मन्त्री किराँतीको एक्सन- घुसको सौदाबाजी गर्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।
एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनसम्बन्धी बार्गेनिङ गरेको पाइएको र प्रारम्भिक अनुसन्धानमा ठाकुरको कमजोरी देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक्सन लिएका हुन् ।
किराँतीले भ्रष्टाचार महाशत्रु भएको भन्दै यसमाथिको विजयका लागि निर्ममतापूर्वक निर्णय गरिएको बताए । ठाकुरलाई निलम्बन गर्न प्रधानमन्त्रीबाट पनि निर्देश प्राप्त भएको र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने नेपाल सरकारको नीतिअन्तर्गत ठाकुरमाथि यो कदम चालिएको उनको भनाइ छ ।
‘देश र जनताको निम्ति हामीले खाएको सपथ, हामीलाई परिणाम नल्याउने छुट छैन’, उनले भने ।
उनलाई थप कारबाहीका लागि अख्तियारमा समेत पठाउने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।