डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली, जेडीको बोतलमा गोल्डेन ओक मिसाउने गिरोह समातियो – Nepal Press

डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली, जेडीको बोतलमा गोल्डेन ओक मिसाउने गिरोह समातियो

काठमाडौं । ललितपुरको टीकाथलीमा डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली उत्पादन हुने गरेको खुलेको छ । मदिराका बजार प्रतिनिधिले मौज्दात कम हुँदाहुँदै विभिन्न ब्रान्डका मदिरा बजारमा बिक्री भइरहेको देखेपछि यसको खोजी सुरू भएको थियो । त्यहीक्रममा ललितपुरको कुपन्डोलस्थित ‘नेक्स्ट टेस्ट लिक्वेर स्टोर’ बाट विभिन्न ब्रान्डका केही रक्सी किनेर त्यो नक्ली पाइएपछि प्रहरीकहाँ सूचना पुर्‍याइएको थियो ।

उनीहरूले खरिद गरेका विभिन्न ब्रान्डमध्ये एउटामा नक्कली रक्सी हालेर कसैले बजारमा ब्रान्डेड भनेर बेचिरहेको सूचना दिएसँगै । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले अप्रेसन लिमा-२ सुरू गर्‍यो ।

प्रहरीले नेक्स्ट टेस्ट लिक्वेर स्टोरका सञ्चालक निरज उप्रेतीलाई पक्राउ गर्‍यो । सँगै ब्रान्डेड भनिएका नक्कली मदिरा पनि बरामद गरियो । उप्रेतीले सस्तोमा पाउने भएकाले उक्त मदिरा बिक्री गरिरहेको स्वीकारे । निरजले आफूलाई उक्त मदिरा गोपाल पुन मगर भन्ने व्यक्तिले ल्याइदिने गरेको बताएपनि मगर पक्राउ पर्न सकेका छैनन् । मदिरा डेलिभरी गर्दै आएका एक व्यक्तिलाई भने नियन्त्रणमा लिइएको छ ।

डेलिभरी ब्वाईले ती मदिरा ललितपुरको टिकाथलीबाट ल्याउने गरेको बताएपछि प्रहरी टोली टिकाथलीस्थित एक टहरामा पुगेको थियो । पहिला स्नूकर हाउस रहेको टहरामा भान्छे तथा रेखदेख गर्दै आएका एक युवकलाई प्रहरीले फेला पारेको थियो ।

त्यहाँबाट विभिन्न ब्रान्डेड मदिराका खाली बोतल, प्याक गरेर राखिएका मदिराहरू फेला परेका थिए । सिलप्याक गर्ने मेसिन, अन्त शुल्क टाँसिएका बिर्कोहरू पनि भेटिएको छ ।

‘यहीँनेर बनाइने रहेछ, ती नक्कली ब्रान्डेड मदिराहरू’, अनुसन्धानमा खटिएका एक अधिकारीले सुनाए ।

टहरामा भेटिएका ती व्यक्तीमार्फत त्यहाँ बनाइने गरेको मदिरा स्टोर गर्ने अर्को ठाउँसम्म पनि प्रहरी पुग्यो । त्यहाँबाट पनि मदिराहरु फेला परे । इमाडोलस्थित कारखानामा काम गर्ने केही व्यक्तिहरूको पहिचान खुलेको थियो । तीमध्ये जडिबुटीमा थ्रीडी लिक्वेर सप सञ्चालन गर्ने भगवान बस्नेत मुख्य व्यक्ति भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

‘ विभिन्न ब्रान्डेड र सस्तो मदिराहरू उनैले त्यहाँ ल्याउने रहेछन्’, अनुसन्धान अधिकारी भन्छन् । बस्नेतको यो धन्धाको म्यानेजरको भूमिकामा विनोद कार्की रहेको बताइएको छ । गोपाल पुन मगरले सवारी साधनहरू व्यवस्थापन गरेर नक्कली मदिरालाई बजारसम्म पुर्‍याउने काम गरेको प्रहरीको दाबी छ ।

प्रहरी अनुसन्धानका क्रममा टीकाथलीमा बनाइने गरेको नक्कली रक्सी काठमाडौंको मित्रनगरस्थित एसटी लिक्वेर स्टोरमा पुग्ने गरेको पनि पाइयो । प्रहरीले छापा मार्दै त्यहाँबाट केही नक्कली मदिरा बरामद गरेको थियो । सो लिक्वेर सपको गोदाममा पनि छापा मारेर प्रहरीले नक्कली मदिरा बरामद गरेको दाबी गरेको छ । एसटी लिक्वेर सपका सञ्चालक धर्मी गौडेल पनि पक्राउ परेकी छिन् । प्रहरीका एक अधिकारीले सकक्ली रक्सीमा सस्तो रक्सी मिसाएर बजारमा बिक्री गर्ने गरिएको बताए ।

‘जस्तो खुकुरी रममा एपल भन्ने रक्सी मिसाउने गरेको पाइयो । भोड्कामा मुग्लान अनि जेडीमा गोल्डेन ओक हाल्ने गरेको पाइएको छ’, अनुसन्धान अधिकारीले नेपाल प्रेससँग भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले विभिन्न रेस्टुरेन्ट, होटललगायत स्थानमा ती रक्सी पुर्‍याइने गरेको बताए ।

‘दर्ता रहेकोभन्दा पनि दर्ता नरहेको पसलहरूमार्फत ती मदिराहरू बजारमा पुर्‍याउने गरेको पाइयो’, एसएसपी केसीले भने ।

उनका अनुसार मदिरा प्याकिङका लागि विभिन्न रेस्टुरेन्ट, होटलहरूबाट खाली बोतलहरू ल्याइने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्वास्थ्यमा असर पार्ने केमिकल पनि हाल्ने गरिएको छ ।

‘मात्राभन्दा बढी केमिकलहरू प्रयोग भएको पाइएको छ जसको स्वास्थ्यमा प्रतिकूल असर हुन्छ । त्यसैले यो नक्कली सक्कलीभन्दा पनि जनस्वास्थ्यमाथी गम्भीर खेलबाडको विषय हो’, उनले भने।
होटल, रेस्टुरेन्टसँग सम्पर्क गरेर अन्त शुल्क टाँसिएको स्टिकरसहितका बिर्कोहरु मगाउने गरिएको अनुसन्धानमा संलग्न बताउँछन् ।

‘बिर्को खोल्दा नै होसियारी अपनाइने रहेछ जसलाई पछि नयाँ जसरी प्रयोग गर्ने गरेको पाइयो’, ती अधिकारीले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कोक, सख्खरजस्ता वस्तुहरू पनि नक्कली रक्सी बनाउन प्रयोग गरेको पाइएको छ ।

५ महिनाअघि पनि भेटिएको थियो नक्कली ब्रान्डका मदिरा

५ महिनाअघि पनि प्रहरीले अन्तर्राष्ट्रिय ब्रान्डका नक्कली मदिरासहित ५ जना पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेर छुटेकाहरू पनि पछिल्लो घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।
गत भदौ २७ गते कोटेश्वरस्थित हरि वली बस्दै आएको डेराबाट विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिराहरू फेला परेका थिए ।

अनुसन्धानका क्रममा उक्त रक्सीहरू भगवान बस्नेतले बनाएर दिने गरेको खुलेको थियो । भक्तपुरको दुवाकोटस्थित बस्नेत बस्दै आएको डेराबाट उनी पक्राउ परेका थिए । प्रहरीले बस्नेतको कोठाबाट पनि नक्कली मदिराहरु बरामद गरेको थियो ।

पछिल्लो घटनामा भने बस्नेत फरार छन् । प्रहरीले कालोबजारी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

यस्तो छ स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन र कालोबजारीसम्बन्धी प्रहरीको प्रेस रिलिज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर