को किन सहिद, कसको सहिद ? – Nepal Press
ब्लग

को किन सहिद, कसको सहिद ?

सहिदको सम्झनामा निर्मित सहिदगेट देखेपछि जो कोही नेपालीमा निःस्वार्थ रुपमा सहिदप्रति सम्मान जाग्छ, स्वस्फुर्त श्रद्धा भाव आउँछ र उनीहरुबाट प्रेरित भइन्छ । त्यतिमात्र होइन, एकछिन ऐतिहासिक आन्दोलनको गरिमालाई सोच्न बाध्य बनाउँछ । ती नै सहिदहरुको योगदानले नेपालको वर्तमान शासन व्यवस्था गणतन्त्रको जगमा उभिएको छ । आज ती सहिदहरुका सपना पूरा भए कि भएनन् ? फेरि फर्केर हेर्नुपर्ने र एकछिन गम्भीर मनन् गर्नुपर्ने वेला आएको छ ।

नेपालका हरेक आन्दोलनमा नेपाली जनताको उत्साहपूर्ण बलिदानी इतिहास छ । चाहे त्यो निरंकुश राणा शासनविरुद्व होस् वा पञ्चायत र राजतन्त्रविरुद्व । देशका होनहार चार सपूतले हाँसी-हाँसी प्राण आहुति दिएको ८२ वर्ष पुग्यो । यो निरंकुश राणा शासनविरुद्व उठाइएको आन्दोलनको पहिलो साहसपूर्ण कदम र बलिदान थियो । त्यसकारण ती अमर सहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । सहिदको सम्मान र श्रद्धाको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । जसमा सहिदले देखाएको मार्ग अनुशरण गर्ने प्रतिबद्धता जनाइन्छ । तर, सहिदहरूप्रतिको यस्तो सम्मान भाव अहिले औपचारिकतामा मात्रै सीमित छ । सहिदको विचार, सपनालाई आत्मसात गरेर कार्यान्वयन गरिँदैन । यो एउटा गम्भीर सवाल हो ।

राणा शासनको अन्यायविरुद्व बोल्दा लगातार ६ दिनभित्र चार जना वीर योद्धाहरुले क्रमशः मृत्यदण्डको सजाय भोग्नुपरेको थियो । चार सहिदले आफू मरेर गए पनि आन्दोलनको बिजारोपण गर्दै आम नागरिकलाई स्वतन्त्रता दिलाएका थिए । जसले गर्दा आन्दोलनको राप र ताप कहिल्यै सेलाएन । निरन्तर आन्दोलनको ज्वाला दन्किरह्यो । चार सपुतले बालेको आन्दोलनको झिल्को आगोमा परिणत भयो । परिणामस्वरूप त्यसको दश वर्षपछि २००७ सालमा प्रजातन्त्र स्थापना भयो । त्यसैगरी पञ्चायत, बहुदलीय व्यवस्था हुँदै लोकतान्त्रिक व्यवस्थासम्म पुग्यो । सत्तामा विराजमान राजा र महाराजाहरुलाई सत्तामा नफर्किने गरी किनारा लगाइयो ।

सहिदको सम्मान र श्रद्धाको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । जसमा सहिदले देखाएको मार्ग अनुशरण गर्ने प्रतिबद्धता जनाइन्छ । तर, सहिदहरूप्रतिको यस्तो सम्मान भाव अहिले औपचारिकतामा मात्रै सीमित छ ।

निरन्तर बढ्दो छ सहिदको सूची

सहिदहरुको विचारलाई अनुशरण गर्नेहरुहरु विभिन्न आन्दोलनमा होमिएर सहिदकै लाइनमा उभिए । राणाकालीन अवस्थामा उठेको आन्दोलन राजतन्त्र अन्त्य गराउनसम्म पुग्यो । नेपाली आन्दोलनको घटनाक्रमअनुसार सहिदहरुको छुट्टाछुट्टै विरासत पाइन्छ । राणा शासनविरुद्व प्रजा परिषद्को गतिविधिमा लागेको अभियोगमा विसं १९९७ साल कात्तिक २ गते शुक्रराज शास्त्रीलाई पक्राउ गरियो । चार महिनापछि माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजा परिषद् स्थापना गरियो । जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न थालेका शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्डयाएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्डयाएको थियो ।

यसैगरी माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी राणाहरुले हत्या गरेका थिए । यसरी तानाशाही शासनविरुद्ध बोल्दा चार वीर योद्धाहरुलाई मृत्युदण्डको सजाय दिइएको थियो । यदि चार सपुतले निरंकुश शासनविरुद्ध औंला नउठाएको भए देश कुन अवस्थाबाट गुज्रिरहेको हुन्थ्यो होला ? अनुमानसमेत गर्न सकिन्न । त्यतिखेर आन्दोलनको राप र तापले एकपछि अर्को उपलब्धि प्राप्त गर्दै गयो । तर, पूर्णता भने पाउन सकेन । प्रजातन्त्र प्राप्तिपश्चात् स्थापना भएको राज्य व्यवस्थाले जनताको पक्षमा काम गर्न सकेन । उल्टै प्रजातन्त्रको चीरहरण गर्ने खतरा देखापर्‍यो । त्यसपछिको निरन्तर आन्दोलनको बलमा १०४ वर्षे राणा शासनको अन्त्यसँगै पञ्चायती व्यवस्थाको स्थापना भयो ।

तर, पञ्चायतले समेत अपेक्षाकृत रुपमा जनताको हितमा काम गर्न सकेन । फेरि एकतन्त्रीय पञ्चायतकै विरुद्धमा जनताले लामो कठिन संघर्ष गर्नुपर्‍यो । सयौंको बलिदानले २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय व्यवस्था आयो । त्यसपछि पनि राजनीतिक नेतृत्वहरुको स्वेच्छाचारीले गर्दा प्रजातन्त्रको अवलम्बन जनताको पक्षमा हुन सकेन । जनताको बढ्दो वितृष्ण र विदेशीहरुको टेकोमा विसं २०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र युद्धको थालनी भयो । उक्त दशवर्षीय सशस्त्र माओवादी युद्धमा ज्यान गुमाउनेहरुको संख्या हजारौं छ । तत्कालीन सात राजनीतिक दलहरुको नेतृत्वमा २०६२/६३ को जनआन्दोलन, माओवादी प्रभाव र गिरिजाप्रसाद कोइरालाको प्रथम राष्ट्रपति बन्ने मृगातृष्णाले कसैले नसोचेको गणतन्त्र आयो । सहज रुपमा विनारक्तपात २४० वर्षे लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो ।

प्रजातन्त्र प्राप्तिपश्चात् स्थापना भएको राज्य व्यवस्थाले जनताको पक्षमा काम गर्न सकेन । उल्टै प्रजातन्त्रको चीरहरण गर्ने खतरा देखापर्‍यो ।

जसरी नेपालमा निरंकुश शासनविरुद्ध सशक्त आवाज उठाउने पहिलो (पछिल्लो खोजले बाँकावीर) महान सहिद लखन थापाको नाम अगाडि आउँछ । विसं २०५६ सालमा सरकारले उनलाई सहिद घोषणा गर्‍यो । लखन थापाले राणाहरुको विरुद्धमा गोरखा जिल्ला बुङकोटको काहुले भङ्गारमा विद्रोही किल्ला निर्माण गरेको इतिहास छ । त्यसैगरी उनले हजाराैं स्थानीय जनताको साथमा लडाइँको मोर्चाबन्दी गरेको भन्ने छ । यसरी मोर्चाबन्दी गर्दा विसं १९३३ फागुन २ गते लखन थापा राज्य पक्षबाट मारिएका थिए । समाज र जनताको लागि उनले गरेको योगदान उल्लेखनीय छ । यसरी विसं १९९७ देखि २०६२/०६३ को आन्दोलनका बीच करिब ६५ वर्षको अवधिसम्म नेपालमा चारजनालाई मात्रै सहिद मानिएको थियो । पछिल्लो समयमा आन्दोलन हुँदै गयो । आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गयो । सोहीअनुसार सहिद घोषणा गर्ने क्रम जारी रह्यो ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६२/०६३ को जनआन्दोलनमा ज्यान गुमाएका २६ जनालाई सहिद घोषणा गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको पालामा एकमुष्ट आठ हजारभन्दा बढी माओवादी युद्वमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरिएको थियो । अहिले नौ हजारभन्दा बढीको नाम सहिदको सूचीमा उल्लेख गरिएको छ । घोषणा गरिएका सहिदहरुको एकमुष्ट विवरण कुनै पनि सरकारी निकायमा छैन । गृह मन्त्रालयका अनुसार हरेक आन्दोलनमा र घटनामा फरक-फरक सहिदको सूची बनाइएको पाइन्छ । यसरी विभिन्न आन्दोलनमा हजारौं सपुतहरुले जनता र राष्ट्रका निम्ति रगत बगाएको वास्तविक इतिहास हामीमाझ जीवितै छ । आज सहिदको नाम लिँदा इतिहासमात्र बनाउन खोजिएको जस्तो देखिन्छ । सहिदहरुको त्याग, बलिदान, समर्पण एवम् विचारप्रति राज्य पक्ष आजसम्म इमानदार र गम्भीर नहुनु दुःखद कुरा हो ।

उपेक्षामा सहिदहरुको योगदान

देशको स्वाधीनता, राष्ट्रियता र लोकतन्त्रको रक्षाको निम्ति सहिद भएकाहरुको विचार आधारस्तम्भबाट आन्दोलनको जग स्थापित भएको हो । शासकीय प्रणालीअनुरुप हुँदै आएका अन्याय, अत्याचार, दमन र दासत्वविरुद्धको बलिदानपूर्ण संघर्ष गरे । राणाकालीन शासनको हुकुमी शासनमाथि धावा बोले । राणा शासनको निरंकुशताविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याए । जसबाट शासकहरुको अन्त्य भयो । सहिदहरुको अठोट र संकल्पको सुनौलो परिणामले आज देशको व्यवस्था फेरबदल भयो । तर, जनताको अवस्ता उस्तै छ । सहिदहरुको सपना शासक र शासन व्यवस्था बदल्नेमात्र थिएन । जनताको अवस्थालाई परिवर्तन गर्ने दृढ संकल्प पनि थियो । राणा शासन होस् वा पञ्चायतविरुद्ध बोल्न कसैको आँट थिएन । निरंकुश शासनले शोषण, दमन, अन्याय, अत्याचार, असमानता, विभेद, विकृति र विसंगतिले मानव हितको सीमा नाघिसकेको थियो । ‘हत्केलाले सूर्यलाई छेक्न सक्दैन’ भने झैं चार सपुतले राणाकालीन शासनविरुद्ध गरेको आन्दोलन रोक्न शासकहरुलाई हम्मे हम्मे पर्‍यो । सहिदको वैचारिक विचारको शक्ति र परिवर्तनका निम्ति गरेको अठोट राणाको गर्जनभन्दा बलवान थियो । जुन राष्ट्र र समाजप्रति समर्पित थियो ।

विसं १९९७ देखि २०६२/०६३ को आन्दोलनका बीच करिब ६५ वर्षको अवधिसम्म नेपालमा चारजनालाई मात्रै सहिद मानिएको थियो । पछिल्लो समयमा आन्दोलन हुँदै गयो । आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गयो । सोहीअनुसार सहिद घोषणा गर्ने क्रम जारी रह्यो ।

त्यसकारण वीर सहिदहरुलाई ज्यानभन्दा देश, समाज र जनता प्यारो लाग्थ्यो । फलस्वरुप निरंकुश शासन व्यवस्था फाल्न र जनताको शासन प्रणाली स्थापना गर्न ज्यानको बाजी थापेर लडे । मृत्यु र मुक्तिको बाटो रोजे । विचारमा कहिल्यै डगमगाएनन् । खुशीले शासकले लगाएको फाँसीको माला लगाए । बरु मृत्यु स्वीकारे । हार खाएर पछि हटेनन् । त्यसैले त समाज र राष्ट्र निर्माणमा सहिदहरु सधैं अमर र महान छन् । जहाँ ती सहिदहरुप्रति राष्ट्रले सधैं शीर झुकाएर श्रद्धा र सलाम गर्दछ । आज पनि अन्याय र अत्याचारविरुद्ध सहिदहरुको विचार जगजाहेर छ । वीर सहिदहरुको सतीसाल विचार यतिसम्म स्पातिलो छ कि कुनै वैरी र शासकहरुसँग झुक्दै नझुक्ने । न्यायको निम्ति लड्ने हरेकको मनमा सहिदहरुको विचार फहराइरहेको छ । नेपालका ऐतिहासिक आन्दोलनहरुमा बलिदान दिनेहरुको नाम आज स्वर्ण अक्षरले कोरिएको छ । सहिदहरुकै कारण लोकतन्त्र, गणतन्त्रसँगै हामी संघीय शासन प्रणालीमा छौं ।

अन्त्यमा नेपालमा जति पनि आन्दोलनहरु भए । ती आन्दोलनलाई तानाशाही शासन र राजतन्त्रविरुद्ध जारी राख्न सहिदहरुको विचारको आधार खम्बा बलियो थियो । त्यसले नेपालको एकात्मक राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतान्त्रिक शासन व्यवस्था स्थापना गरेर छोड्यो । यो परिवर्तित व्यवस्थामा आन्दोलनको रापले राजनीतिक दलका व्यक्तिहरु राज्य सञ्चालनको तहमा पुगेका छन । यो व्यवस्थासम्म आउँदा धेरैले रगत बगाएका छन् । हजारौं आमाहरुको काख रित्तिएको छ । हजारौं महिलाहरु एकल भएका छन् । त्यसकारण सत्तामा पुग्ने कोही, कसैलाई सहिदहरुको त्याग, बलिदान, रगतसँग साटेर ल्याएको संविधान, गणतन्त्र र लोकतन्त्रको महिमालाई कुनै पनि बहानामा अवमूल्यन गर्ने छुट छैन ।

हजारौंको बलिदानको गरिमा र विरासतलाई वर्तमान सरकारले ओठे श्रद्धा र सम्मान गरेरमात्र पुग्दैन । सहिदहरुले नेपाली जनता, समाज र राष्ट्रपति बोकेको सपना पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ । जनताको रगत र पसिनाले ल्याएको व्यवस्थाले जनताको हक अधिकार स्थापित गर्न सक्नुपर्छ । ती वीर सहिदहरुको सपना पूरा गर्ने बहानामा राज्यको बागडोर सम्हालेका कथित ठूला भनिएका दलहरु आफ्नो दुनो सोझ्याउने किञ्चित मौका छँदैछैन । सत्ता हत्याउने होडबाजी गर्न महत्वाकांक्षा राख्नुभन्दा लोकतान्त्रिक मूल्य मान्यतालाई कार्यान्वयन गर्न सबै दलहरु जिम्मेवार बन्नुपर्छ । व्यवस्था बदलिएको देशमा जनताको अवस्था बदल्न सबै राजनीतिक नेतृत्व इमानदार, पारदर्शी र जवाफदेही बन्नैपर्छ । सबै राजनीतिक दलहरुले विभिन्न ऐतिहासिक आन्दोलनहरुको समीक्षा गर्नुपर्छ । हिजो सहिदहरुले उठाउँदै आएका राजनीतिक र सामाजिक मुद्दाहरु आज कस्तो अवस्थामा छन् ? त्यसबारेमा निर्मम पुनरावलोकनसँगै सहिदहरुको सपनालाई व्यवहारमा कार्यान्वयन गरिनुपर्छ । यसो नगर्दासम्म सहिदहरुको सपना, त्याग र बलिदानको साँचो अर्थमा सम्मान भएको मान्न सकिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *