बालसुधार गृहमा भएको घटना साम्य
रूपन्देही । बिहीबार राति बाँकेको डुडवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा भएको तोडफोड र आगजनीको घटना आज सामान्य भएको छ । स्थानान्तरण हुने र नहुने भन्ने दुई पक्षबीचको विवादले उग्र रुप लिदा सो घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए ।
उनले कानुनी विवादको विषयलाई संघसंस्थाको समन्वयमा समाधान गरेर आज बेलुका केहीलाई काठमाडौं स्थानान्तरण गरिने जानकारी दिएका छन् । ‘अहिले कुनै समस्या छैन, सामान्य अवस्था छ’ प्रमुख जिल्ला अधिकारी आर्चायले भने ।
सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै तोडफोड र आगजनी भएको थियो । बाल सुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा ल्याउन प्रहरीलाई हम्मे हम्मे भएको थियो ।
प्रहरीले नेपालगञ्जबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा लिएलगत्तै उनीहरुले आफै सुत्ने सिरक डसनामा आगजनी गरेका थिए ।तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहको ३ वटा भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।
सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।कानुनी विवादमा परेर सुधार गृहभित्र राखिएकाहरू दुई समूहमा विभाजन भएर भिडन्तमा उत्रँदै आएपछि एक समूहलाई काठमाडौं स्थानान्तरण गर्न थालिएको थियो ।