२० लाख धरौटी र विदेश जान रोकविरुद्ध सन्दीप पनि सर्वोच्च जाने तयारीमा
काठमाडौं । उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।
‘सोमबारसम्म हामीले पनि उच्च अदालतको आदेशविरुद्ध पुनरावेदन गर्नेछौं’, घिमिरेले भने ।
सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगिसकेको छ । सुनुवाइका लागि शुक्रबार पहिलो पेसी तोकिएको उक्त पुनरावेदन न्यायाधीश हरि फुयालको इजलासमा परेको छ ।
यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालतले धरौटी तोकेको थियो । सर्वोच्च पुगेको महान्यायधिवक्ता कार्यालयको माग सन्दीपलाई थुनामै राख्नुपर्ने भन्नेछ ।
कानुन व्यवसायी घिमिरेले २० लाख रूपैयाँ धरौटी र विभिन्न शर्तहरू अन्यायपूर्ण भएको बताए ।