फेसबुकबाट औषधिको प्रचारबाजी रोक्न संयन्त्र बनाउनुपर्नेमा स्वास्थ्य राज्यमन्त्रीको जोड (भिडिओ)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन् ।
मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो बताएकी हुन् । उनले फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल
प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन् ।
उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् ।
उनले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने बताइन् । उनले देश
भित्रै औषधिहरुको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन् ।
‘कुनैपनि प्रोडक्टहरु बनिन्छि, तर बजारमा पुग्दैगर्दा फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डीडीएमा देखाउनुपर्ने, अनुमति लिनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था हामीले बनाउनु पर्छ’, राज्यमन्त्री कार्कीले भनिन्, ‘बजारमा अहिले धेरै विज्ञापनहरु सुनिन्छ, प्रयोगमा पनि आएका छन्, विभिन्न थरिका मालिस गर्ने तेलहरु, दाँत सेतो पार्ने औषधिहरु, कपाल उमार्ने तेलहरु र आयुर्वेदिक औषधिहरुको गुणस्तर मापन कसले गरिरहेको छ, डाटासहित आउनुहोला ।’
कार्कीले आफूहरु कहीँ न कहीँ चुकिरहेकाले नियमन गर्न आवश्यक रहेको औंल्याइन् । ‘हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौँ, त्यसको नियमन गर्न अत्यन्त जरुरी छ । यसमा हामीले कत्ति पनि कम्प्रमाइज गर्नु हुँदैन’, उनले भनिन्, ‘नियमनको कार्यविधि के कस्ता हुनुपर्छ, त्यससम्बन्धी कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । हामीले देशभित्रै औषधिहरु उत्पादन गर्नसक्छौँ, त्यससम्बन्धी पनि खोज अनुसन्धान अघि बढाउनुपर्छ । अनलाइन एप्स, मार्केटमा सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचारबाजी हुने र जथाभावी लिने काम भइरहेको छ, त्यसलाई नियमन गर्न के गर्नुपर्छ ? के गर्न सकिन्छ, त्यो उत्पादन बनिसकेपछि त्यसले डिडिएमार्फत अनुमति लिएको छ कि छैन ? त्यसका लागि एउटा प्रावधान बनाउन जरुरी छ । कोभिड महामारी पछि व्यापक भइरहेको छ । अबका दिनमा अनलाइन सपिङ झनै भद्रगोल हुने अवस्था छ ।’
डा.तोसिमा कार्की, राज्यमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने
बताइन् ।