पत्रकार र ‘फर सी’ बुद्धिजीवीलाई प्रश्न- रविलाई सेवक देख्न चाहन्छौ कि शासक ? – Nepal Press

पत्रकार र ‘फर सी’ बुद्धिजीवीलाई प्रश्न- रविलाई सेवक देख्न चाहन्छौ कि शासक ?

राजनीतिमा हामफालेको जम्मा सात महिनामा टेलिभिजन प्रस्तोता रवि लामिछाने सांसद बने । उपप्रधान एवं गृहमन्त्री नै भए । र, केही फरक गरौं भन्ने हुटहुटी पनि देखाउन थालेका छन् । जसलाई कतिपयले ‘स्टण्ट’ ठान्छन् ।

राजनीति थालेको र नेताको पछि लागेको वर्षौंसम्म वडाध्यक्षसमेत बन्न नसकेका मूलधारका भनिने दलका नेता-कार्यकर्ता रविले मारेको छलाङ स्वीकार्न तयार छैनन् । किनकि तिनीहरु रवि यसरी सफल होलान् भन्ने कल्पनामै थिएनन् । सरकार बनाउन मत चाहिन्नथ्यो त, रवि न केपी ओलीको नजरमा पर्थे न त पुष्पकमल दाहालको । शेरबहादुर देउवाले त प्रधानमन्त्री हुँदा भेटै दिएनन् क्यारे !

चुनावअघि कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता-कार्यकर्ता ‘जिते त्यही रविले हो, अन्त त रामधुलाई हुन्छ’ भन्थे । तर, रवि आफूमात्रै जितेर आएनन्, बीस जनाको हुल माओवादीको हाराहारी शक्तिका रुपमा संसद छिरे । असफल होस् भनेर कामना गर्नेका लागि रवि नेतृत्वको दल संसदको चौथो शक्ति हुनु झनै झट्का थियो ।

खासमा रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता कल्पना बाहिरको थियो । अपेक्षा नै नगरेको कुरा हुँदा÷पाउँदा मान्छेले अधिक ‘रियाक्ट’ गर्छ । जसरी अहिले रविप्रति गरिएको छ । नेता बन्ने व्यग्र चाहनामा रहेको तर पटक्कै ढंग नभएको एउटा जमात रविप्रति बढी अनुदार छ । किनकि त्यसले रवि यति सजिलै नेता होलान् भन्ने ठानेकै थिएन । आफ्नो ठाउँ रविले खोसे झैं गरेर त्यो जमात सामाजिक सञ्जालदेखि ‘बिजुली-पानी’को अखडासम्म रोइकराइ गर्दैछ ।

नेता समयको चाप बुझ्ने, जनतासँग साक्षात्कार गर्ने, सत्ता र शक्तिको रवाफ नदेखाउने ‘सामान्य’ हुनुपर्छ भन्ने राजनीतिकै पछिल्लो पुस्ता त्यस्तै कार्यशैली र व्यवहारको पक्षपाती रविलाई भने नेता मान्दैन ।

नेता बन्ने व्यग्र चाहनामा रहेको तर पटक्कै ढंग नभएको एउटा जमात रविप्रति बढी अनुदार छ । किनकि त्यसले रवि यति सजिलै नेता होलान् भन्ने ठानेकै थिएन । आफ्नो ठाउँ रविले खोसे झैं गरेर त्यो जमात सामाजिक सञ्जालदेखि ‘बिजुली-पानी’को अखडासम्म रोइकराइ गर्दैछ ।

रविका निन्दक चिनौं

राजनीतिमा जबरजस्त नयाँ पात्र र पुस्ता आउँदा खुशी हुनुपर्ने, आफ्नो दलमा पनि पुस्तान्तरणका लागि दबाब बढाउन झनै उत्साहित हुनुपर्ने पछिल्लो पुस्ता नै रविप्रति बढी पूर्वाग्रही र शंकालु हुनुले पटक्कै सकारात्मक सन्देश दिएको छैन । राजनीतिमा सक्रिय वा रुचि राख्ने पछिल्लो पुस्ताले त रविको सफलतालाई ‘केसस्टडी’को विषय बनाउनु पर्थ्यो । तर, त्यही पुस्ता नै बढी निन्दक बनेको छ ।

‘रवि लामिछानेले देशका लागि के गरे र उनको पार्टीलाई जनताले त्यति धेरै मत दिएको ?’ राष्ट्रिय दल हुन नसकेको छटपटीले पनि होला नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे कुनै कार्यक्रममा प्रश्न गर्दै थिए ।

देशका लागि केही गरेर होइन, गर्छु भन्ने प्रण लिएर राजनीतिमा लाग्दा पनि लान्छना लगाउँछन्, प्रश्न गर्छ राजनीतिकै अघिल्लो पुस्ता । रवि लामिछानेहरुको चर्को विरोध गरेर यो पुस्ता आउन चाहने नयाँलाई निरुत्साहित गर्दैछ ।

राजेन्द्र पाण्डेहरु सोच्छन्, पूर्णकालीन राजनीतिका लागि जेल बसेकै हुनुपर्छ । भूमिगत भएको बायोडाटा चाहिन्छ । राजनीतिक आन्दोलनमा भाग लिएकै हुनुपर्छ । अझ दुई चारवटा बमकाण्ड र सशस्त्र युद्ध पनि गरेको हुनुपर्छ । मान्छे नमार्ने नेता के नेता ?

दलहरु प्रतिबन्धित रहेको भए पो नेता जेल बस्नु, भूमिगत हुनु ! राजनीतिक आन्दोलन नै पूर्ण भएको भनिएका बेला कुन आन्दोलनको नेतृत्व गर्नु ? उन्नत भनिएको लोकतान्त्रिक व्यवस्थामा पनि नेताको योग्यता र परिभाषा चाहिँ पञ्चायतकालको भन्दा फेरिएको छैन । राजनीति र समाज रुपान्तरणको अगुवाइ गर्छौं भन्ने नेताकै चरित्र यथास्थितिवादी छ ।

यथास्थितिवादीले रुपान्तरण स्वीकार्दैन । रविको राजनीतिक रुपान्तरण अधिक स्वीकार्य नहुनुको कारण पनि यही हो । राजेन्द्र पाण्डेहरु आफूलाई मात्र नेता ठान्छन्, रविहरुलाई होइन ।

कांग्रेसमा गगन थापाको पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने चारतारे लेखक/डाक्टर/इञ्जिनियर र केपी ओलीले भन्ने गरेका ‘फर सी’ बुद्धिजीवीहरु नै अहिले रविका मुख्य आलोचक बन्नु अझ बेमेल दृश्य हो । लाग्छ रविको लोकप्रियताले गगन र कांग्रेसका आशा गरिएका भनिएका युवा नेताहरु ओझेलमा पर्ने भए भन्ने भयले यो समूह आतंकित छ । यहि लहरमा छन् सोही विरादरीका पत्रकार पनि ।

कांग्रेसमा गगन थापाको पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने चारतारे लेखक/डाक्टर/इञ्जिनियरर केपी ओलीले भन्ने गरेका ‘फर सी’ बुद्धिजीवीहरु नै अहिले रविका मुख्य आलोचक बन्नु अझ बेमेल दृश्य हो । लाग्छ रविको लोकप्रियताले गगन र कांग्रेसका आशा गरिएका भनिएका युवा नेताहरु ओझेलमा पर्ने भए भन्ने भयले यो समूह आतंकित छ । यही लहरमा छन् सोही विरादरीका पत्रकार पनि ।

कुण्ठाग्रस्त पत्रकार रविका स्थायी शत्रु

रविको अर्को चर्को आलोचक समूह हो, पत्रकार ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद र त्यसका अन्तर-कुन्तर न्यूजका विषय हुन् । र, त्यसको गहिराइ खोज्नु पत्रकारको दायित्व हो । तर, पत्रकारिता विषयको उत्खननभन्दा रविको राजनीतिक सफलतामा ‘इर्ष्यालु’ भएको छ ।

हिजो पत्रकारकै एउटा समूह रविलाई खिसिट्युरी गरेर ‘यस्तो पनि पत्रकार, यस्तो पनि पत्रकारिता, मरिगए मानिन्न’ भन्थ्यो । उनीहरुको भनाइमा रवि पत्रकारिता गर्दैन थिए, मात्र चिच्याउँथे, कराउँथे, अन्टसन्ट बोल्थे । आज पत्रकारकै त्यही समूह रविका पुराना भिडियो क्लिप उत्खनन् गरेर सञ्जालमा पोस्ट्याउँदै ‘हिजो बोलेको कुरा आज पूरा गर, जसरी पनि पूरा गर’ भन्दैछ ।

हिजो रविले पत्रकारिताकै हुर्मत लिएको ठान्नेहरु, उनको पत्रकारितालाई अराजक भन्नेहरु नै आज त्यही ‘गैर-पत्रकारिता’लाई सच्चा पत्रकारिता स्वीकारेर ‘निर्मलाको हत्यारा खोई, नाकको डाँडी कहिले भाँच्ने’ भनेर सोध्दैछन् ।

हिजो पत्रकार नै अस्वीकार गर्ने, अन्टसन्ट बोलेको मात्रै ठान्ने त्यही जमात आज रविको पत्रकारिता नै मूलधार र अन्तिम सत्य थियो भने जसरी ‘तैले जिम्मेवारी नलिए कसले लिन्छ त ?’ भन्दैछ ।

पत्रकारिता नगरेको ठान्नेलाई नै पत्रकारिता गर्दाका घटना, सन्दर्भ र बोलीको एक-एक जवाफ चाहिएको छ ।

हिजो रविले पत्रकारिताकै हुर्मत लिएको ठान्नेहरु, उनको पत्रकारितालाई अराजक भन्नेहरु नै आज त्यही ‘गैर–पत्रकारिता’लाई सच्चा पत्रकारिता स्वीकारेर ‘निर्मलाको हत्यारा खोई, नाकको डाँडी कहिले भाँच्ने’ भनेर सोध्दैछन् ।

हिजो पत्रकार (सञ्चारकर्मी) हुँदा विश्वास नहुनेमा आज मन्त्री भएपछि एकाएक विश्वास उम्लिएर आएको छ । किन ? किनकि उनीहरुले सत्य स्वीकारेका होइनन्, खेद्ने नियत राखेका हुन् ।

हिजो ‘इस्यू’लाई झिनामसिना भन्ने र प्रस्तुतिलाई अराजक ठान्ने केही पत्रकार (प्रस्तोता) आज इस्यूदेखि प्रस्तुतिसम्म रविकै नक्कल गरिरहेको छ । तर पनि ऊ हिजोको रविका कामलाई अझै पत्रकारिता स्वीकार्दैन । किनकि उसलाई रविको पत्रकारिता होइन, रवि नै मन पर्दैन । व्यक्ति नै मन नपरेपछि उसका कर्म झन के पच्थ्यो !

टीभीमा बोलेरै रवि ‘सेलिब्रेटी’ भएका थिए । अधिक प्रशंसक बटुलेका थिए । शालिकराम प्रकरणमा हिरासत बस्दा देशैभरबाट भरतपुरमा जम्मा भएका मानिसले उनको ‘क्रेज’ प्रस्ट्याएकै हो । उनी जहाँ-जहाँ पुग्थे त्यहाँ आश्चर्यलाग्दो भीड जम्मा हुन्थ्यो । टेलिभिजन प्रस्तोताका रुपमा अहिलेसम्म सर्वाधिक रुचाइएका पात्र रवि नै होलान् ।

तर, वर्षौंदेखि पत्रकारिता गरिरहेका अझ टेलिभिजनमा अनुहार देखाइरहेका तर ‘सेलिब्रेटी’ बन्न नसकेका केही पत्रकार (प्रस्तोता) रविप्रति त्यतिवेला पनि अनुदार थिए । किनकि रवि चर्चित बन्दै थिए ।

भनिन्छ नै, साथी पास भएकोमा भन्दा पहिलो (प्रथम) भएकोमा बढी डाह लाग्छ । आफूले पाउँला भन्ने ठानेको दर्शकको मायामा रविको ‘सिन्डिकेट’ बढ्दै जाँदा ती पत्रकार रविप्रति थप अनुदार बन्दै गयो । तिनै पत्रकार अहिले सञ्चारमाध्यमको मुख्य जिम्मेवार बनेका छन् । र, हिजोको इख रविको निन्दा गरेर मार्दैछन् ।

रविको नागरिकता मुद्दामा होस् या कार्यशैलीबारे, तिनले बनाउने न्यूज तथ्यपूर्ण र खोजमूलकभन्दा ‘मनोवाद’जस्ता छन् ।

हो, नागरिकता मुद्दा किनारा नलाग्दासम्म रवि सरकारमा सहभागी नभएको भए हुन्थ्यो । हुँदा पनि गृहको जिम्मेवारी नलिएको भए हुन्थ्यो ।

सार्वजनिक व्यवहार र बोली हेर्दा, सुन्दा मन्त्री भएपछि पनि रवि फेरिए झैं लाग्दैन । ठोकुवा नै गर्न त हतार होला । उनको शैली, व्यवहार र बोली सञ्चारकर्मी हुँदाको जस्तै देखिन्छ । तर, यो समाज विगतमा बनाएको नेताको परिभाषा, नामक र चरित्रभित्रै रवि पनि परोस् भन्ने धारणामा छ ।

रविको एउटा अप्रमाणित ‘गल्ती’ उजागर गर्न, फैल्याउन केही पत्रकार पत्रकारिताकै हुर्मत लिने हदसम्म पुग्दैछन् । यसले व्यक्ति (रवि)लाई भन्दा पत्रकारिता (पेशा) मै बढी क्षति गर्ने खतरा छ ।

रवि लामिछाने महत्वाकांक्षी छन् र चर्चाका लोभी पनि । यो रविको मात्र होइन, आम मानिसकै चरित्र हो । महत्वाकांक्षा र चर्चाको चाहनालाई दुर्गुण ठान्नुहुन्छ कि मानवीय स्वभाव ? तपाईं जे ठान्नुहुन्छ, त्यहीअनुसार नै रविप्रतिको दृष्टिकोण बन्छ, बनेकै होला ।

अरुको सफल हुने उद्देश्य चाहिँ लक्ष्य हुने, रविको चाहिँ महत्वाकांक्षा ? अरुको चर्चित हुने चाह चाहिँ नीति हुने रविको चाहिँ चर्चाखेती ?

सांसद हुने बित्तिकै रविले जनचाहनाअनुसार काम थाले । भलै, उनले गरेका काम सांसदको जिम्मेवारी हो कि स्थानीय सरकारको भन्नेमा प्रश्न उठाउन नसकिने चाहिँ होइन् ।

सांसद भएलगत्तै चितवनको मूल सडक तत्काल बनाउन उनले ठेकेदारलाई सम्झाए । सामुदायिक बनमा काठ तस्करीको सूचनापछि चासो दिए । जनतालाई पानी खुवाउँछु भनेर काम थाले । तर, एक जमातको स्थानीयको चाहना र रविको अगुवाइलाई ‘स्टन्ट’ ठम्याइहाल्यो । र, त्यही रुपमा प्रचार थाल्यो ।

सार्वजनिक व्यवहार र बोली हेर्दा, सुन्दा मन्त्री भएपछि पनि रवि फेरिए झैं लाग्दैन । ठोकुवा नै गर्न त हतार होला । उनको शैली, व्यवहार र बोली सञ्चारकर्मी हुँदाको जस्तै देखिन्छ । तर, यो समाज विगतमा बनाएको नेताको परिभाषा, नामक र चरित्रभित्रै रवि पनि परोस् भन्ने धारणामा छ । नयाँमा पनि पुरानै नेताको चरित्र खोज्ने पश्चगामी समाजका हामी रविमा पनि सत्ता र शक्ति मात चढेको हेर्न आतुर छौं ।

किनकि रविको कार्यशैली, व्यवहार र बोली हामीलाई ‘स्टन्ट’ लाग्न थालिसक्यो । पूर्ववत व्यवहारकै निरन्तरता चर्चाखेती लाग्न थालिसक्यो । मन्त्री भएपछि मान्छे ‘असामान्य’ भएको देखे/सुनेका हामीलाई सामान्य शैली, व्यवहार र बोली रविको कमजोरी लाग्न थालिसक्यो ।

फुटपाथमा साग किन्दा, विमानस्थलमा अरु यात्रुजस्तै छिरेर बस चढ्दा, सायद कुराकानी गर्नेसँग ‘फेस टू फेस’ हुन खाली सीटमा नबस्दा, चितवनमा जनतासँगै बसेर भात खाँदा, सशस्त्र प्रहरीको कार्यक्रममा फरक खालको हटाएर उस्तै सोफा राख्न भन्दा, अत्यावश्यक पर्दाबाहेक साइरन नबजाई हिंड्छु भन्दा, समान बिदाको दिन सरकारी गाडी नचढ्ने बताउँदा, आदेश होइन कानून पालना गर भन्दा र सरकारी कार्यालयका लम्बेतान लाइन हटाउने प्रयास गरौं भन्दा हामी रविलाई ‘अजासु’ भन्न थालिसक्यौं ।

विदेशी प्रधानमन्त्री, मन्त्री, नेताले जनतासँग कुराकानी गर्दा ‘वा, क्या गज्जब, हाम्रा नेता पनि यस्तै भइदिए !’ भन्छौं हामी । मार्टमा गएर सामान किन्दा, सार्वजनिक सवारी चढ्दा, नागरिकसँग सेल्फी खिच्दा वाहवाही गर्छौं हामी । तर, आफ्नै प्रधानमन्त्री, मन्त्री वा नेताले त्यस्तै गर्दा हामीलाई ‘स्टन्ट’ लाग्छ ।

हामीले जनतासँग साक्षात्कार गर्ने, भेट्दा मुस्कुराउँदै दोहोरो संवाद गर्ने, सुख-दुःख साट्ने, भावना बुझ्ने, सत्ता र शक्तिको रवाफ नदेखाउने, केही गर्छु भन्ने हुटहुटी भएको र फरक गर्न खोज्ने नेता खाजेका होइनौं ?

विदेशी प्रधानमन्त्री, मन्त्री, नेताले जनतासँग कुराकानी गर्दा ‘वा, क्या गज्जब, हाम्रा नेता पनि यस्तै भइदिए !’ भन्छौं हामी । मार्टमा गएर सामान किन्दा, सार्वजनिक सवारी चढ्दा, नागरिकसँग सेल्फी खिच्दा वाहवाही गर्छौं हामी । तर, आफ्नै प्रधानमन्त्री, मन्त्री वा नेताले त्यस्तै गर्दा हामीलाई ‘स्टन्ट’ लाग्छ ।

कि, नागरिकलाई रैतीको व्यवहार गर्ने, शान-सौकतलाई प्रतिष्ठा ठान्ने, जनतासँग साक्षात्कार गर्नै नचाहने, जबरजस्त दूरी राख्न खोज्ने हिजोकै जस्ता नेताको चारित्रिक निरन्तरता खोजेका हौं हामीले ?

हामीले हाम्रा नेता हिजोको भन्दा फरक शैली, व्यवहार र बोलीका होऊन् भन्ने ठानेका हौं भने रविप्रति किन यति धेरै अविश्वास र कुन्ठा ?

समकालीन नेपाली राजनीतिमा रवि पनि अब शीर्ष नेताको लहरमा बसेका छन् । अहिलेका शीर्ष नेतामध्ये ‘पब्लिकसँग संवाद’ गर्ने नेतामा केपी ओली दरिन्छन् । उनी पूर्वीय दर्शनदेखि नेपाली बोलीचालीका उखान टुक्कामार्फत विषयवस्तुलाई पव्लिकले बुझ्नेगरी संवाद गर्छन् ।

कहिले एलओडीमा पुगेर नाच्छन्, कहिले साहित्य महोत्सवमा गएर प्रवचन दिन्छन् । कहिले पत्नी राधिकासँग साग केलाउँछन्, कहिले साना बालबालिकासँग संवाद गरिरहेको भेटिन्टछन् । यो संवादशैलीमा पनि प्रश्न उठाउनेहरु छन् । झन् रवि त पब्लिकसँगै उभिएपछि स्टन्ट लाग्नु स्वाभाविक हो ।

हामी रविलाई सेवक देख्न चाहन्छौं कि शासक ? सेवक बन्ने लक्षण देखाउँदै गर्दा उनलाई शासक नै बन्न दबाब दिइरहेका त छैनौं ?

उनका गलत कामको स्वच्छ आलोचना गरौं । उनमा पनि नेताको पुरानै चरित्र देखिएला कि भनेर निरन्तर खबरदारी गरौं । केही मानवीय कमजोरीबाहेक राजनीति, समाज र आम मान्छेले खोजेझैं नेता बन्ने गुण उनीसँग छ कि भन्ने छनक देखिन थालेको छ । यो छनकमा खरो उत्रिन सकेनन्, बाटो बिराए र बोली तथा व्यवहारमा मेल खाएन भने भोलि ‘मुर्दावाद’कै नारा लगाउँला । नागरिकका रुपमा त्यो छुट हामीलाई सधैं छ ।

अहिलेलाई चाहिँ खबरदारीसहित उनलाई प्रोत्साहित गरौं । उनी मात्तिन्छन् कि भनेर निरन्तर निगरानी गरौं । अहिलेलाई स्वच्छ आलोचना गरौं, निन्दा होइन । दिन आएछ भने निन्दा पनि गरौंला ।


प्रतिक्रिया

One thought on “पत्रकार र ‘फर सी’ बुद्धिजीवीलाई प्रश्न- रविलाई सेवक देख्न चाहन्छौ कि शासक ?

  1. अरूको प्रगतिमा ईर्ष्या गर्ने र लुटन पल्केकाहरूले रवीको विरोध गर्छन । उनले पनि बस चढेको फोटो आफैं सार्वजनिक गर्नेजस्ता सस्ता प्रचारमा नलागेकै राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *