प्रचण्डलाई भेट्न विप्लव काठमाडौंमा
रुपन्देही । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं गएका छन् ।
विभिन्न पार्टीमा विभाजित पूर्वमाओवादीहरूको एकताको विषयमा चर्चा भइरहेका बेला प्रचण्ड विप्लवको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । माओवादी केन्द्रले यस्ता दलहरूसँग वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति नै गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुमा रहेका विप्लव पार्टीको शीर्ष नेतृत्वसहितको बैठकपछि योजना बनाएर काठमाडौं गएका हुन् ।
विप्लव नेतृत्वको पार्टीको केन्द्रीय भेला कपिलवस्तुमा चलिरहेको समयमा सत्तारुढ माओवादी केन्द्रमा उपाध्यक्ष तथा वार्ता समितिका संयोजक कृष्णबहादुर महरा कपिलवस्तुको शिवगढीस्थित भेलामै पुगेर छलफल गरेका थिए । तर विप्लव निकट एक नेताले प्रधानमन्त्री प्रचण्डसँग विप्लवले यसअघिको सरकारसँग गरेका तीन बुँदे सहमति कार्यान्वयनको विषय नै प्राथमिकतामा रहेको बताउँछन् ।
‘एकताको विषयमा पनि केही कुरा त होलान्, वार्ता समिति नै बनाएपछि केही कुराकानी भएका पनि छन् नेताहरुबीच तर अहिले पहिलो प्राथमिकता यसअघिको सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन कै विषय प्राथमिकतामा छ’ उनले भने ।
फागुन १ गते नजिक आइरहेकाले विप्लव निकट नेकपा माओवादीले जनयुद्ध दिवसमा केही सन्देश दिने गरी अगाडि जान नेताहरूले शीर्ष नेतालाई सुझाएका छन् ।
विप्लवले काठमाडौंमा माओवादी केन्द्रका अन्य नेताहरू तथा अन्य दलका नेताहरूसँग पनि भेट्ने योजना बनाएका छन् ।