भू-उपयोग नीति कार्यान्वयनका लागि वडामा छलफल गर्दै भोजपुर नगरपालिका – Nepal Press

भू-उपयोग नीति कार्यान्वयनका लागि वडामा छलफल गर्दै भोजपुर नगरपालिका

टक्सार (भोजपुर) । भोजपुर नगरपालिकाले भू-उपयोग नीति कार्यान्वनका लागि सरोकारवालासँग छलफल थालेको छ ।

भू-उपयोग नीतिबारे अहिले वडास्तरीय अन्तरक्रिया सुरू गरिएको भोजपुर नगरपालिकाका कार्यक्रम अधिकृत सुरेन्द्र राईले बताए । भू-उपयोग ऐन, २०७६ र भू-उपयोग नियमावली, २०७९ मा भएका मापदण्ड तथा व्यवस्था र वर्गीकरणको विषयमा जानकारी गराइरहेको उनले जानकारी दिए ।

भू-उपयोग ऐन, २०७६ र नियमावली, २०७९ को व्यवस्था अनुसार यस जिल्लाका दुई नगरपालिकासहित ९ वटै स्थानीय तहले कार्यान्वयनमा ल्याउनेछन् । जग्गा वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्त्व र सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्यसहित १० क्षेत्रमा विभाजन गरिएको छ ।

भौगोलिक अवस्था, भूमिको क्षमता एवं आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भू-उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्नुपर्ने भनेकाले सोहीअनुसार स्थानीय तहले काम सुरू गरेका हुन् ।

भोजपुर नगरपालिकाले पालिकाभित्रका १२ वटा वडामध्ये १ देखि ९ वडासम्म अन्तरक्रिया गरिसकेको छ ।

कानूनी प्रावधानअनुसार राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, कर्मचारी, स्थानीय अगुवालगायतको सहभागितामा गरिएको छलफलले भू-उपयोग नीतिको कार्यान्वयमा टेवा पुग्ने भोजपुर-८ का वडाध्यक्ष नविन प्रधानले बताए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *