हवाई दुर्घटनामा ज्यान गुमाउने पाइलटदेखि यात्रुकाे कति हुन्छ बीमा रकम ? – Nepal Press

हवाई दुर्घटनामा ज्यान गुमाउने पाइलटदेखि यात्रुकाे कति हुन्छ बीमा रकम ?

काठमाडौं । आइतबार पोखराको सेती खोंचमा यती एयरको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । हराइरहेका ३ जनाको खोजी भइरहेको छ ।

विमानमा ४ जनाको चालक दलसहित ७२ जना सवार थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । नेपालको आन्तरिक उडानको इतिहासमा यो नै सबैभन्दा बढी मानवीय क्षति भएको हवाई दुर्घटना हो ।

हवाईजहाज दुर्घटना भएसँगै दुर्घटनामा ज्यान गुमाएकाहरुले कति बीमा रकम पाउँछन् भन्ने चासो बढेको छ । सामान्यतया संसारभर नै हवाईजहाजमा यात्रा गर्ने यात्रुको बीमा गरिएको हुन्छ । नेपालमा पनि सोहीअनुसार बीमाको व्यवस्था छ ।

नेपाली बीमा कम्पनीहरुले हवाई बीमाबापतको जोखिम ०.३० प्रतिशतमात्रै बहन गर्ने गरेका छन् । बाँकी विदेशी पुनर्बीमा कम्पनीसँग भर पर्दै आएका छन् ।

नेपालमा व्यवसायिक उडान सुरु भएदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमा शुल्क २० हजार अमेरिकी डलर छ । बीमा शुल्क बढाउन नागरिक उड्डयन प्राधिकरणले माग गर्दै पनि आएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने प्रतियात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको छ ।

यती एयरको विमान दुर्घटनाको अध्ययन तथा मूल्यांकन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पुनर्बीमामार्फत सिङ्गापुरबाट सर्भेयरसमेत झिकाएको डेपुटी सीईओ कमल गौतमले नेपाल प्रेसलाई जानकारी दिए । सर्भेयरले क्षति मूल्याङ्कन गरेपछि विदेशी पुनर्र्बीमा कम्पनीले नेपाली बीमा कम्पनीलाई दाबी रकम पठाउँछ ।

गौतमका अनुसार नेपालका हवाई बीमा लण्डन र युरोपका थुप्रै कम्पनीमार्फत पुनर्बीमा गराइएको छ । यता सरकारको अध्ययन प्रतिवेदनलाई पनि बीमा भुक्तानीको आधार मानिने गौतमले बताए ।

प्रतियात्रुको बीमा रकम २० हजार डलर

विमानमा ६८ जना यात्रु सवार थिए । ३ जनाबाहेक सवार सबै यात्रुको मृत्यु घोषणा भइसकेको छ । मृत्यु भएको एक जना यात्रुले २० हजार डलर रकम बीमावापत पाउँछ । यस आधारमा आजको अमेरिकी डलरको विनिमयदरसँग तुलना गर्दा एक यात्रुले २६ लाख रुपैयाँ बीमा रकम पाउनेछन् । आज एक अमेरिकी डलर बराबर १३० नेपाली रुपैयाँको विनिमयदर रहेको छ ।

प्रतियात्रु २६ लाखका दरले भुक्तान गर्दा ६८ जनालाई १७ करोड ६८ लाख रुपैयाँ बीमा कम्पनी र पुनर्बीमाले भुक्तान गर्नुपर्ने देखिन्छ । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम हो ।

त्यस्तै क्याप्टेनबाहेक अरु क्रु मेम्बरको हकमा भने ४० हजार डलर पाउने व्यवस्था रहेको डीसीईओ गौतमले जानकारी दिए । आजको विनिमयदरअनुसार एक क्रु मेम्बर बराबर ५२ लाख रुपैयाँ बीमा तथा पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पाइलटको हकमा भने एक लाख अमेरिकी डलर भुक्तान गर्नुपर्ने व्यवस्था रहेको बताए । आजकै विनिमयदरलाई आधार मान्दा पाइलटले एक करोड ३० लाख रुपैयाँ बीमा रकम पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर