दुई रुपियाँको खुशी
‘संसारका सबैभन्दा मायालु मान्छे को हुन्छन ?’ कसैले सोध्दा लाग्थ्यो- मामा घरका मामामाइजू ।
ठ्याक्कै मलाई पनि त्यस्तै । सोध्न त कसैले सोधेन त्योवेला । तर, सोधेको भए यही जवाफ हुन्थ्यो होला मेरो । झन् बालापनको मावलीघर । आहा ! सबैसबै घटना प्रिय लाग्छन । उमेरको सिँढी करिब ६ वटा पार गरिसकेको थिएँ जस्तो लाग्छ- २०४९ सालतिर । हिउँदको समय थियो । सबै कामधन्दा सकेर माइती, मावली, ससुराली मीठो मसिनो खाने मौसम । म पनि आमाको पुच्छर लागेर मामाघर टुप्लुक्क पुग्ने गर्थें ।
म सानोमा अति नै हरामी ! बहुत चकचके ! अर्थात फटाहा ! नढाँटी भन्ने हो भने अरूलाई जस्तो मेरा मामामाइजूले मलाई माया देखाउनुहुन्नथ्यो । कुनै मामामाइजूको आँखामा पर्नै सकेको थिइनँ । जहाँ जाउँ, कुनै न कुनै बदमासी नगरी नफर्कने ।
मलाई याद छ, त्यो पुसको महिना । आमा र ईश्वरी सानीमा दिनभरि हजुरबा-हजुरआमासँग चौकामा गफिएरै बस्नुहुन्थ्यो । म, उमेश दाइ, नवराज दाइ, इन्दिरा दिदी, दीपक, उज्ज्वल र राजु महादेवस्थानबाट ! खत्री हजुरबाको छोरा दीपक, सावित्रा, परशु मामालगायत सुन्तलाबारीबाट बिहान खाना खाएर गाई-बाख्रा चराउन भष्मे गएका थियौं । दिनभरि भष्मेको ठूलो ढुङ्गामा पल्टिँदा, डण्डीबियो खेल्दाखेल्दै करिब ४ त बजिहाल्यो । अघाएका गाई-बाख्रा लिएर आयौं घर । हजुरआमाले हाँडीबाट कमिजको खल्तीमा मकै भटमास भरिदिनुभयो । मकै पाएपछि फेरि लागियो खेल्न ।
आमा र ईश्वरी सानीमा डाँडागाउँ ऋषि बाकोमा जानुभएछ । आमा मूलघर अर्थात (हजुरबा हजुरआमा भएपछि मावली नै त्यो घरमात्रै हो जस्तो लाग्थ्यो) मा नै हुनुहन्छ जस्तो लागेको थियो । खेलेर फर्किंदा आमा त गायब !
त्यस्तै साँझको ५ बजेको हुँदो हो । मालुमा हिँउदको ५ बजेसम्म पनि क्षितिजबाट घामले चियाइरहेकै हुन्छ । आमा र ईश्वरी सानीमा डाँडागाउँ ऋषि बाकोमा जानुभएछ । आमा मूलघर अर्थात (हजुरबा हजुरआमा भएपछि मावली नै त्यो घरमात्रै हो जस्तो लाग्थ्यो) मा नै हुनुहन्छ जस्तो लागेको थियो । खेलेर फर्किंदा आमा त गायब !
अब पर्यो फसाद । खद्दरको जाँगेको इँजार टनक्कै कसें । अर्जुन मामा अर्थात सानु मामालाई आमा खोइ भनेर सोधें । उहाँले आमा घर जानुभो भन्दिनु भो । हजुरबाले नि त्यो बेलामा झूट नै बोलिदिनुभो । उहाँले पनि आमा त घर गई भन्दिनु भो ।
म रुन थालें । कसैले सत्य कुरा बताउनुभएन । म रुँदै-रुँदै आमालाई खोज्दै कोले खेत हुँदै मामाघर आउँदा हिँडेको बाटोबाट आमालाई खोज्न घरतिरको बाटो लागें ।
कसैले पनि सायद म हिँडेको देख्नुभएन । म खेतैखेत घरतिर हिँडें । तल खेतको बीचमा बाँसघारी छ । त्यो बाँसघारीमा पुगेपछि माइला मामाले बोलाउनुभएको सुनें । आमा घर जानुभएपछि अब मलाई मामाले समात्न आउनुभो भन्ने लागेर म झन भागें ।
मामाको दगुराइसित मेरो के जोर ?
केही दौडिएपछि माधव मामा बाँसघारीमा आइपुग्नुभो । अब मामाबाट बच्न नजिकैको एउटा बारीको कान्लामा भएको घरमा छिरें । घर त परेछ सुँगुरको खोर । खोरको ढोकाबाट फुत्त भित्रमात्रै के छिरेको थिएँ, ३-४ वटा सुँगुर मस्त सुतेको देखें । तैपनि सुँगुरले थाहा नपाउने गरी नजिकै भित्तोमा आड लागें । करिब २०-२५ मिनेटको बसाइपछि सुँगुरको मल गनाएर उग्रिगन्ध नै भो । अलिकति टाउको बाहिर निकालें । बाहिरको वातावरण नियाल्दा मान्छेको होहल्ला बढिरहेको थियो । मामा गाउँमा मेरोबारेमा सोध्दै खोज्दै हुनुहुँदोरहेछ ।
करिब १ घन्टाको खोजखबरपछि सुँगुर धनीले मलाई भेट्टाइछाड्नु भो । म सुँगुर धनीलाई देखेर झन डराएँ । रुन थालें । बर्बरी आँसु खस्न थाले । उनले मलाई फकाउँदै बाहिर आउन भने । म मानिनँ ।
झन डर लाग्यो, फेरि लुकें खोरमै
करिब १ घन्टाको खोजखबरपछि सुँगुर धनीले मलाई भेट्टाइछाड्नु भो । म सुँगुर धनीलाई देखेर झन डराएँ । रुन थालें । बर्बरी आँसु खस्न थाले । उनले मलाई फकाउँदै बाहिर आउन भने । म मानिनँ । त्यो वेला बाहुनको छोरालाई छुनुहुँदैन भन्ने भएर होला, उनले मलाई छोएनन् ।
उनले म खुरुक्क बाहिर नआए सुँगुर फुकाएर टोकाउन लगाउने भनेर धम्क्याए । म झनै डराएँ । एकातिर सुँगुरको मलको गन्धले नाक फुट्न लागिसक्यो, अर्कातिर आमाले छाडेर गएको पीडा छ । डराउँदै बाहिर आएँ । म बाहिर आएपछि उनले भने, ‘ए बाजे ! तपाईंका भान्जा यहाँ रचन् । यिनै होइनन् त लछिमीका छोरा ?’
मामा माथ्लो कान्लामा हुनुहुन्थ्यो, नजिकै आउनुभो । सिमलीको हाँगा भाँच्नुभो र मेरो जीउमा लागेको मल पुछिदिनुभो ।
यतिवेला म मामाको काँधमा उक्लिसकेको थिएँ । मामाले काँधमा मूढा बोकेजस्तो गरी मलाई बोकिरहनुभएको थियो । म आमाले छाडेर जानुभएको पीडाले भट्याकभट्याक उफ्रिरहेको थिएँ ।
मेरो उफ्राइले मामालाई पनि रिस उठेछ क्यारे, एक झाप्पु चाकमै बजाउनुभो, हिँड्दाहिँड्दै । म झन रोएँ ।
त्यो वेलासम्म मामा एक वचन पनि बोल्नुभएको थिएन । मामाले सरासरी बडहरे धारामा लगेर मलाई नुहाइदिनुभो । पुसको जाडोमा बडहरे धाराको तातो पानीले केही राहत त दियो । तर, जाडो भइहाल्यो ।
मैले नुहाइसकेपछि उहाँले पनि नुहाउनुभो । मामाले त्योवेला पनि नबोली मलाई बोकेर घरमा आएर जनै फेरेरमात्रै बोल्नुभयो । २ चड्कन गालामा लगाउनुभो । म झन रुन थालें । म रुँदारुँदै आमा र सानीमा पनि आइपुग्नुभो । आमालाई देखेपछि बल्ल मेरो सास त आयो । तर, के गर्नु, आमाले पनि सबै घटना सुनेर भकुर्ने त मलाई नै हो ।
मामाले २ रुपियाँ दिएर फकाउनुभो
आमाको भकुराइले झन रोएँ । हजुरबाले घरभित्रबाट ‘ए नकुट न जाडोमा’ सम्म भनेको याद छ । म धेरै रोएपछि त्यो वेला मामाले २ रुपियाँ दिएर फकाउनुभो । म नाथे बच्चा न परें । फकिन कतिबेर र ?