र उहाँले त्यतिवेलै लेखेको हो ।’
मोहन कोइरालाका कविता नबुझिने होइन । जटिल चाहिँ हो संरचनाको हिसाबले । जटिल कुरा पनि फुकाएपछि सजिलै हुन्छ । फुकाउनु चाहिँ जान्नुपर्यो । कविताहरुमा एडिपस, सिसिफस राखिएको हुन्छ । वैरागी काइँलाको कवितामा लिम्बू मिथ हुन्छ । मिथ बुझेपछि त सहज भयो नि ! सिसिफसको मिथ केलाएपछि कविता त सजिलो भयो नि !
त्यो जनआन्दोलन, त्यो बीसे नगर्चीको बयान
२०६२/६३ को जनआन्दोलनताका मुकारुङको कविता ‘बीसे नगर्चीको बयान’ले तहल्का पिट्यो । जनआन्दोलनको पोस्टर कविताको रुपमा उभियो । एकातिर राजनीतिक आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरिरहेका थिए । अर्कातिर साहित्यको नेतृत्व ‘बीसे नगर्चीको बयान’ले ।
जनआन्दोलन र बीसे नगर्चीको बयान कविताको संयोग समयको माग भएको बताउँछन् मुकारुङ । हरेक समयले लेखकहरुसँग एउटा आग्रह गर्छ । जनताको आकांक्षा, परिवर्तनसँग जोडिएको सृजना विशेष समय र युगले माग्छ । मुकारुङ त्यसैको परिणति मान्छन् बीसे नगर्चीको बयानलाई ।
उनको भनाइ छ, ‘थोरै भाग्यशाली लेखक हुन्छन्, जसले त्यस्तो समयसँग साक्षात्कार गर्छन् । त्यस हिसाबले म आफूलाई भाग्यमानी कविको रुपमा पाउँछु । भौतिक सुख सुविधाको रुपले होइन, सृजनात्मकताको रुपले हो ।’
जनआन्दोलन पिकमा थियो । उनी स्वयं पनि उपेक्षित, उत्पीडित, सीमान्तकृतहरुको बारेमा लेख्दै आएका कवि । आफ्नैबारे लेख्दा पनि आफ्नो अनुहार खोज्ने कुराहरु लेख्ने कवि । २०४९ सालमै यलम्बर नाटक लेखेका कवि । पहिलो कविता संग्रहको नाम नै ‘देश खोज्दै जाँदा’ राखेका कवि ।
संगीकारहरु संगीतको माध्यमबाट आन्दोलन गरिरहेका थिए । चित्रकाहरुले चित्रहरुको माध्यमबाट । भाषण गर्नेहरुले भाषणको माध्यमबाट । योद्धाहरुले बलिदानी दिएर आन्दोलनलाई उत्कर्षमा पुर्याइरहेका थिए । मुकारुङ त्यसवेला भइरहेका परिवर्तनको संघारबाट टाढा रहने सवालै रहेन । उनले कविता लेखिदिए ।
बानेश्वरमा कविता वाचन गर्दा गिरिजाप्रसाद कोइरालाले आँखा गाडेर आफूलाई हेरेको दृश्य अहिले पनि मुकारुङको स्मृतिमा ताजै छ । बबरमहल होस् वा भृकुटीमण्डप, रत्नपार्क होस् या गुरुकुल, उनका कविता कुनै नाराभन्दा कम थिएन । हुटिङ, सिठ्ठी र तालीको गडगडाहटमा नेपाली कविताको विरासत मुकारुङले नै जोगाइदिए ।
टी-सर्टमा प्रिन्ट भएर जनआन्दोलनका घाइतेहरुको सहयोगार्थ कविता बिक्री भयो । मैथिली, भोजपुरी, थारु, नेपालभाषा, तामाङलगायतका भाषाहरुमा अनुदित भएर गयो । गाउँ-गाउँका भित्ताहरुमा पोस्टर बनेर तिनै कविताका लाइन टाँसिए ।
उनलाई लाग्छ, त्यसवेला कविताप्रति आम मानिसको धारणा उस्तो राम्रो थिएन । कविहरुले के लेख्छन्, बुझिँदैन भन्थे । त्यो धारणासमेत त्यस कविताले भत्काएको सम्झना छ मुकारुङको । अनि कविता पनि यत्रो ठूलो आन्दोलनमा काम लाग्ने चिज रहेछ भनेर उनकै कविताले प्रमाणित गरिदियो ।
अनि खास कविताको शक्ति चाहिँ के रहेछ ?
मुकारुङको प्रष्टोक्ति छ-
‘कविता बडो अपरिभाषित कुरा नै हो । मैले भने पनि अपूर्ण भएर जान्छ । यसले मान्छेलाई आत्मिक सुख दिन्छ । आध्यात्मिक थेरापी जस्तो दिन्छ । एरिस्टोटलले पनि त्यही भनेका होलान् । अर्को चाहिँ कविता चेतनाको संवाहक हो ।
ठूल्ठूला दार्शनिक, वैज्ञानिक, चिन्तकहरुले आविस्कार गरेको चिजलाई पनि ठीक ठाउँमा पुर्याउन र अमरत्वमा पुर्याउने काम कविताकै हो । स्वयं कवि पनि साधनाको अनन्ततिर गयो भने वैज्ञानिक र दार्शनिकभन्दा कम हुँदैन । बुद्धका वाणीहरु जब कविताको भाषामा आयो, अनि संसारले बुद्धलाई चिने । गणितको सूत्र कण्ठ गर्न पनि कविताको लय चाहिन्थ्यो हामीलाई ।’
लेखनको यात्रा अनन्तको यात्रा हो । वैरागी दाइले भन्नुभए जस्तो एउटा पर्वत चढेपछि अर्को पर्वत देखिन्छ । मर्नुभन्दा एक वर्ष अगाडि गोपाल योञ्जनले अन्तर्वार्तामा आफूलाई संगीतको विद्यार्थी भन्नुभएको थियो । अम्बर गुरुङले पनि त्यही भन्नुहुन्थ्यो । उहाँहरु त नेपाली संगीतका विश्वविद्यालय हुन् । आफूलाई विद्यार्थी सोचेकैले उहाँरुलाई त्यो उचाइमा पुर्याएको हो ।
र, डुब्यो नेपाली छन्द कविता
मुकारुङ गीत लेख्छन् । कविता लेख्छन् । दुवै उनलाई उत्तिकै प्रिय लाग्छ । दुवैलाई सँगसँगै लिएर गए । कहिले गीत लेखे, कहिले कविता ।
तर, गीत जति विस्तारित भएर कविता नजाने उनको ठम्याइ छ ।
मुकारुङलाई लाग्छ, मुक्त छन्दको कविता लेख्नु छन्दमा कविता लेख्नुभन्दा पनि गाह्रो काम हो । मुक्त छन्दको कविता जसरी लेखे पनि हुन्छ । तर, त्यो कविता आकर्षक हुनुपर्यो । अरुलाई मनपर्नु पर्यो । छन्दमा लय पहिल्यै हुन्छ । तर, मुक्त छन्दमा कवि स्वयंले लयको खोजी गर्नुप¥यो । त्यो लय पाठकलाई मनपर्नु पर्यो ।
गीत चाहिँ उनलाई क्लासिकल कविता लेखे जस्तो लाग्छ । स्थायी हुन्छ, अन्तरा हुन्छ । एउटा फ्रेम हुन्छ । सजिलो पनि हुन्छ, गाह्रो पनि । कविता वर्णनात्मक हुनसक्छ । तर, गीतमा व्याख्या गर्न पाइँदैन ।
मुकारुङ थप्छन्, ‘गीतमा भन्न खोजेको ठ्याक्कै हुनुपर्यो । जसरी छन्द कविताले सूक्तिमय हुनुपर्ने आग्रह गर्छ । एउटा लाइन सूक्तिजस्तो भएन भने त्यो छन्द कविता बन्दैन । नेपाली छन्द कविता डुबेको यही कारणले हो । त्यसैले हामी माधव घिमिरे, लेखनाथ पौड्याललाई मात्रै सम्झन्छौं । अरुको त नामै सम्झन गाह्रो छ । गीतमा पनि सूक्तिमय लाइन भएन भने त्यो सम्झनुपर्ने कारण नै हुँदैन ।’
टालाटुली बटुली, कति राम्रो जिन्दगी
आख्यानकार राजन मुकारुङले श्रवणबारे एक अन्तर्वार्तामा भनेका छन्, ‘महत्वाकांक्षा नभएको, सिम्प्लिसिटीमा बाँच्न रुचाउने मान्छे हो ।’
उनलाई पनि आफू त्यस्तै हो कि जस्तो लाग्छ । अहिलेको अवस्थासम्म आइपुग्न आफ्नो स्वभावले पनि धेरै साथ दिएको बताउँछन् मुकारुङ । विलासी, सुखसयलमा रुचि राखेनन् । जसले गर्दा उनलाई अप्ठ्यारोबाट सजिलोतिर धकेल्दै लग्यो । धेरै खर्चालु छैनन् ।
अप्ठ्याराहरुमा पनि टाल्दै, बटुल्दै गए । टालाटुली बटुली, कस्ती राम्री पुतली भने झैं बटुल्दै टाल्दै एक सुन्दर पुतली जस्तो जीवन बाँचिरहेका छन् । यत्रो लामो समय काठमाडौंमा गुजारे । परिवार छ । घर चलाइरहेका छन् ।
मुकारुङ भन्छन्, ‘एक्लै त बाँच्न गाह्रो हुन्न मान्छेलाई । तर, परिवार सबै जोडिएपछि जिम्मेवारी बढेर जान्छ । मेरो सन्दर्भमा मसँग भएको यही कविता, गीत थियो । मैले यसैलाई प्रयोग गरें । पहिलो कविता संग्रह नै २२ सय प्रति बेचें । यसरी चलाउँदै चलाउँदै गएँ ।’
गीतहरु लेख्दा पारिश्रमिक आउँथ्यो । लेखहरु लेख्दा पारिश्रमिक पाइन्थ्यो । थोरैथोरै जागिरहरु पनि गर्दै गए । यसरी आफूलाई व्यवस्थापन गर्दै गएको मुकारुङको भनाइ छ ।
यसो फर्केर हेर्दा लामो बाटो हिँडिएछ झैं लाग्छ उनलाई । विस्मात र थकथक पनि लाग्छ । अझै धेरै लेख्नुपर्थ्यो, लेख्न सकिएन भन्ने सोच्छन् । भित्र कता-कता अपूर्ण महसुस भइरहन्छ र पनि कविता त लेखिरहेका छन् ।
लेख्न पुग्यो भनेको दिन लेखक मर्छ
सृजनाको लामो बाटो मुकारुङलाई एउटा किसानले गर्ने यात्रा जस्तो लाग्छ । एउटा किसान सोच्छ, ‘मैले गरे जसरी खेती अरु कसैले गरेका छैनन् ।’ तर, परबाट हेर्नेहरुले अर्कै तरिकाले हेरिरहेका हुन्छन् ।
उनलाई लाग्छ, लेखक, स्रष्टा भनेका आफैंभित्रको प्रतिस्पर्धीसँग ईर्ष्या गर्दै कुण्ठित हुँदै हिँड्छ ।
उनी भन्छन्-
‘अझै लेख्न सकिएन जस्तो लाग्छ । मसँग सम्भावना छ, तर यस्तो के भयो लेख्नै सकिएन जस्तो लाग्छ । अझै एउटा हल्लाउने रचना लेखुँ जस्तो लाग्छ । हामी कवि लेखकको सृजनाको स्रोत, आयु र हामीलाई लाग्ने अन्तिम रोग नै त्यही हो । यति लेखिसकें, पुग्यो भन्ने हुँदैन । एउटा लेखकले आफूलाई सधैं तल देखिरहेको हुन्छ । आफूलाई पूर्ण देखेको दिन त्यो लेखक रहँदैन ।
म लेखक हो भने ड्युटीफुल हुनुपर्छ । मसँग त्यो इमानदारिता हुनुपर्छ । आफूलाई राम्रो लेखक हो भनेर विश्वास गर्न मैले नयाँ कुरा भन्नैपर्छ भन्ने लेखकमा हुनुपर्छ । नलेख्दा पनि पुग्छ भन्नु मतिभ्रष्ट हुनु हो । लेखक भ्रष्ट हुनुभएन । लेखनको यात्रा अनन्तको यात्रा हो । वैरागी दाइले भन्नुभए जस्तो एउटा पर्वत चढेपछि अर्को पर्वत देखिन्छ । मर्नुभन्दा एक वर्ष अगाडि गोपाल योञ्जनले अन्तर्वार्तामा आफूलाई संगीतको विद्यार्थी भन्नुभएको थियो । अम्बर गुरुङले पनि त्यही भन्नुहुन्थ्यो । उहाँहरु त नेपाली संगीतका विश्वविद्यालय हुन् । आफूलाई विद्यार्थी सोचेकैले उहाँरुलाई त्यो उचाइमा पुर्याएको हो ।’