रविको नैतिकताले अब के भन्छ ? – Nepal Press

रविको नैतिकताले अब के भन्छ ?

केही महिना मुलुक रविमय भएको थियो । अनलाइन प्रोर्टालमा रवि, छापा, पत्रपत्रिकामा रवि सर्वसाधारण जनमानसमा रवि आदि इत्यादि । मानौं रविलाई कसैले नेपाल र नेपालीको कायापलट गर्न आदेश दिएर नेपाल पठाइएको हो । अनि रवि एकैचोटि धुरीमा चढे । संसारमा रहने बस्ने कुनै पनि जीवजन्तु वा मानव जाति धुरीभन्दा माथि जान उड्नुपर्छ । तर, रवि उड्न सक्ने अवस्थामा थिएनन् । किनकि उनी हिँडेको गन्तव्य कानूनसम्मत थिएन । मेरोे विचारमा रविका बारेमा केही लेख्दा आधुनिक नेपालको राजनीतिक गठन, गठन प्रक्रिया र यसका जगलाई केलाएर हेर्नुपर्ने हुन्छ । यद्यपि रवि हिँडेको बाटो कानूनसम्मत थिएन भन्ने कुरामा जोकोही पनि हिच्किचाउने छैन ।

राणाकालीन अवस्थामा नेपालीहरुलाई वाक एवं संगठन गठन गर्ने, राणाहरुका विरुद्ध बोल्ने वा आवाज उठाउनेमात्र होइन कि उनीहरुले गरेका गल्ती वा उनीहरुले गरेका कमजोरी वा बदमासी औंल्याउनसमेत नपाइने भएकाले विसं १९९० को दशकको मध्यतिर विसं १९९७ अर्थात ८२ वर्षअघि वाक तथा प्रकाशन स्वतन्त्रता, जनताको मौलिक अधिकार प्राप्तिको जगमा टेकेर नेपाल राष्ट्रिय कांग्रेस अर्थात अहिलेको नेपाली कांग्रेस गठन भयो । त्यसको एकदशक नपुग्दै मानिसलाई बोल्ने, लेख्ने र संगठन गर्न पाउने जस्ता मौलिक अधिकार भएरमात्र पुग्दैन । बोलेर, लेखेर र संगठन गरेरमात्रै मानिसको पेट भरिन्न । बिरामी मानिसलाई बोल्नमात्र दिएर सञ्चो हुँदैन, बोलेरमात्र उसको शरीर ढाकिन्न, बोलेरमात्र ऊ चेतनशील हुँदैन । सिंगो मानव जातिको हकहित भनेको त गाँस, बास, कपास, स्वास्थ्य र शिक्षासमेतको ग्यारेन्टी हुनु हो ।

त्यसैले यी वा सबै समेटिएका अन्य मौलिक हक अधिकार सुनिश्चित गर्दै जनवादी केन्द्रीयताको आधारमा मौलिक हक अधिकार लागू गर्दै गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा समेतको ग्यारेन्टी हुनुपर्छ भन्ने जगमा उभिएर नेपाल कम्युनिष्ट पार्टी गठन भयो । अहिले यो पार्टी दर्जनभन्दा बढी गुट र उपगुटमा बाँडिएर पनि आफ्ना लडाइँहरु र आफ्ना वर्ग दुश्मन पहिचान गर्दै र यिनीहरुविरुद्ध लड्दै जुद्धै संघर्ष गरिरहेका छन् । कम्युनिष्ट पार्टी गठनको ठीक एकदशकपछि विसं २०१७ सालमा राजा महेन्द्रले अहं, यो मैले मान्दिनँ, नेपाल बहु आयामिक, बहु जातीय, बहु सांस्कृतिक र बहु वर्ग मुलुक भएकाले नेपामा सामाजिक सहिष्णुता, वर्ग समन्वयद्वारा शोषणरहित समाजको सृजना गर्नुपर्छ भन्ने जगमा टेकेर पञ्चायती व्यवस्था लागू गरे ।

उनी कानून नभएको मुलुकमा जन्मेर हुर्केका हुनाले कानून कुन चराको नाम हो उनले मेसो पाउने प्रयत्न गरेनन् । जसले कानूनी राज्य र सुशासनको वकालत गर्छ, त्यो स्वयं नै गैरकानूनी छ भने उसको त यो हविगत हुनु नै थियो ।

राजनीतिक विकासका क्रममा थुप्रै कुराहरु भए । जनमतसंग्रह भयो, पञ्चायत ढल्यो, राजा र उनका सबै खलक मारिए । राजतन्त्र ढल्यो, गणतन्त्र आयो । तर पनि मुलुकमा सुशासन शून्य रह्यो । मुलुक कानूनी राज्य बन्न सकेन । कानून कुन चराको नाम हो न राजनीतिक पार्टी र नेताहरुले पालना गरे न त जनताले नै । जनता र नेता दुवै अनुशासनहीन हुँदै गए । भूईंफुट्टा बिचौलियाहरुले राजनीतिक नेताहरुलाई कब्जामा लिए भने अर्कोतिर नेताहरुले डन पालेर गैरकानूनी ढंगले आफू सुरक्षित भएको महसुस गर्न थाले । भ्रष्टाचार मौलायो । राजनीतिक नेताहरु र स्वयं पार्टीहरुले मुलुकप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्न छोडे र एक-अर्कामा खुट्टा तानातान हुन थाल्यो । विदेशी शक्तिहरु हावी हुँदै गए । पृथ्वीनारायण शाहले भने जस्तै दुई ढुंगाको तरुललाई उत्तरतिरको ठूलो ढुंगाले थिच्दै जान थाल्यो । दक्षिणतिरको अर्को ठूलो ढुंगाले झन् बढी घोच्न थाल्यो । राजनीतिक पार्टीहरु र पार्टीका नेताहरुले आफूलाई यी दुवै ढुंगाहरुसमक्ष आफूलाई बिक्रीमा राखे । गैरजिम्मेवार र विदेशीको दलाली गर्ने राजनीतिबाट जनता वाक्क दिक्क हुन थाले ।

यसैबीच एउटा चरा भुर्र उडेर अमेरिका पुग्छ । अमेरिकामा पनि केही गैरकानूनी कामहरुमा हात हाल्छ । पारिवारिक तनाव हुन्छ । अदालतमा मुद्दा चल्छन् । अमेरिकाको बैंकमा उनलाई कालोसूचीमा राखिन्छ । कानून पालना नगर्ने मुलुकमा जन्मेका, राजनीतिक र सामाजिक सुशासनविना हुर्केका रविमा यी सबै सामान्य लाग्छ र उनमा महत्वाकांक्षा पलाउँछ र ठूलो मान्छे बन्ने लोभ लाग्छ । अमेरिकाबाट भुर्र उडेर काठमाडौं ओर्लिन्छ ।

नेपालमा सजिलै गर्न सकिने पेशा भनेको पत्रकारिता हो । अन्य केही जागिर वा व्यवसाय गर्न नसकिने भयो भने नेपालमा पत्रकारिता गर्न थालिन्छ । यो मैले पत्रकार जगतलाई होच्याउन भनेको होइन । यस्ता थुप्रै पत्रकार साथीहरुमा यो लागू हुने भएकाले मात्र यहाँ उल्लेख गरेको हुँ । रविको आफ्नै भनाइअनुसार उनले पत्रकारिता गर्दैनन्, उनी सञ्चारकर्मी मात्रै हुन् रे ! उनलाई आफू पत्रकार हुँ भन्न लाज लाग्छ रे ! यो उनको आत्मरती थियो । सञ्चारकर्मीका रुपमा उनले केही तीता र केही मीठा कामहरु गरे । उनलाई अमेरिकामा रहेका परिवारको लागि र नेपालीहरुका लागि ठूलै राशी महिनावारी अमेरिका पठाउनुपर्ने बाध्यता थियो । यस अर्थमा उनले रकम जम्मा गर्ने बाटो खन्नै पर्थ्यो । उडेको चराको प्वाख गन्न सक्ने रविका लागि मेनपावरका व्यापारीहरु उनका आँखाका तारा बने । विदेशबाट विशेषगरी अरबी मुलुकहरुबाट जब पीडितको फोन आउँछ, अनि उनका कान ठाडा हुन्थे र उनी जागरुक बने र सर्वप्रथम पीडकसँग सम्पर्क गरे र आर्थिक बन्दोबस्त गरे । अनि बल्ल एउटा वीन-वीनको आधारमा केही समस्याहरुका समाधानको बाटो पनि खने ।

रविले सबैले कानून पालना गर्नुपर्छ र हामीलाई सुशासन चाहिन्छ भन्ने जगमा टेकेर राष्ट्रिय स्वतन्त्र पार्टी खोले । पार्टी त उनले खोले । तर, आफैं गैरकानुनी बनेर खोले ।

उनको कामको सिलसिलामा पुडासैनी घटनाले उनलाई केही समय डिप्रेस बनाउन थालेको थियो । तर, पछि घटनाको यथार्थ बुझेपछि उनमा राजनीतिमा आउने मनोबल पलाएको थियो । तर, त्यो मनोबललाई साथ चाहिने द्रव्य उनमा थिएन ।

उनी सञ्चारकर्मीकै रुपमा बसे र राजनीतिमा हामफाल्ने गौंडा खोजिरहेका थिए । यतिखेर उनका लागि परिस्थिति अनुकूल थियो । देशमा सुशासन थिएन, अनुशासन थिएन । कानूनी राज्य थिएन । सबैजसो राजनीतिक पार्टीहरु उत्तर वा दक्षिणतर्फ केन्द्रित थिए । अनि उनले ‘पख पख नेपाली हो, यी कांग्रेसले भनेको मौलिक अधिकार र स्वतन्त्रताले र कम्युनिष्टहरुले भनेको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टीका लागि त मुलुकमा सुशासनसहितको कानूनी राज्य चाहिन्छ’ भने । रविले सबैले कानून पालना गर्नुपर्छ र हामीलाई सुशासन चाहिन्छ भन्ने जगमा टेकेर राष्ट्रिय स्वतन्त्र पार्टी खोले । पार्टी त उनले खोले । तर, आफैं गैरकानुनी बनेर खोले ।

मैले माथि भनिसकें, उनी कानून नभएको मुलुकमा जन्मेर हुर्केका हुनाले कानून कुन चराको नाम हो उनले मेसो पाउने प्रयत्न गरेनन् । जसले कानूनी राज्य र सुशासनको वकालत गर्छ, त्यो स्वयं नै गैरकानूनी छ भने उसको त यो हविगत हुनु नै थियो ।

रविले पुनः नेपाली नागरिकता लिइसकेका छन् । फेरि पनि चुनावमा उठ्लान् । चुनाव पनि जित्लान् रे ! तर, उनका अगाडि उनको नैतिकता उनी हिँड्ने बाटोमा तेर्सिनेछ । प्रश्न उठ्छ उनको अगाडि तेर्सो परेर बसेको नैतिकतालाई उनी कसरी नाघेर जान्छन् ?

उनले मुलुकलाई भ्रष्टाचारमुक्त गराउँछु भन्दै गर्दा रविले आफ्नो नाक समाएर बोल्नुपर्थ्यो र उनले भन्न्नैपर्छ कि उनको अहिलेसम्मको त्यो शान, शौकत लक्जरियस जीवनको खर्चको व्यवस्था कसरी गरेका थिए । उनले अमेरिकामा रहेका उनका पहिलेका परिवारलाई अमेरिकी अदालतले तोकेको रकम कहाँको कमाइबाट दिँदै आइरहेका छन ? अनि उनले दिने गरेका छैनन् भने उनले त्यहाँ पनि अर्काे गैरकानूनी काम गरिरहेका छन् ।

उनले सुरुमै बुझ्नुपर्ने कुरा के थियो भने मानिसले धुरीभन्दा माथि चढ्ने आकांक्षा राख्न हुन्न । किनभने त्योभन्दा माथि खुट्टा राख्ने ठाउँ हुँदैन । धुरीसम्म पुग्न पनि बलियो र सफा टेक्ने ठाउँ र त्यस्तै बलियो र सफा समाउने हाँगाको जरुरत पर्छ । उनीसँग सुशासन नामक राजनीतिक जग बलियो थियो । किनभने नेपालमा यसको नितान्त आवश्यक छ । उनको समाउने डालो भनेको कानूनी राज्य थियो । यो आफैंमा मक्किएको थियो । किनभने रवि आफैंले यसमा धमिराको गोंड हालेका थिए । अझ प्रस्ट भन्नुपर्दा उनी आफैं गैरकानूनी थिए । यो पहिले नै प्रस्ट थियो कि रविको पक्षमा यो फैसला आउनेछैन । किनभने यदि त्यसो भएको भए लाखौं नेपाली मूलका विदेशी नागरिक विनाभिसा नेपाल पुगेर आफ्नो बन्द व्यापार गरेमा कानूनले नछेक्ने नजीर बस्थ्यो ।

रविले पुनः नेपाली नागरिकता लिइसकेका छन् । फेरि पनि चुनावमा उठ्लान् । चुनाव पनि जित्लान् रे ! तर, उनका अगाडि उनको नैतिकता उनी हिँड्ने बाटोमा तेर्सिनेछ । प्रश्न उठ्छ उनको अगाडि तेर्सो परेर बसेको नैतिकतालाई उनी कसरी नाघेर जान्छन् ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *