पोखराको कन्सर्ट रद्द गरेकी मेलिना भन्छिन्- मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यहाँ कार्यक्रम गर्न दिएन
काठमाडौं । देशले ठूलो मानवीय क्षति भोगिरहेका समयमा त्यहीँ ठाउँमा पुगेर कार्यक्रम गर्न आफ्नो प्रतिष्ठा र भित्री आत्माले नदिएको बताउँदै चर्चित गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत हुने कार्यक्रम स्थगित गरेकी छन्।
आइतबार यती एयरको विमान दुर्घटनामा चालक दलसहित ७२ जनाले ज्यान गुमाएका थिए। सोही ठाउँमा पुगेर मनोरञ्जनसम्बन्धी कार्यक्रम गर्न आफूलाई गाह्रो भएकाले आयोजकले नभई आफूले नै सो कार्यक्रम रद्द गरेको कुरा उनले आफ्नो स्टाट्समा उल्लेख गरेकी छन्।
मेलिनाले सबै पीडितहरूमा समवेदना व्यक्त गर्दै लेखेकी छन, ‘ ‘मैले माघ ३ गते अर्थात आज पोखरा महोत्सबमा प्रस्तुति दिनेछु भनी पहिले नै जानकारी गराएको थिए। तर आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु । पोखरामा दुःखद् घटना घटेपछि मलाई यो कार्यक्रम गर्न साँच्चै गाह्रो भएको छ । मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्यो । म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु । मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन । मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु । प्रिय पोखरा म अर्को पटक भेट्नेछु। आफ्नो ख्याल राख्नुहोस्, सुरक्षित रहनुहोस् र स्वस्थ रहनुहोस्।’
विमान दुर्घटनामा चर्चित लोकगायिका नीरा छन्त्याल र गिटारिस्ट निशान्त आचार्यले पनि ज्यान गुमाएका छन्।