भारतमा रहेको दाबी गर्ने महबुब आलम कसरी स्पट फिक्सिङमा तानिए ?
काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटमा स्पट फिक्सिङको हल्ला सुरु भएसँगै अनुसन्धानमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को राडरमा थिए- महबुब आलम ।
नेपाल-यूएई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा समेत बेटिङको अनुसन्धान गरेको सीआईबीले नेपाल टी-२० लिगलाई नजिकैबाट हेरिरहेको थियो ।
फिक्सिङमा आलमको नाम जोडिएपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो । सँगसँगै आलम कहाँ छन् भन्नेबारे पनि अनुसन्धान भइरहेको थियो ।
सीआईबीद्वारा डीएसपीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिका एक अधिकारी भन्छन्, ‘त्यतिवेला उनी आफू (आलम) भारतमा रहेको र स्पट फिक्सिङमा आफ्नो संलग्नताको आरोप निराधार रहेको दाबी गरेका थिए ।’
तर, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले समेत आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच गरेको बताएपछि सीआईबी अझ सजग बनेको थियो । प्रतियोगितामा एन्टी करप्सन हेरिरहेको वीर सिंह नेतृत्वको टोलीले समेत स्पट फिक्सिङको आशंका गर्दै रिपोर्टहरु गरिरहेकाले सीआईबीले प्राविधिक अनुसन्धान तीव्र बनाएको थियो ।
त्यही बीचमा आशंका गरिएका व्यक्तिहरुका मोबाइलहरु नियन्त्रणमा लिएर परीक्षणका लागि पठाइएको थियो । ‘हामीले आशंका गरिएका व्यक्तिका मोबाइल डिभाइसहरु नियन्त्रणमा लिएर अनुसन्धान गरेका थियौं’, ती सदस्य भन्छन् ।
सीआईबीले विभिन्न व्यक्तिहरुसँग बयान लिए पनि न तत्काल कसैलाई पनि पक्राउ गर्यो न त प्रतियोगिता नै रोकियो । खेलाडीहरुलाई खेल्न रोकटोक गरिएन । विदेशी खेलाडी प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किए ।
अनुसन्धानका लागि नियन्त्रणमा लिइएका मोबाइलको परीक्षणमा स्पट फिक्सिङका प्रशस्त प्रमाणहरु भेटिएको छानबिन समितिको दाबी छ ।
‘आलमले गरेका कुराकानीहरु भेटिएको छ । जसमा फिक्सिङका लागि प्रोभोक गरिएको छ’, छानबिन समितिका अधिकारी भन्छन ।
उनै आलमलाई सीआईबीले पक्राउ गरेको छ । आलममाथि हुने अनुसन्धानले अन्य तथ्यहरु पनि खुल्ने अधिकारीहरु बताउँछन् ।
‘त्यसो त उनले केही नखुलाए पनि मोबाइलमा गरेका कुराकानी नै पर्याप्त छन्’, ती अधिकारी भन्छन् ।
आलम विश्व कीर्तिमानी क्रिकेटर हुन् । एकदिवसीय स्वरुपको सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिताको एकै खेलमा १० विकेट लिने कीर्तिमान आलमको नाममा छ । सन् २००८ मा उनले मोजाम्बिकविरुद्ध उक्त सफलता हात पारेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका थिए ।