‘धेरै मान्छे भ्रममा बाँचेका छन्, अबको युग मिडियाको हो’ (भिडिओसहित) – Nepal Press
नेपाल टक

‘धेरै मान्छे भ्रममा बाँचेका छन्, अबको युग मिडियाको हो’ (भिडिओसहित)

वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा भन्छन्- समाज वर्गमा बाँडिएको छ । सबै क्षेत्रमा जनवादी र जनविरोधी दुईथरि हुन्छ

दाङ । ९३ वर्षको उमेरमा दैनिक ८-१० घन्टा लेखन र अध्ययनलाई निरन्तरता दिएको सुन्दा धेरैलाई विश्वास नलाग्नसक्छ । तर, दाङ घोराहीका पत्रकार नारायणप्रसाद शर्माले ७ दशकदेखिको लेखन र अध्ययन यात्रालाई अहिले पनि उत्तिकै नियमित बनाइरहेका छन् । शर्मा साविक राप्ती क्षेत्रको पत्रकारिता र साहित्यका खम्बा मानिन्छन् । शर्माकै नेतृत्वमा सुरु भएको युगबोध दैनिक प्रकाशन । यगबोधकै कार्यालयमा उनी दिनभर अध्ययन तथा लेखनमा समय बिताउँछन् ।

अहिले बुद्धको ध्यानमा समय बताइरहेका शर्मासँग शिक्षण, पत्रकारिता, राजनीति, साहित्य तथा इतिहासको अध्ययन उत्तिकै छ । विसं १९८८ सालमा दाङमा जन्मेका उनीसँग यहाँको पुरानो साहित्यिक संस्था राप्ती साहित्य परिषद्, नेपाल पत्रकार महासंघ दाङको संस्थापक अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी दाङको संस्थापक सचिव रहेको अनुभव छ । शर्मा २०६३ सालमा अन्तरिम विधायक र २०६५ सालमा प्रेस काउन्सिल नेपालको अध्यक्ष भएका थिए ।

शर्माका आत्मकथा, काव्य, कवितालगायत विभिन्न विधाका १ दर्जन कृति प्रकाशित छन् । पंक्तिकार निवासमा पुग्दा शर्मा हातमा बुद्ध दर्शनका पुस्तक थियो । विकाससँगै पत्रकारिता, राजनीति, साहित्य, कर्मचारी प्रशासन सबै क्षेत्रमा बढेको निराशालाई हटाउन अबको पिँढी मिसनसहित लाग्नुपर्नेमा उनको जोड थियो । शर्मा यो उमेरमा पनि कुनै दीर्घरोगबाट पीडित छैनन् । उनै वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मासँग नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानीः

– दिन कसरी बितिरहेछ ?

जीवनभर जे सिकियो त्यो काम छोडेको छैन । अध्ययन र लेखनलाई मूल पेशा बनाएँ । अहिले पनि दैनिक यही गरेर दिन बिताउँछु । अहिले केही समय निकालेर बुद्धको ध्यान, अध्ययनमा पनि समय दिन थालेको छु । अन्य समय आफ्नो पत्रिकामा आउने दैनिक सामग्री, विभिन्न क्षेत्रका व्यक्तिसँगको भेटघाट र नियमित अध्ययन नै हो । झन् रुचि बढेको जस्तो लाग्छ ।

– कहिलेदेखि लेखनमा सक्रिय हुनुहन्छ ?

म अहिले ९३ वर्षको भएँ । दैनिकी लेख्न थालेको त २००५पाँच सालदेखि हो । २०१० सालदेखि आजसम्मका डायरी अझै मसँग सुरक्षित छन् । मैले वेला-वेला ती सबै घटनाको चर्चा गरिसकेको छु र लेखिसकेको छु । तर, ती डायरीहरु आफ्नै गुरु ठानेर फाल्न सकेको छैन । अझै पनि ती मेरा प्रेरणाका स्रोत हुन् । अहिले केही समय ध्यानमा पनि दिन थालेको छु । पञ्चायतमा लेख्न, पढ्न र सामग्री सुरक्षित राख्न निकै समस्या भयो । बहुदल आएपछि केही सहज भयो र पछि राजाको सक्रिय शासनमा केही दुःख दिए । अन्य समयमा नियमित कामलाई जारी राखें ।

विश्वमा मिडियाको भूमिका प्रथम दर्जामा पुगेको छ । पुरानो जुग श्रम प्रधान थियो । त्यसपछि शक्ति प्रधान जुग आयो । अझै पनि शक्तिको बलमा राज्य चलेका छन् । साम्राज्यवादी युगको समाप्ति हुनु नै बुद्धिको युग सुरु हुनु हो । त्यो भनेको पत्रकारिता हो, मिडिया हो ।

– यो उमेरमा पनि लेखन र अध्ययनमा उस्तै सक्रिय हुनुहुन्छ । कहाँबाट आउँछ ऊर्जा ?

जे जानियो, त्यही गर्ने हो । श्रीमतीले छाडेर गइन् । छोराबुहारी सबै पत्रकारितामै सक्रिय छन् । मलाई कुनै दीर्घरोग लागेको छैन । आफै सुरु गरेको युगबोधलाई नियमित लेख दिन्छु । अपवादमा कहिलेकाहीं फुटकर लेख्नुपर्ने हुन्छ साथीहरुको आग्रहमा । कविता चाहिं छुट्टै सौखको विषय छ । मनलाग्दा लेख्छु । उहिले भने आवश्यकताले लेखाउँथ्यो । प्रस्ट लक्ष्य र दृढ इच्छाशक्ति भयो भने आफैं ऊर्जा आउँछ । कतैबाट खोजी ल्याउनुपर्दैन । यो आन्तरिक शक्ति हो । कुनै अल्छी लाग्दैन । नियमित गर्न छाड्यो भने समस्या हुन्छ झन् ।

– ९३ वर्षको जीवनमा तपाईंका संघर्ष सुनौं न त ।

सबैको जीवन आफैंमा संघर्ष हो । तपाईंले भने जस्तो म सबै क्षेत्रको पूर्ण जानकार, विज्ञ होइन । तर, अनुभवले धेरैथोरै सिकायो । यो प्रश्नको उत्तर लामो पनि हुनसक्छ । उतारचढाव त कति हो कति ! कतिले आँखाको कसिंगर जस्तो मानेर तल खसाल्न बल गरे । अनेक दुःख दिए । जेलनेल र अनेक शारीरिक यन्त्रणा दिए । कतिले सम्मान दिए । पुरस्कार दिए । फूलमाला दिए । दोसल्ला दिए । स्नेह दिए । लामो समयको निर्दललाई फाल्न गरिएको संघर्ष, प्रजातन्त्र, सक्रिय राजाको शासन, पुनः प्रजातन्त्र, गणतन्त्र हुँदै संघीय शासन सबै अनुभव गरियो । हरेक समयमा संघर्ष गरियो । मेरो अनुभवमा सबैका आफ्ना संघर्ष ठूला हुन्छन् । त्योभन्दा फरक मेरो नि होइन भन्ने लाग्छ ।

– अहिलेको पत्रकारितालाई कसरी लिनुभएको छ ?

विश्वमा मिडियाको भूमिका प्रथम दर्जामा पुगेको छ । पुरानो जुग श्रम प्रधान थियो । त्यसपछि शक्ति प्रधान जुग आयो । अझै पनि शक्तिको बलमा राज्य चलेका छन् । साम्राज्यवादी युगको समाप्ति हुनु नै बुद्धिको युग सुरु हुनु हो । त्यो भनेको पत्रकारिता हो, मिडिया हो । जहाँसम्म अहिलेको मिडिया कस्तो छ भन्ने कुरामा यसका सकारात्मक पक्ष थुप्रै भए पनि नकारात्मक पक्ष पनि छन् । बिकाउ पत्रकारिता पनि चलेकै छ । आत्मोत्सर्ग गरेर पनि सत्यको उद्घाटन गर्ने पत्रकारहरु पनि छन् । युग हाँक्ने पत्रकार पनि छन् । युगको पछि-पछि लाग्ने पनि छन् । युग फर्काउन खोज्ने पत्रकार पनि छन् । समाजको प्रतिविम्ब पत्रकारितामा देखिनु स्वाभाविक हो । यस प्रकारको द्वन्द्व चलिरहन्छ ।

जनताका सानातिना पीरमर्का हटाउनदेखि ठूल्ठूला संघर्षमा पनि लागियो । अहिले उवेलाको इमानदारीमा अहिले कमी आएको जस्तो लाग्छ । सबैलाई एकै डालोमा राखेर दोष दिनुहुँदैन । धेरैजना स्वार्थमा जोडिएकाले समस्या बढेको हो । यो नयाँ पुस्तालाई चुनौती हो ।

– अहिलेको राजनीतिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

राजनीतिमा सेवा कम सत्ता स्वार्थ बढी देखें । असल नेता छँदै छैनन्, थिएनन् । भन्न सक्दैन । म आफैं राजनीतिमा होमिएको मान्छे परें । २००७ सालदेखिको राजनीतिक चेतना अहिलेसम्म कायम छ । अझ झाँगिएको छ । अनुभवले धेरै सिकाएको छ । युवा उत्साह पार्टी जीवनमा लगाइयो । लक्ष्य चाहिँ जनजीवन सुधार्नु थियो । मैले सिद्धान्त र व्यवहारलाई सधैं जोडेर लगें । कम्युनिष्ट पार्टीसित आकर्षित भएदेखि नै गाउँ-गाउँमा शिक्षा प्रचार, जातपात, छुवाछूत, महिला शोषण र किसानमाथि सामन्ती शोषणविरुद्ध लागियो । जनताका सानातिना पीरमर्का हटाउनदेखि ठूल्ठूला संघर्षमा पनि लागियो । अहिले उवेलाको इमानदारीमा अहलिे कमी आएको जस्तो लाग्छ । सबैलाई एकै डालोमा राखेर दोष दिनुहुँदैन । धेरैजना स्वार्थमा जोडिएकाले समस्या बढेको हो । यो नयाँ पुस्तालाई चुनौती हो ।

– राजनीतिमा कसरी जोडिनुभयो ?

२०१० सालको कात्तिक महिनामा दाङमा गुप्त रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । ६-७ वर्षसम्म पार्टीको सेक्रेटरी भएर काम गरियो । निकै संघर्षमा जीवन होमियो । तर, तिनताकको सामाजिक र राजनीतिक आनन्द बडो मजाको थियो । देशको लागि केही गर्दैछु भन्ने पवित्र भावना थियो । उहिले कांग्रेस र कम्युनिष्ट व्यवहारबाट छुटिन्थ्यो अब त चिन्न गाह्रो छ । अहिलेको राजनीति बढी विभाजित छ । अनेकौं कम्युनिष्ट पार्टीहरु जन्मिए । एउटै कम्युनिष्ट पार्टी हुँदा काम गरेको म जस्तालाई छुट्याउन अलमल पर्छ । अब त सेवाभन्दा स्वार्थ चर्को छ । गुटबन्दी देखिन्छ । उहिले पनि कमी कमजोरी थिए । तर, आजको जस्तो हैन । कतिलाई समग्र राजनीति व्यापार जस्तो भएको छ । सर्वहारा चरित्र भेट्न गाह्रो हुन्छ ।

– साहित्य क्षेत्रलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

समाज वर्गमा बाँडिएको छ । सबै क्षेत्रमा जनवादी र जनविरोधी दुईथरि हुन्छ । साहित्य क्षेत्र पनि त्यही हो । हुनेखाने सम्पन्नहरु पनि साहित्य रचना गर्छन् । त्यहाँ आ-आफ्नै वर्गीय छायाँ हुन्छ । अर्कातिर गरिब किसान-मजदुरहरुको वर्ग छ । तिनले पनि कला साहित्य र संगीतमार्फत् आफ्ना पीडा र छटपटी पोख्छन् । भाग्यको खेल, अन्धविश्वास, अवैज्ञानिक चिन्तन, रुढीवाद र परम्परावादको पछि लाग्ने एकथरि लेखक छन् । वैज्ञानिक चिन्तन राख्ने, लोकतन्त्र र समाजवादको लागि कलम चलाउने अर्काथरि ।

उहिले कांग्रेस र कम्युनिष्ट व्यवहारबाट छुटिन्थ्यो अब त चिन्न गाह्रो छ । अहिलेको राजनीति बढी विभाजित छ । अनेकौं कम्युनिष्ट पार्टीहरु जन्मिए । एउटै कम्युनिष्ट पार्टी हुँदा काम गरेको म जस्तालाई छुट्याउन अलमल पर्छ ।

कविता, कथा, नाटक आदि लेख्दै जनअधिकारका निम्ति लडेका जेलनेलको कष्टसहित अनेक यन्त्रणा भोगेका साहित्यकार पनि देखिए । सत्ताको भत्तामा रमाएर रोमान्स गर्ने कवि, लेखक पनि देखिए । साहित्यकारहरुको उद्देश्य लोकगणतन्त्रलाई सफल पार्न तदनुकूल संस्कार जगाउने, निराशा, कुण्ठा र पलायन पालेर देशलाई र मानव जातिलाई केही दिन सकिन्न भन्ने चेतना जगाउने नै हो ।

– तपाईको अनुभवमा पत्रकारिता, साहित्य र राजनीतिमा के के फरक पाउनुभयो ?

पत्रकारिता, साहित्य र राजनीति एक-अर्काका अविच्छिन्न पूरक हुन् । मेरो व्यक्तिगत अनुभवमा कविता लेख्दालेख्दै राजनीतितिर लहसिएछु । राजनीति गर्दा मिडिया नभई नहुने रहेछ । यसरी पत्रकारिता पनि रुचि र आवश्यक भयो । प्रत्यक्ष राजनीतिबाट अलि पर बसेर पत्रकारितातिर र साहित्यतिर घनीभूत भएर लागेको पनि धेरै वर्ष भइसक्यो । एउटा बिर्सन नहुने कुरा के हो भने जीवन एउटा समुद्री यात्रा जस्तो हो । किनारामा बसेर मीठामीठा सन्देश एवं उपदेश दिनेहरुभन्दा समुद्री भूमरी पार गर्दै भयानक आपतविपत टार्दै अगाडि बढ्ने बहादुरहरु भिन्नै कित्ताका हुन् । सबैलाई एउटै टोकरीमा हालेर हेर्न मिल्दैन ।

– जीवनमा आफूले गर्न चाहेको तर अधुरो के छ जस्तो लाग्छ ?

कुनै पछुतो छैन । कसैको एक पैसामा आँखा लागेन । थुप्रै परिवर्तन देखें । तर, असल मान्छे तयार गर्न गाह्रो रहेछ । असल मान्छेको संख्या थोरै छ । त्यसैमा चित्त दुख्छ । बुढेसकालमा आफू जन्मेको गाउँमा अक्षरधाम खोलेर बसें । त्यसलाई चलाउन सकिनँ । त्यसैमा पछुतो छ । जीवनको उत्तरार्द्धमा आइपुग्दा नयाँ अनुभूति भयो । हाम्रो सोचाइ र पढाइ नै उल्टो-उल्टो जस्तो लाग्यो । धेरै मान्छे भ्रममा बाँचेका छन् । सत्यको पछि लाग्न सहज नहुने रहेछ । यस्तो परिस्थितिमा मार्क्स र बुद्धलाई जोडेर नयाँ दुनियाँ बन्छ भन्ने त लागेकै छ । सके त्यसैमा काम गर्ने हो । अहिले ध्यान र बुद्धको अध्ययनमा समय दिएको छु । सत्य विचार, असल काम अरुलाई सिकाउन सकियोस् । अझै जे जति गर्न सकिन्छ त्यसमै समय बिताउने हो । समकालीन धेरै साथीहरु अहिले साथमा नभए पनि सिक्न आउने धेरैलाई केही न केही पुराना अनुभव दिन सकियोस्, समीक्षा गर्न सकियोस् भन्ने लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर