रवि र प्रेमप्रसादको ‘केस स्टडी’मा मानवशास्त्रीय बयान – Nepal Press

रवि र प्रेमप्रसादको ‘केस स्टडी’मा मानवशास्त्रीय बयान

भक्तपुरका रवि लामिछाने र इलामका प्रेमप्रसाद आचार्यको तुलना आफैंमा अप्ठेरो सन्दर्भमा गर्नुपर्‍यो । यी दुवैको राजनीतिक, सामाजिक र व्यवहारिक चेतनामा कताकता समानता छ, प्रेमप्रसादको ‘सुसाइट नोट’ हेर्दा । दुवै आ-आफ्नो उद्यममा पहिला नेपालमै केही गरेर, अब भएन भन्दै एकजना अमेरिका र एकजना कतार गएर फेरि नेपालमै केही गर्छु भन्दै आएका हुन् । सफल रवि अन्ततः आफ्नै लापरबाहीले राजनीतिक प्रक्रियाहरूबाट बहिर्गमित हुनुपर्‍यो भने असफल प्रेमप्रसाद आफ्नै मेहनतले पनि जीवन प्रक्रियाबाट बहिर्गमित हुनुपर्‍यो । बाठा रवि फेरि ‘उचाइ’मा आउने बाटाहरू छँदैछन्, नागरिकता सक्रिय गरेको एक घण्टाबीचमै पूर्ववत उनी आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष भैसकेका छन् भने लाटा प्रेमप्रसादले अग्निमा जलेर, रवि पार्टीकै स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीका अनुसार ‘जलेर पनि बाँच्ने आशा साँच्दासाँच्दै’ जीवन नै समाप्त पारिसकेका छन् ।

यी दुई परिघटनाले नेपालको मध्यम वर्गीय जीवनको धरातलीय यथार्थ प्रतिविम्बन गर्दछन् । राजनीतिको नयाँ उद्यममा लाग्दा रवि पाँचै महिनामा सांसद भैकन गृहमन्त्रीको कुर्सीमा पुग्न कसरी सफल भए ? अनि रवीन्द्र मिश्रको ‘नयाँ’ सोचमा, विवेकशील-साझा पार्टीको इलाम अध्यक्ष भएर पनि स्वरोजगार उद्यमलाई प्रमुखता दिँदा प्रेमप्रसादले नसोचेको दलाल पूँजीबजारले उनलाई कसरी असफल सावित गर्‍यो ? यी दुईका चित्र र चरित्रहरू यसरी बनेका छन् ।

पहिले जाऔं रवि सन्दर्भमै, रवि लामिछानेले नागरिकता प्रकरणमा गम्भीर लापरबाही गरेकै हुन् । सर्वोच्च अदालत स्वयंले संविधान-कानूनको व्याख्या गरेर यही फैसला गरेपछि उनले नागरिकता प्रमाणपत्रको पुनप्र्राप्ति गर्नु स्वतःसिद्ध थियो भन्ने जगजाहेर भैसकेको छ । उनले सम्बन्धित जिल्ला प्रशासनमा गएर नागरिकताको पुनर्प्राप्ति गरिसकेका छन् । वेग्लै अपेक्षा हो कि उनी आम जनता जस्तै नागरिकता लाइनमा बसे वा आफ्नो निवर्तमान गृहमन्त्री हैसियत वा जल्दोबल्दो राजनीतिक हैसियत देखाएर सीधै सीडीओ साबको सोफामा पुगे ! तर, अदालतको आदेशबमोजिम उनले नागरिकता लिए ।

राजनीतिको नयाँ उद्यममा लाग्दा रवि पाँचै महिनामा सांसद भैकन गृहमन्त्रीको कुर्सीमा पुग्न कसरी सफल भए ? अनि रवीन्द्र मिश्रको ‘नयाँ’ सोचमा, विवेकशील-साझा पार्टीको इलाम अध्यक्ष भएर पनि स्वरोजगार उद्यमलाई प्रमुखता दिँदा प्रेमप्रसादले नसोचेको दलाल पूँजीबजारले उनलाई कसरी असफल सावित गर्‍यो ?

रवि नेपाली नै होइनन् भन्ने आम मनोविज्ञान जुन निर्माण गर्न खोजिएको थियो, त्यो भने गलत थियो । अमेरिकी नागरिक भएपछि स्वतः निष्क्रिय भएको नागरिकता उनी नेपालमै बस्छु भनेर अमेरिकाबाट फर्किएर पनि त्यसलाई सक्रिय गराउने वा पुनप्र्राप्ति गर्ने प्रक्रियामा लाग्दा उनी नेपाली नहुने कुरै थिएन । तर, यसबीच अध्यागमन विभाग, प्रेस काउन्सिल जस्ता निकायले उनलाई नेपाली नागरिक नभएकै रूपमा संस्थागत–कानूनी व्यवहार गरेर थिए । त्यसलाई संकेतका रूपमा बुझ्दै अमेरिकी नागरिकता त्याग्ने र नेपाली नागरिकता सक्रिय बनाउने काममा उनले किन चासो दिएनन् ? अनि निष्क्रिय नागरिकताकै आधारमा अध्यक्षका रुपमा पार्टी दर्ता गर्ने, चुनावमा उम्मेदवारी मनोनयन गर्ने, प्रमाणपत्र पाउने, उपप्रधान तथा गृहमन्त्रीका रूपमा शपथ खाने कामले उनको चरम लापरबाहीलाई नै उजागर गरेको छ ।

उनको मात्र होइन, निर्वाचन आयोग र अन्य प्रशासनिक निकायको चरम लापरबाहीलाई समेत यसले उजागर गरेको छ । त्यो लापरबाहीको नतिजा रविले भोगिसकेका छन् । सांसद र मन्त्री पद खुस्किसकेको छ भने पार्टी अध्यक्षबाट समेत स्वतः बहिर्गमित भएर नागरिकता प्रमाणपत्र लिइसकेपछि मात्र त्यो प्राप्त गरेका छन् । नागरिकता प्रक्रिया पूरा गरेरमात्र नागरिक अधिकारका रूपमा राजनीतिक एवं सामाजिक गतिविधि गर्न पाइन्छ भन्ने चेत उनी जत्तिका व्यक्तिका लागि सर्वोच्च अदालतको पूर्ण संवैधानिक इजलासले निर्माण गर्दिनुपर्ने परिस्थिति लाजमर्दाे मानक भएर स्थापित भैसकेको छ ।

उनी नेपाली नै होइनन्, उनको पार्टी पनि खारेजीमा पर्छ, उनलाई राज्यविरुद्धको फौजदारी अभियोग लगाउनुपर्छ भन्ने सोचहरू भने अति र उरन्ठेउला सोच हुन् । अहिलेलाई अदालतले जे फैसला गरेको छ, रविलाई त्यही रुपमा बुझ्नुपर्छ । उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकजना सांसद घटेको हो, दुई दिनका लागि पार्टी अध्यक्षबाट उनी हट्नुपरेको हो, पार्टी नै अवैध भएको होइन । र, जनअनुमोदन वा सरकार सहयात्रीका रूपमा उनको पार्टी एक महत्त्वपूर्ण पार्टीका रूपमा कानूनी हैसियतमा नै छ । रातारात उदाएका रवि रातारात बिलाए भन्ने तर्क पनि उनको पार्टीको जुन हैसियत छ, त्यस आधारबाट हेर्दा गलत हो ।

यसबीच अध्यागमन विभाग, प्रेस काउन्सिल जस्ता निकायले उनलाई नेपाली नागरिक नभएकै रूपमा संस्थागत-कानूनी व्यवहार गरेर थिए । त्यसलाई संकेतका रूपमा बुझ्दै अमेरिकी नागरिकता त्याग्ने र नेपाली नागरिकता सक्रिय बनाउने काममा उनले किन चासो दिएनन् ?

प्रक्रियागत रुपले यतिवेलाको व्यक्ति रवि फेरि सबैतिरबाट परीक्षित भएर आउने बाध्यतामा छन्, यतिवेलाको उनको पार्टी होइन । उनको वैचारिक अस्पष्टता र सस्ता आदर्शमा भने प्रशस्त प्रश्न गर्न सकिन्छ । कतै प्रेमप्रसाद, बैकल्पिक राजनीति गर्छु भन्ने रविहरूको यस्तै रुमानी आदर्शले समेत अति भावनामा बगेका त होइनन् ? तर, धरातलीय यथार्थ के पनि हो भने वैचारिक अस्पष्टता र सस्ता आदर्शलाई पनि जनताले एक निर्णायक महत्त्व दिएर रविलाई चुनाव जिताएका हुन् ।

अब जाऔं प्रेमप्रसाद सन्दर्भमा, प्रेमप्रसादको आत्मदाहले निश्चित आर्थिक, सामाजिक र राजनीतिक प्रश्नहरू छोडेर गएका छन् । लाखौं लगानी भएका, स्वनिर्भरका थरिथरिका व्यवसायमा असफल भएपछि अन्ततः २० लाखको अभावमा संघीय राजधानीको मुटु, राजनीतिक शक्ति अभ्यासको केन्द्र नयाँबानेश्वरको खुला सडकमा उनले आत्मदाह गर्नुपरेको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक उनको ‘सुसाइट नोट’ले धेरै व्यापारी र व्यापार कम्पनीलाई दुरुत्साहनको औंला उठाएको छ । स्वनिर्भरमा लाग्न चाहने आजका राष्ट्रिय उद्यमीहरू दलाल उद्यमीबाट कसरी प्रताडित छन् भन्ने फेहरिस्त उनले जारी गरेका छन् । जब सत्ता संरचनाले मुखमा रामरामको शैलीमा राष्ट्रिय उद्योग संरक्षणको कुरा गरेर बगलीमा छुराको शैलीमा दलाल उद्योगको मात्र संरक्षण गर्छ, प्रेमप्रसादहरूले नै त्यसको भुक्तमान व्यहोर्नुपर्नेछ । दलाल, नवउदारवाद र कर्पोरेट अर्थतन्त्रको छायाँमुनि देशको आजको अर्थनीति कसरी शरणागत भएको छ भन्ने यथार्थ हालत प्रेमप्रसादले उजागर गरिदिएका छन् ।

प्रक्रियागत रुपले यतिवेलाको व्यक्ति रवि फेरि सबैतिरबाट परीक्षित भएर आउने बाध्यतामा छन्, यतिवेलाको उनको पार्टी होइन । उनको वैचारिक अस्पष्टता र सस्ता आदर्शमा भने प्रशस्त प्रश्न गर्न सकिन्छ । कतै प्रेमप्रसाद, बैकल्पिक राजनीति गर्छु भन्ने रविहरूको यस्तै रुमानी आदर्शले समेत अति भावनामा बगेका त होइनन् ?

आजको मतलबी र एकाङ्गी आन्तरिक-बाह्य सामाजिक मनोविज्ञानलाई पनि उनले उजागर गरेका छन् । आफ्नो व्यवसायिक असफलतालाई केलाउँदा त्यसका आर्थिक, सामाजिक, राजनीतिक कारणहरूको उचित चित्रण, उनको समाजशास्त्रीय चेतना हो । व्यापारिक घरानासँगकै उधारोले व्यवसाय चौपट हुँदा, प्रोत्साहन गर्न चाहने देशीविदेशीले खर्चमात्र गराउँदा, राज्यको कृषि अनुदान आफ्ना लागि दुर्लभ बन्दा, बैंकको किस्ता तिर्ने सम्पूर्ण बाटाहरू बन्द हुँदा र घरपरिवारले समेत सम्भावित सहज समाधानप्रति वास्ता नगरिदिँदाका कारणहरूले उनी निराश बनेका देखिन्छन् ।

धेरै प्रयत्नबीचका असफलता र निराशाको खाडल पुर्न नसक्दा, पुर्ने वातावरण नदेख्दा र पुर्न कसैले कुनै उत्साही पहल नलिँदा उनले आत्मदाहको बाटो रोजेका हुन् । समाज र प्रवृत्तिहरूसँग खडा हुन नसक्ने उनको बाटो अत्यन्तै गलत हो । तर, उनको बाटोले व्यवस्था र संरचनाको यथागतिलाई दरिलो झड्का दिएको छ । दलाल अर्थतन्त्र, दलाल उद्योगी र राज्य पुनर्संरचना ग‍र्‍यौं भनेर पनि आधारभूत वर्गले सहज स्वउद्यमसम्म गर्ने वातावरण नभएको संरचनामाथि एक दरिलो झापड हो प्रेमप्रसादको यो आत्मदाह ।

जुन जुन दलाल आर्थिक र सुदखोर राजनीतिक प्रवृत्तिले प्रेमप्रसादलाई आत्मदाहको मुखमा पुर्‍याएका छन्, ती लज्जित बन्नुपर्छ र तिनले आफ्ना चिन्तन-कारोबार-गतिविधिमा सुधार गर्नुपर्छ । तत्कालै त राज्य र ती सबैले अनि सहयोगी हातहरूले प्रेमप्रसादको परिवारलाई ऋणमुक्त गरिदिनुपर्छ ।

एक जोशिला युवा, मध्यम वर्गीय लाग्ने राष्ट्रिय उद्यमी र राजनीति सचेत प्रेमप्रसादले संघीय लोकतान्त्रिक गणतन्त्रलाई, यस व्यवस्थाका नेताहरूलाई र यस व्यवस्थाको आदर्श सुधार गर्ने भनेर खडा भएका तर आफैं तर मारिरहने रङ्गीबिरङ्गीहरूलाई व्यंग्य दिएर गएका छन् । यहीनेर रवीन्द्र मिश्र र रवि लामिछानेको प्रसङ्ग आउँछ । बैकल्पिक राजनीतिको आदर्श पुरुष हुँ भन्दै राजनीतिमा आएका रवीन्द्रको राजावादमा पतनपछि, रवीन्द्रको जस्तै सुरुवाती धरातल बोकेका रविसँग उनको बहुअपेक्षा पक्कै थियो । स्वास्थ्य राज्यमन्त्री तोसिमाले नै भनेकी छन् कि बाँच्ने चाहना गर्दै प्रेमप्रसादले रविलाई आफूमार्फत केही सन्देशहरू पठाएका छन् । प्रेमप्रसादमा राजनीतिक बुझाइका आफ्नै सीमा र संकीर्णताहरू होलान् । तर, व्यवस्थामा राष्ट्रिय स्वार्थ आधारित सुधार भएन भने प्रेमप्रसाद आम निराशाको पहिलो झिल्को हुने निश्चित छ ।

यसबाट समय छँदै चेत्ने र दलाल होइन राष्ट्रिय अर्थतन्त्रको सम्बर्द्धनका लागि डट्ने अठोट संघीय गणतन्त्र, नेपालको संस्थापन नेतृत्वमा मात्र होइन, विकल्प दिन्छौं भनेर खडा भएका तर आफैं रवि र रवीन्द्र जसरी लापरबाह बन्नेमा पनि पलाउनैपर्छ । प्रेमप्रसाद आत्महत्या दुरुत्साहनको सही प्रायश्चित नेतृत्वका लागि त्यही हो ।

जुन जुन दलाल आर्थिक र सुदखोर राजनीतिक प्रवृत्तिले प्रेमप्रसादलाई आत्मदाहको मुखमा पुर्‍याएका छन्, ती लज्जित बन्नुपर्छ र तिनले आफ्ना चिन्तन-कारोबार-गतिविधिमा सुधार गर्नुपर्छ । तत्कालै त राज्य र ती सबैले अनि सहयोगी हातहरूले प्रेमप्रसादको परिवारलाई ऋणमुक्त गरिदिनुपर्छ । एउटै धरातलका युवाहरू सफल र असफल दुवै हुनसक्छन् । तर, खासगरी रवि र रवीन्द्रले जसरी आफैं चाहिँ लापरबाह र अनिश्चित वैचारिक आधारमा बसेर अरुलाई चाहिँ रुमानी सपना बेच्ने गल्ती कसैले गर्नुहुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *