बुटवलको नगरसभा सम्पन्न : रात्रीकालीन बजार सञ्चालन गर्ने प्रस्ताव पारित – Nepal Press

बुटवलको नगरसभा सम्पन्न : रात्रीकालीन बजार सञ्चालन गर्ने प्रस्ताव पारित

रुपन्देही । बुटवल उपमहानगरपालिकाको नगरसभाको १२औं अधिवेशन विभिन्न ऐन संशोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते सुरु भएको अधिवेशनले जलस्रोत नीति, कर्मचारी दरबन्दीसम्बन्धी संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संशोधनसहित पारित गरेको हो ।

अधिवेशनले बुटवलभित्र रात्रीकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी नियन्त्रण, नागरिक वडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगरसभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यस्तै नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरुको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवलभित्रका पार्कहरुलाई नगरमातहत ल्याउन कानून बनाउने, टोल विकास संस्थाहरुलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

यसअघि नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष एवं बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले बुटवललाई अगुवा शहरका रुपमा स्थापित गर्न सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए ।

उनले बुटवललाई ‘समानता, स्वाभीमान र अवसरसहितको बस्नयोग्य शहर’का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संसाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने शहरका रुपमा स्थापित गर्ने बताए ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा विशेष चासो दिँदै मेयर पाण्डेयले समयमै योजना सम्पन्न गर्नतर्फ ध्यान दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर