होटलको फर्जी बिल बनाउने पञ्चपुरीका लेखा अधिकृतसहित चारजनाविरुद्ध मुद्दा दायर
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/12/Akhtiyar-Durupayog.jpg)
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नगरपालिकाका लेखा अधिकृत मोहन बुढा, न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजालीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले उनीहरुविरुद्ध विभिन्न शीर्षकमा होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा दुई लाख ६२ हजार रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
पञ्चपुरीका लेखा अधिकृत बुढाले होटल संचालकसँग खाली बिल लिई बिलमा किर्ते बिल भरपाई गरी भुक्तानीको लागि गोश्वारा भौचर र बैँक चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरेर बुढाले दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ ।
भुक्तानी दिएको, भुक्तानीका लागि तयार पारेको बिलको मिति र कार्यक्रममा उपस्थित मानिसहरुको संख्या र कार्यक्रमको मिति र उपस्थित संख्यासमेत फरक परेको आयोगको पत्रमा उल्लेख छ ।
अख्तियारले लेखा अधिकृत बुढाले झुट्टा बिल भरपाई तयार गरी नगरपालिकालाई गैरकानूनी तवरले हानी पुर्याउने एवं आफूले बदनियतपूर्वक गैरकानूनी लाभ लिने कार्य गरेको हुँदा ठहर गर्दै भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम २ लाख ६२ हजार ५०२ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगोको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।