ब्राउन सुगर बेच्ने व्यक्ति देखाइदिने भन्दै प्रहरीको साथबाटै हत्कडीसहित भागे आरोपित
काठमाडौं । पुस २ गते सिंहदरबार प्रहरी वृत्तको नियन्त्रणमा रहेका एक लागु औषध कारोबारी हत्कडीसहित फरार भए । पक्राउ परेको भोलिपल्टै झापाको कमल गाउँपालिका–१ का राजेन्द्र थापा ट्याक्सीमा राखेर प्रहरीले निगरानी गरिरहेको अवस्थामा हत्कडीसहित फरार भएका थिए
।
थापा ब्राउन सुगरसहित पक्राउ परेपछि कारोबारको लहरो खोज्दै प्रहरी उनलाई लिएर बत्तिसपुतलीस्थित द्वारिका होटलनजिकै पुगेको थियो ।
बिहान साढे ११ बजे बत्तिसपुतलीमा ट्याक्सीमा पुगेको टोलीमा थापाबाहेक चार जना प्रहरी थिए । थापाले ठाउँ देखाएपछि ट्याक्सी रोकेर तीन जना प्रहरी त्यसतर्फ बढेका थिए । ट्याक्सीमा अगाडि चालक र पछाडि थापा र उनलाई कुरुवा बसिरहेका एक जना प्रहरी थिए। त्यहीबीचमा थापा हत्कडीसहित फरार भएका थिए ।
सरकारी वकिलसँगको बयानमा थापाले भनेका छन्, ’ट्याक्सी चालक अगाडि बसिरहनु भएको थियो । सोहीक्रममा ट्याक्सी चालक मोबाइल चलाउन व्यस्त भएको र मलाई निगरानी गरिरहेको प्रहरीको आँखा छली विस्तारै ट्याक्सीको ढोका खोल्दासमेत कसैले थाहा नपाएको हुँदा ट्याक्सीबाट निस्केँ ।’
प्रहरीले सोही दिनको राती नै थापालाई पक्राउ गरेको थियो। तर थापासँग हत्कडी नभएकाले प्रहरीले खोजी तिव्र बनायो। अनुसन्धानकै क्रममा कोटेश्वरमा रहेको सान्तोष आल्मोनियम प्रालीका सन्चालक सन्तोषकुमार कार्की र निश्चल श्री ज्यु ठकुरी पनि पक्राउ परे। आफ्नो हत्कडी ठकुरीले तोडेको बताएपछि प्रहरीले उनीसहित सन्चालकलाई पनि पक्राउ गरेको थियो। थापाले भने झैँ सान्तोष आल्मोनियम प्रालीबाटै काटिएको अवस्थामा हत्कडी फेला परेको थियो ।
करिब एक महिना हिरासतमा राखेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले थापा र ठकुरीविरुद्ध मात्र अभियोग पत्र दर्ता गर्ने र संलग्नता नदेखिएको भन्दै कार्कीलाई मुद्धा नचलाउने निर्णय गरेको छ। सरकारी वकिलसँगको बयानमा कार्कीले पुस २ गते बिहान १० बजे आफु कारखानाबाट खान खान कोठा निस्किएको र साँझ ५ बजे मात्र फर्किएको बताएका थिए ।
‘बेलुका कारखाना बन्द गरेर कोठामा गई खाना खाएर निश्चल श्री ज्यु ठकुरीको कोठामा गएकोमा सोही क्रममा निज ठकुरीले मलाई राजेन्द्र थापा हतकडीसहित प्रहरी कार्यालयबाट भागेर आएको रहेछ मलाई हतकडी काटिदिनुपर्यो भनेपछि मैले हतकडी काटि दिएको थिएँ त्यसपछि जि के कहाँ गए मलाई थाहा भएन भनि ठकुरीले बताएपछि मैले थाहा पाएको हुँ’, कार्कीले आफ्नो बयानमा भनेका छन् । थापाले पनि हतकडी काट्दा कार्की त्यहाँ नभएको बयान दिएका थिए । ठकुरीले पनि कार्की नभएको दावी गर्दै बयान दिएका छन्, ‘अन्दाजी १२.४५ बजेतिर ४ महिना अगाडि चिनेको राजेन्द्र थापा एकदमै आँत्तिएर मैले काम गरिरहेको ठाउँमा आई मेरो हातमा लगाएको हतकडी काटदेउ भनेपछि म काट्दिन पछि मलाई अप्ठेरो हुन्छ होला तपाई के भएर आउनु भएको भन्दा निजले मलाई हिजो प्रहरीले लागू औषधसहित पक्राउ गरेको थियो । आज म भागेर आएको हुँ । म कसैलाई पनि भन्दिनँ मेरो हातको हतकडी काटि देउ भनेपछि मैले फलाम काट्ने ग्यालेन्डरले दुवै हातमा लगाएको हत्कडी काटि दिएको हुँ । त्यसपछि राजेन्द्र थापा तत्कालै कारखानाबाट निस्किएर हिँडेका थिए ।
हत्कडीसहित बस चढेर मित्रपार्कसम्म, ट्याक्सी चढेर कोटेश्वरतर्फ
थापाले आफ्नो बयानमा प्रहरीबाट फुत्किएपछि बसमा चढेर मित्रपार्क, चाबहिलसम्म पुगेको बताएका छन् । त्यसपछि गुहेश्वरीसम्म पैदलै गरेर त्यहाँ ट्याक्सी चढेर कोटेश्वरस्थित आल्मोनियम कारखाना पुगेको बताएका छन् ।
‘ट्याक्सीबाट निस्की द्धारिका होटलको विपरीत साइड राम मन्दिरको गल्ली हुँदे रोडमा निस्केर बस चढी मित्रपार्क चाबहिल गई बसबाट ओर्लेर गुहेश्वरी गई ट्याक्सीमा चढी गौशाला चोक हुँदै कोटेश्वर पुगेको’, उनले बयानमा भनेका छन् ।
थापामाथि लागू औषध मुद्दामा अनुसन्धान भइरहेको छ । त्यसअघि नै उनी र ठकुरीविरुद्ध कारागार ऐन कसुरमा काठमाडौं जिल्ला अदालतमा पुस २९ गते मुद्दा दायर भएको छ । थापाविरुद्ध अनुमति बिना हत्कडी खोलेमा वा भाचेँमा कसुर गरेमा हुने ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ ।
ठकुरीविरुद्ध कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा हुने तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ । थापालाई धरौटी माग गरिएमा पनि उनी पुन प्रहरी हिरासतमा पुग्नेछन् । लागू औषध कसुरम ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । ट्याक्सीमा हत्कडीसहित अभियुक्तलाई कुरुवा बसेका प्रहरी जवानलाई कारबाहीस्वरुप नसिहत मात्र दिइएको छ ।