ठमेलमा बस्ने चिनियाँ प्रेमी-प्रेमिकाबीचको लफडामा खुकुरी प्रहार
काठमाडौं । ठमेलमा बस्दै आएका चिनियाँ प्रेमी-प्रेमीकाबीचको लफडामा खुकुरी प्रहार भएको पाइएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले प्रेमिकासहित दुईजनाविरुद्ध ज्यान मार्ने कसुरमा अभियोग पत्र दायर भएको छ ।
पुस २ गते ठमेलस्थित वाल्डो होटलको भुँई तलामा चिनियाँ नागरिक लिगोसोङको पाखुरामा खुकुरी प्रहार भएको थियो । प्रहरीले सोही होटलमा बस्दै आएकी हाओ सुईहोङ र एलफ्ट होटलको क्यासिनोमा काम गर्ने फु योङलाई पक्राउ गरेको थियो ।
लिगोसोङ घटनाको चार दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । लिगोसोङ र प्रतिवादी सुईहोङ प्रेमि–प्रेमिका भएको खुलेको छ ।
लिगोसोङका अनुसार क्यासिनोमा लगानी गर्ने भन्दै सुईहोङलाई दिएको ५० लाख रुपैयाँ फिर्ता वा क्यासिनोको सेयर नपाएपछि उनिहरुबीच विवाद बढेको थियो । पुस २ गते साँझ त्यही विषयमा कुरा गर्न सुईहोङले आफूलाई बोलाएको दावी लिगोसोङको छ ।
तर होटलको भुईतलामा कुराकानी गर्ने क्रममा सुईहोङको साथमा रहेका अन्य दुई जना चिनियाँले आफुलाई छुरा प्रहार गरेको भन्दै उनले जाहेरी दिएका थिए । सुईहोङले भने लिगोसोङसँग आफ्नो कुनै आर्थिक कारोबार नरहेको दावी गरेकी छिन्। उनले घटनाको दिन लिगोसोङले मार्छु भन्दै जाई लागेको पनि दावि गरेकी छन् ।
सुईहोङका अनुसार लिगोसोङ उनका प्रेमी हुन्। सन् २०१८ मा उनिहरु टुरिस्ट भिसामा नेपाल घुम्न आएका थिए । चिन फर्किएका उनिहरु सन् २०१९ मा बिजनेस भिषामा फेरी नेपाल आएका थिए। त्यसयता उनिहरु दुवै जना वाल्डो होटलमा बस्ने गरेका थिए ।
लिगोसोङले श्रीमतीसँग डिभोर्स गरेर आफूसँग विवाह गर्ने बताएपनि डिभोर्स गर्न नमानेका कारण वादविवाद भएको र हातपातसमेत गरेका कारण बेग्लाबेग्लै बस्ने गरेको बताएकी छिन् । अर्का प्रतिवादी फु योङले सुईहोङले पैसा मागेका कारण पुर्याउन जाँदा दुई जनाबीच विवाद भइरहेको देखेपछि हात पात नगर्न भन्दा लिगोसोङ आईलागेको दावी गरेका छन् ।
लिगोसोङको उपचारका लागि लागेको ३ लाख रुपैयाँ आफूहरुले ब्यहोरेको प्रतिवादीहरुको दाबी छ । प्रतिवादी दुई जनालाई प्रहरीले पुस २१ गते पक्राउ गरेको थियो । वाल्डो होटलका कर्मचारीले सुईहोङ ५ महिनायता उक्त होटलमा बस्दै आएको र लिगोसोङ पनि कहिलेकाहीँ आएर उनीसँग बस्ने गरेको बयान दिएका छन् ।
प्रतिवादीविरुद्ध १० वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिवाना माग गरेर अभियोग दर्ता भएको छ ।