प्रदेश सांसद आस्थाले भोगेको जनयुद्ध: ‘श्रीमान् शहीद भइसकेका थिए, उनी बन्दुक पड्काइरहेकी थिइन्’ – Nepal Press
नेपाल टक

प्रदेश सांसद आस्थाले भोगेको जनयुद्ध: ‘श्रीमान् शहीद भइसकेका थिए, उनी बन्दुक पड्काइरहेकी थिइन्’

काठमाडाैं । कमरेड सुस्पा भुजेल ‘आस्था’ प्रदेश सांसद भएपछि आमालाई फोन गरेर सोधिन्, ‘आजकल त खुशी हुनुहुन्छ होला नि ?’ आमाले भनिन्, ‘खुशी छु नि ।’

‘किन खुशी लाग्यो तपाईंलाई ?’

आस्थाको घरमा निराशा थियो । ज्वाइँ विजयकुमार न्यौपाने ‘शैलेश’ सिन्धुपाल्चोकको चौताराको अन्तिम लडाइँमा शहीद भएका थिए । दिदीको चाहना थियो, आस्थाले सरकारी जागिर खाओस् । दिदीले सानैमा विवाह गरेकी थिइन् । राम्रोसँग पढ्न पाएकी थिइनन् ।

आस्थाको प्रश्नमा आमाले भनेकी थिइन्, ‘म जस्ताले जन्माएका छोरी सांसद भई । भगवानले पनि यसरी हेर्दा रहेछन् नि !’

आस्थाको सांसदसम्मको उबडखाबड यात्रा चुडान्त दुःख र सपनाले भरिएको छ । अनि हिम्मत नहार्ने र हरेस नखाने स्वभावले हरेक अप्ठ्याराहरुलाई जितेर आएकी छन् ।

२०६३ साल वैशाख १० गते माओवादी जनयुद्धकै अन्तिम लडाइँमा आफ्नो श्रीमान् गुमाएकी थिइन् आस्थाले । सिन्धुपाल्चाेकको चौतारामा बिहान ४ बजेसम्म युद्ध लडिन् । बिहान ६ बजे सरकार र माओवादीले युद्धविरामको घोषणा गरिदियो । त्यही अन्तिम लडाइँमा जम्मा २१ वर्षीया आस्थाको सिन्दूर पुछियो ।

स्कुल ड्रेस थन्काएर कमब्याटमा कमरेड आस्था

२०५७ साल । आस्था जम्मा १४ वर्षकी थिइन् । सिन्धुलीको नयाँखर्क माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्दै थिइन् । तर, परिस्थिति यस्तो बन्यो कि उनले स्कुल ड्रेस र पुस्तकहरुलाई घरमै थन्काइन् । जिउमा कमब्याट, झोलामा बारुद र दिमागमा क्रान्तिको सपना बोकेर युद्धमा होमिइन् ।

स्कुलमा विद्यार्थी संगठन बनाउन कमरेडहरु आएका थिए । आस्था पनि संगठनमा आबद्ध भइन् । उनलाई क्रान्तिका आयाम र औचित्यबारे पढाउन हिराबहादुर बिक राजनीतिक गुरु बनेर आएका थिए । उनै बिकले सुस्पालाई ‘आस्था’ बनाइदिए । नयाँ न्वारान गरेर आस्था बनिन् । नयाँ आस्थामा क्रान्ति र परिवर्तनको भ्रुणको बिजारोपन भयो ।

एक दिन बिकले भने, ‘सिन्धुलीको चकमकेमा विद्यार्थीको कार्यक्रम छ, जाऔं ।’

आस्था कार्यक्रममा गइन् । सांस्कृतिक कार्यक्रम थियो । अरुले पनि प्रस्तुति दिए । आस्थाले पनि दिइन् । कार्यक्रमकै बीचमा भिडन्त सुरु भयो । सबै तितरबितर भए । आस्था पनि तीनचार दिन भागदौडमा जंगल-गाउँतिर रहिन् ।

तीनचार दिन हराएकी आस्था के मुख लिएर गाउँ फिर्ने ? प्रहरीले उनीबारे थाहा पाइसकेको थियो । घर फर्किंदा मृत्युले बाटो ढुकिरहेको थियो । पार्टीले पनि आशंकाको दृष्टिले हेर्ने सम्भावना थियो । अनि उनले निर्णय लिइन्, ‘अब घर फिरेर पनि मर्नु नै छ । अपहरणमा परेर मुठभेडमा मारियो भन्नुभन्दा बरु युद्धमोर्चामै हाँसीहाँसी मर्छु । शहीद हुन्छु ।’

संगठनमा सक्रिय भइन् । भूगिगत रुपमै संगठन विस्तार गर्दै हिँडिन् । विद्यार्थी संगठन बनाउनु आस्थाको मूल जिम्मेवारी थियो । संगठनमै रहँदा क्रान्तिकारी पुस्तकहरु पढिन् । जन्मनु र बाँच्नुको अर्थ खोज्न थालिन् ।

एक वर्ष विद्यार्थी संगठनमा काम गरेपछि पार्टी राजनीतिमा प्रवेश गरिन् । जिल्ला कमिटी सदस्य बनिन् । त्यही वेला २०५८ सालमा सिन्धुलीको भिमानमा भीषण लडाइँ भयो । भदौ महिना, खेतमा धान भर्खरै फुल्न थालेका थिए । खेत झुलुमुलु थियो । साथै हिलो नै हिलो थियो ।

आस्थाले जिम्मेवारी पाइन्, रनरको ।

युद्धमा रनरको भूमिका विशेषमात्रै थिएन, उत्तिकै संवेदनशील पनि । एक ठाउँको खबर अर्को ठाउँमा पुर्‍याउनुपर्ने । कहाँको कति घाइते भए, कहाँ थप फोर्स आवश्यक पर्‍यो, कहाँ हतियार आवश्यक पर्‍यो ? सबै सूचना बोकेर यताउता गर्नुपर्ने काम रनरको हुन्छ ।

१५ वर्षकी आस्थाले भूमिकाअनुरुप काम गरिरहिन् । चारैतिर गोली पड्किरहेको थियो । कानै छेउबाट गोली गइरहेको थियो । युद्धमा कमरेडहरु घाइते भइरहेका थिए । बेन पोजिसनमा निहुरिएर हिँड्नुपर्थ्यो । उभिएर हिँड्दा गोली लाग्ने सम्भावना ज्यादा हुन्थ्यो । तैपनि विभत्स परिवेशमा काम गरिरहिन् ।

त्यति कलिली केटी आस्थालाई डर लागेन ?

आस्थाको उत्तर छ, ‘डरै नलाग्ने ! साथीहरु कोही पनि कमजोर स्थितिमै नहुने । यता हे¥यो, जित्ने नै हो भन्छन् । उता हेर्‍यो, मरे शहीद हुने हो, बाँचेर जितेरमात्रै आउने हो भन्छन् । कोही हार्नै नमान्ने ! त्यस्तो माहोलमा डराउने भन्ने नै नहुने रहेछ । हराएको आत्मबल पनि यत्तिकै बौरिएर आउने ।’

जब आस्थाको काँधमा सटगन आइपुग्यो

२०६० सालमा जनमुक्ति सेनामा प्रवेश गरिन् आस्था । जनमुक्ति सेनामा योद्धा कम भइरहने । घाइते, अपांग बढी हुने । मृत्यु हुनेको संख्या पनि उस्तै हुने । पार्टीको जिल्ला कमिटीले त्यसको परिपूर्ति गर्नुपर्ने । जनमुक्ति सेनाको फर्मेसन बनाउँदै जानुपर्ने । फोर्स थप्दै जानुपर्ने ।

जिल्ला कमिटीले सेना हुन योग्यलाई छनोट गरेर पठाउँथ्यो । जिल्ला कमिटीमा थिइन् आस्था । उनको आँट, हिम्मत र क्रान्तिप्रतिको दृढ प्रतिज्ञा देखेर जिल्ला कमिटीले सुस्पालाई जनमुक्ति सेनाका लागि सिफारिस गर्यो । जतिवेला जम्मा १७ वर्षकी किशोरीमात्रै थिइन् उनी ।

सिन्धुलीकै अहिलेको मरिन गाउँपालिकामा माओवादीको आधार क्षेत्र थियो । पार्टीले त्यहाँ गएर जनमुक्ति सेनालाई सम्पर्क गर्नू भनेर पठाएको थियो । एकातिर आस्थालाई खल्लो लागिरहेको थियो । शारीरिक हिसाबबाट हाइट पनि कम थियो । धेरै साथीहरुसँग छुट्नुपर्दा उनको मन खुम्चिएको थियो । सँगै विशेष योद्धा हुँदाको थप रोमाञ्चकता पनि थियो ।

मरिनमै तालिम थियो । तालिम सिक्दै गइन् । पार्टीले सिफारिस गरेर पठाए पनि तीन महिना इन्क्वाइरी हुन्थ्यो । योग्य छ कि छैन भनेर हेरिन्थ्यो । जिल्ला कमिटीले सेक्सन कमाण्डर बनाउनु भनेर पठाएको थियो ।

यसरी १४ वर्षमा युद्धमा होमिएकी आस्था १७ वर्षमै जनमुक्ति सेनाको सेक्सन कमाण्डर बनिन् ।

जनमुक्ति सेना भएपछि उनको कलिलो काँधमा पमसेट हतियार आइपुग्यो । जसलाई सटगन पनि भन्छ । पमसेटले छर्राहरु हान्छ । बाहिर प्लास्टिकको हुन्छ । बट भने काठको हुन्छ । हल्का पनि हुन्छ । छर्रा फाल्ने भएकाले दुश्मनहरु एकदमै नजिक हुँदा छरर हानेर घाइते बनाउँछ ।

पमसेट बोकेर आस्था युद्धमोर्चामा खटिन थालिन् । पूर्वमा राजाले सेनालाई ब्यारेकबाट बाहिर निकालिसकेको थियो । पहिलो लडाइँ नै फापरबारीमा दिउँसै भयो । सेना आएको सूचना पाएपछि आस्थाहरु सेफ साइड लिएर बसे । सेना पनि पोजिसन लिएर युद्धका लागि तम्तयार भए । केही क्षण भिडन्त भयो । सेनाको सानो ट्रुप गास्तीमा आएकाले उनीहरु ब्याक भए । आस्थाहरुले पनि लखेटेनन् । किनभने उनीहरुलाई थाहा थियो, विनायोजना लडेको लडाइँमा हार पनि हुनसक्छ ।

छेवैमा ढलेको कमरेडले पानी माग्दा दिन सकिएन

काभ्रेको पनौतीमा पनि ठूलै लडाइँ लडिन् आस्थाले । अन्य आधा दर्जन सानाठूला लडाइँ लडिसकेकी थिइन् । सबैभन्दा सम्झने लडाइँ भनेको मकवानपुरको झुरझुरेको लडाइँ हो ।

सुस्पाहरु भिडन्त गर्न हिँडेका थिएनन्, अर्कै मिसनका लागि हिँडेका थिए । तीनवटा कम्पनी थियो । सेना आएको छ भनेर सूचना त पाएका थिए । तर, लडाइँ हुने कुरामा यकिन थिएनन् । आस्था प्लाटुन कमाण्डर बनिसकेकी थिइन् । सेना नै अगाडि आइसकेपछि आस्थाहरु भागे ।

‘हामी भिडन्त गर्ने मनस्थितिमा थिएनौं । सेना पनि त्यस्तो मनस्थितिमा थिएनन् । तर, भेटै हुने अवस्था आएपछि उनीहरु माथि डाँडामा गए । हामी तल बस्यौं’, आस्था सुनाउँछिन् ।

सबै युद्ध योजनाबद्ध हुन सक्दैन । कुनै अपर्झट भइदिन सक्छ । दुश्मनले आक्रमण गरेपछि प्रतिकार गर्नैपर्‍यो कि त भाग्नुपर्‍यो । तर, तत्कालै आक्रमण गर्ने योजना बनाए आस्थाहरुले ।

आक्रमणका लागि टीम विभाजन भयो । सबै कमरेडहरु आ-आफ्नो टीम लिएर मुभ भए । त्यही झुरझुरेको लडाइँमा सुस्पा पहिलोपटक फस्ट एसल्ट कमाण्डर बनिन् । सहायक कमाण्डर वसन्ती राई थिइन् । एलएमजी हान्न सक्थिन् राईले । ठूलो ज्यान भएकाले भारी पनि बोकेर कुद्न सक्थिन् ।

फस्ट एसल्ट टोली युद्धमा सबैभन्दा अगाडि गएर आक्रमण गर्छ । त्यसपछि सेकेण्ड एसल्ट ग्रुप, थर्ड एसल्ट ग्रुप, रिजर्भ ग्रुप हुन्छन् ।

आस्था सुनाउँछिन्, ‘महिलाले केही गर्न सक्दैन भन्थे । महिलाले छोएको बन्दुक नै पड्किँदैन भन्ने पितृ सत्तात्मक सोच थियो । महिलालाई पुरुषको पछि लाग्ने जात भनिथ्यो । त्यस्तो अवस्थामा हामीले प्रत्यक्ष कमाण्ड सम्हाल्यौं । कि सदाका लागि मरियो कि त जितेर आइयो ।’

माथि डाँडोमा सेना पनि पोजिसन लिएर बसेको थियो । तलबाट उकालो भीर थियो । फायर खोलिसकिएको थियो । माथिबाट हानिएको एलएमजीको गोली कान छेउछेउ हुँदै गएको छ । ट्वीन्स पड्काएको छ र पनि विस्तारै अगाडि बढ्दा आस्थाहरु सेनाको क्याम्प नजिकै पुगे ।

त्यो भयानक युद्ध सम्झिन्छिन् आस्था, ‘नजिक पुगेपछि अँध्यारोमा को साथी र को छोरा छुट्याउनै गाह्रो भयो ।’
आस्थाभन्दा सिनियर कमाण्डर थिए सिन्धुलीका सिद्धार्थ तामाङ । दुवै सँगै बसेर बन्दुक पड्काइरहेका थिए । एकैछिनपछि तामाङ ड्यांगै लडे । त्यो विभत्स अवस्था सास रोकेर सम्झिन्छिन् आस्था, ‘गोली लागेपछि उहाँले पानी पानी भनिरहनुभएको थियो । मैले पानीसमेत दिन सकिनँ ।’

बेलुका ७ बजे सुरु भएको युद्ध बिहान ४ बजेसम्म भयो । सेनातिर पनि ठूलो क्षति भयो । उनीहरुको क्याम्पमा खप्परका टुक्राहरु भेटिएका थिए । सेनाले पनि भए जत्ति शक्ति खर्च गर्‍यो । आकाश र जमिन दुवैतिरबाट निरन्तर आक्रमण ग¥यो ।

झुरझुरेमा ३२ जना जनमुक्ति सेनाको शहादत भयो ।

भोलिपल्ट आस्थाहरु गए । कसैको छातीमा गोली लागेको थियो, कसैको घाँटीमा । कसैको ढाडमा खानेकुरा र बारुद जस्ताको तस्तै थियो । कतिपय जनमुक्ति सेनाले घरपरिवारलाई लेखेका डायरी र चिठीहरु यत्रतत्र छरिएका थिए ।

‘हामीले ३२ जनालाई श्रद्धाञ्जली दिएर फर्कियौं’, आस्था सुनाउँछिन् ।

अग्नि सापकोटा, वर्षमान-ओनसरीलाई जोगाएको युद्ध

सिन्धुपाल्चोकको ठोक्करपा भिडन्त । सार्वजनिक विद्यालयमा सेनाले आक्रमण गरेको थियो । संसारकै नमुना लडाइँ भनेर त्यसवेला बीबीसीले समाचार पनि छापेको थियो । विद्यार्थीले पढिरहेको वेला आक्रमण गरिएको थियो ।

त्यसपछि दाह्रेगौंडा काभ्रेमा ठूलो भिडन्त भयो । जनमुक्ति सेनाले नेपाली सेनालाई आक्रमण गरेको थियो । त्यहाँबाट ठूलो मात्रामा हातहतियार पनि जनमुक्ति सेनाले प्राप्त गरेको थियो । त्यस युद्धमा बटालियन कमाण्डर अनिश तामाङले शहादत प्राप्त गरे ।

जनमुक्ति सेनाले त्यस युद्धबाट सफलता पायो भनेर दोलखामा देवी खड्का ‘अस्मिता’लगायतले स्वागत कार्यक्रम राखे । व्युरो इन्चार्ज अग्निप्रसाद सापकोटा थिए । सँगै वर्षमान पुन, ओनसरी घर्ती थिए । युवराज दुलाल, देशबन्धु थिए ।

आस्थाको एलएमजी टोली नेताहरुको सुरक्षाका लागि गयो । तर, कार्यक्रम एक्सपोज भइसकेको थियो । कार्यक्रमस्थलमा एकैछिन के पुगेका थिए, फाइटर विमान रेकी गर्न आयो र फिर्ता भयो । एकैछिनमा तीन खोलाबाट तीन हेलिकोप्टर भुरुरु उड्दै आएर आक्रमण गरिहाल्यो । ट्वीन्स खसाउन थाल्यो ।

आस्थाले पहिलोपटक एसएमजीको गोली त्यही देखिन् । मोटोमोटो गोलीको वर्षा नै गर्‍यो । ‘एसएमजीको गोली जहाँ लाग्यो, सर्लक्कै चुँडाएर लाने । मकवानपुरकी नमुनाजीको देब्रे हात सर्लक्कै चुडाइदियो । अहिले उहाँको देब्रे हात छैन । प्रतिमा कमरेडका फिलादेखि तलैसम्म चिरिएको छ । अहिले पनि उहाँ स्टिल लगाएर हिँड्नुभएको छ’, त्यो युद्ध सम्झिन्छिन् आस्था ।

तलतिर भीर थियो । उकालो चढ्दा गोली लाग्ने सम्भावना थियो । ओरालोमा भने जिकज्याक गरेर भाग्न सकिन्थ्यो । जसोतसो गरेर नेता पुनलगायतको टोलीलाई विस्तारै सुरक्षित स्थानतर्फ सिफ्ट गरे आस्थाहरुले ।

कोही शहीद भइहालेका थिएनन् । टोली रामेछापतिर छलियो । ल्यापटप, प्रिन्टरहरु छाडेर भागेका थिए । ती सामानबारे पारिबाट सेनाले बाइनाकुलरबाट देखेको थियो । नेताहरुको स्कर्टिङका लागि केही साथीहरुलाई पठाएर सुस्पालगायतको टोली ल्यापटप, प्रिन्टर लिन फर्कियो ।

त्यतिवेला डर लागेन ?

आस्था भन्छिन्, ‘जोखिम मोलेर नै गएको हो । तर, मलाई जनविश्वास थियो । पारिबाट सेना वारि आएको भए थाहा भइहाल्थ्यो । वारि तरेका छैनन् भनेर उनीहरुले नै भने । जनताले एकदमै सहयोग गरे । खाना बनाएर खुवाए । एकजना दाइ त हामीसँगै हिँड्नुभयो ।’

श्रीमान् शहीद हुँदा पनि बन्दुक पड्काइरहेकी आस्था

२०६३ साल बैशाख १० गते । सिन्धुपाल्चोकको चौतारामा भीषण लडाइँ भयो । आस्थाले त्यही कम्पनी कमाण्डर श्रीमान् शैलेसलाई गुमाइन् । आस्था भावनात्मक हुँदै बोल्छिन्, ‘आज उहाँ भए हुन्थ्यो जस्तो लाग्छ । म जिउँदो रहेसम्म त्यो घिटघिटो रहने भयो ।’

शान्तिवार्ता हुँदैछ भन्ने सूचना आएको थियो सुस्पाहरुसम्म । तर, कसरी हुनेबारे थाहा थिएन । त्यसैले सहायक बटालियन कमाण्डर बनिसकेकी आस्थाहरुले चौतारामा आक्रमण गर्ने योजना बनाए ।

राति १० बजेबाट आक्रमण सुरु भयो । बिहान ४ बजेसम्म लडाइँ लडे । दुई घण्टापछि ६ बजे युद्धविराम भएको घोषणा भयो । तैपनि आस्थालाई थाहा थिएन, श्रीमान् त्यस लडाइँमा शहीद बनिसके । उता श्रीमान् शहीद बनिसकेका थिए, यता रातको अँध्यारोमा उनी सेनाको एरियाभित्र छिरिरहेकी थिइन् ।

‘युद्धपछि हामी तितरबितर भएका थियौं । दुई दिनपछि भेला हुँदा एकजना कमाण्डरले हिम्मत गरेर शैलेश नरहेको बताउनुभयो’, एकछिन रोकिएर आस्था बोल्छिन्, ‘सिन्धुपाल्चोक भन्नासाथ गहिरो घाउ जस्तो बनेको छ । मैले खुशी अंगाल्ने वेला २१ वर्षमै श्रीमान गुमाएँ । त्यो अन्तिम लडाइँ थियो । त्यही लडाइँमा मैले मेरो शरीरको महत्वपूर्ण पाटो गुमाएँ ।’

आक्रमण गर्नुअघि राम्रोसँग फोर्टिफिकेसन नहुनु, राम्रोसँग रेकी गर्न नसक्नु, भूगोल पनि अप्ठ्यारो हुनु, क्षतिबारे राम्रोसँग नियाल्न नसक्नु, सरकारी सेनाको रेन्जबारे राम्रोसँग अध्ययन गर्न नसक्नुले निकै कमजोरीहरु भएको आस्थाको विश्लेषण छ ।

त्यस युद्धमा शैलेशसहित तीनजनाले शहादत प्राप्त गरेका थिए ।

बिझाइरहने बैशाख

शैलेश शिक्षक संगठनमा थिए । आस्था विद्यार्थी संगठनमा । जनमुक्ति सेनामा भने सँगसँगै जसो छिरे ।

आस्था र शैलेशको भेट २०५८ सालमा भएको थियो । ब्याचलर्स पास गरेका शैलेश शिक्षक थिए । भेट भएपछि दुवैमा जनवादी प्रेम अंकुरायो । आस्था सानै थिइन् । शैलेश दश वर्ष सिनियर थिए । आस्थाले ८ कक्षामात्रै पढेकी थिइन् । जातीय, शिक्षा, उमेरका हिसाबले दुवैमा गहिरो खाडल थियो ।

सम्बन्ध सम्भव छैन भनेर आस्थाले भन्दा शैलेशले भनेका थिए, ‘हाम्रो लागि यो समस्या हुँदैन आस्था कमरेड ।’

र २०६० साल बैशाख ४ गते आस्था र शैलेशको प्रेमलाई पार्टीले स्वीकृति दियो । २०६१ साल बैशाख १ गते विवाह गरे । २०६३ साल बैशाख १० गते शैलेश फेरि कहिल्यै नभेटिने गरी गए । आस्था र शैलेशको भौतिक सहयात्रा तीन वर्षमै टुंगियो ।

आस्था सुनाउँछिन्, ‘यो तीन वटा बैशाखले मलाई सधैं पिरोलिरहन्छ । हरेक बैशाख मेरो अँध्यारो महिनाको रुपमा रह्यो ।’

आठ कक्षादेखि डिग्रीसम्म, योद्धादेखि सांसदसम्म

युद्ध सकियो । आस्थाहरुलाई क्यान्टोनमेन्टमा लगियो । जनमुक्ति सेनाको सात डिभिजन र २८ बिग्रेड बन्यो । उनी चितवन शक्तिखोरमा परिन् । वर्तमान प्रदेश सांसद सरल सहयात्री कमाण्डर थिए ।

सालघारी फाँडेर बनाइएको ब्यारेकमै सिकेर बाइक र गाडीको लाइसेन्स निकालिन् । खुला विश्वविद्यालयमार्फत् चितवनको पृथ्वी माविबाट एसएलसी पास गरिन् । सिन्धुलीको पानी ट्यांकी माविबाट प्लस टु पास गरिन् ।

क्यान्टोनमेन्टमै रहँदा शहीद परिवारलाई छात्रवृत्तिमा सिभिल सब-इन्जिनियर पढाउने कोटा आयो । त्यसका लागि दोलखा गइन् । सब-इन्जिनियर पनि पास गरिन् । चितवनकै सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक पास गरिन् । सिन्धुलीबाट डिग्री पनि सकाइन् । अहिले एलएलबी पनि सकाउन लागेकी छन् ।

सेना समायोजनका वेला सुवेदार मेजरको पद छाडेर खुला राजनीतिमा प्रवेश गरिन् । २०७४ सालमा गोलन्जोर गाउँपालिका उपाध्यक्ष लडिन् । तर, पराजित भइन् । अहिले समानुपातिकतर्फबाट प्रदेश सांसद बनेकी छन् ।

आस्था भन्छिन्, ‘अहिले आम जनताको एजेन्डामा रहेर आवश्यकताको आधारमा सेवा गर्ने ठाउँमा पुगेकी छु । यो अवसरलाई मैले जसरी पनि अर्थपूर्ण बनाउनुपर्नेछ । राजनीतिलाई सेवाको रुपमा बुझेकीले नै मैदानमा आएकी हुँ । जिन्दगीलाई पेशा व्यवसायकै रुपमा लिएको भए समायोजनकै वेला निश्चित घेरोभित्र रहेर व्यक्तिगत जिन्दगीलाई आलिशानतिर लैजान्थें होला । तर, बाहिर उज्यालो छ भनेर त्यो घेरोबाट बाहिर निस्केकी हुँ । जनतामाझ जानुपर्छ भनेर आएकी हुँ । घेरो तोडेर आएकी हुँ, मैले गर्नुपर्ने हजारौं काम छन् । जसलाई जसरी पनि पूरा गर्नैपर्छ मैले ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर