प्रेमप्रसादकी पत्नीको प्रार्थना: यो देशमा अरु मान्छेले यसरी मर्न नपरोस् (भिडिओ)
काठमाडौं । इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि गरेको आत्मदाहले देश तरंगित छ । देशको व्यवसायिक वातावरण दूषित हुँदा आफूले गरिखान नसकेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालकै सामुन्ने आफूलाई जलाएका थिए ।
आत्मदाहअघि फेसबुकमा लामो बकपत्र सार्वजनिक गर्दै प्रेमप्रसादले आफ्नी पत्नी र दुई छोरीहरुको विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले पत्नीलाई सहयोग गर्न अपिल गर्दै उनको बैंक अकाउन्टसमेत सार्वजनिक गरेका थिए । सो अकाउन्टमा सहयोग जुट्ने क्रम जारी छ ।
तर, आर्थिक सहयोगले मात्रै प्रेमप्रसादकी पत्नी नानुकाको हृदयमा लागेको चोट अवश्य विसेक हुँदैन । श्रीमानको वियोगलाई बिर्संदै आफ्नै दुई छोरीहरुको भविष्य निर्माणमा लाग्नुपर्नेछ उनले । काँधमा छ, ६० लाख रुपैयाँ ऋणको बोझ ।
पतिवियोगमा विक्षिप्त अवस्थामा रहेकी नानुकाले नेपाल प्रेससँग आफ्ना केही भावनाहरु शेयर गर्न चाहिन् । नानुकाका अनुसार उनले श्रीमानलाई अस्ट्रेलिया दुवै जना जानका निम्ति आग्रह गरिरहेकी थिइन् । तर, देशमै केही गर्ने प्रेमप्रसादको अठोट थियो ।
‘उहाँ हिम्मतिलो हुनुहुन्थ्यो, यस्तो निर्णय लिनुहोला भन्ने लागेकै थिएनँ’, नानुकाले भनिन् ।
नेपाल प्रेससँग नानुकाले गरेको कुराकानी उनकै शब्दमाः
मेरो श्रीमानले बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडीकै अगाडि आत्मदाह गर्नुभयो । उहाँले कहिल्यै पनि आफ्नोबारे मात्रै सोच्नुभएन । जहिल्यै देशका लागि सोच्नुहुन्थ्यो । धेरैपटक व्यवसाय असफल भएपछि मैले भनेको थिएँ, ‘देशका लागि मात्रै सोच्दा केही भएन । हजुरसँग स्किल छ । अस्ट्रेलिया अप्लाइ गरेर जाऔं ।’
उहाँले भन्नुभएको थियो, ‘युरोप-अमेरिका हामीजस्ता मान्छे पलायन भएर जाँदा देशका लागि पाप हुन्छ । तिम्रो इच्छा छ । तिमी यी साना छोराछोरीको भविष्यबारे चिन्तित छौ । तर, म यही हाम्रा जस्ता हजारौं छोराछोरीका लागि देशमै केही गर्छु ।’
उहाँले यहाँ हजार थोक गर्दा पनि केही विकल्प नभएपछि त्यस्तो निर्णय लिनुभयो । उहाँको फेसबुकमा पुरानो स्टाटसहरु हेर्दा पनि थाहा हुन्छ, उहाँले कतिथोक गर्नुभएन ? कति राजनीतिक पार्टीमा लाग्नु भएन ? नयाँ पार्टीहरुमा पनि केही सुधार गर्न सकिएला नि भनेर लाग्नुभयो । तर, जति गरे पनि जहाँ गए पनि केही पार नलागेपछि विचलित भएर त्यस्तो अवस्थामा जीवन त्याग्नुभयो ।
उहाँले फेसबुकमा राज्यलाई कति धेरै सुझाव दिनुभएको छ । हामी जस्तो साधारण जनताले गर्ने भनेकै फेसबुक स्टाटस लेख्ने त हो । अरु केही गर्न सकिन्छ र ! तर, उहाँले सोचेको जस्तो केही परिवर्तन भएन । गर्न खोज्दा गरिखाने बाटो नहुँदा उहाँले मेरो सिउँदो पुछेर जानुभयो । दुई छोरीको भविष्य पुछेर जानुभयो ।
यहाँ मान्छे दिनदिनै मरेका छन् । दिनदिनै झुण्डेका छन् । तर, उहाँले हामीलाई पीडामा राखेर त्यस्तो निर्णय लिएर जानुभयो । अब यो देशमा अरु मान्छेले यसरी मर्न नपरोस् ।
हाम्रो प्रेम विवाह भएको हो । उहाँको हरेक असफलताको म साक्षी हुँ । रातको ११ बजे घिउ खारेर १२ बजे गाडीमा घिउ लोड गरेर बजार जानुहुन्थ्यो । दिनमा एक दुई घण्टामात्रै सुत्नुहुन्थ्यो । कहिले गाडी बाटोमा एकछिन रोकेर पनि निदाउनुहुन्थ्यो । म पनि के नै गर्न सक्थेँ र !
दुई वटा छोरी थिए । म थिएँ । उहाँ पनि आँटिलो हुनुहुन्थ्यो । हरेस खाने खालको मान्छे हुनुहुन्थेन । त्यही भएकाले उहाँले त्यस्तो गर्नुहुन्छ जस्तो कहिल्यै लागेन । नाबालक छोरीहरुलाई छाडेर जानुहुन्छ जस्तो कहिल्यै लागेन ।
मैले उहाँलाई विदेश जान पनि कन्भिन्स गरिसकेकी थिएँ । उहाँ हरेक कुरामा सक्षम हुनुहुन्थ्यो । सबै कुराको ज्ञान थियो । अन्तिमपटक हामीले विदेश जान सल्लाह दिएका थियौं । उहाँले पनि भन्नुभएको थियो, ‘हुन्छ, म जान्छु ।’
तर, यस्तो निर्णय लिन्छु भनेर कहिल्यै हामीलाई शेयर गर्नुभएन । डिप्रेसनका कारण त्यस्तो अवस्थामा पुगेकोबारे पनि मलाई कहिल्यै बताउनुभएन । सायद मलाई पनि पीडा हुन्छ भनेर पीडा लुकाउनु भएको होला ।
यो राज्यले उहाँको हत्या गरेको हो । मेरा मागहरु यो राज्यले पूरा गर्न कहिल्यै सक्दैन । म जुन पीडाबाट गुज्रिएकी छु, त्यसको क्षतिपूर्ति राज्यले तिर्न सक्दैन ।
उहाँलाई फर्काएर ल्याउन पनि यो राज्यले सक्दैन । त्यसैले मैले त्यस्तो केही क्षतिपूर्ति मागेकी छैन ।
तर, मेरो श्रीमानले फेसबुक स्टाटस लेख्दै जति बुँदामा माग राख्नुभएको छ, त्यो यो राज्यले पूरा गर्नुपर्छ । उहाँलाई आत्मदाह गराउन बाध्य बनाउनेहरुलाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनुपर्छ र कानुनले सजायको भागीदार बनाउनुपर्छ ।
ऋणको कुरामा उहाँले विदेश गएर कमाउन सक्नुहुन्थ्यो । मैले पनि ब्याचलर गरेकी छु । मैले पनि कमाउन सक्थें । तर, यो राज्यले उहाँको हत्या गर्यो । उहाँले ऋणका कारण हत्या गर्नुभएको होइन । उहाँलाई टर्चर दिनेहरुले राज्यसँग मिलेर हत्या गरेका हुन् ।
गाउँमै केही गर्छु, युवाहरुमा सन्तुष्टिको लहर फैलाउँछु भनेर लाग्नुभएको थियो । विदेश जाने युवाहरुलाई पनि देश फर्कन अनुरोध गर्नुहुन्थ्यो । तर, गाउँमा फलेको सागले सम्म बजार पाएन । नेपाल कृषिप्रधान देश भन्छ । तर, अनुदानका लागि जाँदा माथिदेखि तलसम्म झोलेमोलेहरुलाई खुवाउनुपर्छ । सरकारका हनुमानहरुले मात्रै त्यस्तो अनुदान पाउँछन् । एकै मान्छेले दुई तीनपटक अनुदान पाएका छन् । त्यसले पनि उहाँलाई निराश बनाएको थियो ।
अब उहाँले जति ऋण (६० लाख) उल्लेख गर्नुभएको छ । यो राज्यले तिरिदिए हुन्थ्यो । गाउँमा केही गरेर खान्छु भन्नेलाई त्यस्तो वातावरण बनाइदिए हुन्थ्यो ।
पशुपतिमा उहाँको दाहसंस्कार गरेर भोलि हामी इलाम फर्कँदैछौं । धार्मिक संस्कार पूरा गर्नुपर्नेछ । त्यसपछि उहाँले देखेको सपना पूरा गर्न लाग्नेछु । उहाँले चलाएको उद्योग त मैले चलाउन सक्दिनँ होला । तर, त्यस्तै उद्योग चलाउन खोज्ने युवाहरुका लागि लाग्नेछु । जसले भोलि कसैले पनि फेरि आत्मदाह गर्न नपरोस् ।
हामीले अहिले भर्खरै गृहमन्त्री रवि लामिछानेलाई भेटेर आयौं । हाम्रा मागहरु राख्यौं । सकारात्मक ढंगले रेस्पोन्स गर्नुभएको छ । यो हाम्रोमात्रै माग होइन, सम्पूर्ण राज्यले अन्यायमा पारेका नागरिकहरुको माग हो । मेरो श्रीमान बितेर जाँदै गर्दा जे-जे माग र प्रश्नहरु राख्नुभएको छ, यो राज्यले सम्बोधन गर्नुपर्छ ।