सेना दिवसमा मानार्थ महारथीहरुलाई निमन्त्रणा, टुँडिखेल र छाउनीमा अखण्ड दीपज्योति राखिने – Nepal Press

सेना दिवसमा मानार्थ महारथीहरुलाई निमन्त्रणा, टुँडिखेल र छाउनीमा अखण्ड दीपज्योति राखिने

काठमाडौं । नेपाली सेनाले आसन्न सेना दिवसमा मानार्थ महारथीहरु सबैलाई बोलाउने भएको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले मानार्थ महारथीको उपाधि पाएका भारतीय सेनाका बहालवाला स्थल सेनाध्यक्ष र पूर्वसेनाध्यक्षहरुलाई बोलाइने जानकारी दिए ।

नेपाली सेना स्थापना भएको २६०औं वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले मानार्थ महारथीहरुलाई बोलाएर विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

‘अन्य कार्यक्रमहरु विगतका जस्तै हुन्छन् । यसपटक हामीले मानार्थ महारथीहरुलाई बोलाएर चिफ कन्क्लेभ आयोजना गर्दैछौं’, उनले भने । नेपाली सेनाले जीवित सबै मानार्थ महारथीहरुलाई निमन्त्रणा भइसकेको जनाएको छ ।

भारतीय स्थल सेना र नेपाली सेनाले एक अर्काका प्रमुखलाई मानार्थ महारथीको उपाधि दिँदै आएका छन् । नेपाली सेनाले शिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

यसपटक आगामी फागुन ६ गते शिवरात्री परेको छ । नेपाली सेनाले पहिलोपटक टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा अखण्ड दीप ज्योति राखिने जनाएको छ । सैनिक प्रवक्ता भण्डारीले दिवंगतको सम्झनामा पहिलोपटक दुवै स्थानमा अखण्ड दीप ज्योति राख्न लागेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *