निर्माण आयोजनाले अवैध उत्खनन गरेपछि उपमहानगरको अंकुश – Nepal Press

निर्माण आयोजनाले अवैध उत्खनन गरेपछि उपमहानगरको अंकुश

रुपन्देही । बुटवलको तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले अंकुश लगाउन थालेको छ ।

कोरिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले सरोकारवाला टोलीलाई लिएर फिल्डमै पुगेर नियन्त्रणको पहल थालेको हो ।

शुक्रवार बुटवल उपमहानगरपालिकाको अगुवाइमा सरोकारवालासहितको टोलीले अनुगमन गरी नदीजन्य पदार्थ प्रयोग गरेवापत् निर्माण कम्पनी राजस्वको दायरामा आउने, अवैध उत्खनन र ओसारपसार रोक्ने निष्कर्ष निकालेको थियो ।

शुक्रवारको अनुगमनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा शनिवार बसेको बैठकले राजस्वको दायरामा नआएको निर्माण व्यवसायीलाई राजस्वको दायरामा ल्याउने र निरन्तर अनुगमन तथा नियमन गर्ने निर्णय गरेको हो ।

बैठकले तिनाउ र दानव नदीमा भइरहेको दोहन नियन्त्रण गर्नका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका र सरोकारवाला निकायका बीचमा समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

तिनाउ–दानव करिडोर निर्माणका क्रममा सञ्चालन हुने उपकरण तथा ढुवानीका साधनबारे पूर्व जानकारी गराउने र नदीजन्य पदार्थ उत्खनन र ढुवानी बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्ममात्रै गर्ने निर्णय बैठकले गरेको छ ।

तिनाउ–दानव करिडोर निर्माण पक्षसँग नदीमा उत्खनन र ओसारपसारमा समन्वय र नियमन गर्नका लागि बैठकले बुटवल उपमहानगरपालिकाका राजस्व अधिकृतको नेतृत्वमा समिति बनाएको छ ।

समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र वडा कार्यालयका प्रतिनिधि रहने निर्णय बैठकले गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउ दानव करिडोर निर्माणमा पूर्ण सहयोग हुने बताउँदै निर्माणका क्रममा अवैध उत्खनन र निकासी हुन नदिन निर्माण पक्षपनि चनाखो हुनुपर्ने बताएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रुपन्देहीमा कसैले पनि नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार गर्न नपाउने बताउँदै नियमनमा सहकार्य गर्ने भन्दै आयोजनालाई अनुमति बेगर यस्ता वस्तु प्रयोग नगर्न निर्देशन गरे ।

सडक डिभिजन कार्यालय बुटवलका होमबहादुर एसीले नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा निर्माण पक्षले नियमसंगत तरिकाले काम गर्नुपर्ने सुझाए । सो आयोजनाको निर्माण कम्पनी लामा बिरुवा जेभीका दीपेन्द्र डंगोलले बुटवल उपमहानगरपालिकालाई नदीजन्य पदार्थवापतको राजस्व बुझाउने र आगामी दिनमा बुटवलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो आयोजनाले आफूखुसी नदीजन्य पदार्थ निकालेको भन्दै स्थानीयको उजुरीका आधारमा उपमहानगरको समन्वयमा सबै टोलीले फिल्डमै पुगेर अनुगमन गरेको थियो । औद्योगिक क्षेत्रका भोलानाथ भुजेल, निर्माण व्यवसायी अञ्जु भुसाल, वडाध्यक्षहरू ज्ञानबहादुर रेश्मी, गुरुप्रसाद पंगेनी, रामचन्द्र क्षेत्री, डिल्लीप्रसाद शर्मा उपाध्यायलगायतले कानुन विपरीत नदीजन्य पदार्थ उत्खननलाई रोक्नुपर्ने सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर