सुदन किराँतीको यातना डायरी : गोली लोड गरेर पनि रोकियो सेना
काठमाडौं । भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । तेस्रोपटकको संसदीय यात्रापछि मन्त्री बनेका किराँती लाहुरेका छोरा हुन् । तर, लाहुरेको छोरा हुनुको भौतिक सम्पन्नता त्यागेर जनयुद्धमा होमिएका थिए ।
२०६१ साल माघ १९ गते पूर्वराजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि मुलुकमा संकटकाल लागू भयो । माघ १९ को ‘कू’पछिको केही समयमै किराँती शाही सेनाद्वारा गिरफ्तारीमा परे । नेपाल र भारतको बोर्डर सिरहाको पटनारीमा माओवादीका सिरहा इन्चार्ज सुवास यादव, सेक्रेटरी अशोक मण्डल, किराँती र एक पत्रकार गिरफ्तारीमा परेका थिए ।
विराटनगरमा छातीको उपचारपछि सिन्धुली जान सिरहाको बोर्डर हुँदै जाँदै थिए । पटनारीमा माओवादीहरुले कन्ट्याक्ट लिएर बस्ने एक घर थियो । तर, किराँतीहरु पुग्दा माओवादी उक्त घरको सेल्टरबाट सिफ्ट भइसकेका थिए । त्यहाँ माओवादी विद्रोही छन् भनेर सूचना पुगिसकेको थियो ।
किराँती भन्छन्, ‘त्यहाँका मान्छेहरुले पनि सेना आएका छन् भन्दै थिए । अनि हामी हतारहतारमा हिँड्यौं । किनभने हामी डेन्जर जोनमा परिसक्यौं भन्ने आँकलन गरिसकेका थियौं ।’
हतारहतार बाइकमा कुद्न खोज्दा इन्चार्ज यादवले दिसा कुल्चिएपछि बाइक रोक्दै भने, ‘ओहो ! मैले त दिसा कुल्चेछु । दिसा सफा गरेर जाऔं न ।’
सुवास जुत्तामा पानी लगाएर झाडुले दिसा पुछ्न थाले । किराँती यही मौकामा सानो घरको पेटीमा बसेर दाँत माझ्न थाले । सेक्रेटरी अशोक मण्डल खाटमा एकछिन सुस्ताए । अर्का पत्रकार त्यतै बाहिर थिए ।
‘दाँत माझ्दै बाहिर हेरें । ओहो ! बाहिर त केटाकेटी र आइमाईहरू भागिरहेका छन् । ‘के भएछ’ भनेर फुत्त बाहिर निस्केको के थिएँ, ढ्याक्कै ६ जना सेना अगाडि !’, किराँती त्यो दिन सम्झन्छन्, ‘मैले केही थाहा नपाएजस्तो गरेर दक्षिणतिर अनुहार फर्काएको थिएँ । आत्तिनु पनि भएन । सेनाले ‘सी’ आकारमा घेरो हालिसकेको रहेछ । ती ६ जना चाहिँ ‘ओ’ आकारको घेरो हाल्न कुदेर आएका रहेछन् ।’
अचानक गोली चल्यो, भुटुटु….।
सेना बन्दुक सोझ्याएर किराँती नजिक आइपुगे, ‘हात उठा !’
किराँतीले हात उठाएनन् । हात नउठाएपछि पछाडिबाट बन्दुकको कुन्दा उनको टाउकोमा बज्रियो ।
भर्खर २३ वर्ष पुगेका थिए त्यसवेला । बन्दुकको कुन्दाले हिर्काएको ठाउँबाट रगत निस्कन थाल्यो । जुत्ता लगाएका थिए । तातो रगत जीउबाट विस्तारै लुसुसु खसेर जुत्ताभित्र पस्यो । यति भएपछि उनको आँखा बन्द भइगयो । भक्लक्क ढले ।
विस्तारै होस खुल्यो ।
गलबन्दी लगाएका थिए । त्यही गलबन्दीले हात पछाडि बाँधियो । आँखामा पट्टी बाँधियो । घिसार्दै घरको आँगनमा लगियो ।
सुदन भन्छन्, ‘त्यतिखेर साथीहरु त पक्कै पनि उम्किए होलान् भन्ने लागेको थियो । ममात्रै मधेसमा फेस नमिल्ने मान्छे थिएँ । साथीहरूको फेस मिल्थ्यो । आँखामा बाँधिएको पट्टीबाट नाकका कारण बनेको सानो प्वालबाट यस्सो बाहिर चिह्याएँ । साथीहरूलाई त गहुँबारीबाट पिट्दै ल्याइरहेका छन् । पत्रकार भने उम्किएछन् ।’
सुदनलाई अहिले पनि लाग्छ, पत्रकार उम्किनु नै आफूहरु बाँच्ने अवस्था बन्यो । त्यसवेलासम्म बीबीसीमा समाचार आइसकेको थियो । नत्र त पक्राउ गरेर मुठभेडमा मारियो भनिन्थ्यो ।
त्यसवेला पनि सेनाको वाकीत्वाकीमा आवाज आइसकेको थियो- ‘तिनीहरूलाई त्यतै व्यवस्थापन गरिदिनू ।’
किराँतीलाई अलि पश्चिम-दक्षिणतिर तान्दै लगियो । रुखमा बाँधियो । सशस्त्र, प्रहरी र आर्मीको युनिफाइड कमाण्ड थियो । एक सिपाहीले गोली लोड गरेको आवाज किराँतीले सुने ।
तर, कोही बोल्यो, ‘एकछिन पख ।’
बोल्नेले सुदनको देब्रे पाखुरामा समातेर भने, ‘भन प्रचण्डे र बाबुराम, बादल कहाँ छन् ?’
‘मलाई थाहा छैन ।’
‘ए, तँलाई थाहा छैन ? अब तेरो राम्रो बन्दोबस्त हुन्छ’, एकछिन रोकिएर बोले, ‘त्यसो भए तँलाई बाँच्ने मन छैन ?’
‘संसारमा सबै प्राणीलाई बाँच्ने मन त भइहाल्छ नि !’
‘तँलाई चाहिँ के गरुँ ?’
‘त्यसवेला मैले जेनेभा सन्धि सम्झिएँ । जहाँ भनिएको थियो कि कुनै पनि युद्धमा विपक्षीलाई गिरफ्तार गरेर मार्न पाइन्न । अनि तपाईंको युद्ध नीतिमा जे छ त्यही गर्नुस् भनें’, किराँती सुनाउँछन् ।
सवालकर्ताको आवाज आयो, ‘ओहो ! यो त ठूलो नेता हो क्यार ।’
फेरि ऊ नै बोल्यो, ‘एक घण्टा चाहिँ यसलाई नमारौं ।’
उनको एक घण्टा आयु बढ्यो ।
एक घण्टा सकिएपछि पनि किराँतीलाई मारेनन् । रुखबाट निकालेर हिँडाउन थाले । बीचमा खोला आएछ । एक सिपाहीले भने, ‘जुत्ता खोल भाइ । खोला तर्नुपर्ने भयो ।’
‘खोल्दिनँ, यतिकै तर्छु ।’
‘बाँचिस् भने त लगाउन पाउँछस् नि !’
‘सिपाहीको कुराले बाँच्ने आशा पलायो । जीवनप्रतिको मोहले मुटु ढुक्क फुल्यो’, किराँतीले त्यो खोला र मृत्युको मुखमै पुगेको पल सम्झिए ।
०००
पक्राउ परेकामध्ये एकजनाको झोलामा एक लाख ७० हजार रूपैयाँ थियो । उक्त पैसा सेनाका लागि दशैं जस्तो बनिहाल्यो । किराँतीलगायत तीनजना विद्रोहीलाई एक अँध्यारो कोठाभित्र थुने ।
सेना भन्थे, ‘यहाँ चाहिँ चारतले घर छ, कसैले सक्दैन ।’
भोलिपल्ट बिहानै चार बजे ट्याक्टरमा तीनैजनालाई चढाए ।
निकै हिँडेपछि पिच आयो । ट्याक्टर आइपुगेको थियो, सिरहा गोलबजार । त्यहाँ तीनैजनालाई आलुको बोरालाई जसरी लातले हुत्याएर झारे । भूईंमा किराँती पछारिएका के थिए, एकजनाले ताने । आँखामा पट्टी उस्तै, हात उस्तै बाँधिएको । अलि लगेर भने, ‘म इन्स्पेक्टर हो लहानको । दुर्भाग्य यार, अब आज राति तिमीहरूलाई मार्छन् । पुलिसतिर परेको भए बाँच्थिस् । आर्मीको गणमा परिस् । अब तेरो घरमा केही समाचार छ भने भिनिराख, म सुनाइदिन्छु ।’
सुदनको मनमा चुक घोप्टियो । मन सय टुक्रामा टुक्रियो । इन्स्पेक्टरले लगातार तीनपटक सोधेपछि मात्रे सुदनले भने, ‘छ ।’
‘के छ ? भन ।’
‘तिमीहरूको छोरालाई समाएका थियौं । आत्मसमर्पण गर्न मानेन, मारिदियौं ।’
इन्स्पेक्टर किराँतीलाई धाप मारेर गयो ।
गाडी आएको थियो । तीनजनालाई बोकेर गाडी पश्चिमतिर गयो । गाडी चुरे जंगलतिर सोझियो अनुमान थियो किराँतीको ।
किराँती भन्छन्, ‘जंगलमा गाडी निकैबेर रोकिएपछि टेलिफोनको रिङ बज्यो । आर्मीको क्याम्प थियो । पक्कै पनि रेडक्रसको मान्छेको फोन आएको हुनुपर्छ सोचें ।’
किराँतीका अनुसार उनीहरुलाई त्यहाँ १७ रात राखे । लगातार यातना दिए । राति ११-१२ बजे बाहिर निकाल्थे । सबैभन्दा पहिला सोध्ने, ‘तेरा नेता कहाँ छन् ?’ अनि यातना ।
एक हजार लिटरको पोलिट्यांकमा पानी भरिएको हुन्थ्यो । त्यहाँ टाउको डुबाएर निकैबेरसम्म राख्थे । बेहोस भएपछि पानीबाट निकाल्थे । कहिलेकाहीं गहिरो माटोको खाडलमा हालेर घाँटीघाँटी पुर्थे । अनि घाँटी छेउमा खुकुरी राख्थे । बलेको हिटरमाथि पिसाब फेर्न लगाउँथे ।
उनी सुनाउँछन्, ‘पिसाब फेर्दा करेन्ट लागेर थरर काँप्थें । अनि भक्लक्क लड्थें । एकदिन लाग्यो, म त मर्छु नै यहाँ । तर, मार्ने ठाउँ चाहिँ कस्तो रहेछ ?’
पछाडि बाँधेको हात घुमाएर अगाडि ल्याए । १७ दिनसम्म केही नखाएको ज्यान, सर्लक्कै घटेका थिए । पछाडि बाँधिएको हात सजिलै अगाडि आयो । हात अगाडि आएपछि आँखाको पट्टी अलिकति खोलेर हेरे । जमिनमुनि खनेर बनाइएको सुरुङमुनि थिए । माथि घर, तल सुरुङ । अगाडि फलामको गेट । सानो हावा छिर्ने प्वाल । धूलो टम्म ।
‘त्यसवेला मलाई लाग्यो, कति धेरै कुरा अरूलाई सुनाउन पाए पनि त हुने नि ! कुनै डायरीमा लेख्न पाए कति छिटो लेख्थें होला’, अलि भावनात्मक हुँदै भन्छन् किराँती, ‘त्यो दिन घर परिवारको बेस्सरी याद आयो । अब अरू दिन बाँच्न सकिन्छ भन्ने आशै थिएन । अब म मर्छु । यो बाटोमा लाग्ने मान्छे मेरो घरमा फेरि जन्मने छैन । अनि पार्टीले मलाई के भन्ला ? सहिद पनि होइन, बेपत्ता पनि भइसकेको छैन ।’
०००
सत्ताइस दिन बित्यो ।
सत्ताइसौं रात उनको दिमागमा एउटै कुरा खेलिरह्यो, ‘अब म एकदेखि दुई घण्टामात्र बाँच्छु ।’
उनले आफ्नो अनुहार हेर्न पाएका थिएनन् । जीउ उस्तै गनाउने भएको थियो । अर्धचेत अवस्थामा थिए । रातभर चिसोमा डुबाएर राखेका थिए । कपडा भिजेको थियो ।
किराँती थप्छन्, ‘देब्रे पाटो फत्रक्कै गलेको थियो । लामो सुरुङ । चैत लागेको समय । हिउँदको जाडोमा पसेको सर्प गर्मीमा निस्कँदा मेरो गर्धनमाथि आइपुगेको रहेछ । तर, मेरो भाग्य बलियो रहेछ । यतिञ्जेल बाँचेर जनताको सेवा गर्नुपर्ने रहेछ । मलाई कसो सर्पले डसेन !’
आर्मीहरू आए । सर्पलाई लठ्ठिने औषधि दिए । सर्पलाई कोट्याएर बाहिर निकाले । सर्प तानिँदा सुदन पनि तानिए । देब्रे पाखुराका छाला सबै घस्रिएर सकिए । उनका अनुसार रगत आएन, सेतो मासु सर्लक्कै देखियो ।
सुरुङबाट बाहिर निकाले ।
किराँतीका अनुसार त्यहाँ दुई खालका सेना थिए । एक खालका सेनाले ‘चकलेट खान्छौ ?’ भन्दै दिन्थे । अर्का भने पाँचथरका राई थिए । बेस्सरी पिट्दै भन्थे, ‘तँ राईको बैज्जत गर्ने ? हाम्रो वंशको बैज्जत गर्ने ?’
यतिञ्जेल उनको आँखाको पट्टी खुलिसकेको थियो ।
आँखाको पट्टी खुलेपछि उनलाई १८ नम्बरको सानो पोस्टमा राखियो । त्यहाँ सुदन सुतेको सुत्यै भए । चल्ने जाँगर भए पो चल्थे ! अलिअलि खानेकुरा पनि दिन थालेका थिए । मकवानपुरको सिपाहीले चकलेटहरू पनि दिन्थे ।
६३ दिनको बिहान । सुदनको आँखामा फेरि पट्टी बाँधियो ।
०००
पट्टी खोलियो ।
सिरहा जिल्ला कारागार । उनलाई ६ नम्बरको बेडमा सुताइयो । बेडमा भित्तो थियो । सानो झ्याल पनि । अलि पर चाहिं ऐना । उनलाई ऐना हेर्न खुब रहर लाग्यो ।
जेलमा रहेका सबै टोपी बुन्न गए । १२-१ बजेतिर सुदनले झ्यालको रड समाते । उठेर भित्ता समाउँदै-समाउँदै ऐना अगाडि पुगे । ऐना अगाडि उभिएर आफ्नो अनुहार हेरे ।
किराँती सम्झिन्छन्, ‘ऐनाअघि उभिँदा लाग्यो, ओहो ! यो कसको अनुहार हो ? कत्ले माछाको जस्तो अनुहार कसको हो ? मैले आफैंलाई चिन्न सकिनँ । मनमनै सोचें, थुक्क किन बाँचेको म ? न मलाई बाउआमाले चिन्छन् न त समाजले ।’
०००
जेलको २३ औं दिन ।
सुदन केही लेखिरहेका थिए । लेखेर सिरानीभित्र हालेर सिलाइहाल्नुपर्थ्यो ।
अचानक बाहिरबाट माइकमा नाम बज्यो, ‘सुदन किराँती !’
विस्तारै उठेर बाहिर गए । अगाडि फलामको गेटपारि बाउ टक्क उभिरहेका थिए । भूतपूर्व ब्रिटिस आर्मी । एकदमै कडा स्वभावका मान्छे । हाफ टी-सर्ट, टोपी पनि । एकदम दुब्ला । सुदन फलामे गेटका चेन पक्रिएर उभिए । बाउ–छोराको दूरी थियो, दुवैले हात लम्काउँदा भेटिने ठाउँको ।
बाउले छोरोलाई सीधा हेर्न सकेनन् ।
पश्चिम-उत्तरतिर फर्किएर छड्के हेरे ।
‘बुवाको आँखाबाट आँसु खसिरहेको थियो । उहाँ यति विघ्न रोएको पहिलोपटक देखेको थिएँ । आमा रोएको देखिरहेकाले आमा रोएको सुहाउने जस्तो लाग्थ्यो । बुवा रोएको एकदमै नसुहाउने ।’
बाउले आँसु पुछ्दै नाको स्वरमा भने, ‘छोरा, तँलाई मैले के देख्नुप¥यो । मन्त्री हुन्छु भनेर हिँडिस् । के मन्त्री भइस् हैन ?’
बाउको प्रश्नको अर्थ थियो, लाहुरे भइनस्, हङकङको आईडी थियो, गइनस् । घरमै पनि राम्रै राखेको थिएँ । गरिखाने ठाउँ थियो । लगायत…. ।
घाम डुब्न लागेको थियो । बाउले देब्रे खल्तीबाट तीन हजार रूपैयाँ झिकेर हात तन्काएर सीधा नहेरी दिए । अनि फर्किए । सुदनको आँखा बाउ गएतिर परसम्म बासँगै गइरह्यो । बाउ हराए ।
अहिले किराँतीका बाउ अस्पतालमा बिरामी छन् । पक्षघातका बिरामी बाउ किराँती मन्त्री भएको खबर सुन्नासाथ अचम्मित भएका छन् । र भनेका छन्, ‘हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं । मन्त्री भइस्, राम्रो गर्नू ।’
०००
२०६२ सालमा किराँती छुटे ।
जेलबाट निस्किएर सीधै घर आए । साँझमा आइपुगेका थिए । घरमा पटकपटक मरेको खबर पुगेको थियो । उनलाई हेर्न मान्छे आँगनभरि थिए ।
घरमा सोलार जोडिएको थियो । सोलारको बत्ती बलेको थियो । बत्तीमुनि आमा थिइन्, जो अहिले बितिसकिन् ।
सिरहा जेलमा अन्तिमबाट किराँतीलाई भेटेपछि बाउले घर छाडिसकेका थिए । किराँतीलाई भेटेपछि उतैउतै कता गएका थिए ।
किराँती सम्झन्छन्, ‘घरमा आमा अगेना छेउमा थिइन् । अलि वर म थिएँ, बाउ बस्ने ठाउँ छेउमा । हाम्रो राईहरूको घरमा बाउ बस्ने ठाउँ छुटै हुन्छ । आमाले चिम्टाले आगो चलाउनुभो । तर, आगो निभिसकेको थियो । मैले भनें, ‘आमाजी, ५४ वर्षमात्र पुग्नुभएको छ । कति बूढी देखिनुभएको ?’
आमा केहीबेर बोलिनन् ।
एकछिनपछि आमाले लामो बोलिन्-
‘जब तँ गिरफ्तार परिस् । एक महिनापछि मात्र हामीले थाहा पायौं । त्यस्तो खबर सुनेपछि मलाई अँध्यारो हेर्नै मन लागेन । यो घरभित्र त बस्नै मन लागेन । जतिवेला उज्यालो हुन्छ बाहिर कुदिहाल्थें । जति समाचार सुन्यो, मरेको र मारेकोमात्रै आउने । हाम्रो जिल्ला (भोजपुर)मा जताततै गोली पड्किने, लडाइँ हुने ।
बारीको डिलमा बस्थें । तँ आउने बाटो तल, वरपर, मास्तिर तीन बाटोतिर मात्र हेर्थें । काग कराउँदासम्म पनि के समाचार ल्यायो भनेर झस्किरहन्थें । मलाई घरभित्र पस्न मन लाग्दैन थियो । रात पर्यो । तर, भित्र पस्न मन लाग्दैन थियो । तैपनि अँध्यारोमा नदेखेपछि पस्नैपर्यो । अनि भित्र पस्थें ।
जर्किनमा रक्सी हुन्थ्यो । र, जर्किनबाटै रक्सी घटघट पिएपछि भन्थें, ‘बाँचेको छस् भने छोरा आइज, मरेको छस् भने चाहिँ रातभर घरमा तर्साउनू । मै बाँच्दाखेरि तेरो काजकिरिया गरिदिन्छु । अनि रक्सी खाएर सुत्थें । फेरि उज्यालो हुन्थ्यो, बाहिर दगुर्दै गएर तेरो बाटो हेर्थें ।
०००
भोलिपल्ट बिहानको ५ बज्यो ।
किराँतीलाई घरबाट हिँड्नु थियो । मामाको छोरो र कान्छो भाइ माथि मैयुङसम्म पु¥याउन आएका थिए । साथीहरूले त्यहाँ कुरिरहेका थिए । उनले झोला भिरे ।
जब झोला भिरे, आमा डाँको छाडेर रुन थालिन् । आमाले रुँदै भनिन्, ‘नजा छोरा । अब फेरि लडाइँ हुन्छ । तँ जितेर के गर्छस् र ! तँ गइस् भने यही दलिनमा झुण्डेर मर्छु ।’
सुदन भन्छन्, ‘अनेक हिसाबले आमालाई सम्झाएँ । तर, आमाजीले मान्नुभएन । आमालाई जसरी सम्झाउँदा पनि नमानेपछि सुदन मुटु मिचेर हिँडे । १५-२० मिनेट हिँडेपछि घरतिर फर्केर हेर्दा आमा घरभन्दा अलि पर गएर भूईंमा हात बजार्दै अनि आकाशतिर उठाउँदै रोइरहेकी थिइन् । टाढाबाट आमाको त्यो अवस्था देख्दा लागेको थियो, थुक्क ! दशधारा दूध खुवाएकी आमालाई त सम्झाउन सकिनस् । कसरी देश परिवर्तन गर्छस् ? लाहुरे लाग्छु भनेर झोला बोकेर घरदेखि हिँडेको भए फूलको घडा बनाएर, माला उनेर चेलीहरूले, आमाबाउले दही खुबाएर बिदाइ गर्ने जातिको छोरा म । यसरी हिँड्दा मेरो बाटो छेक्ने जातिको छोरा म ।’
साह्रै हृदय पोल्ने वास्तविक कथा
मन छोयो।
मर्मस्पर्शी
यो इतिहासकै ठुलो मर्म हो मलाई तपाइको इतिहासले भाभुक बनायो तपाइले दुख कष्ट गरेको कारणले अहिले मन्त्री बन्नु भएकोछ ।माननीय ज्यु बन्नु भएकोमा हार्दिक बधाई छ इतिहासिक काम गर्नुहुनेछ बधाई तथा शफल कार्यकालको शुभकामना ।
यो इतिहासकै ठुलो मर्म हो मलाई तपाइको इतिहासले भाभुक बनायो तपाइले दुख कष्ट गरेको कारणले दुखको फल मिठो पाउनुभएकोछ अहिले मन्त्री बन्नु भएकोछ ।माननीय ज्यु बन्नु भएकोमा हार्दिक बधाई छ इतिहासिक काम गर्नुहुनेछ बधाई तथा शफल कार्यकालको शुभकामना ।
कत्ति मर्म स्पर्सि मन छोयो जो पित्यो अध्यारा दिनहरु आबो भोजपुरको सबैइ आमाहरुलाई बाबालाई खुसि बनाइदिनु बिन्ति छ 🙏
ह्जुर्को निर्मम यातनाको लेख ले आँसु खसेयो येहि त्याग र बलिदान ले मन्त्री बन्नु भयेको छ जनयुद्ध का घाइते यातना पीडित हरुको सहारा बन्नु होला सुभकामना माननीय ज्यु
Great ! Great!!Great!!! Deshko laagi ramro garnu!!!!
मन्त्री बनेर कत्ति पनि नमात्तिनुहोला, युद्धताका गरिएका वाचामा शतिशाल भई उभिनुहोला, घाइते अपाङ्ग बेपत्ता र शहीदका सपनालाई आत्मसात गरेर अगाडी बढ्नुहोला शुभकामना छ माननीय ज्यू ।
😭😭😭
तपाईंको बास्तबिक भोगाइहरुले भाबुक बनायो माननीय ज्यु। जुन अठोट लिएर अघि बढ्नु भयो अहिले पूरा भएको छ। बधाई अनि सफल कार्यकालको शुभकामना छ।
🙏मा.सुदन किराती प्रति हार्दिक नमन तपाईंको कार्यकालमा प्रेम अालेकाे भन्दानि उत्कृष्ट बनाेस। सफलताको शुभकामना सेवा हाैवा