सरकारको निर्देशन- आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्नू – Nepal Press

सरकारको निर्देशन- आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्नू

काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

पोखरामा आज बिहान भएको यती एयरको एटीआर विमान दुर्घटनापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले उक्त निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यात्रुका आफन्तलाई यकिन जानकारी दिन विमानस्थलमा कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि भएको उनले बताए ।

सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा जाँच आयोगसमेत गठन गरेको छ ।

आयोगका सदस्यहरुमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त उपरथी (क्याप्टेन) दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने छन् ।

आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको छ ।

दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली जनाउँदै मन्त्रिपरिषद् बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना जनाएको छ । विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको छ ।


प्रतिक्रिया

One thought on “सरकारको निर्देशन- आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्नू

  1. हवाई सुरक्षाको लागि नियमित रूपमा पालना गर्नुपर्ने सुरक्षा मापदण्डमा सम्झौता गर्दा नै यस्ता घटना हुन्छन् । सुरक्षा मापदण्ड पालना गर्दा केही खर्च बढछ् । त्यो घटाउन र सजिलोको लागि एयरलाईन्स कम्पनीहरूले नागरिक उड्डयन प्रधिकरणकालाई पैसा खुवाउँछन् । उनीहरू पनि आँखा चिम्लिन्छन् । यस्ता मापदण्ड निर्ममतापूर्वक र नियमित रूपमा लागू गराउनु नै यस्ता दुर्घटना कम गर्ने उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *