महेन्द्रनारायण निधीदेखि इन्दिरा रानासम्म- यी हुन नेपालका १२ उपसभामुख (सूचीसहित) – Nepal Press

महेन्द्रनारायण निधीदेखि इन्दिरा रानासम्म- यी हुन नेपालका १२ उपसभामुख (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाको इतिहासमा ९ जना सभामुख निर्वाचित हुँदा सोही अवधिमा उपसभामुख भने १२ भएका छन् । २०१६ सालको पहिलो प्रतिनिधिसभादेखि २०७९ सम्म आइपुग्दा ५ पुरुष र ७ महिला उपसभामुख बनेका हुन् ।

शनिवार निर्वाचित इन्दिरा रानामगर नेपालको संसदीय इतिहासमा १२ औं उपसभामुख हुन् भने महिलाको हिसाबले सातौं हुन् । पञ्चातकालको ३० वर्षको अवधिमा राष्ट्रिय पञ्चायतको अभ्यासबाहेक राजतन्त्र र गणतन्त्रकालीन प्रतिनिधिसभा,संविधानसभा र व्यवस्थापिका संसदसमेत गरी १२ उपसभामुख निर्वाचित भएका हुन् ।

यी हुन् हालसम्मका उपसभामुख

महेन्द्रनारायण निधी

नेपालको संसदीय इतिहासमा महेन्द्रनारायण निधी पहिलो उपसभामुख हुन् । निधी नेपाली कांग्रेसका तर्फबाट २०१६ सालमा उपसभामुख बनेका थिए । उनको कार्यकाल २०१६ चैत १८ देखि २०१७ पुस १ गतेसम्म थियो । निधी नेपाली कांग्रेसको महामन्त्रीसम्म बनेका थिए । उनका छोरा विमलेन्द्र निधी अहिले कांग्रेसबाट सांसद छन् ।

महन्थ ठाकुर

हालै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष रहेका महन्थ ठाकुर नेपालको दोस्रो उपसभामुख हुन् । बहुदल स्थापनापछिको पहिलो संसदमा उनी उपसभामुख बनेका थिए । ठाकुर नेपाली कांग्रेसबाट २०४८ सालमा उपसभामुख बनेका थिए । उनको कार्यकाल २०४८ साल असार ०९ देखि २०५१ साल पुस ०२ गतेसम्म थियो ।

रामविलास यादव

रामविलास यादव २०५१ सालमा उपसभामुख बनेका थिए । यादव राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट उपसभामुख बनेका थिए । यादवको कार्यकाल २०५१ पुस ०३ देखि २०५४ असोज २७ गतेसम्म थियो ।

लीला श्रेष्ठ सुब्बा

लीला श्रेष्ठ सुब्बा नेकपा एमालेबाट उपसभामुख बन्ने पहिलो हुन् भने नेपालको संसदीय इतिहासकै पहिलो महिला उपसभामुख हुन् । उनी २०५५ सालमा उपसभामुख बनेकी थिइन् ।

लीला उपसभामुख भएका बेला रामचन्द्र पौडेल सभामुख थिए । सभामुखको आसनबाट आफ्नो पार्टी विभाजन गर्न भूमिका खेलेपछि एमालेले रामचन्द्र पौडेलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।

उपसभामुखले महाअभियोग प्रस्तावको छलफलको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था रहेकाले आफ्नो बहुमत नभएका कारण एमालेले लीलालाई राजीनामा गराउने कच्चा खेल खेलेको थियो । त्यसबापत लिलाको पद गयो र तत्कालीन मालेका भोजराज जोशी उपसभामुख बनेका थिए ।

उनी २०५५ साल असोज २४ गतेसम्म उपसभामुख थिइन् । लीला सुनसरी १ बाट २०४१ मा निर्वाचित भएकी थिइन् ।

भोजराज जोशी

एमाले विभाजनपछि नेकपा मालेका भोजराज जोशी उपसभामुख चयन भएका थिए । नेकपा एमालेबाट फुटेर गठन भएको नेकपा माले पार्टीको तर्फबाट उनी २०५५ असोज २८ गते उपसभामुख चयन भएका थिए । उनको कार्यकाल पनि छोटो नै रह्यो उनी २०५५ चैत ०९ गतेसम्म प्रतिनिधिसभाको उपसभामुख थिए । त्यसपछि आम चुनाव भएको थियो । भोजराज जोशी अहिले एमालेको केन्द्रीय अनुशासन आयोगको उपाध्यक्ष छन् ।

चित्रलेखा यादव

नेपाली कांग्रेसकी नेतृत्व चित्रलेखा यादव २०५६ सालको आम चुनावपछि आएको संसदको उपसभामुख बनेकी थिइन् । माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला उनी उपसभामुख थिइन् । २०५६ असार १५ उपसभामुख चयन भएकी यादवको कार्यकाल २०६३ माघ ०३ गतेसम्म रह्यो । उनले शाही शासनको बेला सडकबाटै सभामुखको रुपमा संसद संचालन गरेकी थिइन् । पुनस्र्थापित संसदमा सुवास नेम्वाङ सभापति भएपछि उनी असन्तुष्ट बनेकी थिइन् । हाल यादव कांग्रेस नेतृत्वमै छिन् र हालैको निर्वाचनमा सिरहा २ बाट जसपाका राजकिशोर यादवसँग पराजित भइन् ।

पूर्णकुमारी सुवेदी

शान्ति प्रक्रियामा आएर पहिलो संविधानसभा निर्वाचनमा भाग लिएको माओवादी केन्द्रबाट पहिलो पटक उपसभामुख बन्ने नेतृ हुन् पूर्णकुमारी सुवेदी । उनी २०६५ मंसिर १३ गते उपसभामुख चयन भएकी थिइन् । उनको कार्यकाल देखि २०७० मंसिर ०४ गतेसम्म रह्यो । हाल उनी माओवादीमा क्रियाशील छन् ।

ओनसरी घर्ती

पुर्णकुमारी सुवेदीपछि पनि माओवादीले महिला नेतृलाई उपसभामुख बनाएको थियो । माओवादीबाट ओनसरी घर्तीले उपसभामुख बन्ने अवसर पाइन् । २०७० फागुन १४ उपसभामुख चयन भएकी घर्तीको कार्यकाल २०७२ असोज २७ गतेसम्म रह्यो । घर्ती २०७४ पछि सभामुख समेत भइसकेकी छन् । यो पटक निर्वाचनमा काठमाडौं २ बाट पराजित भएका कारण संसदमा उनको उपस्थिति छैन् ।

गंगा प्रसाद यादव

२०७२ मा संविधान जारी भएपछि ओनसरी व्यवस्थापिका संसदको सभामुख भएपछि गंगा प्रसाद यादव राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । उनको कार्यकाल २०७२ असोज २७ देखि २०७४ असोज २९ गतेसम्म रह्यो । यादव त्यसपछि एमालेमा प्रवेश गरेर सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त समेत भएका थिए ।

डा.शिवमाया तुम्बाहाङ्फे

नेकपा एमाले र माअ‍ोवादी केन्द्रको एकतापछि एमालेकी डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख चयन भएकी थिइन् । उनको कार्यकाल २०७४ चैत ०४ देखि २०७६ माघ ०६ गतेसम्म रह्यो । तत्कालीन सभामुख कृष्णवहादुर महरा बलात्कार केसमा परेपछि उनले लामो समय कार्यवाहक सभामुखको भूमिका समेत निर्वाह गरेकी थिइन् । उनी त्यसपछि मन्त्री समेत भइन् । हाल उनी एमाले स्थायी कमिटी सदस्य तथा संसदीय विभाग प्रमुख छिन् ।

पुष्पा भुसाल

पुष्पा भुसाल नेपाली कांग्रेसको तर्फबाट उपसभामुख बनेकी थिइन् । अग्नि सापकोटा सभामुख भएपछि लामो समय उपसभामुख चयन नभएकाले अन्तिममा भुसाल निर्वाचित हुने मौका पाइन् प।प तत्कालिन समयमा उनको कार्यकाल २०७९ असार ३१ देखि २०७९ असोज ०१ गतेसम्म रह्यो।

इन्दिरा राना

इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभामुख निर्वाचित भएकी छन्। उनी २०७९ माघ ७ गते उपसभामुख निर्वाचित भएकी हुन्। अन्यथा नभएमा उनको कार्यकाल आगामी पाँच बर्षको रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर