सुदूरपश्चिममा पहिलो पटक लाटोकोसेरो तथा हुचिल महोत्सव हुने
कैलाली । मुलुकबाट लोप हुँदै गइरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणको निम्ति सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव २०७९’ हुने भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ४ घोडाघोडी वर्ड सेन्चुरी क्षेत्र रहेको माघी गाउँमा माघ २० र २१ गते लाटोकोसेरो तथा हुचिल महोत्सव हुने भएको हो ।
आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी सुरु भइसकेको जानकारी गराइएको हो ।
चरा संरक्षण नेटवर्क, कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा १० औँ संस्करणको रूपमा घोडाघोडीमा महोत्सव आयोजना हुन लागेको हो ।
किसानको साथीका रूपमा परिचित लाटोकोसेरोको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको चरा संरक्षण नेटवर्क, कैलालीका अध्यक्ष डिआर चौधरीले जानकारी दिए ।
उक्त महोत्सव निःशुल्क अवलोकन गर्न पाइने जनाइएको छ ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरा पाइन्छ । पछिल्लो समय अवैध चोरी सिकारी, बन जङ्गलमा हुने डढेलो तथा विषादीको अत्यधिक प्रयोगले लाटोकोसेरो लोप हुँदै गइरहेका छन् ।
घोडाघोडीमा लाग्ने २ दिने महोत्सवले यसको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । यस अघि मुलुकका विभिन्न ठाउँमा यस्तो महोत्सव हुँदै आएको भएपनि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागिएको हो ।